इटहरी चम्काउँदैछन् रुकुमका जवान
विनय बाह्रकोटी
एकाबिहानै इटहरीचौकमा खरेटो बोकेर दुई जोडी देखापर्छन् ।
एक जोडी धरान लाइनबाट बढार्न सुरु गर्दै विराटनगर लाइनतिर लाग्छन् भने अर्का जोडी पूर्वलाइन अर्थात् काँकडभिट्टातिर जाने सडक बढार्छन् ।
करिब तीनदेखि चार घण्टाको दैनिकीपछि दुवै जोडी चौकमा भेला हुन्छन् र आआफ्नो डेरातर्फ लाग्छन् ।
यिनीहरूको यो दैनिकी विगत चार वर्षदेखिको हो । नियमित कामका रूपमा बिहान सडक बढार्छन् ।
दिउँसो ठूला महल सफा गरेर अतिरिक्त कमाइ गर्छन् यिनीहरू ।
रुकुमको महत गाउँपालिका, कुनाम स्थायी बसोबास भएका हर्कबहादुर नेपाली काम खोज्ने सिलसिलामा बुटवल आएका थिए ।
केही दिन बुटवलको वेस्ट म्यानेजमेन्ट भन्ने कम्पनीमा फोहोर उठाउने काम गरे ।
त्यही बेला इटहरीको फोहोर व्यवस्थापनको जिम्मा इन्भारोकेयर भन्ने संस्थाले पाएको थियो ।
उक्त संस्थाका अध्यक्ष मानधोज मोक्तान पनि कामदारको खोजीमा बुटवल पुगेका थिए ।
बुटवलमा भन्दा इटहरीका कमाइ राम्रो हुने भएपछि नेपाली काम गर्न इटहरी आउन सहमत भए ।
सडक बढार्ने काम पाएपछि केही दिन एक्लै काम गरे ।
एक महिनापछि उनी पुनः रुकुम फर्किए ।
त्यसबेला उनका भाइ लक्ष्मण नेपाली पनि विदेशबाट घर फर्किएर बेरोजगार भई बसेका थिए ।
परिवार ठूलो हँुदै थियो, कमाइ खुम्चिँदै गइरहेको थियो ।
इटहरीमा काम त पाए तर परिवारसँग छुट्टिएर लामो बस्नुपर्दा उनको मनमा बेचैन महसुस भयो ।
उनले भाइको परिवार आफ्नो परिवार सबै एकै पटक इटहरी आउने निर्णय गरे ।
भाइले पनि उनको कुरा सहजै स्विकारे ।
उनले आफ्नो परिवारबाहेक पनि धेरैजना रुकुमका युवाहरूलाई इटहरी भित्र्याइसकेका छन् ।
१० वर्ष कतारमा पसिना बगाएर पनि केही पार नलागेपछि बलबहादु विक नेपाल फर्किए ।
रुकुमको भुमे गाउँपालिकाका विकसँग नेपालमा पनि रोजिरोटी गर्ने केही विकल्प थिएन । केही दिन गाउँ घुमेपछि गाउँका युवाहरू इटहरीमा रोजगारी गर्न गएको खबर पाए ।
त्यसपछि उनी पनि इटहरीतिर हानिए ।
विगत एक वर्षदेखि इटहरीचौकको सडकमा फोहोर उठाउने काममा व्यस्त छन् विक ।
बिहान ७ बजेदेखि १२ बजेसम्म गाडीमा फोहोर उठाउने र डम्पिङ साइडमा लगेर फाल्ने गर्छन् उनी ।
विगत दुई महिनादेखि रुकुम ट्याङ्सीका मेघबहादुर सुनार पनि गाडीमै फोहोर उठाउने र खन्याउने गरिरहेका छन् ।
६४ वर्ष जतिको देखिने ४६ वर्षिय सुनार दुई वर्षदेखि बिरामी छन् ।
उनी एक छोरा र चार छोरी र श्रीमतीका साथ इटहरी बसिरहेका छन् ।
यो महिना उपचार गर्न डाक्टरले ५० हजार लिएर आउनु भनेको छ ।
‘कहाँबाट लाने हो कुनै ठेगान छैन ।’ भन्छन्, ‘छोराछोरीलाई कापीकलम किन्दिन सक्याछैन, त्यत्रो पचास पचास हजार कहाँबाट ल्याउनु ? बोरु होस्, जे पर्लापर्ला’, भर्खरै फोहोर तानेका हातले टाउको कन्याएर फिस्स हाँस्दै सुनार भन्छन् ।
६ सालको साउदी बसाई पछी नेपाल फिरेका श्रीमान मगर को दैनिकी पनि इटहरी सफागर्दै सुरुहुन्छ ।
विगत एक वर्षदेखिको उनको दैनिकी छाक टार्नमा मात्र सीमित छैन । छोराछोरीको सपना साकार पार्नुपर्ने बाध्यतामा कुदिरहेको छ ।
उनको जेठा छोरालार्ई पत्थरीले च्यापेपछि उपचारका लागी जोहो गर्न इटहरी आएको उनी बताउँछन् ।
दाङको महेन्द्र अस्पतालमा उपचार गर्दा भएको जेथा सकियो । ‘अब अप्रेसन गर्नुपर्ने भएकाले कमाउन आया हूँ’ उनी भन्छन् ।
उनी मात्र हैन उनकै माध्यमबाट आएका एक दर्जनभन्दा बढी युवा इटहरीमा यस्तै काम गरिहरेका छन् ।
सुदूरपश्चिमेलीहरू केही न केही बाध्यताकै कारण परिवारबाट छुट्टिएर इटहरी आइरहेका छन् ।
इटहरी मात्र हैन, पूर्वका विभिन्न सहरमा सुदूरपश्चिमका युवाहरू रोजिरोटी गरिरहेका छन् ।
विगत ४ वर्ष अगाडि दाङको घोराहीसम्म मात्र यातायातको सुविधा थियो । पछिल्लो समय रुकुमको खलङ्गा हुँदै खावाङ र रोल्पाको लिवाङसम्म यातायतको सुविधा पुगेपछि पूर्वका सहरहरूसँग रुकुम रोल्पाको सम्बन्ध जोडिएको छ ।
रुकुम रोल्पाका युवाहरूका लागि पूर्वका उदयीमान सहरहरू रोजगारको भरपर्दा गन्तव्य बन्दै गइरहेको छ । कोही एक्लै आएका छन् भने कोही परिवारका साथ आएर रोजगारी गरिरहेका छन् ।
महिलाहरू होटलमा सरसफाइ गर्नेदेखि दैनिक अफिस सफा गर्ने काम गरिरहेका छन् । जसबाट एक महिलाले मासिक १५ देखि २० हजारसम्म कमाइ गर्ने गरेका छन् ।
गाउँमा रोजगारीको कुनै विकल्प नहुने । नजिकका सहर बुटवल, घोराही र नेपालगञ्जमा काम त पाइने तर अपमान धेरै हुने उनीहरूको गुनासो छ । पूर्वका सहरमा सम्मान नै नगरे पनि अपमान चाहिँ नहुने उनीहरूको अनुभव छ ।
यता इन्भारो केयर इटहरीका अध्यक्ष पनि पश्चिमका युवाहरू अरूभन्दा सरल हुने बताउँछन् । उनी भन्छन्– “यता डुम समुदायका मनिसहरू यस्तो काममा आउँछन् तर उनीहरू बारम्बार बिदा बस्ने र काममा कन्जुस्याइँ गर्ने भएकाले पश्चिमेलीलाई काममा लगाउने गरेका हौँ ।”
रुकुमका युवाहरू इटहरी काम गर्न मात्र आएका छैनन्, पूर्वको संस्कृति पश्चिमसम्म पुर्याएका छन् । रुकुममा हुँदा हरेक महिना छाउ गोठमा बस्न बाध्य डिलराखी नेपाली इटहरी आएपछि महिनावारी हुँदा कोठामै आराम गर्ने गर्छिन् । “हरेक महिना नर्क जानुपर्ने बाध्यता थियो तर यहाँ आएपछि आनन्द महसुुस गरेकी छु”, उनी भन्छिन् । त्यस्तै लैनी नेपाली पनि अब रुकुम गएर पनि छाउमा नबस्ने आँट गर्न थालेकी छिन् । उनी भन्छिन्– “छाउगोठले महिला हिंसा गरेको छ भन्थे मलाई विश्वासै थिएन यता आएपछि पो थाहाँ पाएँ साच्चै महिला हिंसानै पो रहेछ ।” यति मात्र हैन रुकुममा हुँदा छाउगोठ बनाइदिने श्रीमान यहाँ आएपछि खाना बनाएर दिन थालेका छन् ।
यसरी नै पूर्वका विभिन्न सहरमा सुदूरपश्चिमका जवानहरू रमाउन थालेका छन् । पूर्वबाट पैसा मात्र हैन पूर्वेली भाषा र संस्कृति समेत पश्चिमतिर लगिरहेका छन् । यातायातको माध्यमबाट पूर्वसँगको सम्पर्क सहज भएपछि रोजगारको क्षेत्र फराकिलो भएको छ । मध्यपहाडी लोकमार्ग बनेपछि यसको दायर झन् ठूलो हुने निश्चित छ । पूर्वका व्यापारी पश्चिम गएर व्यापार गर्न सहज हुनेछ भने पश्चिमका सिलाजित व्यापारीहरू पूर्वमा आएर आफ्नो बजार बिस्तार गर्नेछन् ।
हर्कबहादुर नेपालीजस्तै अरू हजाराँै युवाहरूको राजिरोटी चलाउन पूर्वका सहरहरू तयार छन् । तर यस्तै हजारौँ रुकुम रोल्पाका हर्कबहादुरहरू आफ्नै गाउँठाउँमै रोजगारी होस् भन्ने चाहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ वर्षपछि निर्देशनमा कमब्याक गर्दै ऋषि लामिछाने
-
विश्वविद्यालयमा हुने तालाबन्दीबारे अध्ययन गर्न उच्चस्तरीय आयोग गठन गर्दै शिक्षा मन्त्रालय
-
इजरायली आक्रमणमा चौपट भयो इरानी एयर डिफेन्सको राडार सिस्टम
-
डेडिकेटेड र ट्रंकलाइनको महसुल : दुई उद्योगले पूरै बुझाए, ६ वटाले पहिलो किस्ता
-
एकीकृत समाजवादीको कर्णाली अधिवेशनमा ५०२ प्रतिनिधि सहभागी हुने
-
४२ हजार बोकेर मुम्बई आएका थिए पंकज, श्रीमतीले काम गरेर घर चलाउँथिन्