शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

आमाको ‘ब्वाइफ्रेन्ड’

शुक्रबार, १८ फागुन २०७४, ११ : २८
शुक्रबार, १८ फागुन २०७४

वैदेशिक रोजगारीका लागि कोरिया आकर्षक गन्तव्य मानिन्छ । वैदेशिक रोजगारीमा त्यता पुगेका नेपालीले कोरियाका अनौठा आनीबानी, संस्कार, संस्कृतिसँग परिचित हुन पाउने नैै भए । नेपालीलाई कोरियाको कतिपय आनीबानी, संस्कार, संस्कृति उल्टोजस्तो लाग्नु अस्वाभाविक होइन ।

प्रसंग–१
‘कसैलाई घरमै भेट्न जानु छ भने दुई/तीन दिनपहिले जानकारी गराउनुपर्छ,’ चार वर्ष १० महिना कोरिया बसेर नेपाल फर्केका चितवनका कस्तुप गैरेले सुनाए, ‘विनाजानकारी कसैको घर वा अपार्टमेन्ट पुगेर ढकढकाए पनि ढोका खोलिँदैन । ढोका ढकढकाउनेलाई सिसिक्यामेरामा हेरिन्छ । चिनेकै मानिस भए पनि ढोका खुल्दैन ।’ 

प्रसंग–२
गैरेसँगै ३६/३७ वर्षीय कोरियाली काम गर्थे । आत्मीयता साटासाट गर्थे । ‘उनको बुवा दिवंगत भइसकेका रहेछन् । घरमा ७०/७५ वर्षीया आमामात्रै थिइन् । तिमी कहिले डे, कहिले नाइट काम गर्छौ, आमालाई न्यास्रो लाग्दैनकी भनेर सोधें,’ उनले साथीले दिएको उत्तरबारे जानकारी गराए, ‘आमाको व्बाइफ्रेन्ड छन् । दिउँसो आमासँगै हुन्छन् ।’ छोरालाई आमाको ब्वाइफ्रेन्ड घरमै आउँछ भन्नेसम्म थाहा छ । तर, उनले सामान्य तरिकाले लिन्छन् । तर, नेपालीले सुन्दा अचम्म मान्ने नै भए ।
 

प्रसंग–३
कोरियालीले कामलाई पूजा गर्छन् । उनीहरूले समयको महत्व बुझेका छन् । लामो समय सँगै काम गरेपछि कोरियाली र नेपालीबीच अन्तरङ कुराकानी हुनु स्वाभाविकै हो । श्रीमान् कठिनभन्दा कठिन परिश्रम गरिरहेका हुन्छन् भने श्रीमती अरूसँग ‘डेटिङ’ मा रमाइरहेको हुने कोरियालीले नै नेपालीलाई सुनाउने गर्छन् । 

प्रसंग–४
अधिकांश कोरियालीको घर हुँदैन । ‘म जुन कम्पनीमा काम गर्थें उसको घर थिएन । अर्बाैं आर्जन गर्ने उसको कम्पनी थियो । दुई÷तीनवटा कार थिए,’ साहित्यकार गैरेले थपे, ‘नेपालीले नसके पनि ऋणपान गरेरसमेत घर बनाउँछन् । उनीहरूको त्यस्तो संस्कार छैन । उनीहरू अपार्टमेन्टमा बस्छन् । घरमा लगानी गर्ने रुपैयाँ कम्पनीमा गर्छन् । सम्पन्नले समेत अपार्टमेन्ट नै रोज्छन् ।’

प्रसंग–५
मध्यमवर्गका कोरियालीले आफ्ना छोरालाई २० वर्षसम्म लगानी गर्छन् । त्यसपछि आफ्ना लागि आफैंले कमाउनुपर्छ । पैसा दिनैपर्ने बाध्यता भएमा उसलाई अभिभावकले ऋण वा सापटीमात्रै दिने गर्छन् । 

प्रसंग–६
कोरियालीले तलब थापेपछि श्रीमतीलाई बुझाउँछन् । नारीप्रधान देश कोरियामा पुरुषले राम्रो लुगा लगाएर काममा गएको देखेपछि सँगै काम गर्ने अर्काले कतिमा, कहाँ किनिस् भनेर सोध्ने नै भए । ‘तर, आफूले लगाएको कपडा कतिमा कहाँ किनिएको हो भनेर उनलाई थाहा हुँदैन,’ काठमाडौंको बागबजारमा भेटिएका गायकसमेत रहेका कस्तुप गैरेले पोल खोले,  ‘उनीहरू आफैंले सपिङ गर्दैनन् । श्रीमतीले जे किनिदिन्छन्, त्यही लगाउँछन् ।’ 

प्रसंग–७
‘धेरैले बिहे गर्दैनन्,’ उनको बुझाइ छ, ‘गरिहाले पनि धेरै उमेर पुगेपछि विदेशीसँग बिहे गर्छन् ।’ किन होला ? भनेर जिज्ञासा लाग्नु अस्वाभाविक होइन । ‘आर्थिक अवस्था कमजोर भएकाले त्यस्तो भएको हुन सक्छ,’ आफूले सुनेको कुरा उनले बताए, ‘कोरियाली महिलाले मासिक ५/६ लाख मेकअपमा खर्चिन्छन् । त्यो भनेको नेपाली ५०÷६० हजार रुपैयाँ हो । मासिक १०÷१२ लाख कोरियाली वन कमाउनेलाई परिवार धान्न सजिलो छैन । बिहे त्यत्तिकै खर्चिलो हुन्छ । कोरियालीलाई बिहे गर्न १० करोड वन खर्च लाग्छ ।’

प्रसंग–८
बिहे गरेपछि कोरियाली बाबुआमासँग बस्दैनन् । बिहे गर्न चाहनेले बिहेअघि नै अपार्टमेन्ट तयार गर्नुपर्छ । अपार्टमेन्ट तयार गर्न नसक्नेको  बिहे हुँदैन । बिहेपछि श्रीमतीलाई राख्ने अपार्टमेन्ट हुनु अनिवार्य सर्तजस्तै हो । त्यतिमात्रै होइन, श्रीमतीका लागि खर्च गर्न सक्ने पनि हुनुपर्छ । 

प्रसंग–९
आफूले २३ वर्षमा बिहे गरेको सुनाउँदा सँगै काम गर्ने कोरियाली साथीले ‘तँ धनी परिवारको रहेछस् भनेको कस्तुप गैरेले आजसम्म बिर्सेका छैनन् । 

प्रसंग–१०
कोरियामा एउटै ठाउँ जाने फरक–फरक सडक छन् । फरक–फरक जाने सडकको करसमेत फरक–फरक नै हुन्छ । राजमार्गबाट गुड्दा कर बढी तिर्नुपर्छ । सुविधासमेत त्यहीअनुसारको हुन्छ ।    

प्रसंग–११
कोरिया पुगेको दुई महिनापछि गैरेले मेसिनले धान काटेको देखे । मेसिनले धान काटेको देख्दा उनलाई अचम्म लागेन । तर, मेसिनले धान काट्दै जाँदा पछि–पछि फट्यांग्रा टिप्दै गएको कोरियाली देख्दा अचम्म लाग्ने नै भयो । बुझ्दै जाँदा उनलाई थाहा भयो– कोरियालीले फट्यांग्रा औषधिका रूपमा प्रयोग गर्दारहेछन् ।

प्रसंग–१२
होचा–होचा डाँडा हुनु कोरियाको विशेषता हो । रोबर्टसँग काम गर्नुपर्दासमेत गैरेलाई अचम्म लागेन । सुरु–सुरुमा रोबर्टसँग काम गर्दा अप्ठ्यारो भए पनि पछि बानी पर्दै गयो । उनले सम्झे, ‘कोरियालीले नयाँ वर्ष लाग्नसाथ सालिन्दा वर्षभरि गर्ने कामको क्यालेन्डर बनाउँछन् । बिरामी पर्दा वा कसैको निधन हुँदाबाहेक रुटिनअनुसार काम गर्छन् ।’ 

प्रसंग–१३
कोरियामा सकेसम्म शव गाड्ने चलन छ । शव जलाउनुलाई अशुभ मानिन्छ । तसर्थ, मृत्युपछि आफूलाई गाड्ने जमिन सम्बन्धित व्यक्तिले जीवित रहँदा किनिसकेका हुन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप