९ वर्षमा १८ हजार वटा आगलागीका घटना, ७६९ जनाले गुमाए ज्यान
काठमाडौँ । नेपालमा डढेलोसहित साना ठुला आगलागीको घटनाबाट बर्सेनि औसत ९० जनाले ज्यान गुमाउँदै आएका छन् । नेपालमा २०७० देखि २०७९ चैतको पहिलो सातासम्ममा १८ हजार सात सय ७२ वटा आगलागीका घटना भएका थिए । ९ वर्षको सो अवधिमा आगोले जलेर सात सय ६९ जनाले ज्यान गुमाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ। त्यसैगरी आगोले जलेर दुई हजार पाँच सय ४८ घाइते भएका छन्।
आगलागीका घटना बढ्दो क्रममा रहे पनि सरकारको प्रभावकारी योजना भने देखिँदैन । काठमाडौँ उपत्यकाकै गगनचुम्बी भवनमा आगो लाग्यो भने आगो निभाउने साधन सरकारसँग छैन। भएका दमकलले आठ देखि १० तले भवनसम्म आगो निभाउन सक्छन्।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल घिमिरेले आफूहरूले योजना मात्रै बनाउने भएकाले सबै गर्न नसकिएको धारणा राखे । पोखरेलले भने,‘ हामीसँग दमकल किन्ने योजना छैन। हामीले नीति बनाउने हो, साधन सरकारले खरिद गर्ने हो।’
सरकारले तीन वर्ष अघि आगलागी घटना नियन्त्रण गर्न ‘एक स्थानीय तह एक दमकल’ कार्यक्रम ल्याएको थियो। तर, त्यो कार्यक्रम प्रभावकारी भएन । अहिले प्रहरी, सशस्त्र प्रहरी, सेना सँग भएका फायर फाइटर र दमकलसँगै जुद्ध वारुण यन्त्रमा राखिएका दमकलमार्फत आगो निभाउँदै आएको छ।
बाक्लो बस्ती भएका ठाउँमा दमकल पुग्न सक्दैनन्। समयमा आगो नियन्त्रणमा नआउँदा धेरे भौतिक क्षति व्यर्होर्दै आउनुपरेको छ। तत्कालका लागि आफूहरूले बाँडेको पावर ट्रेलरले अग्ला भवनमा पानीको फोहोराले मार हान्न सक्ने भनाइ प्राधिकरणको छ। प्राधिकरणले बिहीबार पावर ट्रेलरद्वारा आगो निभाउने प्रयासको डेमो गरेको थियो।
डढेलोबारे छैन प्रभावकारी योजना
सन् २०२२ मा कूल एक हजार पाँच सय २८ वटा डढेलोका घटना भएकोमा यही वर्षको वर्ष मार्च २१ सम्ममा यो सङ्ख्या बढेर दुई हजार ३६ पुगेको छ । गत वर्षहरूको तुलनामा हिउँदमा कम वर्षा र जाडो मौसमको औसत तापक्रम बढेर वातावरणमा आर्द्रता कम हुँदा यो वर्ष डढेलोको घटना पाँच गुणाले बढ्न सक्ने विज्ञहरूले बताइरहेका छन्।
तर, यसका लागि सरकारसँग प्रभावकारी योजना देखिँदैन । अहिले पनि दुर्गम पहाडका जङ्गलमा लागेको डढेलो निभाउन स्थानीयवासीले स्याउलाले पिट्नेबाहेक अर्को विकल्प छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन महाशाखासँग अहिले ‘पावर ट्रेलर’ द्वारा डढेलो र आगलागी नियन्त्रण गर्न सकिने प्रविधि छ ।
एक किलोमिटरसम्म पानीको फोहोरा फाल्न मिल्ने उक्त ट्रेलर सडक सञ्जाल जोडिएका जङ्गलमा लागेको डढेलोको लागि उपयोगी हुने प्राधिकरणको भनाइ छ। तर, विकट पहाडी जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि के गर्ने भन्ने जवाफचाहिँ प्राधिकरणसँग छैन।
प्राधिकरणको पहिलो कार्यकारी प्रमुखको जिम्मेवारी पोखरेलले सम्हालेपछि डढेलो तथा आगलागी नियन्त्रणका लागि केही प्रयास भए । तर, सरकारले आवश्यक भौतिक पूर्वाधार जुटाउन नसक्दा न डढेलो नियन्त्रणमा आयो, न त आगलागी समयमै निभाउन सकियो।
नदी नजिक भएका जङ्गलमा जलाधार क्षेत्र निर्माण गर्ने, पोखरी खन्ने र कुलो खनेर पानी लैजाने जस्तो कार्य भए पनि डढेलो नै लागिसकेपनि समयमा नियन्त्रणको प्रयास नहुँदा बर्सेनि सयौँ हेक्टर जङ्गल नासिँदै आएका छन्।
कार्यकारी प्रमुख घिमिरे भन्छन्, ‘आगो नै ठुलो बढ्दो जोखिमको रूपमा बढ्दै गएको छ। डढेलो ह्वात्तै बढेको छ। अब जमिनमा बसेर मात्रै डढेलो निभाउन सकिँदैन, यसका लागि फायर फाइटर हेलिकोप्टर चाहिन्छ।’ पोखरेलले भने जसरी सरकार अहिले फायर फाइटर हेलिकोप्टर नै किन्ने अवस्थामा भने छैन।
डढेलो नियन्त्रण भन्दा पनि डढेलो लाग्नै नदिन व्यापक जनचेतना अभिवृद्धि गराउने तयारीमा प्राधिकरण छ। ‘मानव सिर्जित डढेलो धेरै छन् । जनमानसमा डढेलो लगाउँदा हुने क्षति र यसले ल्याउने विपद् महामारीका विषयमा जनचेतना जगाउनु नै पहिलो कार्य हुनुपर्छ’, पोखरेलले भने, ‘स्वतःस्फूर्त रूपमा डढेलो नियन्त्रणका लागि स्वयंसेवकको काम गर्नेलाई स्वागत छ।’ जङ्गलमा पानीको स्रोत सुक्दै गएकाले पनि डढेलो नियन्त्रण प्रभावकारी नभएको प्राधिकरणको भनाइ छ।
आगलागी तथा डढेलो नियन्त्रणका लागि प्राधिकरणले रेडक्रस सोसाइटीसँग जोडिएका एक लाख भन्दा बढी स्वयंसेवकलाई डढेलो र आगलागी नियन्त्रणका लागि जनचेतना अभिवृद्धिका लागि खटाउने रणनीति लिएको जानकारी पोखरेलले दिए । उनले भने, ‘हामीले स्वतःस्फूर्त स्वयंसेवकको काम गर्न आउनेलाई स्वागत गर्छौँ। यसका लागि एप बनाएर काम गरिरहेका छौँ ।’ प्राधिकरणले स्वयंसेवक ब्युरो गठन गरेर आगलागी नियन्त्रणका लागि प्रयास गरिरहेको भनाइ पोखरेलको छ। प्राधिकरणले हरेक महानगर, नगर र गाउँपालिकाका कार्यालयमा राखिएका आगलागी नियन्त्रण र उद्धारसम्बन्धी औजारको समेत विवरण सङ्कलन गर्ने काम गरिरहेको छ।
ग्राउन्ड फाइटर होइन, एरियल फाइटर चाहिन्छ
डढेलो विज्ञ एवं प्राधिकरणका उपसचिव सुन्दर शर्मा
आगामी दिनमा डढेलो र आगलागीको घटनाले ठुलो रूप लिने देखिन्छ। तर, नियन्त्रण क्षमता कमजोर छ। यसलाई सरकारले लुकाएर हुँदैन। घर बस्तीमा हुने आगलागी केही हदसम्म नियन्त्रणमा आए पनि डढेलो नियन्त्रणमा सरकारी प्रयास धेरै न्यून छ।
डढेलो मान्छेले नै लगाउँछन्। स्थानीय तह यसबारे बढी जिम्मेवार र जफावदेही हुनुपर्छ। प्राधिकरणले नीतिगत व्यवस्थापन गर्ने हो स्रोतको व्यवस्थापन सरकारले गर्नुपर्छ। जङ्गलमा पानीको स्रोत कसरी पु-याउने, डढेलो र आगलागी नियन्त्रणका लागि उपकरण र तालिम दिने काम प्राधिकरणले गरिरहेको छ। नेपालमा २३ हजार सामुदायिक वन उपभोक्ता समूह छन् । यी समुहपनि उत्तिकै जबाफदेही हुनुपर्छ ।
सरकारले हेलिकोप्टर खरिद गर्न नसके पनि पानी फाल्ने बकेट किनेर भए पनि डढेलो नियन्त्रणको काम गर्न सक्छ। अब पनि स्याउलाले हानेर डढेलो निभाउँछु भन्नु बेकार हो। यो सम्भव छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको जागरणसभाका लागि र्याली सुरू (तस्बिरहरू)
-
प्रधानमन्त्रीले सडकमा शक्ति देखाउनु लोकतन्त्रको मर्म होइन : गणेश कार्की
-
स्थानीय तहको उपनिर्वाचनमा जनमतले १६ सिटमध्ये कतिमा मार्ला बाजी ?
-
मोदी र जयशंकरविरुद्ध कुनै प्रमाण छैन : क्यानडा
-
‘पूर्णबहादुरको सारङ्गी’को गीत ‘रैयाँ चाँदीको’लाई एक करोड भ्युज
-
फ्राइडे रिलिज : ‘तेल भिसा’ भर्सेज ‘अग्निदहन’