प्रेरक प्रसङ्ग : सफलताका सूत्र
जीवनमा सफलता प्राप्त गर्ने चाहने मानिसका लागि मनको संयम र एकाग्रता अत्यावश्यक हुन्छ । मनको संयम र एकाग्रता भए गाह्रो काम पनि सजिलै गर्न सकिन्छ नभए सानै काम गर्न पनि गाह्रो पर्छ । भाइबहिनीहरूको जानकारीका लागि यहाँ यस्तै एउटा प्रसङ्ग प्रस्तुत गरिएको छ ।
घटना त्यतिबेलाको हो, जतिबेला विश्वाविख्यात भारतीय सन्यासी विवेकानन्द अमेरिकाको भ्रमणमा थिए । यसो त उनी शिकागोमा आयोजित विश्वधर्म सम्मेलनमा भाग लिन केही दिनका लागि अमेरिका गएका थिए । तर उनको प्रखर प्रतिभाबाट प्रभावित भएका अमेरिकी भक्तहरूले केही समय उतै बस्न आग्रह गरेकाले तिनताका उनी उतै बस्दै आएका थिए ।
एक दिन स्वामीजी अपराह्नतिर घुम्दै नदी किनारमा पुगेका थिए । नदीको स्वच्छ हावा र प्रकृतिक सौन्दर्यको पान गर्दै बसिरहेका बेला एउटा घटना देखे । भएको के थियो भने केही बालबालिका नदीको पुलमा बसेर पानीमा तैरिरहेको अन्डाको खोस्टोमा निशाना लगाइरहेका थिए । उनीहरू एकएक गरी बन्दुक हातमा लिएर अन्डामा निशाना लगाउँथे तर लाग्न भने कसैको पनि सक्दैनथ्यो । जतिसुकै प्रयास गर्दा पनि निशाना चुकेकाले दिक्क मानेको देखेर उनले नजिकै गएर भने–
‘के भो नानी बाबु हो ! दिक्क मानिरहेका छौ नि ? निशाना चुक्यो कसो ?’
बालबालिकाहरूले एकै स्वरमा भने–
‘हो स्वामीजी ! हामीहरू धेरै पहिलेदेखि त्यस अन्डाको खोस्टोलाई निशाना लगाइरहेका छौँ तर सबै चुकिरहेका छन् ।’
‘ए हो र ?’
‘हो त नि, देख्नुभएको छैन र ?’
‘खोइ बन्दुक देऊ त ।’
‘हामीले त सकेका छैनौँ भने तपाईँजस्ता सन्यासीले के सक्नुहोला ।’
‘प्रयास त गरौँ । प्रयास गर्दैमा के हर्जा छ र ।’
‘त्यसो त होइन तर ....।’
‘के तर ? कि विश्वास लागेन ?’
‘यो काम वेदान्त प्रवचन जस्तै सजिलो छ भन्ने ठान्नुभाको होला त्यस्तो छैन भनेको नि ।’
‘दिएर त हेर ।’
उनको कुरामा बालबालिकालाई विश्वास लागेको त थिएन । तैपनि एकपटक प्रयोग गर्न दिएर त हेरौँ के गर्दा रहेछन् भन्ने ठानी स्वामीजीको हातमा बन्दुक थमाइदिए । तर भइदियो के भने स्वामीजीले एकएक गरी सबै खोस्टामाथि निशाना लगाए ।
यस्तो चमत्कार देखेर बालबालिकाले आश्चर्य मान्दै सोधे–
‘धेरै पहिलेदेखि अभ्यास गर्दै आउनुभएको जस्तो छ नि ? एउटै निशाना खेर गएको छैन त ।’
त्यसपछि स्वामीजीले मुस्कुराउँदै भने–
‘अभ्यास होइन यस अघि बन्दुक छोएको पनि छैन ।’
‘हो र ?’
‘हो त नि ।’
‘तैपनि एउटै निशाना खेर गएको छैन त ?’
‘हो, देखिहाल्यौ खेर गएको छैन ।’
‘यस्तो चमत्कार कसरी सम्भव हुन्छ ?’
‘कसरी हुन्छ होइन भयो ।’
‘कुनै जादू त गर्नुभएको छैन ?’
‘छैन ।’
‘त्यसो भए हामीले किन सकेका छैनौँ त ?’
त्यसपछि स्वामीजीले सम्झाउँदै भने–
‘हरेक काममा मनको संयम र एकाग्रता हुनुपर्छ । मैले त्यही सूत्र प्रयोग गरेको थिएँ र सफल भएँ तर तिमीहरूले निशाना मात्र लगायौ यसतर्फ भने ध्यान दिएनौ । त्यसैले तिमीहरूका कुनै पनि निशाना लागेन बुझ्यौ ?’
‘बुझ्यौँ स्वामीजी !’
यति भनेर उनीहरू नतमस्तक हुँदै स्वामीजीलाई प्रणाम गरेर घरतिर लागे । यो एउटा दृष्टान्त हो । वास्तवमा जहाँ पनि मनको संयम र एकाग्रता नभए नतीजा यस्तै हुन्छ । काम जे गरे पनि हुन्छ । काम भनेको काम नै हो ठूलो सानो हुँदैन । ठूलो सानो बनाउने भनेको कामले नै हो तर काममा सफलता चाहने हो भने आत्म संयम र एकाग्रता भने हुनैपर्छ । अन्यथा श्रम र समय मात्र खेर जान्छ ।