शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय

मनोरञ्जनको साधन मात्र हैन चलचित्र

बिहीबार, ०९ चैत २०७९, ०८ : ४९
बिहीबार, ०९ चैत २०७९

चलचित्र मनोरञ्जनका लागि मात्र नभई यसले समग्र देशको पर्यटन प्रवर्द्धनमा ठूलो प्रभाव पारेको हुन्छ । नेपालमा बनेका अधिकांश चलचित्र डिजिटलसँगै ठूलो पर्दामार्फत संसारभर प्रदर्शन हुँदै आएका छन् । जसको माध्यम र प्रभावले नेपालको पर्यटन प्रवर्द्धनमा निकै टेवा पुग्दै आएको छ । 

नेपालमा पनि चलचित्र हेरिसकेपछि चलचित्र छायाङ्कन भएको स्थानमा घुम्न जाने, भ्लग बनाउने परम्परा बसिसकेको छ । यसले पर्यटन प्रवर्द्धन त भएको छ नै, यो सँगै स्थानीय स्तरमा रहेका होटल रेष्टुरेन्ट, गाइड, स्थानीय उत्पादनले समेत बजार पाउने गरेको उदाहरण प्रशस्त छन् । 

एउटा चलचित्र निर्माण गर्दा निर्माताले करोडौँ लगानी जोखिममा राखेर लगानी गरेको हुन्छ । तर जहाँ जहाँ चलचित्र छायाङ्कन हुने गर्छ, त्यहाँका स्थानीय तह, प्रदेश सरकारले साथ दिए त्यो क्षेत्रमा अझ बारम्बार चलचित्र छायाङ्कनका लागि जान सकिने निर्माताहरू बताउँछन् । 

‘हामी करोडौँ लगानी उच्च जोखिममा राखेर चलचित्र निर्माण गर्छौँ । त्यो चलचित्र नेपालमा मात्र नभई संसारभर ठूलो पर्दामा प्रदर्शन गर्छौँ,’ चलचित्र ‘ए मेरो हजुर’का निर्माता सुनिल कुमार थापा भन्छन्, ‘चलचित्र हेर्न आउने स्वदेशी तथा विदेशी दर्शकले छायाङ्कन स्थल सपरिवार घुम्न आएको उदाहरण समेत छन् । उनीहरु घुम्न आउँदा सामाजिक सञ्जाल र भ्लग समेत बनाएर भरपुर प्रचार गर्ने गरेको हामीले पाएका छौँ ।’ 

चलचित्र प्रदर्शनको बढी फाइदा नेपालको पर्यटन प्रवर्द्धनमा हुने गर्दछ । जसको कारण पर्यटनको आगमन बढेसँगै त्यहाँका स्थानीय र सिंगो देशलाई आर्थिक लाभ हुने गर्छ ।

थापाका अनुसार चलचित्र यस्तो माध्यम हो, जसको कारणले देशको अर्थतन्त्रमा समेत ठूलो योगदान दिँदै आएको छ । तर चलचित्र क्षेत्रलाई भने राज्यले उपेक्षा गरिरहेको छ । खाली मनोरञ्जनको माध्यमको रूपमा मात्र लिएको पाइन्छ । यसको नीतिगत, ऐनका कुरामा न त सञ्चार माध्यमले बहस नै बनाएका छन् । 

यही प्रसङ्गमा शृङ्खलाबद्ध रूपमा आइरहेको ‘प्रेमगीत’ एउटा यस्तो चलचित्र हो, जसले नेपालको कर्णालीको रारा, गण्डकीको मनाङ र मुस्ताङलाई यसरी प्रचार प्रसारमा ल्याइदियो कि चलचित्र प्रदर्शन भएपछि त्यहाँ आन्तरिक र बाह्य पर्यटकको घुइँचो नै लाग्यो । 

‘प्रेमगीत’ ले मुस्ताङलाई प्रचारमा ल्याएपछि त्यहाँ पर्यटक मात्र हैन, अधिकांश चलचित्र र म्युजिक भिडियो बनाउनेको लाइन नै लाग्यो । त्यहाँ बास बस्ने होटलको लागि समेत पहिला नै बुकिङ गर्नुपर्ने अवस्था आएको स्थानीय होटल व्यवसायीको भनाई छ । त्यस्तै, ‘प्रेमगीत २’ चलचित्र प्रदर्शनपछि रारामा आन्तरिक तथा बाह्य पर्यटकहरू त्यहाँ जानेको घुइँचो नै लागेको राराताल संरक्षण समितिका अध्यक्षको भनाई छ ।

यसरी चलचित्र प्रदर्शनको बढी फाइदा नेपालको पर्यटन प्रवर्द्धनमा हुने गर्दछ । जसको कारण पर्यटनको आगमन बढेसँगै त्यहाँका स्थानीय र सिंगो देशलाई आर्थिक लाभ हुने गर्छ । राज्यले करोडौँ रुपैया खर्चेर पनि गर्न नसक्ने पर्यटन प्रवर्द्धन चलचित्रको माध्यमबाट एकैछिनमा गरिदिन्छ । 

तर राज्यबाट आजको दिनसम्म कुनै सहुलियत, कुनै सम्मान पाउन नसकेको यस चलचित्रका निर्माता सन्तोष सेनको भनाई छ । 

अब राज्यले, आमसञ्चार जगत र आम नागरिकले चलचित्रलाई हेर्ने दृष्टिकोणमा फरक बहस गर्न जरुरी देखिन्छ ।

त्यस्तै, ‘प्रेमगीत ३’ चलचित्र मनाङका विभिन्न रमणीय, पर्यटकीय स्थलमा छायाङ्कन भयो । हिन्दीमा डब भएका कारण सो चलचित्र भारतमा समेत चर्चामा रह्यो । चलचित्र प्रदर्शनमा आएपछि छायाङ्कन भएको स्थल यसरी प्रचारमा आयो कि लाखौं भारतीयले प्रशंसा मात्र गरेनन्, कति भ्लगर त मनाङसमेत पुगे । 

उता, भारतको बहुचर्चित फिल्म ‘उचाइ’को छायाङ्कनसमेत प्रेमगीत ३ को छायाङ्कन स्थलमा भयो । जसमा अनुपम खेर, परिनिती चोपडा लगायत बलिउडका चर्चित कलाकार आएर मनाङको यसरी प्रचार गरे कि राज्य लागेर पनि गर्न नसक्ने प्रचार प्रसार भयो । 

प्रेमगीत ३ जब भारतको चर्चित कम्पनी रियलटच स्टुडियोमा सम्पादनको काम भयो । अझ यसले विशेष गरी लोभलाग्दो दृश्यले त्यहाँ काम गर्ने बलिउडका चर्चित प्राविधिकहरू जस्तै सञ्जय साक्ला, जस्टिन जोस, प्रशान्त शर्मा, अमर मोहले, बन्टी नेलिले लगायत नतमस्तक भए । उनीहरु चलचित्रको छायाङ्कन स्थलको यसरी प्रशंसा गर्दथे कि यो चलचित्र प्रदर्शनपछि बलिउडवालाहरू अब युरोप, अमेरिकामा होइन, नेपालमा जानेछन् भन्थे । अरू निर्मातालाई लोकेशनका लागि नेपाल सिफारिस गरे । यो चलचित्र भारतमा प्रदर्शनपछि भारतीय बजारमा नेपालको सौन्दर्यको खुबै प्रचार भयो । जुन कुरा अहिले पनि सामाजिक सञ्जाल र युट्युबहरूमा समेत हेर्न सकिन्छ । यस्ता अरू थुप्रै नेपाली चलचित्र छन्, यो त केवल उदाहरण मात्र हो । 

अब राज्यले, आमसञ्चार जगत र आम नागरिकले चलचित्रलाई हेर्ने दृष्टिकोणमा फरक बहस गर्न जरुरी देखिन्छ । नेपाली चलचित्र नेपालका लोभलाग्दा दृश्यलाई मात्र नभई यहाँको कला, परम्परा, रीतिरिवाज, संस्कृति, भेषभुषा, भाषालाई चलचित्रको पर्दामार्फत संसारको बजारमा पुर्‍याएका छन् । 

अहिलेसम्मको बहस हेर्दा शुक्रबार प्रदर्शनमा आउने चलचित्रलाई केही सञ्चारकर्मीले चन्दादाता चलचित्रकर्मीलाई बोलाएर चलचित्रबारे बहस गर्ने गरेका छन्, जुन बहस प्रायः एकैनासको हुन्छ । 

चलचित्र मनोरञ्जनका लागि मात्र हैन, भविष्यका लागि इतिहासको महत्त्वपूर्ण भण्डारण समेत हो । अब हामीले नयाँ बहसको थालनी गर्न जरुरी भैसकेको छ । यसलाई परिभाषित गर्दै अब नयाँ किसिमको बहस हुन जरुरी छ । राज्यले पनि नयाँ नीति, नियम ऐन बनाई पाठ्यक्रममा समेत ध्यान दिएर चलचित्रको विषयबारे गम्भीर बन्नुपर्ने समय आएको छ । 

विदेशी चलचित्रले नेपाली चलचित्र बजारमा कसरी हालीमुहाली गरिरहेका छन्, किन आफ्नै देशमा आफ्नै नागरिकसँग नेपाली चलचित्र डराउनुपर्ने अवस्था छ  ? किनकि राज्यले, आम नागरिकले सञ्चार जगतले नेपाली चलचित्रको परिभाषालाई सामान्य किसिमले मनोरञ्जनको साधनको रूपमा मात्र चित्रण गरेको, प्रचारमा ल्याएका छन्, यस कारण सोचमा परिवर्तन आएको छैन । 

चलचित्रबारे विविध पाटाहरुको बहस हुन सकेको छैन । अब एउटा चलचित्रले पार्न सक्ने प्रभावको बहस र छलफल चलाउन जरुरी छ । 

अहिलेसम्मको बहस हेर्दा शुक्रबार प्रदर्शनमा आउने चलचित्रलाई केही सञ्चारकर्मीले चन्दादाता चलचित्रकर्मीलाई बोलाएर चलचित्रबारे बहस गर्ने गरेका छन्, जुन बहस प्रायः एकैनासको हुन्छ । 

पत्रकारले तपाईंको चलचित्र कस्तो छ ? कति बजेटमा बनेको ? फलानो चिन्नुहुन्छ ? अझ कसरी भाइरल र कसरी कार्यक्रम हिट हुन्छ । त्यस किसिमले मात्र टिभी कार्यक्रमहरू पनि सञ्चालनमा छन् । ठोस बहस हुन सकेको छैन । 

जवाफ दिनेले पनि आफू चर्चामा आउन सतही उत्तर दिन्छन् । नयाँ प्राविधिक कुरा स्पटदेखि निर्देशकीयसम्म समग्र चलचित्रका कुरा, यसले पार्ने प्रभावका कुरा नीतिगत कुरा बहसमा आउँदैन । त्यसैले पनि हालको बहसले खाली एकछिनको न्यानो मात्र बनाइरहेको छ । यसले दूरगामी प्रभाव र असर पार्न सकेको छैन । 

अब चलचित्रको फरक पाटोमा बहस गर्ने समय आइसकेको छ । अनि मात्र नेपाली चलचित्रको उत्थान र प्रवर्द्धनमा नयाँ आयाम आउने छ भने राज्यले दिने सेवासुविधामा समेत परिवर्तन आउनेछ । चलचित्रलाई खाली मनोरञ्जनको रूपमा मात्र प्रचारप्रसार गरेकोले राज्यले पनि गम्भीरता नलिएको हो कि ? अब नयाँ ढंगले बहस सुरु गरौँ ।

लेखक चन्द कार्यकारी निर्माता तथा सामाजिक अभियन्ता हुन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चक्रबहादुर चन्द
चक्रबहादुर चन्द
लेखकबाट थप