बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना धादिङबाट पक्राउ

शुक्रबार, १० चैत २०७९, २० : ४०
शुक्रबार, १० चैत २०७९

धादिङ । झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–६ का श्यामबहादुर नगरकोटी, उनकी श्रीमती हिममाया नगरकोटी र चितवनको रत्ननगर–१२ टाँडी घर बताउने अमिर खान पक्राउ परेका छन् ।

सन्ताउन वर्षीय नगरकोटी दम्पतीले २२ वर्षीय खानलाई आफ्नो छोरा रोशनी नगरकोटी हो भनी वडा कार्यालयमा झुटो विवरण दिई जन्मदर्ता प्रमाणपत्र बनाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । 

झुटो विवरण पेस गरेर बनाएकै जन्मदर्ताको आधारमा नेपाली नागरिकता (वंशज) प्रमाणपत्रका लागि अनुसुची १ बमोजिमको फारमसमेत भरी सकेपछि शङ्का लागि वडा कार्यालयले प्रहरीलाई खबर गरेपछि अनुसन्धान गर्ने क्रममा झुटो प्रमाणित भएको उनले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई झुटो विवरण पेस गरी जन्मदर्ता प्रमाणपत्र बनाएको कसूरमा मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिए । उनीहरुलाई धादिङ जिल्ला अदालतले आज ४ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप