प्रौढता : एक अनुभूति
“असली रूपमा मानिस कहिले पाक्छ होला ? अर्थात् मानिसको परिपक्कताको निशानी के होला ?”
उमेरले प्रौढावस्थाको मानिस जब बचकना व्यवहार देखाइ हिँड्छ । त्यसपछि मभित्र यस किसिमको खुल्दुली जाग्ने गर्छ । केश पाकेर मात्रै मानिस प्रौढ बन्दो रहेनछ । दाँत झरेर मात्र मान्छे परिपक्व हुँदो रहेनछ । शरीरमा प्रौढ उमेरका निशानी त अनगिन्ति छन् । तर, सोचाइ कच्चा छ, बुझाइ कच्चा छ, व्यवहार आलोकाँचो छ, समझ फितलो छ भने त्यस मानिसलाई कसरी परिपक्व या प्रौढ मान्ने र ?
असली प्रौढता त उसको जीवनका हर लयका घटित हुनुपर्छ । उमेरले या आयुरेखाले बुद्धिको प्रौढतालाई निर्धारण गर्न सक्तैन । त्यसले विवेक र समझको प्रौढतालाई नाप्न सक्तैन । शरीरको प्रौढता एउटा कुरा हो, अनुभव र बुद्धिको प्रौढता अर्कै कुरा हो ।
कलिलो उमेरको मानिसले पनि समय भन्दा अगावै एक प्रौढता हासिल गर्न सक्छ । पाको उमेरको मानिस भएरपनि त्यो प्रौढता हासिल गर्नमा चुकेको हुन सक्छ । त्यसैले सबै बूढाहरु पाका बुद्धिका हुन्छन् भन्ने कुरामा कुनै ग्यारेन्टी छैन । सबै तन्नेरीहरु केटौले आलकाँचा हुन्छन् भन्नुपनि गलत हुन जान्छ ।
उमेर कति ? भन्ने विषयमा बुद्धकालीन एउटा घटना साह्रै घतलाग्दो छ । एकदिन बुद्धसामु एक भिक्षु आयो । बुद्धले उसको उमेर सोधे, “कति वर्षका भयो ?”
भिक्षुले जवाफ दिए, “चार वर्षको भएँ ।”
बुद्ध छक्क परे, त्यो मानिस हेर्दा सत्तर पचहत्तरको जस्तो लाग्थ्यो । कपाल सेतामसुर फुलेको छ । निधारमा चाउरी–धर्सा कोरिएका छन् ।
बुद्धलाई शङ्का लाग्यो । फेरि सोधे, “कति वर्ष भयो अरे ?”
फेरि उसले उही उत्तर दियो, “चार वर्ष ।”
बुद्धले विस्मयसूचक नजर लाउँदै सोधे, “कसरी चार वर्ष मात्रै भयो, तिमी त सत्तरी वर्षको जस्तो देखिन्छौ त ।”
भिक्षुले शालीन जवाफ दियो, “जुन दिनदेखि जीवनमा शान्ति मिल्यो, ध्यान मिल्यो, ज्ञान मिल्यो, त्यही विन्दुबाट म फेरि जन्मेँ । पुरानो जन्मको केही अर्थ छैन । जीवनको सार्थकता जहिले भेटेँ, त्यसपछि म जन्मँे । जुन दिनबाट निर्विचार स्थितिमा रहेँ, त्यो दिनबाट नयाँ जन्म पाएँ । त्यस अगाडिको जीवन त जीवनै होइन ।”
त्यस भिक्षुबाट प्रेरणा लिएर बुद्धले आफ्ना शिष्यहरुलाई असली उमेरको गणना गर्ने विधि बताए ।
बुद्धले भने, “भिक्षुहरु हो ! आफ्नो उमेरको गणना गर्न यी बूढाबाट सिक ।”
बुद्धका शिष्यहरुले सत्तरी वर्षका यी भिक्षुबाट आफ्नो उमेरको गणना गर्ने तरिका सिके कि सिकेनन् त्यो त एकिन थाहा भएन । तर, मानिसको असली जन्म त्यो दिन हुँदोरहेछ, जुन दिनबाट उसको सार्थक जीवनको पल सुरु हुन्छ । त्यस अगाडिको आयू त सिर्फ हिउँद–वर्षाको योगमात्र हो ।
शरीरले कयौँ वर्षका हिमपात, तुषारो, गर्मी, वर्षात् र आँधीहुरी तरे पनि त्यस मानिसको मनलाई अलिकति सुख, शान्ति र आनन्दको लहरले छुन सकेको छैन भने त्यो जीवन के जीवन ? त्यो आयू के आयू ?
फेरि मानिसको जीवन सार्थक पलहरुले मात्र भरिएको हुन्छ त ? त्यो पनि होइन । केही सार्थक केही निरर्थक पलहरुको जोडबाट समुच्च आयू–राशी उनिएको हुन्छ । निरर्थक स्थितिलाई घटाउँदै कटाउँदै सार्थक पलहरुलाई जोड्दै गोड्दै लाँदा जीवन–बगैँचा गमकिलो महकिलो हुन्छ कि त भन्ने एक अनुमान हो ।
जुन दिन जीवनले शान्ति र आनन्दको स्पर्श गर्छ, त्यो दिन मानिस असली रुपमा जन्मिन्छ रे । त्यो शाश्वत शान्ति, त्यो शाश्वत आनन्द सायद ज्ञान र ध्यानको उतुङ्ग शिखर उक्लेर मिल्छ क्यारे । त्यसैले त भिक्षु बोल्यो– जुन दिन ध्यान मिल्यो, त्यो दिन म जन्मेँ । जुन दिन निर्विचार स्थिति प्राप्त गरेँ, त्यो दिनबाट नयाँ जीवन मिल्यो । नयाँ आयूरेखा सुरुवात भयो ।
केही दिन अघि एकजना ज्ञानी पुरुष जो टेलिभिजनमा अन्तरवार्ता दिँदैथे । उनले मानिसको आयू र उमेरको विषयमा एउटा घतलाग्दो कथा सुनाए ।
कुनै गाउँमा भएको घटनाको हो । एउटा घरमा दोपहर अर्थात् दिउँसोको समयमा किशोर उमेरको सन्यासी भिक्षा माग्न आयो । दिउँसो दुई बजिसकेको थियो । घरमा ससुरा, बुहारीमात्रै थिए ।
कलिलो उमरेको योगीलाई देखेर बुहारीले प्रश्न गरिन्, “किन बिहानै भिक्षा माग्न आयौ योगी ?”
योगी बोल्यो, “हिड्ँन त बिहानै हिँडेको हुँ, बाटो लामो थियो माता ।”
योगीलाई फेरि सोधिन्, “कस्तो खाना खाँदैछौ त योगी ।”
योगीले जवाफ दियो, “बासी खाना पो खाँदैछु माता ।”
युवा–वयको योगी र बुहारीका वीच भएको संवाद सुनेर ससुरो बूढो छक्क पर्यो । उनीहरुको कुरामा कुनै तालसुर मिलिरहेको थिएन । यी दुवै पागल भएको लख काट्यो । कुरामा कुनै संगति थिएन । किनभने योगी दिउँसो दुई बजेको समयमा आएको छ । तर, बुहारी प्रश्न गर्छे– यति विहानै किन भिक्षा माग्न आयौ योगी ? योगीको उत्तर पनि सोही खालको छ । बूढो चुपचाप उनीहरुका कुरा सुनिरहेको छ । योगी र बुहारीका वीचको संवाद अरु यसरी अगाडि बढ्छ ।
योगीले उनलाई सोध्छ, “तिमी कति वर्षकी भयौ ?”
बुहारी भन्छिन्, “दश वर्षकी भएँ ।”
फेरि योगीले सोध्छ, “तिम्रा पति कति वर्षका भए ?”
उनी भन्छिन्,“दुई वर्षका भए ।”
योगी–“सासु कति वर्षकी छिन् ?”
बुहारी–“भर्खर एक वर्षकी भइन् ।”
योगी–“ससुरा कति वर्षका भए ?”
बुहारी–“जन्मेकै छैनन् । गर्भमै छन् ।”
अब चैँ बूढो पक्का तिल्मिलायो । किनभने यिनीहरुको अत्तो न पत्तोको सवाल–जवाफ सुनेर ससुराको दिमाग चक्कराइसकेको थियो । बुहारी आफू तीस वर्षकी छे । तर, दश वर्षकी भएँ भन्छे । आफ्नो लोग्ने पैँतीस वर्षको छ, उसलाई दुई वर्षको भयो भन्छे । सासुको उमेर साठी वर्ष कटिसकेको छ, एक वर्षकी भइन् भन्छे । आफूँ पैँसठ्ठी वर्ष पूरा भएको छ, ससुरो जन्मेकै छैन भन्छे ।
योगी र बुहारी साँच्चै पागल भएको ठान्यो र दुवैलाई बेस्कन हकार्यो–“तिमीहरु बहुलाएका त छैनौ ? के उत्पट्याङ्ग कुरा गरिरहेका छौ हँ ?”
योगीले शान्त स्वरमा भन्यो–“हामी सांकेतिक रुपमा बोलिरहेका थियौँ बुबा । हाम्रो सवाल जवाफका प्रतीकात्मक अर्थ छन् । सुन्नुस्, तपाईंकी बुहारीले किन बिहान बिहानै आयौ भन्नुको अर्थ किन यति कलिलो उमेरमा योगी भएर हिड्ँयौ भनेको हो ।
हिडँ्न त बिहान सखारै हिडेको हुँ, बाटो लामो थियो भन्ने मेरो जवाफको अर्थ मोक्ष या मुक्तिको बाटो लामो छ । त्यसैले बेलैमा साधनामा लागेँ भनेको हो ।
कस्तो खाना खाँदैछौ ? को अर्थ यसै जन्मको कमाइ खाँदैछौ कि प्रारब्ध भोग्दैछौ भनेको हो । बासी खाना खाँदैछु को अर्थ पूर्वजन्मको भोग गर्दैछु भनेको हो ।
आयूको विषयमा दश वर्षको भएँ भन्नुको अर्थ ध्यान साधनामा लागेको दश वर्ष भयो भनेको हो । पति दुई वर्षका भए भन्नुको अर्थ उनी दुई वर्षदेखि ध्यानमा जोडिएका छन् भनेको हो ।
सासुको उमेर एक वर्ष भयो भन्नुको अर्थ उनी एक वर्षदेखि ध्यानमा जोडिएकी छिन् भनेको हो । र, ससुरा जन्मेकै छैनन्, गर्भमा छन् भन्नुको अर्थ उनी आजसम्म ध्यान साधनामा जोडिएका छैनन् भनेको हो ।”
योगीको स्पष्टोक्तिले बूढाका आँखा खुले ।
कथाले भन्छ, मानिस ज्ञानका आँखा खुलेको दिन जन्मिन्छ । ध्यानको रस चाखेको दिन जीवनमा नयाँ पाइलो टेक्छ । ज्ञानका आँखा नखुलुन्जेल ऊ गर्भवासको कालो कोठरीमा थुनिएको हुन्छ ।
जुन दिन ज्ञान–चक्षु खुल्छ र ध्यानको उज्यालो भेट्छ, त्यो दिन जीवनको नयाँ अभिर्भाव हुन्छ । यो अवतरण चानचुने अवतरण होइन । यो नयाँ अवतरण लिदाँ बाउ भन्दा छोरो अगाडि हुन सक्छ, छोरो भन्दा नाति अग्रगामी भएर आउन सक्छ । बाबु–आमा ज्ञान–गंगाको गर्भमै हुँदा छोरो निष्णात पौडीवाज बनेर निस्किन सक्छ । ध्यानको आभाले एक प्रौढता छिप्पिन सक्छ ।
प्रौढता र परिपक्कता भन्ने कुरा उमेरले होइन, अवस्थाले घटित हुने चिज रहेछ । केही दिन अघि मेरो चेतनालाई स्पर्श गर्ने सानो घटना घट्यो । तीनपाङग्रे अटोरिक्सामा दश वर्षको नाति र पचहत्तर वर्षको बाजे चढेका छन् । गन्तव्य आएपछि दुवै ओर्ले ।
बूढाले गोजीबाट एक बिटो पैसा निकाले । अटो भाडा तिर्ने वेलामा चालकसित पाँच रुपैयाँको विषयमा पन्ध्र मिनेट ल्याङल्याङ भयो । ड्राइभर पाँच रुपैयाँ घट्न नमान्ने, बूढो नघटाई नछोड्ने, लामै गलफत्ती भयो ।
आखिरमा सानो नातिले दिग्दार मान्दै बूढाको हात समाएर तान्यो–“छोड्दिनुस् हजुरबुवा ! तपाई त्यत्रो पेन्सन थाप्नुहुन्छ । पाँच रुपैयाँले तपाईंलाई के हुन्छ ? लागेको भाडा त दिनैपर्छ नि ।”
नातिका बचनले बूढो आफ्नो जिद्दी छोड्न बाध्य भयो । लागेको भाडा बुझाएर नाति बाजे त्यहाँबाट हिँडे । बेलुकासम्मै यी नाति बाजेको बिम्व मेरो मथिङ्गलमा बल्झिरह्यो । मलाई लाग्यो पचहत्तर वर्षको बाजेमा आउन नसकेको प्रौढता र परिपक्कता त्यो दश वर्षको फुच्चे नातिमा देखेँ ।
केश फुलेर के गर्नु ? छाला चाउरी परेर के गर्नु ? बूढो मानिसभित्र लोभ र लिप्तताको लेश बराबरको अंश घटेको छैन भने ऊ कसरी प्रौढ हुन सक्ला र ? जीवनको स्वर्णिम आयू हातबाट फुत्किसक्यो । तर, मनभरि मुटुभरि किसिम किसिमका अकड र पकडहरु छन् भने उसलाई कसरी वार्धक्यको शिखर उक्ल्यो भन्नूँ ?
एकजना कर्मचारी दाइ छन् । जो उमेरको कारणले सेवानिवृत हुन लागेका छन् । कति वर्ष जागिर खानु भयो भनी सोध्दा उन्चालीस वर्ष खाएँ भन्छन् । तर, आजभोलि एक उफानमा छन् । एक अशान्तिमा छन् । एक वेचैनीमा छन् । भेट भएपिच्छे उनको अनुहारमा एक छटपटी देख्न सकिन्छ । मैले एकदिन सोधे–“दाइ किन यत्ति विचलित हुनुभएको ?”
उनले भने–“हेर भाइ, तिम्रो पो अझै धेरै दिन बाँकी छ जागिर खान र ढुक्क छौ । मेरो त अवकाश हुँदैछ । अब के गर्ने होला ? छोरीको बिहे गरेकै छैन । छोराले कुनै पेसा समातेकै छैन । जिन्दगी बर्वाद छ भाइ ! बर्वाद छ !”
मैले उनलाई भने–“त्यत्रो जायजात जोड्नु भएको छ । त्यो भएन सरकारले मासिक पेन्सन दिन्छ । सुविधाको पैसा आउँछ । त्यसलाई उचित ढंगले व्यवस्थापन गर्दा सबै समस्या समाधान भैहाल्छ । फेरि यत्रो झण्डै चालीस वर्ष घोटिनु भयो । अब विश्राम लिनुस् । जीवनका भोग्न बाँकी अरु रङहरु पनि छन् । तिनलाई भोग्नुस् । आनन्दित हुनुहोस् ।”
उनले उल्टै मलाई गाली गरे–“तिमी भन्छौ नि ! आफूलाई कत्रो पीडा छ । अझै स्वस्थ थिएँ, सक्रिय थिएँ । अरु दश वर्ष जागिर गर्न सक्थेँ । अवकाश पाएपछि के गर्नु मैलै ?”
मैले बुझी हालेँ, यिनलाई जसो गर्दापनि सम्झाउन सकिँदैन । परिस्थितिलाई स्वीकार भावले ग्रहण गर्न नसक्ने बूढो मानिसलाई कसरी प्रौढताको पगरी भिराउनु ? म असामन्जस्यमा परेको छु । नियुक्ति र अवकाश जीवनका रीत हुन्, यिनलाई सहज बुद्धिले आत्मसात गर्नुपर्छ भन्ने आत्म–चेतना नभएका मानिस कसरी बूढा भए ? आश्चर्य लाग्छ ।
केही वर्ष अघि एकजना उमेरले सत्तरी नाघेका बूढा अग्रवालसित भारतका केही ठाउँको यात्रामा निस्केको थिएँ । मानिस असाध्यै धनी हुन् । तर, जहाँ गएपनि उनी दलाली थाली हाल्थे । नास्ता पसलमा खाजा खायो, पैसा तिर्ने बेलामा दलाली । ट्याक्सी चढ्यो ट्याक्सीमै दलाली । होटलमा बास बस्यो, त्यहीँ दलाली । हुँदा हुँदा पान दोकानमा समेत दलाली गरे ।
उनलाई किन यसो गर्नुहुन्छ ? भन्दा सहज उत्तर दिए–“हेर्नुस् बाबु, मेरो त नसामा मारवाडीको खुन बगेको छ । तिर्ने ठाउँमा एक पैसा भएपनि मैले घटाउनै पर्छ । वार्गेनिङ गरिन भने त मलाई चैन नै मिल्दैन । पैसाको लोभ होइन कि दलाली गर्नु मेरो स्वाभाव हो ।”
ओहो ! यी बूढाले मनको कुरा कति खुलस्तसित बोले । तर, पनि मैले अस्ताचलमा जीवन डुब्न लागेको यो उमेरमा यस्तो अकड त्याग्न सुझाव गरेँ । कतिपय कुरामा लिप्त होइन, अलिप्त हुँदा राम्रो हुन्छ भनेँ । मेरो कुरालाई एकदम ठीक कुरा गर्नु भयो, अब म यो अकड र पकड दुवै छोडिदिन्छु त भने । तर, केही घण्टापछि पानी बेच्ने ठाउँमा एक बोतल पानीको दामको विषयमा झगडा गरि नै हाले । अब यो बूढो दिमागलाई जति नै सम्झाएपनि पार नलाग्ने रछ भन्ने निष्कर्षमा पुगेँ ।
शरीरमा बूढ्यौली खस्नु र बोध तथा अनुभूतिको तहमा प्रौढता आउनु नितान्त फरक कुरा रहेछ । सानो उमेरमा पनि प्रौढताका चम्किला झिल्का देख्न सकिने रहेछ । कलिलो उमेरका मानिसमा पनि परिपक्कताका यथेष्ट निशानीहरु भेटिने रहेछ ।
अनि उमेरले अस्ताचलको बूढो घाम भैसकेको मानिस पनि रुढ, रुग्ण र काँचो जडतामा फँसेको छ भने त्यो प्रौढ बनेकै छैन । अनन्त आशक्ति र लालचाले उसको चेतनालाई माथि उठ्न दिएको छैन भने त्यो मानिस कच्चै छ, त्यो मानिस बच्चै छ । ऊ प्रौढ बनेकै छैन, ऊ परिपक्व भएकै छैन ।