शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

गणतन्त्रवादी र राजावादीबीच बढ्दै द्वन्द्व, आन्दोलन चर्काउन राप्रपालाई पूर्वराजाको ‘ब्याक सपोर्ट’

बिहीबार, ०९ चैत २०७९, २१ : ३०
बिहीबार, ०९ चैत २०७९

 आज मिति २०७९ साल चैत महिनाको ९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–

१. आन्दोलन चर्काउन पूर्वराजाको ब्याक सपोर्ट

पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपालाई शीर्ष नेताहरूलाई बोलाएर राजतन्त्रको पक्षमा माहौल बनाउन सुझाव दिएका छन् । झापामा भेट्न पुगेका नेताहरूलाई पूर्वराजाले राजतन्त्रको पक्षमा राप्रपा प्रमुख शक्ति रहेकाले सो पार्टीले एजेण्डा स्थापित गर्न पहलकदमी लिनुपर्ने सुझाएका हुन् ।

भेटको क्रममा देशको वर्तमान राजनीतिक परिस्थिति बिग्रँदै गएकाले अब पनि राजावादी शक्ति चुप लागेर बस्न नहुने धारणा पूर्वराजाले राखेका थिए । स्रोतका अनुसार भेटका क्रममा पूर्वराजाले सुरुमा वर्तमान राजनीतिक परिस्थिति बिग्रेको भन्दै चिन्ता जाहेर गरेका थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, निर्देशक समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणासहित अन्य केही राजावादी सहभागी उक्त भेटमा पूर्वराजाले अब चुप लागेर बस्न नहुनेमा जोड दिएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा झण्डै डेढ महिना रहेर बाहिरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी पछिल्लो समय सरकार र नेकपा माओवादी केन्द्रप्रति आक्रामक हुन थालेको छ । राप्रपामात्रै होइन पछिल्लो समय राजावादी समूह र गणतन्त्रवादी समूहबीच द्वन्द्व बढेको जस्तो देखिन थालेको छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डकै नेतृत्वको सरकारमा सहभागी भएर बाहिरिए लगत्तै राप्रपाका नेता तथा कार्यकर्ताहरु विभिन्न माध्यमबाट सरकार र माओवादी केन्द्रको नेतृत्वविरुद्ध अभिव्यक्ति दिइरहेका छन् ।

प्रतिपक्ष बेन्चमा पुगेपछि राप्रपाका नेताहरु सरकार र माओवादी केन्द्रविरुद्ध विभिन्न विषयमा आलोचनात्मक टिप्पणी गर्न थालेका छन् । यस्तै राजावादी शक्तिहरु पनि उसैगरी आक्रामक रुपमा आउन थालेका छन् ।

२. आईजीपी नियुक्तिको तयारी

शुक्रवार मन्त्रिपरिषद् बैठक बस्दै छ । बिहीबार नियमित बस्नुपर्ने बैठकलाई शुक्रवार सारिएको हो । शुक्रवार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह शनिबारबाट अवकाशमा जाँदै छन् । चैत १० मा उनलाई बिदाइ गरिने छ । सिंहको अवकाश सँगै ३० औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुबीच तीव्र प्रतिस्पर्धा छ ।

३. मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकार पुनर्गठनको तीव्र गृहकार्यमा जुटेका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार साँझ सत्ता गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीसँग संवाद गरेका थिए । यस्तै बिहीबार पनि कांग्रेससहितका नेताहरुसँग छलफल गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता शरदसिंह भण्डारीले सरकारमा सहभागी हुने दलहरुलाई सम्मानजनक सहभागिता गराउनुपर्ने बताएका हुन् ।

४. आगलागीका कुरा

नेपालमा डढेलोसहित साना ठुला आगलागीको घटनाबाट बर्सेनि औसत ९० जनाले ज्यान गुमाउँदै आएका छन् । नेपालमा २०७० देखि २०७९ चैतको पहिलो सातासम्ममा १८ हजार सात सय ७२ वटा आगलागीका घटना भएका थिए । ९ वर्षको सो अवधिमा आगोले जलेर सात सय ६९ जनाले ज्यान गुमाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ। त्यसैगरी आगोले जलेर दुई हजार पाँच सय ४८ घाइते भएका छन्।

५. बागमतीमा लफडा

बागमती प्रदेशमा एमालेले सरकार नछाड्दा कांग्रेस सशंकित बनेको छ । प्रदेश सरकारमा एमालेबाट संसदीय दलका नेता समेत रहेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री रहेका छन् भने एकलाल श्रेष्ठ श्रम, रोजगार तथा यातायात मन्त्री, केशव प्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा छन् । मुख्यमन्त्रीले बुधबार नै विश्वासको मत लिन खोजेपनि कांग्रेसको असहयोगका कारण सकिरहेका छैनन् ।

६. उपनिर्वाचन बारा, उपेन्द्रलाई रोक्ने प्रयास

सत्ता साझेदार दल जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि एक पटक आमनेसामने हुने भएका छन् । जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराउने उद्घोष नै गरेका हुन् । बुधबार बारामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राउतले जसपा अध्यक्ष यादव चोर बाटोबाट संसद्मा प्रवेश गर्न खोजेको आरोप लगाए । यादवमाथि खनिएका राउतले उनलाई ‘फिरङ्गी, बाहिरिया’लगायतका आरोप लगाउँदै यसपटक पनि चुनाव हराउने दाबी गरे ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज बबरमहलस्थित पार्टी कार्यालयमा बसेको शीर्ष नेताको बैठकले सो निर्णय गरेको हो ।

७. बाँकी क्याम्पसमा स्ववियु निर्वाचन कहिले ?

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका केही आंगिक क्याम्पसहरूमा चैत ५ गते स्ववियु निर्वाचन हुन सकेन । उपत्यकाका ७ वटा क्याम्पसमा चुनाव हुन नसकेको हो ।  त्यस्तै उपत्यकाका बाहिरका ९ वटा आंगिक क्याम्पसमा पनि चुनाव हुन सकेको छैन । तालाबन्दीका कारण ती क्याम्पसहरूमा निर्वाचन हुन नसकेको हो ।

निर्वाचन हुन नसकेका उपत्यकाका आंगिक क्याम्पसहरूमा आयुर्वेद क्याम्पस, त्रिचन्द्र क्याम्पस, पाटन संयुक्त क्याम्पस, अमृत साइन्स क्याम्पस, नेपाल कमर्स क्याम्पस मीनभवन, विश्व भाषा क्याम्पस र रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस रहेका छन् ।  त्यस्तै उपत्यका बाहिर डोटीको डोटी क्याम्पस, पोखराको पृथ्वीनारायण क्याम्पस, पोखरा क्याम्पस (वन), पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, नर्सिङ क्याम्पस, चितवनको वीरेन्द्र क्याम्पस, चितवन इन्जिनियरिङ क्याम्पस रामपुर, कृषि क्याम्पस रामपुर खैरानी र बागलुङको धवलागिरि क्याम्पसमा निर्वाचन हुन बाँकी रहेको छ ।

त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सार्ने निर्णयविरुद्ध तीन विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन् । नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले परीक्षा केन्द्र सार्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् । 

८. ल्याण्डफिलमा फेरि समस्या

सरकारले सहमतिअनुसार काम नगरे बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले पुनः आन्दोलन गर्ने भएको छ । पूर्व सहमति कार्यान्वयन नगरेको भन्दै समितिले आगामी वैशाख मसान्तसम्म आफ्ना सबै माग सम्बोधन नभएमा जेठ १ देखि फोहोर फाल्न नदिने चेतावनी गत बुधबार दिएको छ ।

९. नयाँ बजेटका कुरा

आगामी आर्थिक वर्षको बजेटमा नयाँ परियोजना भरसक नसमेटिने भएका छन् । स्रोत अभावका कारण सरकारले आर्थिक वर्ष २०८०–८१ को बजेटको आकार घटाउने भएपछि खर्च कटौतीको खास निशानामा विकास बजेट पर्ने भएको हो ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेटको सिलिङ १६ खर्ब ८८ अर्ब ४० करोड रुपैयाँ तोकेको छ । जुन चालु आर्थिक वर्षको बजेट भन्दा १ खर्ब ५ अर्बले कम हो ।

१०. यो पनि...

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण वैशाख दोस्रो साताभित्र भइसक्ने बताएकी छन् । बिहीवार भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली राजदूतावासमा प्रवासी नेपालीहरुसँगको भेटवार्ताका क्रममा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

रुपन्देहीस्थित मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष केशवनन्द बनियाँविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बानियाँविरुच विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको हो। बानियाँको ९१ लाख ८६ हजार पाँच सय ४३ रुपैयाँ ३० पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर अयोगको छ।

सर्वोच्च अदालतले गाँजा नियमनका लागि कानुन बनाउन आवश्यक छैन भने त्यसको कारण दिन सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । बिहीबार सर्वोच्चले सो आदेश दिएको अधिवक्ता सरोज अधिकारीले जानकारी दिए ।

प्रतिनिधिसभा बैठकमा शून्य समय, विशेष समयजस्तै ‘आकस्मिक समय’ राख्न संशोधन प्रस्ताव दर्ता भएको छ । प्रतिनिधिसभा नियमावली २०७९ को मस्यौंदामाथि संशोधन प्रस्ताव राख्दै सांसदहरुले जरुरी सार्वजनिक महत्वका विषयमा बोल्नका लागि सो समय सभामुखले उपलब्ध गराउनुपर्ने व्यवस्था राख्न संशोधन प्रस्ताव दर्ता भएको हो । सांसदहरु रुपा सोसी चौधरी, नारायणी शर्मा र सुवोध सापकोटा ‘माधव’ ले सो प्रस्ताव दर्ता गराएका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप