‘जुन दिन लेखक सन्तुष्ट हुन्छ, त्यो दिन उसको मृत्यु हुन्छ’
विमल निभा नेपाली साहित्यका चर्चित कवि तथा व्यङ्ग्यकार हुन् । नेपालगञ्जमा जन्मिएका, वीरगञ्ज हुर्किएका निभाले बुटवल, भद्रपुर, विराटनगर, काठमाडौं लगायत सहरमा अध्ययन गरे । महेन्द्र मोरङ क्याम्पसमा २०२६ सालमा आईए उत्तीर्ण गरेका निभाले स्नातक तह त्रिचन्द्र कलेजबाट उत्तीर्ण गरेका हुन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नेपाली विषयमा स्नातकोत्तर तहमा एक सेमेस्टर अध्ययन गर्दागर्दै एउटा प्रजेक्टमा काम पाएपछि उनले अध्ययनलाई टुङ्ग्याए ।
ऊर्जाशील जीवनको अधिकांश हिस्सा नेपाली साहित्य र लेखन क्षेत्रमा विताएका उनी नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका छन् । प्रस्तुत छ, प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभासँग उनको जीवनका विविध पाटा, प्रज्ञा प्रतिष्ठानका गतिविधि र लेखकीय स्वतन्त्रताबारे रातोपाटीका लागि शिखर मोहनले गरेको कुराकानी
–धेरैले तपाईंलाई व्यङ्ग्य कवि भनेर चिन्छन्, तपाईंले भने आफूलाई कसरी चिनाउनुहुन्छ ?
व्यङ्ग्य भनेको कुनै विधा होइन । त्यो एउटा आक्रोश र लेख्ने शैली हो । मेरो कवितामा व्यङ्ग्य पनि छ । तर मेरा कवितामा व्यङ्ग्यका साथसाथै एउटा विचार पनि हुन्छ । व्यङ्ग्यलाई मानिसले बढी रुचाउँछन् । मूलतः वैचारिक हिसाबले लेख्छु । म एउटा विचारपप्रति आबद्ध छु, त्यसैमा आधारित भएर लेख्छु । म पहिलेदेखि नै मार्क्सवादी विचारबाट प्रभावित छु । त्यसैको पेरिफेरीमा आफ्नो लेखनलाई अगाडि बढाउँदै आएको छु ।
मूलतः म कविताकै क्षेत्रमा आफूलाई चिनाउन चाहन्छु । किनभने मेरो प्रमुख अभिरुचि कविता नै हो । कविता रचनामै आफूलाई कवितामै कम्फर्टेबल ठान्छु । कवितैमा बढी परिश्रम पनि गरेको छु ।
अखबारमा व्यङ्ग्य धेरै लेखेँ । त्यस आधारमा धेरै पाठकले मलाई चिनेका छन् । यसलाई मेरो अभिरुचिको क्षेत्र होइन भन्न मिल्दैन तर प्रधान अभिरुचि चाहिँ मेरो कविता नै हो ।
तपाईं कुनै समय राजनीतिमा पनि आबद्ध हुनुभयो ?
झापा विद्रोहको समयमा नेकपा माले भूमिगत अवस्थामा थियो । त्यतिबेला विराटनगरमा हुँदा नै म नेकपा मालेप्रति आकर्षित थिएँ । योभन्दा अघि वीरगञ्जमा विद्यालयमा अध्ययन गर्दादेखि नै आकर्षित थिएँ । कमरेड पुष्पलाल त्यतिबेला रक्सौलसम्म आउँथे, नेपाल आउने अनुमति थिएन । उनले रक्सौलबाटै नेपाली युवाहरूलाई प्रशिक्षण गराउँथे, भेटघाट गर्थे । त्यही क्रममा म पनि २०२३/२४ सालतिर औपचारिक रूपमा सङ्गठित भएँ । हामीलाई सङ्गठित गर्नुमा कमरेड पुष्पलालकै हात छ ।
–साहित्यिक क्षेत्रतिर भने कसरी आकर्षित हुनुभयो ?
विराटनगर बस्दा मलाई खुट्टाको समस्या भएर अप्रेसन गर्नुपरेको थियो । यताउता हिँडडुल गर्न गाह्रो थियो । अनि पुस्तकालय गएर समय विताउन थालेँ । ब्रेख्त, नेरुदा र केही भारतीय कविहरूका पुस्तक अध्ययन गरेँ । त्यतिबेला भूपि शेरचन र गोपालप्रसाद रिमाल निकै चर्चित हुनुहुन्थ्यो । उहाँहरूका कविताले ममा एक किसिमको छाप बनाएको थियो । त्यसले मलाई साहित्यप्रति रुचि जगायो ।
लेखनमा मेरो मुख्य रुचि भनेको कविता हो । सुरुमा मात्र होइन अझै पनि कवितामै रुचि बढी छ । एसएलसी उत्तीर्ण गरेको २०२४ सालदेखि लेख्न थालेको हुँ ।तर २४/२५ सालतिर छापिएका छिटपुट कविता र लेखहरूका प्रमाण अहिले मसँग छैनन् । २०२६ सालमा रूपरेखमा छापिएको कविता चाहिँ अभिलेखका रूपमा रहेको छ । त्यसैले, पहिलो कविता त्यसैलाई भन्ने गरेको छु ।
भोजपुरी भाषामा कुनै औपचारिकताको बन्देज छैन । तर मैथिली र नेपालीमा अलि बढी औपचारिकता छ ।
–पछिल्लो समय केमा व्यस्त हुनुभयो, पहिलेको जस्तो लेखन छैन भन्ने सुनिन्छ नि ?
त्यस्तो होइन, अहिले २/३ वर्षको अन्तरालमा मेरा दुई तीनवटा कविता सङ्ग्रह निस्किएका छन् । जोकरको बन्दुक, देवेन्द्र राजवंशीको अत्महत्या भन्ने कविता सङ्ग्रह आएका छन् ।
तर पाठकले रिक्तता किन देखे भने म अखबारमा लेख्थेँ । कान्तिपुरमा करिब २० वर्ष हरेक हप्ता लेखेँ । हप्ता हप्तामा लेख्दा धेरै लेखेको जस्तो देखिन्थ्यो । तर कविता त्यसरी लेखिने कुरा होइन । मेरो लेखनको निरन्तरता त्यसरी देखिने कुरा होइन ।
–उपकुलपति हुनमा तपाईंको रुचि हो या दबाब ?
साहित्यमा लागेका मानिस हुँ । मेरो जीवनको मुख्य सक्रियता भनेको साहित्य हो । नेपाल प्रज्ञा प्रतिष्ठान पनि साहित्यकारहरू जम्मा हुने थलो हो । यो साहित्य, दर्शन र बौद्धिक विमर्शको थलो हो । म यहाँ उपकुलपति भएर आउनु कुनै नौलो कुरा होइन, स्वाभाविक हो ।
–धेरै भाषा सिक्नुभएको भनिन्छ । यी भाषा सिक्ने वातावरण कसरी बन्यो ?
मेरो बुवा नेपाल बैङ्क लिमिटेडमा जागिरे हुनुहुन्थ्यो । सरुवा भइरहन्थ्यो, उहाँ जता जता जानुहुन्थ्यो, म त्यतै जान्थेँ । २००९ सालमा नेपालगञ्जमा मेरो जन्म भएको हो । त्यहाँ अवधि भाषा बढी प्रयोग हुन्थ्यो । त्यही भाषामा मेरो पहिलो वाक्य फुट्यो । सुरुमा अवधि भाषा सिकेको हुँ ।
पछि बुवाको वीरगञ्ज सरुवा भयो । त्यहाँ भोजपुरी बढी प्रयोग हुन्थ्यो, अनि भोजपुरी सिकेँ । युवा उमेरमा बढी प्रयोग गरेकाले भोजपुरी भाषामा मेरो बढी दक्खल छ ।
वीरगञ्ज सीमान्त नगरी हो । हिन्दी सबैको माध्यम भाषा भएकाले त्यहाँ रहँदा बस्दा हिन्दी पनि सिकेँ । मेरो घर मारवाडी टोलमा भएकाले मारवाडी भाषा पनि सिकेको छु । मेरा साथीहरू सबै मारवाडी छन् ।
तर मेरो मातृभाषा नेवारी हो । आमाबुवा नेवार भएकाले घरभित्र नेवारी भाषा प्रयोग भयो । त्यसैले, विविध भाषा संस्कृतिसँग घुलमिल हुने मौका पाएँ । तर नेपाली भाषामा मैले धेरै कार्य गरेको छु । मेरो प्रिय भाषा नेपाली नै भयो ।
धेरै ठाउँ रहँदा बस्दा विभिन्न भाषाका व्यक्तित्वहरूसँग भेट भयो । यसले मेरो ज्ञानको क्षेत्र पनि विस्तार गर्यो । किनभने भाषाले मानव समाजलाई जीवन्त बनाउँछ । फरक भाषाका सम्पर्कमा आउँदा धेरै कुरा साक्षात्कार हुने गर्छ । त्यो हिसाबले धेरै भाषाको ज्ञानबाट धेरै लाभ गरेँ भन्ने ठान्छु म । मेरो ज्ञान विस्तार गराउनमा भाषाको महत्त्वपूर्ण भरथेग छ ।
यीमध्ये बोल्दाखेरि सबैभन्दा सन्तुष्ट हुने भनेको भोजपुरी भाषा नै हो । अहिले पनि भोजपुरी साथीहरूसँग भेट भयो भने मातृभाषामा कुरा गर्छु, त्यही सहज लाग्छ । त्यो भाषामा बोल्दा बडो आत्मीय भएको महसुस हुन्छ ।
–भोजपुरी गीत सङ्गीत सुन्दा अलि बढी उच्छृङ्खल हो कि, अश्लील हो कि जस्तो देखिन्छ नि ?
भोजपुरी भाषामा कुनै औपचारिकताको बन्देज छैन । तर मैथिली र नेपालीमा अलि बढी औपचारिकता छ ।
भोजपुरीको संस्कृति पनि विशेष खालको छ । जस्तै, विवाह गर्दा मण्डपमै गाली गरागर गर्ने परम्परा यो समुदायमा छ । जन्तीलाई गाउँलेहरू सुन्ने गरी लाउड स्पिकरमा दुलही पक्षले गाली गर्छन् । अहिले चाहिँ केही परिवर्तन भएको छ । यसै गरी यो भाषाका वक्ताले मनभित्र केही कुरा लुकाउँदैनन् । मनमा जे आउँछ, फ्याट्ट भनिदिन्छन् । यो अनौपचारिक भाषाजस्तो छ, फूलबुट्टा भरेर बोलिदैन । त्यसैले औपचारिक भाषा बोल्नेहरूलाई त्यस्तो अनुभूति हुनु स्वाभाविक हो ।
कला, संस्कृति, साहित्य र दर्शनको क्षेत्रमा एक पटक काम गरेपछि सकिने होइन, निरन्तर गरिरहनुपर्छ ।
–लेख तथा निबन्धमार्फत् सरकारलाई व्यङ्ग्य गर्नुहुन्थ्यो, अब प्रज्ञा प्रतिष्ठानमा आएपछि तपाईंको लेखकीय स्वतन्त्रता ठिँगुरिन्छ कि स्वतन्त्र नै हुन्छ ?
मेरो मानसिक बनावट प्रतिपक्षी चेतनामै आधारित छ । प्रज्ञामा आएर अवरुद्ध होला जस्तो लागेको छैन । यहाँ बसेर पनि प्रतिपक्षको चेतनाका हिसाबले काम गर्छु । त्यो चेतनालाई समर्पण गरेर आएको होइन ।
मेरो आफ्नो चेतना, व्यक्तित्वलाई समर्पण गरेर आएको होइन । यहाँ आएर गर्ने कर्म भनेको सङ्घर्ष नै हो । पहिलेको सङ्घर्ष र अहिलेको सङ्घर्षको शैली फरक हुन सक्छ तर मूल तत्त्व त त्यही हो ।
–अब सरकारको विरोध गर्न त सक्नुहुन्न नि ?
अहिले पनि मेरो पुस्तक प्रकाशन हुँदैछ । त्यसमा पनि त्यो चेतना छ । व्यङ्ग्य भनेको रचनात्मक हस्तक्षेप ठान्छु । यसलाई कसैले त्यही हिसाबले स्वीकार्यो भने राम्रो कुरा हो, स्वीकार गरेन भने उनीहरूको आफ्नो मानसिकताको कुरा भयो ।
तसर्थ घुँडा टेकेर, आफ्नो विचार समर्पण गरेर, आफूलाई बन्धकी राखेर यहाँ आएको होइन । मेरो आफ्नै चेतनाको बीज तत्त्वमा परिवर्तन हुँदैन ।
–२०१४ सालमा प्रज्ञा प्रतिष्ठान स्थापना भएको, यसलाई नजिकबाट अध्ययन गर्दै आउनुभएको छ । यसले हाम्रो देशको कला, साहित्य, संस्कृतिसम्बन्धि वास्तविक अनुसन्धान गर्न सकेको छ कि छैन ?
यो संस्थाले गर्ने भनेको सतत कार्य हो । यति गर्दा पूर्ण भयो भन्ने हुँदैन । अघिल्लो टिमले पनि काम नगरेको होइन, आफ्नो सीमामा रहेर गरि नै रहे । अहिले पनि गर्दैछौँ । हामी त एउटा निरन्तरताको कडी न हौँ । आफ्नो क्षमताअनुसार गर्ने हो ।
कला, संस्कृति, साहित्य र दर्शनको क्षेत्रमा एक पटक काम गरेपछि सकिने होइन, निरन्तर गरिरहनुपर्छ । हामी आफ्नो कार्यकालमा जे गर्नुपर्ने हो, आफ्नो क्षमताको सीमामा रहेर गर्ने हो । कुनै पनि व्यक्ति सबै कुराको ज्ञाता त हुँदैन नि । हरेक व्यक्तिको एउटा क्षेत्रमा विशेष ज्ञान हुन्छ, हामीमा भएको त्यो ऊर्जा दिने हो ।
–प्रज्ञालाई सरकारको कर्मकाण्डी निकाय भनेर आलोचना गर्छन्, तपाईंहरूको टिम त्यसैको निरन्तरता हो भन्ने आरोप छ नि ?
यसमा पनि केही सत्यता होला । त्यसबारेमा हामी पनि अनुसन्धान गर्दैछौँ ।
प्रगतिवादी लेखनमा सामेल भएपछि प्रतिपक्षी भूमिका धेरै ठाउँमा निभाइयो । त्यता लाग्दाको आवेगमा लेखिएका सिर्जना मलाई धेरै प्रिय लाग्छ ।
–युवाको टिम लिएर आउनुभएको छ, यो नेतृत्वले प्रज्ञालाई कसरी अगाडि बढाउँछ ?
प्रज्ञा प्रतिष्ठानलाई अगाडि बढाउने सन्दर्भमा एउटा खाका तयार गरिसकेका छौँ । त्यही खाकाका आधारमा काम गर्दै जाने हो । अहिले नै हामी यो गर्छौं, त्यो गर्छौं भनेर महत्त्वकाङ्क्षी भएर भ्रम पनि छर्दैनौँ । आफ्नो सामाथ्र्यअनुसार योगदान गर्ने कोसिस गर्नेछौँ ।
–तपाईंका आफ्नै रचनाचाहिँ कुन कुन मन पर्छन् ?
विधागत रूपमा मलाई कविता मनपर्छ भनिहालेँ । त्यसमा यो राम्रो त्यो नराम्रो भन्न सकिँदैन ।
तथापि आन्दोलनको समयमा आफू सहभागी भएर लेखिएका कविताहरू बढी प्रिय लाग्छ । झापा आन्दोलनका बेला लेखेका कविता, किशोर कालमा लेखेका कविता, त्यसमा आफ्नै आवेग छ । त्यो आवेगलाई लिएर अहिले एउटा कविता कसैले लेख भने भने सक्दिनँ । त्यसपछि पनि सुस्ता काण्डहरू भए, अन्य विभिन्न आन्दोलनमा लाग्दा कविताहरू लेखियो ।
प्रगतिवादी लेखनमा सामेल भएपछि प्रतिपक्षी भूमिका धेरै ठाउँमा निभाइयो । त्यता लाग्दाको आवेगमा लेखिएका सिर्जना मलाई धेरै प्रिय लाग्छ ।
‘एउटा मजदुर आफ्नो इतिहासको तीन अध्याय लेख्छ’ मेरो पहिलो कविता २०२६ सालमा रूपरेखामा प्रकाशित हुँदा पारिजात दिदीले मलाई चिठी लेखेर पठाउनुभयो । तर औपचारिक परिचय थिएन । उहाँ नेपाली लेखकहरूलाई वाच गरेर बस्नुहुँदो रहेछ । उहाँले मलाई पठाउनुभएको त्यो हवाईपत्र राखिराखेको भए हुन्थ्यो जस्तो लाग्छ । पारिजात दिदीले दिनु भएका विभिन्न अन्तरवार्तामा मेरो नाम उल्लेख गर्नुभएको छ ।
–यसअघि तपाईंको जीवन निर्वाहको बाटो या पाटो के थियो ? लेखेरै जीवन निर्वाह गर्नुभयो ?
जीवन निर्वाहका लागि एक दुई पटक जागिरका लागि परीक्षाहरू दिएँ । पछि पुस्तक पसल पनि खोलेँ तर सफल भइनँ । म असफल व्यवसायी पनि हुँ । पछि एमालेको नौ महिने सरकारले मलाई साझा प्रकाशनमा महाप्रबन्धक बनायो । नौ महिनापछि काँग्रेसीहरूले हटाए ।
–लेखनमा सबैभन्दा सन्तुष्ट भएको समय कुन हो ?
पहिले धेरै लेखेँ, अहिले लेख्दा पहिलेको जस्तो फुर्दैन, लेखे पनि कनीकुथी लेखेजस्तो लाग्छ । लेख्दै छु तर लेखक कहिल्यै सन्तुष्ट छैन । जुन दिन लेखक सन्तुष्ट हुन्छ, त्यो दिन उसको मृत्यु हुन्छ ।
मैले निकै लेख्नुपर्छ । केही लेख्नै पर्छ भन्ने हुटहुटी भइरहन्छ । मैले व्यङ्ग्य लेख्दा खुट्टा भाँचिदिन्छु भन्ने धम्की पनि आए । पञ्चायत रजत जयन्तीका बेलामा ‘तस्कर ट्रकको रजत जयन्ती’ शीर्षकको मेरो एउटा लेख छापियो । त्यसबेला ममाथि धेरै पटक आक्रमण भए । पुलिसले त्यो पत्रिकाको सबै सबै जफत गरेर लगे ।
प्रज्ञामा आएको छु, कसरी राम्रो गर्न सक्छु भन्ने ध्याउन्नमा छु । गाह्रो त गाह्रो नै छ ।
केही समयपछि ‘सरकारको नातागोता’ शीर्षकको लेख लेखेको थिएँ । त्यसले गर्दा धेरै कठिनाइ भोग्नुपर्यो । मैले सरकारलाई भनेर लेखेको तर महाराज सरकारलाई भन्ने अर्थ लगाइदिए । पुलिसहरूले खेदो खने, म आफू बसेको ठाउँबाट भाग्नुपरेको थियो ।
त्यतिबेला पार्टी भूमिगत थियो । नारायण ढकाल, गोपाल गुरागाईं, रघुजी पन्त, म बाहिर देखिन्थ्यौँ, प्रचार प्रसारको काम गथ्र्यौं । पार्टीले खटाएको इन्चार्जचाहिँ झलनाथ खनालजी हुनुहुन्थ्यो । उहाँ लुकेर हामीलाई भेट्नुहुन्थ्यो ।
–अन्त्यमा उपकुलपतिका तर्फबाट केही भन्नु छ कि ?
प्रज्ञामा आएको छु, कसरी राम्रो गर्न सक्छु भन्ने ध्याउन्नमा छु । गाह्रो त गाह्रो नै छ । प्रतिपक्षी चेतना र सत्तापक्षबीच सन्तुलन मिलाउन केही गाह्रो पर्ला तर मेरो प्रतिपक्षी चेतना मर्न दिन्नँ, सुरक्षित रहन्छ । त्यो मर्यो भने लेखक मरिहाल्छ । अहिलेको मेरो भूमिकाले त्यसलाई केही फरक पार्न सक्छ तर त्यो शैलीगत फरक मात्र हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका जेट्जले लिए नाम फिर्ता
-
६०० ग्राहकको विद्युत् लाइन काटिँदै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता