शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
कथा

कालो धरती

शनिबार, ११ चैत २०७९, ०८ : ५६
शनिबार, ११ चैत २०७९

पण्डित अगस्तिको विदाई भयो । एउटा भरिया उनको पछि पछि पूर्वतिर हानियो । टाढाका अतिथिहरु रुँदै फर्किए । छिमेकीले दिनभरी आँखा रसाए । किनकि, आज मनमतीको तेह्रौ दिनको पुण्यतिथि थियो । 

मर्ने बेलामा मनमतीले छोराहरुलाई भनेकी थिइन्, अम्बालाई राम्ररी पाल्नु, उमेर पुगेपछि असल कुमार खोजेर दिनु..।  तर त्यही बेलुका अम्बालाई अब कस्ले पाल्ने भन्ने विषयमा जेठो र कान्छोबीच कुरा मिलेन, झगडा सुरु भयो । दुवै आँगनमा साँढे झै मडारिन थाले । अम्बा रुँदै गाउँ पसी । 

अम्बा अर्थात् १० वर्षकी अबोध बालिका । जसलाई खान र लाउनबाहेक सांसारिक सुख भोगको आकर्षण छैन । तर बाबुआमाको मृत्युपछि आफ्नै घरमा ऊ फोहोरको पोको जस्तै हुन थाली । अम्बा प्रायः छिमेकी सिते बज्यैकहाँ जान्थी र धेरैजसो उतै बस्ती । 

सिते बज्यै र मनमती साह्रै मिल्ने छिमेकी थिए । दुईबीच सुखदुःखको ऐचोपैचो चल्थ्यो । कुनै दिन मनमतीले सिते बज्यैलाई भनेकी थिइन्– दिदी तपाईंलाई पतिको शोक छैन । सन्तानले शान्ति दिएका छन् । त्यसैले पक्कै म तपाईंभन्दा पहिल्यै मर्नेछु । मेरा छोराहरुको भर छैन । म छिट्टै मरें भने अम्बालाई असल कुमार खोजेर पठाईदिनु । तपाईंको गुण म स्वर्गमा तिर्नेछु । 

हेमन्त ऋतुको एक दिन घाम अस्ताउन सूर्य पश्चिमतिर भासिदै थियो । एकजना अर्धबैँसे पुरुष सिते बज्यैको ऑगनमा लखतरन भएर उभियो र बूढीलाई चिनेझैं वाल्ल परेर हेरिरह्यो । 

कुखुरा थुन्दै गरेकी बूढीले पनि चिनेझै चस्मा माथिबाट आँखा तन्काउँदै हेरिरहिन तर दुवै बोलेनन् । एकछिन शुन्यता छायो । बूढी अचानक बोलिन्, ‘तँ पुसमान होइनस् ?’ 

खुसी हुँदै पुरुषले बोल्यो, ‘हो दिदी हो म पुसमान भोटे, कुसुमपुरबाट आएको ।’ 

बीस वर्ष अघिको धमिलो स्मृतिलाई बूढीले चस्मा मिलाउँदै सम्झिइन् ।  सानो छँदा बूढीकी आमासँग ऊ पछि पछि लागेर आईरहन्थ्यो । तर, पन्ध्र वर्षअघि सानो भेरीमा आएको बाढीले उसको श्रीसम्पत्ति बगाएपछि कहिल्यै आएको थिएन । यतिका वर्षपछि आईतीलाई भेट्न पाउँदा बूढी खुसीले गद्गद् भइन् । 

साँझ पर्‍यो । बूढीले कुखुरो छिनाइन् । भान्सामा अम्बाले सहयोग गरी । खानाका परिकार तयार भए । सुरुमा पुसमानलाई खाना दिइयो । त्यसपछि अम्बा र बूढीले खान सुरु गरे । पुसमानले भोको गोरुले कुँडो चपाए झै निमेष भरमा थालको भात सक्यो । तर लाजले थपेन । उसले कसैलाई पर्खेन । हात धोएर चिसै हात गलैचामा पल्टियो । 

बूढी र अम्बाले पनि थाल चाटी चाटी मीठो मानेर खाए । सबैले खाना खाईसकेपछि पुसमानले मन खोलेर बूढीसँग बात मार्‍यो । भन्यो– ‘दिदी बाढीले श्रीसम्पत्ति बगाएपछि म गर्मीको चराझै बिरक्तिएर काला पहाडतिर हानिएँ । त्यहाँ धेरै दुःख गरेँ । आज मसँग प्रशस्त जमिन छ, कामदार छन् । सम्पत्ति छ तर सन्तान छैनन् ।’ 

यति भनेर ऊ केटाकेटी झै धुरुधुरु रुन थाल्यो । 

‘जन्मिदै चर्केको भाग्य लिएर जन्मेछु,’ उसले रुँदै भन्यो–‘कसैले पाल्नको निम्ति सन्तान देलान् कि भनेर खोज्न आएको ।’ यति भनेर ऊ झन्झन् रुन थाल्यो । 

चुल्होको कुनाबाट अम्बाले पुसमान रोएको वाल्ल परेर हेरिरही । पुसमानले आँसु बग्दै गरेको आँखालाई टम्म कस्यो । र, हत्केलामा टाउको राखेर चुपचाप बस्यो अनि निमेष भरमा गलैचामा ढलेर भुसुक्क निदायो । 

राती बूढीले मनमनै पुसमानको साथमा अम्बालाई कुसुमपुर पठाईदिने विचार गरी । बूढीले तुरुन्त अम्बालाई निन्द्राबाट व्युँझाएर भनि– ‘तँ त्यो मान्छेसँग कुसुमपुर जान्छेस् ?’ तर अम्बालाई सपनामा डरलाग्दो यमराज आएर ‘त मसँग जान्छेस्’ भनेजस्तो भयो । अम्बा जान्न भन्दै चिच्याउन थाली । 

हैन हैन जानु पदैन । बूढीले अम्बालाई फकाईन् । अम्बा डराउँदै फेरि निदाइ । बूढी पनि छेवैमा खोक्दै सुतिन् । 

भोलिपल्ट विहान अम्बा र पुसमानलाई लिएर बूढी अम्बाको घरमा गइन् । अम्बाको जेठो दाजु गाउँबाट हराइसकेको थियो । अब सोध्नुपर्ने कान्छोलाई थियो । उनले सबै कुरा भनिन् । कान्छो दाइले अनुमति दियो र उसका पुराना कपडाको पोको घरबाट निकालिदियो । 

त्यसपछि ढोकामा चुकुल ठोकेर कान्छा पनि अलप भयो । अब अम्बा पुसमानसँग कुसुमपुर जानैपर्ने भयो । अम्बाले बूढीको फरिया समातेर ठूलो ठूलो स्वरमा रुँदै भनि–‘मेरी बज्यै म जान्न ।’ 

बूढी पनि अम्बालाई छातीमा टाँसेर रोइन् । त्यहाँ केही बज्रपात परे जसरी रुवाबासी चल्यो । अम्बा र बूढी अंगालो हालेर धेरै बेर रोए । अम्बाले घरको ढोका हेरी । दाजुले चुकुल ठोकेको थियो । त्यसपछि अम्बा रुँदै पुसमानको पछि पछि कुसुमपुर गई । 

पुसमानकी श्रीमतीको नाम राम्री थियो । ऊ रुपको निक्कै चिन्ता गर्थी र दिनभरी आफूलाई सिंगारेर कौशीमा उत्तरका हिमाल हेरेर बस्थी । लोग्नेले गुलाबकी फुलजस्ती अम्बालाई घरमा ल्याएको देखेर राम्री खुसीले गद्गद् भइ । 

पुसमान दम्पत्तिले अम्बालाई छोरी बनाएर पाल्न थाले । छ महिना बित्यो । राम्री गर्भवती भइ । घरमा सुख, शान्ति, सम्पत्ति बढ्दै गयो । राम्रीले छोरो पाई । उसको नाम प्रभास राखियो । प्रशस्त भेडा काटिए । तीन दिनसम्म गाउँलेलाई भोज खुवाउँदै खुसीयाली मनाइयो । 

प्रभास बढ्दै गयो । अब त्यस घरमा अम्बालाई गर्ने सबै माया प्रभासतिर पोखियो । राम्रीले स–साना कुरामा अम्बालाई गाली गर्न थाली । पुसमान सम्पूर्ण रुपमा जोइटिङ्ग्रे भइसकेकाले स्वास्नीका कुरा सुनेर अम्बालाई देखि नसक्ने भयो । प्रभास तीन वर्षको भयो । अब अम्बा त्यस घरमा नअट्ने भई । अम्बाले आफ्नो जन्मघर फर्किने ईच्छा गरी, पुसमानले फर्काइदियो । 

...

गाउँमा सिते बज्यै मरिसकेकी थिई । अम्बाको कान्छो दाजुले बिहे गरिसकेछ । उसकी स्वास्नीको नाम मुहान थियो । उ छुच्ची थिइ । दाजु सधँै रक्सी खाएर घरमा झगडा मच्चाउँथ्यो ।  

पल्लो गाउँको बद्री अम्बाको घरमा आईरहन्थ्यो । कारण मुहान थिइ । ऊ उमेरले ४५ वर्षको थियो र उसकी श्रीमती मरिसकेकी थिई । अब त्यस घरमा अम्बा पनि थिइ । फुलेको गुलावजस्ती चौध वर्षकी सुन्दरी अम्बा । यो उमेरमा मानव जाति सबैभन्दा राम्रा कहलिन्छन् । तर अम्बा विशेष थिइ । बद्रीले अम्बालाई खुबै मन परायो । त्यस घरमा झन् उ दिनदिनै आउन थाल्यो । अम्बाको कान्छो दाजुसँग झन् नजिकियो । साँझ पर्न साथ रक्सी र कुखुरा ल्याएर रात बिताउन थाल्यो । 

एक दिन बद्रीले आफ्नी आमाको तिलहरी सुटुक्क चोरेर मुहानको हातमा राखिदियो । मुहान खुसीले गद्गद् भई । उसले चेप्रो घस्दै भनी–बद्री दाइ भन्नुस् तपाईंको म के सेवा गरु ? 

बद्रीले भन्यो– तिम्रो घरमा फूलेको गुलावको फूल मलाई देऊ, अरु सुनका गहना तिम्रा हातमा राखिदिउँला..। 

मुहानले हतारिँदै सोधी– त्यो गुलावको फूल ? अर्थात् मेरी नन्द ? अरु सुनका गहना ? हुन्छ हुन्छ । त्यो गुलाव अब तपाईंकै भयो । यो मेरो देब्रे हातको खेल छिट्टै पुरा हुन्छ ।

राती बिस्तारामा मुहानले लोग्नेलाई सबै कुरा भनि । बद्रीले दिएको तिलहरी देखाई । अरु पनि गहना पाइने भएपछि लोग्ने खुसी भयो । उसले एउटा हातमा गहना लिने र अर्को हातले अम्बालाई टीका लाईदिएर बद्रीको साथमा पठाउने चाँजोपाँजो तुरुन्त मिलाउन स्वास्नीलाई आदेश दियो । 

बद्रीसँग बिहे गर्न मुहानले भोलिपल्ट अम्बालाई सक्दो फकाई । दाजुले हकार्न थाल्यो । यता सेती बूढी मरिसकेकी थिइ । मावली बसाइँ सरेर हिँडिसकेका थिए । अम्बाको जाने ठाउँ कतै थिएन । घरमा बस्ने अवस्था रहेन । अन्ततः बद्रीले अम्बालाई लगिछाड्यो । 

बद्रीको घरमा ऊ र बूढी आमाबाहेक कोही थिएनन् । त्यो पैतालीस वर्षे पुरुषलाई देख्दा अम्बा निक्कै डराउँथी । बेलुका बद्रीकी आमासँग सुत्न जान्थी । तर, बूढीले अम्बालाई बद्री सुतेको कोठामा तानेर भित्र हुत्याइदिन्थी र बाहिरबाट चुकुल लगाईदिन्थी । 

बद्रीले अम्बाको मुख कपडाले थुनिदिन्थ्यो र चौध वर्षको कलिलो यौवनलाई सक्दो गिजोलेर थाकेपछि भुसुक्क निदाउँथ्यो । बद्री निदाएपछि अम्बा होसमा आउँथी र झ्यालबाट भागेर डराउँदै बूढीको छेउमा गएर सुत्थी । 

बद्रीले उसलाई निक्कै माया गथ्र्‍यो तर अम्बा बुझ्दिनथी । अम्बाको नजरमा बद्री लोग्ने नभई कपडाले मुख थुनेर बलिया हातले कलिला नाडीलाई पक्रेर निर्दयी रुपमा कलिलो यौवन गिजोल्ने डरलाग्दो पुरुषमात्र थियो । 

दिनहरु बित्दै गए । अम्बा पन्ध्र वर्षकी हुनासाथ ऊ गर्भवती भई । अम्बाको पेट बढ्दै गयो । उ पेटमा काउकुती लागेको अनुभुति बारम्बार गर्थी तर कसैलाई भन्दिनथी । पेटमा बच्चा खेल्दा काउकुती लाग्छ तर आफू गर्भवती भएको उसलाई थाहा थिएन । 

महिना पुग्यो । छोरो जन्मियो । उसको नाम देउता राखियो । बद्रीको परिवारमा खुसीको सीमा रहेन । टाढा टाढाका आफन्तहरु भेट्न आए । बजारबाट महँगो चामल ल्याईयो । गाउँमा दुई दिनसम्म ठूलो भोज भयो । 

देउता जन्मेको पच्चिस दिनपछि बद्रीलाई सञ्चो भएन । आफूलाई निक्कै गाह्रो भएको कुरा उसले आमालाई बतायो । त्यसपछि अम्बालाई पनि भन्यो । तर, अम्बा उ देखि सधैँ डराउँथी । 

भोज उतार्न सबै पैसा सकिएपछि आफ्नो उपचार गर्न बद्रीले अम्बासँग कानका मुन्द्रा माग्यो । अम्बाले तुरुन्त खोलेर बद्रीको हातमा राखिदिई । उसलाई छिमेकीले बोकेर सहर लगे । बूढीले छोराको पिर मानिरही । तर अम्बाले लोग्नेको पिर गरिन । किनकि, ऊ लोग्नेसँग डराउँथी मात्र । 

असारको महिना, भोलिपल्ट बेलुकासम्म पानी परिरह्यो । बिहानै ढोकाअगाडि काग आएर करायो । बूढीले शुभ बोल भनेर रुन थाली । बेलुका साँझको सिमसिमे झरीमा छिमेकीले बद्रीको शव आँगनमा राखे । छोराको शव देखेपछि बूढी बेहोस् भई । 

हुरीले उडाएको कागजको टुक्राजस्तै भित्रबाट उछिट्टिएर लोग्नेको शवमाथि घोप्टो परेर अम्बा मेरो कृष्ण, मेरो प्राण भन्दै रुन थाली । 

सिंगो गाउँलेको त्यहाँ रुवाबासी चल्यो । ज्युँदो लोग्नेसँग सधैँ डराउने त्यो बालिका मरेको बूढो लोग्नेलाई अंगालो हालेर सबैभन्दा धेरै चिच्याएर रोई । सबैले सम्झाउँदा पनि नसम्हालिने भएर रोई । सायद बल्ल उसले आफ्नो लोग्नेको माया र अभाव महसुु गरी । र, आफ्नो सारा जिन्दगीमाथि प्रलयको बज्रपातले केटाकेटी झंै रोई रही ।  

भोलिपल्ट बद्रीको अन्त्येष्टि गरियो । अम्बाले विधिपूर्वक लोग्नेको काम सकाई । अब गाउँमा अम्बा र उसको छोरा देउता अलच्छिना हो भन्ने हल्ला चल्यो । 

बूढीले छिमेकीका कुरा सुनेर अम्बा र उसको छोरालाई घरभित्र नराख्ने भई । अम्बा र उसको छोरालाई घरबाहिर राख्ने व्यवस्था गरियो । ऊ रोएर दिन बिताउँथी । राती सपनामा बारम्बार मरेका बाबुआमा र लोग्ने आएर भन्थे–‘तिमीलाई यहाँ पिर व्यथा र दुःख भो । हिँड हामी सँगै जाऊँ ।’ उता भुस्याहा कुकुरको भुकाइले उ छिन छिनमा निन्द्राबाट ब्युँझिरहन्थी । 

एक दिन बूढीले नातिलाई नुहाउने भन्दै उम्लिन लागेको पानीमा डुबाई । केटो मुर्छा पर्‍यो । अम्बाको मुटु चुँडियो । उसले छोरालाई तानेर चिच्याउँदै छातीमा टाँसी । अम्बाले रुँदै भनी–मेरो छोरा अलच्छिना होइन । 

बेलुका छिमेकीबाट अम्बाको निम्ति पोषिलो खाना आयो । त्यो साँझ केटोलाई दूध चुसाउँदै गर्दा उ भुसुक्क निदाई । त्यो खाना कुकुरले खायो । केही समयपछि कुकुर मुखभरी सेतो फिँज निकालेर  मर्‍यो । 

भोलिपल्टदेखि सासु र छिमेकीसँग अम्बा डरले थरथर काँप्न थाली । कोही भन्थे, यो अलच्छिना केटालाई मारीदिनुपर्छ । कोही भन्थे, अम्बाका आमाछोरालाई गाउँबाट निकाल्नुपर्छ । 

तर समाजका यी बिषमय बचनको प्रतिवादमा अम्बाले बारम्बार रँदै भन्थी, बिन्ति छ, जे गर्नु छ, मलाई गर्नुस् तर मेरो छोरालाई केही नगर्नुस्, केही नभन्नुस् । मेरो छोरा अलच्छिना होइन । 

यसै पनि लोग्ने मरेको घरमा बस्दा आईमाईलाई विरक्त र उदासबाहेक केही हुँदैन । अम्बा अब त्यो घरमा बस्न नसक्ने भई । छोराको मायाले भोलि सबेरै उसले गाउँ छोड्ने निधो गरी । 

मध्य रातीसम्म अम्बा निदाइन । सुख र दुःख, हाँसो र आँसु,  भाग्य र भविष्यबारे उसको मनमा लाखौं कुराहरु खेलिरहे । मरेर गएका बाबुआमा र लोग्ने सम्झनामा रातभरी आए । 

आँसुले सिरानी भिजाइसक्दा ऊ एक निन्द्रा सुतेर व्युँझिइ । उसको धोतीको आधा भाग शितले भिजेको थियो । आकाशतिर हेरी । हेमन्त ऋतु सुरु भइसकेकाले पश्चिमको आकाशबाट उज्याला चन्द्रमाले धरतीलाई ढकमक्क पारेका थिए । ताराहरु रुख र पहाडमाथि आकाशभरी चम्किरहेका थिए । वल्लो गाउँ, पल्लो गाउँमा भाले बास्न थाले । 

उसले निदाएको छोरालाई पिठ्युँमा राखेर पटुकीले बलियोसँग कसी । बच्चाका थाङ्ना र आफ्ना एकसरो कपडाको पोकोलाई  हातमा झुन्ड्याई । चन्द्रमाको छाँयामा एकछिन आँगनमा ठिङ्ग उभिई र आकाशतिर हेरेर लामो स्वास फेरी । अनि भालेको तेस्रो प्रहरमा अम्बा गाउँबाट सधैँको लागि अलप भई । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिल नेपाली
अनिल नेपाली
लेखकबाट थप