बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

तीन बुँदे माग पुरा भएपछि वीरगन्ज आईसीपीका कर्मचारीको आन्दोलन फिर्ता

मङ्गलबार, १४ चैत २०७९, १४ : १५
मङ्गलबार, १४ चैत २०७९

काठमाडौँ । तीन बुँदे माग पुरा हुने आश्वासन पाएपछि वीरगन्ज एकीकृत जाँच चौकी (आईसीपी)का कर्मचारीको आन्दोलन फिर्ता भएको छ । वीरगन्ज आईसीपी सञ्चालनको ठेक्का निजी क्षेत्रले पाएपछि तीन बुुँदे माग राख्दै आइतबारदेखि कर्मचारीले आन्दोलन घोषणा गरेका थिए ।

आईसीपी सञ्चालनको जिम्मेवारी कैलाशा टर्मिनल्स जेभीले पाएपछि आफूहरूको जागिर सुरक्षा, उपदान र खाइपाइ आएको सुविधाको निरन्तरता माग गर्दै कर्मचारी आन्दोलनमा उत्रिएका थिए । कैलाशा टर्मिनल्सले आगामी ५ वर्षका लागि आईसीपी सञ्चालनको ठेक्का पाएको छ ।

यससँगै, कम्पनीले कर्मचारी हटाउने सम्भावना र खाइपाइ आएको सुविधा समेत हटाउने सम्भावना देखेपछि कर्मचारी आन्दोलित भएका हुन् । तर, इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आषिश गजुरेलको पहलमा आन्दोलन स्थगित भएको हो ।

 

कर्मचारीले आन्दोलनको घोषणा गर्दै आइतबार साँझ ५ बजेसम्म आईसीपीको काम ठप्प पारेका थिए । उक्त जानकारी पाएलगत्तै कर्मचारीसँगको वार्ता सुरु गरेको गजुरेलले रातोपाटीलाई बताए । ‘करारका कर्मचारीलाई उपदान दिने व्यवस्था छैन । यसबाहेकको अवस्थामा नियमसंगत उपदान दिने भनिएको छ,’ गजुरेलले भने, ‘यस्तै, खाइपाइ आएको सुविधा र जागिर  सुरक्षाको विषयमा समेत कम्पनी गम्भीर बनेपछि आन्दोलन फिर्ता भएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप