शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : लुम्बिनी र गण्डकी सरकार संकटमा, केन्द्रमा प्रचण्डको ‘डेडलाइन’ कट्यो

बागमतीमा शालिकरामले पाए विश्वासको मत, कोशीमा माओवादीको अलमल
शुक्रबार, १० चैत २०७९, २२ : ५१
शुक्रबार, १० चैत २०७९

आज मिति २०७९ चैत महिनाको १० गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ–

१. प्रचण्डको डेडलाइन सकियो

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले चैत १० भित्र मन्त्रिपरिषद् पुनर्गठन गर्ने बताएपनि दलहरुबीच सहमति नजुटेपनि समय त्यसै गुज्रिएको छ । प्रचण्डले सत्ता साझेदार दलभित्र छलफल गर्दै आएपनि सहमति नजुटेपनि मन्त्रिपरिषद् विस्तार हुन अझै केही दिन लाग्ने देखिएको छ । प्रचण्डले चैत ६ गते विश्वासको मत पाएसँगै चैत १० भित्र मन्त्रिपरिषद्लाई पूर्णता दिएर काममा लाग्ने बताएका थिए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघमा तीन मन्त्री र प्रदेशमा एक मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर अध्यक्ष नेपालले यस्तो दावी गरेका हुन् ।

२. प्रदेश सरकार

एमाले नेतृत्वको लुम्बिनी र गण्डकी सरकार धरमर भएको छ । लुम्बिनी प्रदेशमा माओवादीले विश्वासको मत फिर्ता लिने तयारी गरेको छ भने नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल  गर्ने निर्णय गरेको छ ।

यस्तै गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले शुक्रबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यससँगै खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

यसैगरी कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । कोशी प्रदेशमा विशिष्ठ परिस्थिति रहेको भन्दै माओवादीले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएको हो ।

यसैबीच बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले दोस्रो पटक विश्वासको मत पाएका छन् । शुक्रबार नै नेकपा एमाले सरकारबाट बाहिरिएर प्रतिपक्षमा बसेको छ ।

३. जनगणनाको नतिजा

नेपालको जनसंख्या  २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । राष्ट्रिय तथ्यांक विभागले शुक्रबार राष्ट्रिय जनगणना २०७८–७९ को नतिजा सार्वजनिक गर्दै  २०७९ मंसिरसम्म देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको जानकारी दिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाह्रौँराष्ट्रिय जनगणनाको तथ्याङ्क सार्वजनिक गर्दै नेपालको जनसङ्ख्या असन्तुलित देखिएको बताएका छन् । आज नेपालको जनगणनाको तथ्याङ्क सार्वजनिक गर्दै हिमाल र पहाडमा जनसङ्ख्या घटेको र तराईमा जनसङ्ख्या बढेको पाइएको बताएका हुन् ।

उनले अब देशको जनसङ्ख्याका आधारमा विकासको नयाँ योजना बनाउन आवश्यक रहेको बताए । नयाँ तथ्याङ्क अनुसार नेपालको विकासको नयाँ योजना बनाउन सहज हुने प्रधानमन्त्री दाहालको भनाइ छ ।

४. बेलारुसबाट फर्किए पीडित

बेलारुसमा अलपत्र ९ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । शुक्रवार उनीहरुलाई नेपाल फर्काइएको हो । नेपाल फर्काइनेमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरुङ, मार्फा सोताङ राईलाई स्वदेश फर्काएको हो ।

५. कर्णालीका मन्त्रीहरुको सम्पत्ति विवरण

कर्णाली प्रदेशका मन्त्री र राज्यमन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । यसअघि मुख्यमन्त्री राजकुमार शर्माले सम्पत्ति विवरण सार्वजनिक गरिसकेका थिए ।

बाँकी ६ मन्त्री र १ राज्यमन्त्रीले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । जसमध्ये अर्थमन्त्री विनोद शाहको सम्पत्ति सबैभन्दा धेरै देखिएको छ । उनीसँग प्रशस्त चल अचल सम्पत्ति देखिएको छ  ।

६. नयाँ आईजीपी नियुक्त

प्रहरी महानिरीक्षक (आईजीपी)मा बसन्त कुँवर नियुक्त भएका छन् । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको एक मन्त्रीले बताए । सरकारको निर्णयसँगै कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक बन्न सफल भएका छन् । प्रहरी महानिरीक्षकका पाँच जना प्रतिस्पर्धी मध्ये वरियतामा कुँवर एक नम्बरमा थिए ।

७. बजारमा पैसा हराएको चर्चा

पछिल्लो पटक बजारमा तरलता अभाव गहिरिँदै जाँदा पैसा हराएको आशङ्का गरिएको छ । उद्योग व्यवसायी तथा व्यापारीहरूले, राजनीतिज्ञले वा सर्वसाधारण जनताले बैंकमा नभएर पैसा घरमै राखिदिँदा क्यास साइकल (पैसाको चक्र)मा नै प्रभाव परी तरलता अभावको सिर्जन भएको बताइएको छ । तर केन्द्रीय बैंक भने पैसा कतै नहराएको दाबी गर्छ ।

सेयर बजारका लागि यो साता पनि उत्ति राम्रो भएन । १९ सय ३३.३१ अंकबाट शुरु भएको यो सातामा नेप्से सूचक थप १८.१६ अंकले गुम्दै १९ सय १५.१५ अंकको विन्दुमा झर्न पुगेको हो । अघिल्लो साता यस्तो सूचक ६९.३९ अंकले गुम्दै १९ सय ३३.३१ अंकको विन्दुमा अडिएको थियो ।

८. नागरिकता प्रकरण

चीनको तिब्बत घर भएका लोब्साङ ठिन्लेउर्फ लोब्साङ गुरुङ नेपालमा बसेको लामो समय भइसक्यो । २५ वर्षीय लोब्साङ तनहुँको दुलेगौँडास्थित तिब्बतीयन शरणार्थी क्याम्पमा बस्छन् । उनी त्यहाँका लेखापाल पनि हुन् । तीनै तिब्बतीयनले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नेपाली नागरिकता लिएको थाहा भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले लोब्साङ सहित उनलाई नागरिकता दिलाउने समूहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उनीसहित ५ जना छन् ।

९. ह्वात्तै बढ्यो विद्युतीय गाडीको आयात

चालू आर्थिक वर्ष २०७९–८० मा विद्युतीय सवारीको आयात ह्वात्तै बढेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको ८ महिनाको तुलनामा यो वर्षको फागुनसम्म विद्युतीय सवारीको आयात उल्लेख्य रुपमा बढेको हो ।

गत आर्थिक वर्ष २०७८–७९ मा विदेशबाट नेपालमा जम्मा साढे १३ सय वटा विद्युतीय सवारी आयात भएको थियो । उक्त अवधिमा १ सय किलोवाटदेखि ३ सय किलोवाटसम्मका उक्त संख्याका विद्युतीय सवारी भित्रिएका थिए । जबकि, चालू आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा २२ सय वटा विद्युतीय सवारी भित्रिएका हुन् ।

१०. यो पनि...

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई सुझाव दिनुको कुनै अर्थ नरहेको बताएका छन् ।

भैँसीको अगाडि बिन बजाउनु र वर्तमान सरकारलाई सुझाव दिनु उस्तै रहेको ओलीको कटाक्ष थियो । शुक्रवार काठमाडौँको भृकुटीमण्डपमा जारी जुत्ता–चप्पल मेला अवलोकन गर्न पुगेका उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सरकारले आफूहरूले दिएको सुझावको मतलब नै नराख्ने जिकिर गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ । शुक्रबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विदेशबाट नेपालमा पैसा आउन कुनै कमी नभएको बताएका छन् । शुक्रबार आफ्नै पार्टीले आयोजना गरेको ‘देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपाय’विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले भ्रष्टाचारकै कारण आएको पैसाको समेत सही सदुपयोग हुन नसकेको बताए ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पद गुम्ला कि भन्ने डर रहेको टिप्पणी गरेका छन् ।

मान्छेलाई बढी पाउने इच्छा हुने भन्दै उनले प्रधानमन्त्री दाहालमा पनि पद गुम्ला कि भन्ने डर रहेको बताए । शुक्रवार साई शिक्षा निकेतन माध्यमिक विद्यालयले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरुलाई फेरि प्रधानमन्त्री हुन पाइँदैन कि भन्ने चिन्ता पनि उत्तिकै रहेको उल्लेख गरे । उनले बालबालिकाहरूलाई भने डर दिने गरी शैक्षिक वातावरण बनाउन नहुने बताए ।

आफ्ना नेता पदम लिम्बूको मृत्यु भएसँगै पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आज बसेको आपतकालीन बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा–२ बाट चुनाव लड्न गरेको प्रस्ताव लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले अस्वीकार गरेका छन् ।

लुम्बिनी प्रदेशमा माओवादीभित्रको विवादले संसदीय समितिका पदाधिकारी छनौट गर्न सकस देखिएको छ । अहिले प्रदेशसभामा माओवादी संसदीय दलको नेता जोखबहादुर महरा छन् । आन्तरिक विवादकै कारण माओवादी संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतक चयन हुन सकेको छैन ।

आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकका लागि केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहेको बताएका छन् ।

सरकारमा जाने तयारीमा रहेका उनले प्रधानमन्त्री पुष्पकमल दाहालबारे सो प्रतिक्रिया दिएका हुन् । शुक्रबार काठमाडौंमा आयोजित आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष साहले मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालको कार्यकालमा त्यसमा सुधार हुने र विकास तथा निर्माणको कामले गति लिने विश्वास समेत व्यक्त गरे ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप