लोकतन्त्र, छुवाछूत र राष्ट्रपतिको गरिमा
लोकतन्त्रमा सेरेमोनियल राष्ट्रपति निर्वाचित हुनेबित्तिकै दलसँगको संलग्नता छोड्ने गरिन्छ । यसको अर्थ हो अब राष्ट्रपति दलभन्दा माथि उठेर देशको बन्ने छन् । दलसँगको संलग्नता कागजमा होइन व्यवहारमा प्रतिविम्बन हुन्छ । राष्ट्रपतिले कार्य सम्पादन गर्दा निर्वाह गरेको भूमिकामा राष्ट्रपति दलको हो कि देशको भनेर विश्लेषण र मूल्याङ्कन हुन्छ ।
दुई राष्ट्रपतिको तीन कार्यकाल जेजस्तो भयो त्यसको आलोचना र खोट देखाउनु यस लेखको उद्देश्य नभएर वर्तमान राष्ट्रपतिको अपेक्षित भूमिकाबारे विमर्श गर्नु हो । हिजोलाई गाली गर्ने होइन विगतको कमजोरी करेक्सन गर्ने र अनुसरणीय पक्षलाई निरन्तरता दिन बहस चलाउने हो । हामी सकारात्मक संस्कृतिका पक्षपाती हौँ ।
वर्तमान राष्ट्रपतिले आफू ‘गणतन्त्र र राजतन्त्रको राष्ट्र प्रमुखको भूमिकाबारे जानकार छु’ भन्दै जनताको राष्ट्रपति बन्ने सङ्केत गर्नुभएको छ । यो निश्चय नै खुसीको कुरा हो । आफ्नो भ्रमणलाई सवारी नभनेर भ्रमण भन्न पनि अनुरोध गर्नुभएको छ । कुमारी मन्दिरमा तामझामबिना गएको र गोरखा दरबारमा पनि सामान्य ढङ्गले जानुलाई सवारी आतङ्कबाट जनतालाई मुक्ति दिने प्रारम्भिक लक्षण भनेर बुझिन्छ । आम मान्छेको राष्ट्रपतिलाई आग्रह पनि त्यही हो ।
सवारी आतङ्क खडागरी आफ्नो सुविधाका लागि सर्वसाधारण जनताको समय बन्धक बनाएर सवारी आतङ्क रच्न सहयोगी बन्न पाइन्न । सवारी सास्तीले जनतालाई राष्ट्रको सर्वाेच्च संस्थासँग ठूलो गुनासो छ । जनता परम्परागत राजा होइन, सामान्य जनताको छोरो सहजतासाथ जनताकै नजिक भएर हिँडेको हेर्न चाहन्छन् । तपाईंले निर्माण गर्ने राजमार्ग जनताका लागि साँघुरो हुनुहुन्न । सुरक्षा थ्रेट नभएसम्म राष्ट्रपतिले जनताभन्दा टाढा बस्न पर्दैन ।
पुरानो र स्थापित पद्धति भनेर अब पनि विस्थापन गराउन सकिएन भने हाम्रो लोकतन्त्र र गणतन्त्रको अर्थ र परिभाषा राजतन्त्रकै जस्तो भएन र ?
आदरणीय राष्ट्रपतिज्यू, सर्वप्रथम लोकतन्त्रको राष्ट्रिय चरित्र विकास गर्न तपाईंबाट यथेष्ट सांस्कृतिक भूमिकाको निर्वाह गर्नुपर्छ । जसमा राष्ट्रप्रेम, त्याग, एकता, सहयोग, इमानदारी, अठोट, कर्तव्यपरायण र नैतिकता, मानवीय मर्यादाजस्ता गुणको मजबुतीकरण आवश्यक देखिन्छ । जसको सुरुवात ६० लाख मान्छेको मर्यादाको खातिर राष्ट्रपतिले निर्माण गर्ने नवसंस्कृति अबको मानवीय मर्यादामा हिँड्ने बाटो हुनुपर्छ । यहाँलाई थाहा छ आज पनि हामी, हामी जस्तै मान्छेलाई अछूत भनेर पशुभन्दा पनि तल राखेर व्यवहार गरिरहेका छौँ । कथित छूतले अछूत भनेर गरेको अमानवीय व्यवहारलाई मानवीय मर्यादामा रूपान्तरण गर्न तपाईंले विशिष्ट र नेतृत्वदायी सांस्कृतिक योगदान गर्नुपर्छ ।
सरकारलाई यो असभ्य बर्बर प्रथा अन्त्यका लागि गरिने कानुनी प्रवन्धसँगै आर्थिक, राजनीतिक, मनोवैज्ञानिक, सामाजिक र क्षतिपूर्तिको समेत प्याकेज घोषणा गरेर लैजान घचघघ्याउनुपर्छ । यसो गर्दा संविधानको बर्खिलाप हुन्न बरु संवैधानिक हकको प्रत्याभूतिका लागि सरकारलाई सहयोग हुनेछ । छुवाछूत दलित र अछूत भनिएकाहरूको मात्र समस्या नभएर देशको समस्या हो । अन्तर्राष्ट्रिय मानव अधिकार हननको विषय हो । अन्तर्राष्ट्रिय कानुन आकर्षित हुने समस्या हो । भेदभावबिनाको समाज निर्माण गर्न राष्ट्रसङ्घको विश्वव्यापी घोषणापत्र सन् १९४८ लाई हामीले आत्मसात गर्याैं । सबै प्रकारका जातीय विभेद उन्मूलनको महासन्धि सन् १९६९ का पक्ष राष्ट्रसमेत बनेका छौँ ।
मानव अधिकारको खिलाफमा रहेको देशको राष्ट्राध्यक्ष भनेर कतै विदेशी फोरममा तपाईंलाई सोध्न सक्छन् ? तपाईं तीन हजार वर्षदेखि मानव अधिकार हनन गर्ने देशको राष्ट्रपति हो भनेर कसैले भने के जबाफ दिनुहुन्छ ? तपाईंसँग त्यसको जबाफ छ ? छुवाछूत जस्तो घिन लाग्दो प्रथा विस्तारै र क्रमशः कम हुँदै जान्छ भनेर अझै हामी मौन बस्यौँ भने त्यो अपराध र पापको मतियार हामी पनि बन्नेछौँ । तसर्थ महामहिमज्यू हाम्रो नाकको दाग (हाम्रो सभ्यताको धब्बा) मेटौँ । समता, मर्यादा र आत्मसम्मानसहित सबैसँगै बाँच्ने आधारभूमि तयार गरौँ । मर्यादा सम्मान र विवेक प्रयोग नगर्ने हामी पो अछूत हौँ होइन र ?
मानवीय मर्यादामा आफूलाई मात्र उच्च देख्ने हामी साँचिकै निच हौ, पतीत हौ, अपराधी हौँ । पीडक समुदायको व्यक्ति भएर बस्नुपर्दा मजस्तो भुइँ मान्छेलाई असाध्यै लज्जाबोध भएको छ ? तपाईंलाई पनि पक्कै लज्जानुभूति भएको हुनुपर्छ । तपाईं राष्ट्रको अभिभावक तपाईंले आफ्ना नागरिकलाई जात र धर्मका आधारमा उच र निच मान्ने गलत प्रथा मेटाउन गर्न एउटा सांस्कृतिक इरेजर निर्माण गरी त्यसलाई इरेज गर्दै हिँड्ने परिपाटी बसाल्ने अधिकार छैन र ? यति संवेदनशील र गम्भीर मुद्दामा तपाईं अब पनि संवेदित नभए कहिले हुने ? अर्कालाई अमानव बनाएर हामी कसरी मानव हुन्छौँ ?
मौजुदा सामाजिक कुप्रथालाई, सामाजिक शोषणको निकृष्टरूप जातीय छुवाछूतलाई परम्परागत समाजको स्थायी चरित्र भनेर पन्छिने छुट अब छैन । इतिहासले हामीलाई धिक्कार्ने छ । पुरानो र स्थापित पद्धति भनेर अब पनि विस्थापन गराउन सकिएन भने हाम्रो लोकतन्त्र र गणतन्त्रको अर्थ र परिभाषा राजतन्त्रकै जस्तो भएन र ?
संविधान राजाले मिचे भनेर संविधान नमिच्ने राष्ट्रपतिको परिकल्पना गर्दै गणतन्त्रमा पर्दापर्ण गरिएको हो ।
लोकतन्त्रको पब्लिक डिस्कोर्स अब सामाजिक निरूपणमा जानुपर्छ । त्यसका लागि सांस्कृतिक नेतृत्व राष्ट्रपतिबाट हुनुपर्छ भने अन्य राजनीतिक, आर्थिक पक्षको नेतृत्व प्रधानमन्त्री र मातहत सबै राजनीतिक दलमार्फत हुनुपर्छ । अमानवीय, सामाजिक, धार्मिक कानुनको पक्षधरको बिल्ला हामी कथित उच्च जातिको निधारमा लागेको छ । पानी छोएको, चुलो छोएको अनि कथित उच्च जातसँग प्रेम गरिएको कारण मान्छे मार्ने धार्मिक कानुन हाम्रो देशमा विद्यमान छ, यसलाई पुछ्ने स्वर्णिम समय आएको छ । तपाईं राष्ट्राध्यक्ष भएको बेला सबैको आत्मसम्मान एकै पटक जुरुक्क उठ्नुपर्छ । हजारौँ वर्षदेखि मान्छे बन्ने हक नदिएर वञ्चितीकरणमा पारेका मान्छेको पीडाबारे अब पनि नबोल्नु मान्छे नहुनुको प्रमाण हो । कृपया म बोल्छु, बोल्दै आएको छु अमानव भएर बस्न मलाई पनि मन छैन ।
सम्माननीय राष्ट्रपतिज्यू, गणतन्त्र प्राप्तिपछि राज्यका प्रमुख संवैधानिक पदमा एकल जातीय वर्चस्व कायम भएको देखिन्छ । जसलाई चिर्न अनुपस्थितिमा उपस्थिति बोध गर्न पनि केही गम्भीर र ऐतिहासिक महत्त्वको निर्णय सरकारमार्फत गराएर लालमोहर लाउँदै जानुपर्ने हुन्छ । भौतिक अनुपस्थितिमा पनि उपस्थिति बोध गर्ने लोकतन्त्र हामीलाई चाहिएको छ । अबको लोकतन्त्रमा प्रतिनिधित्व व्यक्ति र समुदायको भन्दा मुद्दा र विषयको ज्यादा हुनु जरुरी हुन्छ । तब मात्र अनुपस्थितिमा पनि उपस्थिति भेटिन्छ । पहिचान व्यक्तिको मात्र होइन मुद्दाको आवश्यक छ । तसर्थ मुद्दा सम्बोधन भए कुनै समुदायको भौतिक उपस्थिति र अनुपस्थितिले तात्त्विक भिन्नता राख्दैन ।
महामहिमज्यू, तपाईंलाई राष्ट्रपतिको गौरव धान्ने र यसको मर्यादा अभिवृद्धि गर्ने अभिभारा छ । राष्ट्रपति आलोचनाको भागीदार होइन, आदर र राष्ट्रिय एकताको प्रतीक हो भन्ने विषयलाई प्रमाणित गर्नुछ । त्यसका लागि संविधान बाहिर नजानु नै यसको सीमा र अनुशासन हो । संविधानविद विपिन अधिकारी भन्छन्, ‘संवैधानिक राष्ट्रपतिको सबैभन्दा ठूलो शक्ति भनेको निष्पक्षता हो ।’ दलसँगको लोयल्टी छोडेर, दलीय बन्धनबाट निर्बन्ध हुनु नै राष्ट्रपतिको विशिष्ट योग्यता हो । राजनीतिक विश्लेषकहरू भन्छन् राष्ट्रपतिले आफूलाई सेन्टर अफ पावरको रूपमा बुझ्नु हुँदैन । त्यसो भयो भने प्रधानमन्त्रीसँग खटपट सुरु हुन्छ र व्यवस्थामा सङ्कट आउँछ । राष्ट्रपति पावर होइन प्रतिष्ठा आर्जन गने संस्था बन्नुपर्छ ।
हाम्रो राष्ट्रपति संस्था सेरोमोनियल यस कारण पनि होइन कि ‘राष्ट्रपतिसँग संविधानअन्तर्गत दर्जनौँ त्यस्ता अधिकार छन्, जसमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई सहयोग गर्नु भएन भने प्रधानमन्त्रीले प्रयोग गर्ने कार्यकारी अधिकार प्रयोग गर्ने सक्नु हुन्न । त्यसैले यो सेरोमोनियल पनि होइन ।’ संविधानविद् भीमार्जुन आचार्य राष्ट्रपतिको वर्तमान भूमिकालाई पूर्ण संवैधानिक र पूर्ण सेरोमोनियल दुवै नभएको, बीचको अवस्था रहेको सुनाउँछन् । हाम्रा दलहरू राष्ट्रपतिको भूमिकालाई आफूअनुकूल व्याख्या गर्छन् र विवादित बनाउन माहिर छन् । परिस्थितिजन्य कुराले गडबडी हुने गरेको छ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दलहरूले कहिले संविधान मिच्न उक्साए त कहिले संविधान मिच्यौ भनेर गाली गरे । आफूअनुकूल हुँदा राष्ट्रपतिमा स्वविवेकीय अधिकारको प्रयोग हुन्छ भनेर व्याख्या गरे भने आफू प्रतिकूल बन्दा राष्ट्रपतिको स्वविवेकीय अधिकार संविधानले नचिन्ने जिकिर गरे ।
प्रिय राष्ट्रपतिज्यू, राष्ट्रपति पनि आफन्त साथीभाइ चिनजान र विशिष्ट व्यक्तिका निम्तामा सहभागी हुने बिहे, भोज, जन्ती, मलामी, पास्नी, खेतबारी, व्रतबन्ध, छेवर, न्वारन, मन्दिर मस्दिज, गुम्बा आदि जस्ता कार्यक्रममा जान स्वतन्त्र हुनुपर्छ किनभने यी निजी जीवनका कार्य हुन् ।
राष्ट्रपतिलाई दलीय स्वार्थका लागि, सरकारको स्वार्थका लागि प्रयोग गर्ने दलहरूको अभिलाषा रहुन्जेल राष्ट्रपतिको गरिमा खुकुरीको धारमा हुन्छ । जहाँ पलपल, फुकीफुकी पाइला चाल्नुपर्ने स्थिति बन्छ । त्यसैले पनि राष्ट्रपति पद कार्यकारी नहुँदा पनि अति संवेदनशील र विशेष महत्त्वको हो । औसत योग्यताले राष्ट्रपतिको भूमिकालाई न्याय गर्न सक्तैन । राष्ट्रपतिको संवैधानिक सक्रियता हाम्रो संविधानले कल्पना गरेको छैन ।
राष्ट्रपतिलाई प्रयोग गर्न दलहरूले पटक पटक प्रयास र प्रयोग गरे । त्यो भूल अब दोहोरिनु हुन्न । विगतका राष्ट्रपतिहरूबाट भएका सकारात्मक भूमिकाको अनुकृति गरी राष्ट्र र राष्ट्रपतिको गरिमा अझ फराकिलो बनाउने दायित्व वर्तमान राष्ट्रपतिको काँधमा छ । राष्ट्रपति संस्था शक्ति केन्द्र नभएर आस्थाको केन्द्र र अभिभावकीय केन्द्र हो । राष्ट्रपतिको भूमिका सन्तुलित र वजनदार हुनु वाञ्छनीय छ । विगतमा झैँ मन्त्रिपरिषद्ले गर्ने निर्णयमा आफ्नो पनि भाग खोज्ने प्रवृत्ति हाबी भयो भने आस्थाको धरोहर आक्रोशको निशानामा पर्छ ।
राष्ट्रपति संवैधानिक सेरोमोनियल हो । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा काम गर्छ, संविधानले स्पष्ट तोकेको अरू कुनै काम वा पदाधिकारीको सिफारिसमा राजकाजका सवालमा कुनै पनि निर्णय आफैँ लिन वा काम आफैँ सम्पादन गर्ने अधिकार राष्ट्रपतिलाई दिएको छैन । संविधान राजाले मिचे भनेर संविधान नमिच्ने राष्ट्रपतिको परिकल्पना गर्दै गणतन्त्रमा पर्दापर्ण गरिएको हो ।
जनताको छोरो आफ्ना कर्मले पुग्ने सर्वाेच्च स्थलमा गैरसंवैधानिक बन्न मिल्दैन । किनभने संविधानको धारा ६१ मा उल्लेख गरिएको छ । (१) नेपालमा एक राष्ट्रपति रहनेछ । (२) राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ । निजले यस संविधान र सङ्घीय कानुनबमोजिम कार्य सम्पादन गर्नेछ । (३) राष्ट्रपतिले नेपालको राष्ट्रिय एकता प्रवद्र्धन गर्नेछ । (४) संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनिएको छ ।
सम्माननीय रामचन्द्र पौडेलज्यू, आममान्छेले तपाईंबाट राख्ने अपेक्षा यस्तो छ ।
साझा र अभिभावक राष्ट्रपति, संवैधानिक तर सेरोमोनियल, राष्ट्रपति संस्थाको नयाँ मानक, शासक होइन, नवसंस्कृतिका निर्माता, चुस्त र किफायती भ्रमणशैली, सबै नेपालीको समता, मर्यादा आत्मसम्मानको कदर गर्ने र विनयशील र अनुशासित आदि इत्यादि ।
प्रिय राष्ट्रपतिज्यू, राष्ट्रपति पनि आफन्त साथीभाइ चिनजान र विशिष्ट व्यक्तिका निम्तामा सहभागी हुने बिहे, भोज, जन्ती, मलामी, पास्नी, खेतबारी, व्रतबन्ध, छेवर, न्वारन, मन्दिर मस्दिज, गुम्बा आदि जस्ता कार्यक्रममा जान स्वतन्त्र हुनुपर्छ किनभने यी निजी जीवनका कार्य हुन् । यस्ता अनौपचारिक कार्यक्रमलाई राजकीय प्रबन्ध र मर्यादा आवश्यक हुन्न । यस्तो अवसरमा राष्ट्रपतिलाई औपचारिकताले बाँधेर राख्नु पनि व्यक्तिको निजी र सामाजिक जिन्दगीको अधिकारबाट वञ्चित गर्नु हो । राष्ट्रपति जतासुकै सामान्य तवरले जान सक्छन् । यस्तो बेला औपचारिक मर्यादाको छेकबार ठिक हुँदैन । सुरक्षाको सामान्य प्रवन्ध भए पुग्छ । राष्ट्रपति सहज र सरल बनून् भनेको साइकल चढेर हिँड्नु, टेम्पो चढेर नै हिँड्नु भन्ने पनि होइन ।
राष्ट्रका विशेष दिवस र औपचारिक समारोहमा, विदेशी पाहुनाको स्वागत, सत्कार, बिदाइ, भोज, भेटघाट अलि व्यवस्थित र चुस्त हुनुपर्छ । यहाँ राजकीय प्रोटोकल मान्नु अन्यथा मानिन्न । जनताको वारेस सर्वाेच्च प्रतिनिधि पद सम्मानित र स्मरणीय हुनुपर्छ । हामी जनताको छोरो प्रिय, आदरणीय र अनुकरणीय राष्ट्रपतिको पक्षमा छौँ ।
रामचन्द्र पौडेलज्यू, कांग्रेसको बन्धनबाट मुक्त हुँदा जय नेपालको बन्धनबाट मुक्त नभए पनि हुन्छ । जय नेपाल जसले जहाँ र जहिले प्रयोग गरेको भए पनि देशको सर्वाेच्च संस्थामा बस्नेले जय नेपाल भन्न हिचकिचाउनु पर्दैन । एउटा भुइँ मान्छेले जनताको छोरा राष्ट्रपतिसँग राखिएको अपेक्षा र विश्वास हो । यो विश्वास म प्रतिनिधि भएर राखेको हुँ । यहाँ आम सर्वसाधारणदेखि देशका बौद्धिक, प्राज्ञिक र विशिष्ट व्यक्तिको अभिलाषा छ ।
सम्माननीय राष्ट्रपतिज्यू, हार्दिक बधाई तथा शुभकामना ! भन्दै मर्यादामा आँच पुग्ने कुनै शब्द परे क्षमा माग्छु ।