काठमाडौँ । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले आफू उपनिर्वाचनमार्फत चुनाव जिते पनि सरकारमा नजाने स्पष्ट पारेका छन् । आफूले उपचुनाव लड्ने या नलड्नेबारे अहिले नै निर्णयमा नपुगेको भन्दै उनले आफ्नो पार्टी सरकारमा जाने निश्चित भएको पनि प्रस्ट पारे ।
‘सरकारमा अरू साथीहरू जानुहुन्छ । उपचुनाव जितेर आए पनि म आफै सरकारमा जान्नँ । म सरकारमा नगएर पार्टी निर्माणमै लाग्नुपर्छ’, रातोपाटीको ‘वारपार’ कार्यक्रममा बोल्दै यादवले भने, ‘म उपचुनाव नलडेर अरू कोही लडे भने पनि पार्टी सरकारमा जान्छ । त्यो तयारीमा पार्टी छ ।’
प्रस्तुत छ, जसपाका अध्यक्ष उपेन्द्र यादवसँग गरिएको कुराकानीको सम्पादित अंश–
जसपा निर्वाचनमा गठबन्धन गर्ने वा सरकारमा जाने सवालमा जुनसुकै दलसँग पनि मिल्न तयार हुन्छ भन्ने बुझाइ छ । जसपाको नीति, विचार, सिद्धान्त र कार्यक्रम सबै दलसँग मिलेर हो या अरू केही ?
हाम्रो एउटा मूल मान्यता छ, त्यो भनेको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, जातीय, लैङ्गिक र वर्गीय विभेदको अन्त्य गरेर समतामूलक समाज स्थापना गरी अघि बढ्ने । यी कुरामा असर नपर्ने गरी राष्ट्रिय हितका सवाल र तत्कालीन देखा परेका राष्ट्रिय समस्याहरू समाधान गर्नका लागि हामीले अरू शक्तिहरूसँग पनि सहकार्य गर्न सक्छौँ । तत्कालीन समस्या, इस्यु र मुद्दाका आधारमा सहकार्य हुनसक्छ । तर हाम्रो पार्टी र अरू पार्टीबिच मूलभूत सिद्धान्त अलग छ । सिद्धान्त अलग भएरै फरकफरक पार्टी बनेको हो । त्यसकारण राष्ट्रिय समस्या हल गर्नका लागि सहकार्य गर्न सकिन्छ, यसो गर्दा मूल राजनीतिक मान्यतालाई यथावत् राखिन्छ ।
यसको अर्थ कांग्रेस, एमाले वा माओवादीसँग पनि सहकार्य हुने भयो, होइन ?
कुरा मिल्दा राष्ट्रिय मुद्दामा सहकार्य गर्न सकिन्छ । र, विचार मिल्यो भने एउटै पार्टी पनि बनाउन सकिन्छ । विचार र सिद्धान्त नमिल्ने तर मुद्दाहरू मिल्नेसँग सहकार्य गर्ने पार्टीको घोषित नीति हो ।
अलिअलि मुद्दा मिल्नेसँग सहकार्य नगरी सुखै छैन । कि ‘रेभुलेुसन’मा जानुपर्यो ।
नागरिकता र संविधान संशोधन लगायतका मुद्दा तपाईंंहरुले लामो समयदेखि उठाउँदै आउनुभएको छ, ती मुद्दा अहिले कहाँ छन् ?
हामीले ती मुद्दा छोडेका छैनौँ । दुई पटक त्यो मुद्दा हामीले राष्ट्रपतिकोमा पठायौँ, तर राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएन । समावेशीको मुद्दा पनि छोडेका छैनौँ । संघीयतालाई संस्थागत गर्नुपर्छ र बलियो बनाउनुपर्छ भन्ने कुरा, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, विभेद र असमानताका कुरालाई हाम्रो पार्टीले छोडेको छैन र छोड्नेवाला पनि छैन । तर त्यो कार्यान्वयन गर्ने भनेको त राज्यले हो । कानुन राज्यले बनाउँछ, विकासको बजेट राज्यले विनियोजन गर्ने भएकाले राज्यसँग हामीले त्यसका लागि प्रयत्न गर्ने हो । किनभने हाम्रो आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था छैन ।
हाम्रो बहुमत नभएकाले अरू पार्टीहरूसँग मिलेर एक पाइला भए पनि अगाडि बढाउने प्रयास हो ।
आधारभूत वर्गका मुद्दा लिएर जसपा जसरी अगाडि आएको हो । तर निर्वाचन जित्न र सत्तामा जान जोसँग पनि मिल्ने गर्दा नेताहरू चुके भन्ने विश्लेषणप्रति तपाईंको भनाइ के हो ?
अलिअलि मुद्दा मिल्नेसँग सहकार्य नगरी सुखै छैन । कि ‘रेभुलेुसन’मा जानुपर्यो । सधैँ ‘रेभुलेसन’मै जाने हो भने मुलुक कहाँ पुग्छ ? त्यसले गर्दा राष्ट्रिय समस्या समाधान गर्न सहमत हुने पक्षसँग सहकार्य गर्नुपर्दछ । तर आधारभूत मान्यता नै फरक भएको पार्टीसँग सहकार्य भएको पनि छैन, हुन पनि सक्दैन ।
त्यस्तो पार्टी छ नेपालमा ?
छन् । पुरानै व्यवस्था फर्काउने, संघीयता खारेज गर्ने अहिले पनि कतिपयको प्रयास छ ।
भनेपछि राप्रपासँग जसपाको सहकार्य हुँदैन ?
अहिले सम्भव छैन । प्रतिगमनकारी शक्तिसँग हाम्रो कुनै सहकार्य हुन सक्दैन । तर लोकतन्त्रमा विश्वास गर्ने शक्तिसँग मुद्दाका आधारमा सहकार्य गर्न सकिन्छ, गरिआएका पनि हौँ ।
हामीले यो गठबन्धन बनाएकाले यो सहकार्य पनि ५ वर्ष नै टिकोस् भन्ने पक्षमा छौँ ।
त्यसक्रममा नेपाली कांग्रेस होस् वा कुनैबेला एमाले, माओवादीसँग सहकार्य हुनसक्छ । मुद्दा मिलेन भने विरोध पनि हुन्छ । विरोध र सहकार्य, संघर्ष र एकता दुवै कुरा हुन्छ ।
मंसिरको निर्वाचनमा एमालेसँग सहकार्य गर्नुभयो भने अहिले कांग्रेस–माओवादी समीकरणमा हुनुहुन्छ । यो समीकरणमा रहेको सरकार कति समय जाने देख्नुहुन्छ ?
गएको चुनावमा नेकपा एमालेसँग हामीले केही सिटमा तालमेल गरेका थियौँ । हाम्रो मोर्चाबन्दी र सिट साटासाट भएको होइन । अब अहिले मूलतः चार पार्टीको गठबन्धनले मुलुकको लोकतन्त्रलाई संस्थागत गर्ने, मुलुकमा देखापरेको आर्थिक संकटबाट निकास दिएर जोगाउने मूलभूत मुद्दामा सहमत भएर नै हामीले यो गठबन्धन बनाएकाले यो सहकार्य पनि ५ वर्ष नै टिकोस् भन्ने पक्षमा छौँ ।
प्रधानमन्त्री आफैले पनि अस्ति आशंका व्यक्त गर्नुभएको छ । प्रमुख प्रतिपक्षले त वैशाखमा पुनः विश्वासको मत लिनुपर्छ कि भनिरहेको छ नि ?
सहकार्य समझदारीका आधारमा चल्ने हो । भोलि समझदारी रहेन र ठुलै दलले समर्थन फिर्ता लियो भने त सरकार नै नरहन पनि सक्छ ।
मूलत चार दलबिच यो गठबन्धनलाई अघि बढाउने भद्र सहमति केही भएको छ कि ?
यसमा चार दलले अरू दललाई समेट्दै सरकार सञ्चालन, मुलुकमा शान्ति, स्थिरता तथा सुशासन दिने र आर्थिक संकटको समाधान गर्ने भन्ने नै समझदारी हो ।
नेपालको राजनीतिमा सहमति पनि हुन्छ, एकता पनि हुन्छ तर टिक्दैन । यो रोग छ ।
भनेपछि यो सरकार एक वर्षजति जान्छ भनेर बुझौँ ?
गठबन्धनमा व्यक्तिहरू फेरिएलान्, त्यो अलग कुरा हो । गठबन्धनले नै अर्को संसदीय चुनाव गराउनुपर्छ भनेर सोच्नुपर्छ । यदि हामीले वर्षपिच्छे वा ६ महिनामै सरकार बदलिरह्यौँ भने सरकार बदल्नसक्ने नेताहरूमा त हामी गनिउँला । दुनियाँले पनि बहादुर भन्लान् तर देश र जनताको हित हुँदैन । राजनीतिक स्थिरता र प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आर्थिक रूपले मुलुकलाई विकास र समृद्धितिर लैजाने, जनतालाई सुशासन र राहतको प्रत्याभूति दिने गरी सहकार्य गरेर अघि बढ्ने हो भने यो गठबन्धन अगाडि जान्छ ।
तर तपाईंले भनेजस्तो नेपालको राजनीतिमा सहमति पनि हुन्छ, एकता पनि हुन्छ तर टिक्दैन । यो रोग छ ।
नटिक्ने मूल आधार भनेको सत्ता बाँडफाँटकै कुराले हो । राष्ट्रपति उपराष्ट्रपति जस्ता महत्त्वपूर्ण पदमा त मिल्यो, मन्त्रालय बाँडफाँटमा कुरा नमिल्दा पनि गठबन्धन टुटेका उदाहरण छन्, त्यो सम्भावना अहिले कति छ ?
यसमा समझदारी हुन्छ । त्यति ठुलो डिफ्रेन्स नहोला । त्यो समस्या हल हुन्छ ।
मन्त्रालयमा जसपाको दाबी कति रहन्छ ?
दाबी भन्दा पनि ‘कम्प्रोमाइज’ गरेर राजनीतिक स्थिरताको खोजीमा छौँ । त्यसकारण ‘कम्प्रोमाइज’ गर्न ‘लिबरल’ छौँ । आपसी सद्भावलाई कायम राखेर व्यावहारिक रूपले जे समझदारी हुन्छ, हामी त्यसलाई अघि लिएर जान्छौँ ।
महन्थजीले नेतृत्व गरेको राष्ट्रिय जनता पार्टी लगायत धेरै समूहलाई मिलाउँदै अगाडि बढेको हो । अहिले पनि अरूहरूलाई सँगै मिलेर काम गरौँ भनेकै छ । तर नेपालको राष्ट्रिय राजनीतिमा त्यति मात्र त पर्याप्त छैन ।
त्यसो भए मन्त्रालयको बाँडफाँटमा चित्त नबुझे पनि जसपाले यो समीकरण तोड्दैन ?
तोड्दैन । अब कुन समीकरण बनाउने ? अर्को समीकरण पनि चलेन । यो पनि नचल्ने हो र अर्को बनाउने हो भने त्यो चल्ने ग्यारेन्टी छ र ? छैन । एक्लै कुनै पार्टीको बहुमत नभएपछि कहीँ न कहीँ कम्प्रोमाइज त गर्नैपर्छ ।
हिजो एमालेसहितको समीकरण त हामीले तोडेको होइन । एमालेसहितको समीकरण टुट्नमा जसपा जिम्मेवार छैन र त्यो भारी जसपा बोक्दैन । प्रचण्डजी र केपी शर्मा ओलीजीको असमझदारीका कारणले टुटेको हो र आज यो बनेको हो । हिजोको पनि चल्दैन, आजको पनि चल्दैन भने अघि बढ्ने बाटो के त ?
कांग्रेस, एमाले र माओवादीसँग मिल्नसक्ने जसपा, खासगरी उपेन्द्र यादव माग मुद्दा मिल्ने मधेस केन्द्रित दलसँग चाहिँ किन मिल्न नसकेको पनि भन्छन् नि मानिसहरू ?
धेरैवटा मधेस केन्द्रित दल समाहित भएर हामीले पार्टी एकीकरण गरेका हौँ । महन्थजीले नेतृत्व गरेको राष्ट्रिय जनता पार्टी लगायत धेरै समूहलाई मिलाउँदै अगाडि बढेको हो । अहिले पनि अरूहरूलाई सँगै मिलेर काम गरौँ भनेकै छ । तर नेपालको राष्ट्रिय राजनीतिमा त्यति मात्र त पर्याप्त छैन । त्यसैले यो मुलुक बनाउने हो भने संघीय लोकतान्त्रिक गणतन्त्रमा विश्वास गर्ने शक्तिहरूको बीचमा सहकार्य नभए मुलुक अगाडि बढ्दैन । मधेस केन्द्रित दलहरू एक ठाउँमा भएनन् भने मधेसको मुद्दा हल गर्न कठिन छ । समग्र मुलुकका मुद्दा हल गर्न अरू पनि मिल्नुपर्छ ।
हाम्रो पार्टीमा काम गर्नुहुने साथीहरूमा तुलनात्मक रूपमा रामसहायजी सुरुदेखि नै त्यागी, संघर्षबाट आउनुभएको, सादगी जीवन, सिद्धान्तप्रति प्रतिबद्ध ।
तपाईंको ध्यान मधेस केन्द्रित दलहरूलाई एकीकृत गर्नुपर्छ भन्नेमा छ ?
निश्चित रूपमा छ ।
रामसहाय यादवलाई नै उपराष्ट्रपति किन बनाउनुभयो ?
हाम्रो पार्टीमा काम गर्नुहुने साथीहरूमा तुलनात्मक रूपमा रामसहायजी सुरुदेखि नै त्यागी, संघर्षबाट आउनुभएको, सादगी जीवन, सिद्धान्तप्रति प्रतिबद्ध । सरकारमा र संसद्मा जाँदा पनि हरेक परिस्थितिमा स्वच्छ छवि भएको व्यक्तित्वलाई नबनाएर कसलाई बनाउने ?
उहाँलाई न्याय गर्दा तपाईंको स्वार्थ पनि ‘क्लियर’ देखिन्छ । बारा– २ बाट आफू चुनाव उठ्न यो सबै गर्नुभयो, होइन ?
म उठ्ने कुरामा पार्टीले पनि निर्णय गरेको छैन । मैले ‘माइन्ड मेकअप’ पनि गरेको छैन । रामचन्द्रजी राष्ट्रपति बन्नुभयो, उहाँ पनि सांसद हुनहुन्थ्यो । उहाँको ठाउँमा पनि त एउटा न एउटा चुनाव लड्न जान्छ । त्यहाँ चुनाव लड्न जानेका लागि रामचन्द्र राष्ट्रपति बन्नुभयो भन्नु त भएन नि ! त्यसैले रिक्त निर्वाचन क्षेत्रमा को चुनाव लड्ने भनेर गठबन्धनले निर्णय गर्छ, पार्टीले निर्णय गर्छ । त्यसैले मेरा लागि उहाँ (रामसहाय)लाई उपराष्ट्रपति बनाइयो भन्ने हो भने उहाँको व्यक्तित्व स्वीकार गर्न नसक्नु हो ।
तपाईंलाई सांसद बन्न किन यत्रो हतारो ? चार महिनाअघि मात्र जनताले एउटा म्यान्डेट दिएका थिए । नैतिक रूपमा पाँच वर्ष बाहिर बस्छु भन्न पनि त सक्नुहुन्थ्यो, कि प्रधानमन्त्री हुने सम्भावना देखेर हो ?
व्यक्तिगत रूपमा साथीहरूलाई भन्छु, पाँच वर्ष मलाई पार्टी निर्माणको काम गर्न दिनुस् । त्यो पक्षमा म अझै पनि छु । मैले ‘माइन्ड मेकअप’ गर्न बाँकी नै छ । तर राजनीतिमा आवश्यकता अनुसार काम गर्ने हो । भोलि गठबन्धन र पार्टीले आवश्यकता ठान्दा सोच्ने कुरा आउँछ ।
गठबन्धन र पार्टीले निर्णय गरेको खण्डमा चाहिँ उपनिर्वाचन लड्न तयार हो ?
त्यसपछि विचार गरौँला । अरू विकल्प पनि खोज्दै छौँ ।
तपाईं निर्वाचित नभई जसपा सरकारमा जाँदैन भन्ने छ । तपाईं उपप्रधानमन्त्रीसहित सरकारमा जानुहुन्छ रे नि ?
सरकारमा अरू साथीहरू जानुहुन्छ । जितेर आए पनि म आफैँ सरकारमा जान्नँ । म सरकारमा नगई पार्टी निर्माणमै लाग्नुपर्छ । दोस्रो, म चुनाव नलडेर अरू कोही लडे पनि पार्टी सरकारमा जान्छ । त्यो तयारीमा पार्टी छ ।
बारा–२ मा जसपालाई चुनाव जित्न कठिन छ भन्ने छ । जनमत पार्टीका अध्यक्ष सीके राउतले तपाईंका मान्छे आफ्नो पार्टीमा प्रवेश गराउनु भएको छ । लोसपाले पनि जनमतलाई सहयोग गर्दाको चुनौती कति छ ?
राजनीतिमा यसै भन्न सकिँदैन । राजनीति र जुवाको कुनै निश्चित हुँदैन । तथापि हामीले पटकपटक जित्दै आएको हो । त्यो हाम्रो गढ नै हो । जोसुकै उम्मेदवार उठाए पनि जित्ने सम्भावना प्रबल रहन्छ ।
तपाईंले बाबुरामजीको कुरा गर्नुभयो । बाबुरामजीले पार्टी फुटाउनु भएको होइन । महन्थजीले फुटाउनु भएको हो ।
गठबन्धनबाट बारा–२ मा जसपा बाहेकको उम्मेदवार पनि हुनसक्छ ?
गठबन्धनबाट सम्भव नहोला । हामीले जितिरहेको क्षेत्र हो । तीन ठाउँमा चुनाव हुँदैछ । गठबन्धनभित्र कोही कहाँ कोही कहाँ लड्नेबारे छलफल भइरहेका छन् । गठबन्धन मिलेरै जान्छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको समझदारी हुन्छ ।
तपाईंले पार्टी एकलौटी ढंगले चलाउँदा विभिन्न समयमा टुटफुट भएको भन्ने छ । पछिल्लो समय अशोक राईको पनि चित्त दुखाउनु भएको हो ?
पार्टीका निर्णय सबै संस्थागत गर्छु । संस्थागत निर्णय अनुसार नै पार्टी अगाडि बढिरहेको छ । कुनै काम एकलौटी गरिएको छैन । फुटेर जानेहरूलाई कसैले फुटाइदिएको बिर्सिनु हुँदैन । फुटेर जानेहरू अहिले त हराए । ममाथि लगाइने आरोप सत्य भएको भए फुटेर जानेहरू एक ठाउँ बस्थे नि, कहीँ न कहीँ । ती त झन् छिन्नभिन्न भएर गए । मेरो नेतृत्वको पार्टी अहिले पनि एउटा शक्तिको रूपमा रहेको छ ।
तपाईंले बाबुरामजीको कुरा गर्नुभयो । बाबुरामजीले पार्टी फुटाउनु भएको होइन । महन्थजीले फुटाउनु भएको हो । केपी ओलीका कारण उहाँले पार्टी फुटाउनु भएको हो । त्यसको कुनै उपचार थिएन । त्यहाँ मेरो के दोष ? केपी ओलीजीले हाम्रा पार्टीका ११ जनालाई मन्त्री दिए । ११ वटा मन्त्री नपाएको भए फुट्ने थिएन । ती त भागेका हुन् । बाबुरामजीले सँगै चिया खाएर अब म अर्को बाटोबाट अगाडि लाग्छु । यो बाटोमा तपाईंहरु अगाडि बढ्नुस् । मेरो बाटो र सोच फरक हुन लाग्यो भनेर उहाँ सल्लाह गरेरै अलग हुनु भएको हो । हामीले आरोप प्रत्यारोप लगाएनौँ ।
यो अहिले मात्र होइन । कोतपर्व पनि यहीँ भएको हो । एउटा सिपाहीले त्यत्रो काण्ड गर्न कसरी सफल भयो होला ? त्यसपछि पनि विभिन्न काण्ड भए । यी कसरी भए होलान् ?
अशोक राईजीलाई अन्याय भयो भन्ने कुरा ? छैन छैन । उहाँ सम्मानित नेता हुनुहुन्छ । उहाँको सरसल्लाहबाटै हामी काम गरिरहेका छौँ । कुनै पनि संस्था वा पार्टीले सबैलाई एकै पटक चित्त बुझाउन सक्दैन । यो यथार्थ हो । सरकारमा जाने कुरा छ । हामीले जति मन्त्रालय पाउँछौँ, सबैलाई त पुग्दैन । अनि चित्त दुख्छ । राजनीतिमा अवसर प्राप्त गर्ने चुप लागेर बस्छ । त्यो एक–दुई वटा हुन्छ । अवसर नपाउने सयौँ हुन्छन् । तिनको चित्त दुख्छ । त्यसको उपचार के हुनसक्छ ?
पार्टी बनाउने र फुटाउने अनि सरकार बनाउने र भत्काउने काम भइरहन्छ । यो कसले गर्छ ? विदेशीले ‘माइक्रो म्यानेजमेन्ट’ नै गर्छन् नि ?
यो अहिले मात्र होइन । कोतपर्व पनि यहीँ भएको हो । एउटा सिपाहीले त्यत्रो काण्ड गर्न कसरी सफल भयो होला ? त्यसपछि पनि विभिन्न काण्ड भए । यी कसरी भए होलान् ? अन्य मुलुकको तुलनामा नेपालमा भूराजनीतिको प्रभाव बढी छ । भूराजनीतिलाई सन्तुलन गर्न सकिएन भने यहाँ जतिखेर जे पनि हुँदो रहेछ । यो सत्य हो ।
यस पटक निर्वाचनमा पनि भोगियो हैन ?
बिपी कोइरालाको आत्मवृत्तान्तको हरेक हरफमा विदेशी हस्तक्षेप तपाईंले पाउनुहुन्छ । ऋषिकेश शाहको ‘मोडर्न नेपाल’ हिस्ट्री हो । ‘मोडर्न नेपाल’मा नेपालको राजनीति हेर्दा हरेक कदममा अर्काको निर्णय बोकेर हिँड्नुपर्ने नेपालीहरूको बाध्यता छ । यो अवस्थाबाट नेपाल मुक्त भइसकेको छैन ।
अहिले भूराजनीतिक प्रभाव बढेको छ कि घटेको छ ?
कुनै बेला कम हुन्छ । तर भइरहन्छ । असर पनि भइरहन्छ । अहिले त चारैतिरको प्रभाव परेको अवस्था छ । यसको दोष हामीले बाहिरकालाई दिनुभन्दा हाम्रो नेतृत्वले खुट्टा नटेकिदिँदा राजनीति स्थिरता नहुने रहेछ । त्यसैले नेतृत्वले खुट्टा टेक्न सक्नुपर्छ ।
हाम्रो देश बाहिरी डोनेसनबाट चल्छ । अनुदान, दान र ऋणबाट चल्छ । यसबाट मुक्त नभएसम्म हस्तक्षेप रहन्छ नि !
के कारणले खुट्टा टेक्न सक्दैनन् ? डर, त्रास र लोभ के हुन्छ ?
पहिलो कुरा भविष्यको अवसरको चिन्ताले हो । भविष्यमा आउने अवसर गुम्ने हो कि भन्नेमा अधिकांश नेताहरू चिन्तित हुन्छन् ।
दोस्रो, हाम्रो मुलुक आर्थिक रूपमा विपन्न छ । भोलि सरकार नै बनाइहाले पनि बाहिरी सहयोग रहेन भने टिकिँदैन । हाम्रो देश बाहिरी डोनेसनबाट चल्छ । अनुदान, दान र ऋणबाट चल्छ । यसबाट मुक्त नभएसम्म हस्तक्षेप रहन्छ नि ! हाम्रो देश अनुदानबाट चल्ने भएकाले हामीले धेरै ठाउँमा ‘कम्प्रोमाइज’ गर्नुपर्छ ।
माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबीच मोर्चा बनाउने कुरा छ । मोर्चा वा एकताका लागि तपाईंहरु अगाडि बढ्नु भएको हो ?
विचार र सिद्धान्तमा कुरा मिले एकता हुन्छ । तत्काल एकता सम्भव छैन । अहिले समाजवादी मोर्चा बनाएर सहकार्य गर्दै जाउँ, सहकार्य गर्दै जाँदा मुलुकको हितमा कति काम गर्न सकिन्छ । एक आपसमा विश्वास, एक अर्कालाई बुझ्ने, वैचारिक, सैद्धान्तिक रूपमा पनि छलफल गर्दै जाने भनेर एउटा समाजवादी मोर्चा निर्माण गर्ने कुरा चलिरहेको छ ।
तीन दलको मोर्चा बन्ने सम्भावनाको नजिक पुगेको हो ?
सम्भावनाको नजिक त छौँ । तर मुर्त रुप लिइसकेको छैन । लिने सम्भावना छ ।
१ प्रतिक्रिया