बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
विज्ञका कुरा

क्यान्सर उपचारको सही तरिका

‘बिरामीलाई बुझाउने र बिरामीले बुझ्ने पनि हो’
शनिबार, ११ चैत २०७९, ०६ : ४०

करिब ३० वर्ष पहिले म चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जमा एम.बी.बी.एस. अध्ययन गर्दा, मेरा एकजना गुरुले भन्नु हुन्थ्यो; ‘तिमीहरू यस्तो इज्जतदार पेसाको लागि अध्ययन गर्दै छौँ जसको अध्ययन पुरा गरेपछि राजा बाहेक सबैले “डाक्टर साहेब” भनेर सम्बोधन गर्नेछन् । त्यसैले तिमीहरूले पनि आफ्नो पेसा र बिरामीप्रति संवेदनशील र जिम्मेवार हुनुपर्छ’ । उहाँले अर्को कुरा पनि भन्नु हुन्थ्यो ; राजादेखि प्रजासम्म कसैले “डाक्टरी भाषा” बुझ्दैनन्, त्यसैले बिरामीलाई राम्रोसँग समय दिएर बुझाउनु, के बुझ्यौ भनेर सोध्नु र बुझेको कुरा दोहराउन लगाउनु । किनकि हाम्रा बिरामीहरू बुझ्यौँ भन्दा बुझेको जसरी टाउको हल्लाएर जान्छन् । वास्तवमा उनीहरूले बुझेका हुँदैनन् । उनीहरूले डाक्टरी भाषा नबुझ्नुमा उनीहरूको दोष होइन । तिमीहरूले बुझाउन नसक्नुमा हाम्रो शिक्षादीक्षाको कमजोरी देखिनेछ’ । यिनी गुरुका दिव्य वाणीहरू अहिले पनि सान्दर्भिक छन् । भनिन्छ क्यान्सर उपचारको सही तरिका भनेको नै डाक्टरले बिरामीलाई बुझाउने र बिरामीले बुझ्ने, जसले गर्दा उपचार सरल, सहज, सस्तो, गुणस्तरीय र परिणाममुखी हुन्छ । चिकित्सकहरूले बुझाउन नसकेर हो या बिरामीहरूले बुझ्न नसकेर हो उनीहरूले विभिन्न खाले सोच, गलत विचार र धारणा पालेर बसेका केही उदाहरणहरू प्रस्तुत गर्न गइरहेको छु ।

मेरा एकजना मित्रले एउटा भेटमा म सँग आफ्नो मनको बोझ हल्का गर्दै भने, पैसा कमाउन नसकेर बुबालाई क्यान्सरबाट बचाउन सकिएन । सायद पैसा कमाएको भए भारत, दिल्ली वा मुम्बईमा लगेर उपचार गराइ बुबालाई बचाउन सकिन्थ्यो होला । मैले उनलाई सम्झाउँदै भने, मित्र तिम्रो बुबाको पैसा नभएर वा नेपालमा उपचार गरेर मृत्यु भएको होइन । तिम्रो बुबाको क्यान्सर चौथौँ चरणमा भएकोले उहाँलाई जहाँ लगे पनि ठिक हुन गाह्रो हुन्थ्यो । पहिलो चरणमा नै उपचार गराउन पाएको भए बाँच्ने सम्भावना हुन्थ्यो होला ।

निम्न आयस्रोत भएका वर्ग क्यान्सर पत्ता लागेपछि स्वदेशमा नै चिकित्सकहरूले जे–जे भन्यो त्यही गर्छन्, कुनै प्रश्न गर्दैनन् । धेरैजसो बिरामीहरू यसै वर्गमा पर्दछ ।

एक दिन ओ.पी.डी.मा एउटा बिरामीको छोराले हामीसँग भने, डाक्टर साहेब नेपालमा उपचार गरेको भए मेरी आमाको उहिले नै मृत्यु भइसक्थ्यो । दिल्लीमा उपचार गराएर अहिलेसम्म बाँचिराखेकी छिन् । मैले उहाँलाई भने, तपाईंकी आमाको क्यान्सर सुरुवाती चरणको थियो । उहाँलाई नेपाल भित्रको जुनसुकै क्यान्सर अस्पतालमा उपचार गराएको भएपनि बाँच्नु हुन्थ्यो । तर तपाईंको आर्थिक क्षमताले भ्याएको हुँदा विदेशमा गएर लाखौँ खर्च गर्नुभयो र अहिले फलोअपको लागि हामीसँग आउनु भएको छ । क्यान्सर रोगको निदानमा ठाउँले नभई अन्य धेरै कारणले फरक पर्दछ । ती मध्य क्यान्सरको चरण, रोगको किसिम (बायोप्सीको नतिजा, इमिनोहिष्टोकेमेष्ट्रिको नतिजा) र क्यान्सर रोगसँग लड्ने सक्ने क्षमता आदि प्रमुख हुन् । प्रत्येक बिरामीहरूको क्यान्सरसँग लड्ने क्षमता फरक–फरक हुन्छ । यसलाई क्यान्सर बायोलोजी भनिन्छ । उदाहरणको लागि त्यही प्रकृतिको क्यान्सरमा एकै किसिमको केमोथेरापि र रेडियोथेरापि दिंदा पनि कसैलाई राम्रोसँग काम गर्छ भने कसैलाई गर्दैन ।

अर्का एकजना मेरो बाल्यकालको साथी आफ्नी श्रीमतीलाई पाठेघरको मुखको क्यान्सर भएको थाहा पाएर मलाई भेट्न आइपुगे । उनकी श्रीमतीलाई पाठेघरको मुखको तेस्रो चरणको क्यान्सर रहेछ । म सँगको छलफलमा उनले भने, ‘म सँग पैसा छैन, पैसा कमाउन सकिएन, त्यसैले कहीँ कतै जाने स्थिति पनि छैन । जे गर्छौ गर तिम्रो भरोसामा छु’ । त्यसपछि गाइने अन्कोलोजी विभागको सल्लाह अनुसार शल्यक्रिया गर्न नमिल्ने भएकोले केमोथेरपि र रेडियोथेरापिको उपचार पछि उनी अहिले क्यान्सर मुक्त भएर घरमा बसेकी छिन् ।

त्यस्तै प्रकृतिको अर्को पाठेघरको मुखको तेस्रो चरणको क्यान्सर भएको बिरामीको रिपोर्ट एउटा मित्रको नातेदारले मलाई भाइवरमा पठाए । रिपोर्ट हेरेपछि शल्यक्रिया गर्न मिल्दैन, केमोथेरपि र रेडियोथेरापिबाट उपचार गर्नुपर्छ भनी भोलि अस्पतालमा भेट्ने सल्लाह दिएँ । उनी अस्पताल नआएपछि ४/५ दिनमा फोन गर्दा उनी भोलिपल्टै दिल्ली गएको र त्यहाँ शल्यक्रिया भैसकेको खबरले म स्तब्ध भए । बिरामीकी छोरी अस्ट्रेलियामा रहेछिन्, जसले नेपालमा कुनै हालतमा पनि उपचार नगराउनु, दिल्लीमा लग्नु, पैसाको चिन्ता नलिनु भन्नु भएको रहेछ । उहाँका नातेदारहरुले नेपाली चिकित्सकहरूको सल्लाहलाई गलत ठह्र्‍याउँदै भने नेपालमा शल्यक्रिया हुँदैन भन्दै थियो, दिल्लीमा भोलिपल्ट गरी दियो । त्यसपछि थाहा भयो अहिले उनी शल्यक्रिया पछि एकपछि अर्को जटिलता आएर ३/४ महिनादेखि दिल्लीमा उपचरामा छिन् ।

विदेशमा उपचारपछि फर्केका बिरामीहरूले बुझ्नु पर्ने कुरा के छ भने शल्यक्रिया, केमोथेरापि र रेडियोथेरापि, अन्य महँगा उपचार सकेर घर फर्केपछि क्यान्सर ठिक भएको होइन, उपचार प्रक्रिया पुरा भएको मानिन्छ ।

यस चरणको बिरामीलाई केमोथेरापि र रेडियोथेरापि दिएर उपचार गर्नु पर्नेमा शल्यक्रिया भयो भन्दा मैले विश्वास गर्न सकिन र मैले मेरो टिमका साथीहरूसँग उक्त घटनाबारे कुरा गर्दा यस्ता धेरै भइराखेको जानकारी उनीहरूबाट पाएँ । उनीहरूले भने केमोथेरापि र रेडियाथेरापि दिनुपर्नेलाई सर्जरी गरिदिएको र शल्यक्रिया गर्नु भन्दा पहिले केही साइकल केमोथेरापि र रेडियोथेरापि दिएर मात्र शल्यक्रिया गर्नु पर्नेमा, त्यसो नगरी शल्यक्रिया गरेपछि मात्र केमोथेरापि दिएका धेरै बिरामीहरू फ्लोअपमा हाम्रो ओ.पी.डी.मा आइरहेका उनीहरूले बताए ।

भारतको दिल्ली वा मुम्बई मा गएका अधिकांश नेपाली क्यान्सर बिरामीहरूले पैसा खर्च गरी गुणस्तरीय सेवा, सुविधा र उपचार पाइरहेका कुरा पनि नकार्न मिल्दैन । तर क्यान्सर चिकित्सा विज्ञानको सिद्धान्त विपरीत उपचार गरिनु भएन । राम्रो नाम चलेर एउटा उचाइमा पुगिसकेका स्वास्थ्य संस्था वा विज्ञहरूलाई गलत कार्य गर्न छुट हुँदैन र गर्नु पनि हुँदैन । किनकि यस्ता संस्था र विज्ञहरूसँग हजारौँ बिरामीहरूको आस्था, विश्वास र भरोसा जोडिएको हुन्छ । त्यस्ता संस्था र विज्ञ, समाज र राष्ट्रको प्रतिष्ठा हुन्छन् । 

क्यान्सर उपचारको यात्रा पैसाले चलाउने यात्रा हो, गाडीको इन्धन जस्तै । जहाँसम्म पैसा त्यही सम्म उपचार हुन्छ । उपचारको विश्वासको यात्रामा हुम्ला/जुम्लाका बिरामीहरू नेपालगञ्ज आउँछन्, नेपालगञ्जका काठमाडौँ, काठमाडौँका दिल्ली/मुम्बई र दिल्ली/मुम्बईका क्यान्सर बिरामीहरू बेलायत/अमेरिका पुग्दछन् । यस यात्रालाई कसैले रोक्न सक्दैन । यो मानव जीवनको प्रक्रिया हो र बिरामीहरूको मौलिक अधिकार भित्र पनि पर्दछ । तर परिणाम नआउने उपचारको यात्रालाई, कम गर्न बिरामीलाई बुझाउन र बिरामीले बुझ्न जरुरी हुन्छ ।

विदेशमा उपचार यात्रा कसरी भइरहेका छन्, वर्गको हिसाबले कुरा गर्दा, अधिकांश धनी वर्ग क्यान्सर पत्ता लाग्नासाथ विदेश जान्छन् । निम्न आयस्रोत भएका वर्ग क्यान्सर पत्ता लागेपछि स्वदेशमा नै चिकित्सकहरूले जे–जे भन्यो त्यही गर्छन्, कुनै प्रश्न गर्दैनन् । धेरैजसो बिरामीहरू यसै वर्गमा पर्दछ । अर्को मध्यम वर्ग, यस वर्ग भित्र पनि तीन समूह छन् : पहिलो समूह अध्ययनशील, ज्ञान हासिल गरेका, देशको स्वास्थ्य प्रणाली बुझेकाहरू जो चिकित्सकसँग सल्लाह छलफल गरेपछि स्वदेशमा उपचार गर्छन् । दोस्रो समूह कुनै हालतमा पनि स्वदेशमा उपचार नगर्ने र देशको स्वास्थ्य प्रणालीलाई विश्वास नगर्ने, विदेशमा नै उपचार गर्नुपर्छ भन्ने समूह । तेस्रो समूह दुविधामा रहेका समूह जो साथीभाइ, छरछिमेकहरुले जे–जे भन्छन् त्यही गर्ने, अरूको कुरा सुनेर विदेश जाने समूह । मध्यम वर्ग भित्रको दोस्रो र तेस्रो समूह थोरै छन् । बुझेर हो या नबुझेर बढी पीडित र देशको स्वास्थ्य प्रणालीसँग बढी आक्रोशित पनि यिनै देखिन्छन् । त्यसमा पनि उपचारार्थ चिकित्सकहरूले, आफ्नो सेवा, बिकाउनको लागि, तिम्रो देशमा गरेको उपचार गलत थियो भनिदिँदा ती बिरामीका नातेदारहरू कहिलेकाहीँ विवाह/व्रतबन्धमा भेट हुँदा उहाँहरूले हाम्रो स्वास्थ्य प्रणाली प्रति प्रकट गरेको क्रोधपूर्ण अभिव्यक्ति सुन्न पाइन्छ । यी समूहलाई बढी बुझाउने र बिरामीले बुझेर उपचार सुरु गरे नतिजा राम्रो आउने र आर्थिक सङ्कटबाट बच्न सक्ने देखिन्छ ।

हाम्रा स्वास्थ्यकर्मीहरुले देश भित्रका स्वास्थ्य प्रणालीको कठिनाइ र समस्याहरू नबुझेका होइनन् । स्वास्थ्य संस्थाहरू व्यवस्थित छैनन्, स्वास्थ्य बिमा प्रभावकारी छैन, स्वास्थ्य उपचार महँगा छन्, सरकारले प्रदान गरेको उपचार रकम पर्याप्त छैन ।

जुनसुकै मुलुकको स्वास्थ्य सेवा सम्बन्धी समस्याहरू आ–आफ्नो खालका हुन्छन् । स्वास्थ्य सेवाको स्तरको तुलना गर्दा विकसित मुलकहरु जस्तै युरोप, क्यानडा, अमेरिका र अष्ट्रेलिया आदिको स्वास्थ्य सेवालाई तिनै देशहरू भित्रनै तुलना गरिनु पर्दछ ; अविकसित मुलुकका स्वास्थ्य सेवासँग होइन । त्यस्तै नेपालको सरकारी स्वास्थ्य संस्थाले दिएको सेवा विदेशको सुविधा सम्पन्न, महँगा निजी अस्पतालले प्रदान गरेका सेवासँग तुलना गर्न मिल्दैन । 

विदेशमा उपचारपछि फर्केका बिरामीहरूले बुझ्नु पर्ने कुरा के छ भने शल्यक्रिया, केमोथेरापि र रेडियोथेरापि, अन्य महँगा उपचार सकेर घर फर्केपछि क्यान्सर ठिक भएको होइन, उपचार प्रक्रिया पुरा भएको मानिन्छ । यदि उपचारपछि साधारणतया २ वर्षसम्म पनि क्यान्सर बल्झेन भने राम्रो उपचार भएको मानिनेछ । तर घर पुग्न पाएको छैन वा केही महिनामा नै क्यान्सर बल्झियो भने उपचार सही नभएको मानिन्छ । यी सबै कुराहरूको जानकारी उपचार अघि चिकित्सकले बताउनु पर्ने हुन्छ । यदि बताएन भने पनि बिरामीहरूले सबै कुरा बुझेर जानकारी लिएर मात्र उपचार अगाडि बढाउनु पर्छ । 

विदेशमा उपचार यात्रा पुरा गरी स्वदेश फर्केपछि, आफ्नो देशको स्वास्थ्य प्रणालीप्रति नकारात्मक टिका टिप्पणी र विदेशी संस्था र विज्ञको मात्र प्रशंसा नगरी दिनु हुन अनुरोध गर्दछु । तपाईँहरूको नकारात्मक टीकाटिप्पणीले स्वदेशमा नै उपचार लिइरहेका बिरामीहरूको मनोविज्ञान र मनोबलमा असर पार्न सक्छ । अर्कोतिर हाम्रा स्वास्थ्यकर्मीहरुले देश भित्रका स्वास्थ्य प्रणालीको कठिनाइ र समस्याहरू नबुझेका होइनन् । स्वास्थ्य संस्थाहरू व्यवस्थित छैनन्, स्वास्थ्य बिमा प्रभावकारी छैन, स्वास्थ्य उपचार महँगा छन्, सरकारले प्रदान गरेको उपचार रकम पर्याप्त छैन, विदेशमा उपचार गर्न पठाउने समूहहरू सक्रिय छन्, गरिबी, अशिक्षा र जनचेतनाको कमी छ । यस्तो स्थितिमा पनि स्वास्थ्यकर्मीहरू बढी जिम्मेवारी भएर बिरामीहरूलाई सेवा दिइराखेका छन् । 

यी माथिका अवस्थाहरू को परिवर्तन वा अन्त्य कहिले हुने र कसले गर्ने ? राजनैतिक पार्टीले, जनप्रतिनिधिले, धार्मिक नेताले, समाजसेवीले, बुद्धिजीवीले वा वैज्ञानिक समाजले । यो परिवर्तन कुनै एउटा समूह वा वर्गले गरेर मात्र सम्भव हुँदैन, त्यसैले कसले गर्ने भन्ने प्रश्न जायज नहोला । एउटा आध्यात्मिक गुरुले भन्नुहुन्थ्यो “तिमी संसार परिवर्तन गर्ने तिर नलाग, पहिले आपूm परिवर्तन हौ, संसार आफै परिवर्तन हुन्छ” । त्यसैले प्रत्येक व्यक्तिले क्यान्सर सम्बन्धी अध्ययन गरी जानकारी लिई आपूmले बुझौँ र अरूलाई बुझाऔँ । यही नै क्यान्सर उपचारको सही तरिका हो ।

लेखक, भक्तपुर क्यान्सर अस्पतालका सिनियर कन्सल्टेण्ट, सर्जिकल अन्कोलोजी तथा पूर्व मेडिकल डाइरेक्टर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रा.डा. ऋषिकेश नारायण श्रेष्ठ
प्रा.डा. ऋषिकेश नारायण श्रेष्ठ
लेखकबाट थप