दृष्टि पाएपछि वृद्धवृद्धा दङ्ग, चिकित्सकसँगै गीत गाएर नाचे
बेनी । म्याग्दीको बेनीका ८४ वर्षीय दलबहादुर खड्का जीवनमै सबैभन्दा बढी खुसी छन् । विगत पाँच वर्षदेखि मधुरो देख्ने तर कुनै व्यक्ति र वस्तुलाई चिन्न नसक्ने खड्का बेनीमा आज सम्पन्न तीन दिने निःशुल्क शिविरमा शल्यक्रिया गरेपछि स्पष्टसँग आँखा देख्नसक्ने भएका हुन् ।
जिल्लाको बेनी नगरपालिका–२ खबराका खड्काले शल्यक्रियापश्चात स्पष्ट आँखा देख्ने भएपछि चिकित्सकसँग गीत गाएर नाच्दै खुसी व्यक्त गरे । चिकित्सकले आँखाको शल्यक्रिया गरेपछि स्पष्टरूपमा आँखा देख्ने भएको खड्काले बताए ।
त्यसैगरी बेनी–९ घतानका डिलबहादुर विकले दुवै आँखा देख्न छाडेको एक वर्ष भएको थियो । बेनीमा निःशुल्क आँखा उपचार शिविरमा ७७ वर्षीय विकको दुवै आँखाको मोतियाविन्दुको शल्यक्रियापछि आँखा देखेपछि खुसी हुँदै चिकित्सककै अघि नाचेर रमाइलो गरे ।
खड्का र विकजस्तै ८२ जना वृद्धवृद्धा आज शल्यक्रियापछि आँखाले संसार हेर्न पाउँदा दङ्ग परेका छन् । बेनी अस्पतालमा चैत ५ गतेदेखि सञ्चालन भएको शिविरमा ८२ जना मोतियाविन्दुको शल्यक्रिया गरिएको नेत्रज्योति सङ्घ म्याग्दीका सभापति अमरबहादुर बानियाँले बताए । “धेरै मोतियाविन्दु वृद्धवृद्धामा देखिएको छ, मोतियाविन्दु भेटिएका सबैको शल्यक्रिया गरिएको छ” उनले भने ।
नेत्रज्योति सङ्घ म्याग्दीको आयोजना, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक र माइकल बाउर एण्ड फ्रेण्ड, बाँडेन बाँडेन जर्मनीको आर्थिक सहयोगमा सम्पन्न शिविरबाट आठ सय ६९ जनाको आँखाको परीक्षण गरिएको नेपाल नेत्रज्योति सङ्घ म्याग्दीका अध्यक्ष बानियाँले जानकारी दिए । गाउँगाउँमा नेत्रज्योति सङ्घले आयोजना गरेको शिविरबाट भेटिएका मोतियाविन्दुको शल्यक्रिया पनि बेनीमा सञ्चालित शिविरमा गरिएको उनको भनाइ थियो ।
बेनी–५ की ७० वर्षीया पार्वती बानियाँले देख्न छाडेको तीन वर्ष भए पनि मोतियाविन्दुको शल्यक्रिया गरेकी थिइनन् । “पोखरा जाने समय र पैसा नहुँदा मोतियाविन्दुको शल्यक्रिया गर्न सकेकी थिइनँ,” उनले भनिन् “बेनीमा मोतियाविन्दुको शिविर सञ्चालन भएपछि गुमेको ज्योति सस्तोमा शल्यक्रिया गरेर फकिएँ ।”
यसअघि गत असोजमा १९ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । जिल्लामै शिविर सञ्चालन हुँदा शल्यक्रिया गर्न पोखरा जाने झन्झट अन्त्य भएको सङ्घका सचिव राजेन्द्र श्रेष्ठले बताए । “एकजनाको आँखाको शल्यक्रिया गर्न २० हजार रूपैयाँ र तीन दिन लाग्छ । शिविरले आर्थिक अवस्था कमजोर भएकालाई राहत दिएको छ,” उनले भने ।
धुँवा, धुलो, आँखाको सरसफाइ र चेतनाको कमीले मोतियाविन्दु र जलविन्दु हुने भएकाले धुँवा, धुलोबाट आँखालाई बचाई सरसफाइमा ध्यान दिनुपर्ने शिविरमा सहभागी चिकित्सकको सुझाव छ । शिविरमा हिमालय आँखा अस्पताल पोखरबाट छ जनासहित आठ जनाको प्राविधिक टोलीले आँखा परीक्षण र मोतियाविन्दुको शल्यक्रिया गरेको थियो । नेत्रज्योति सङ्घले शिविर सम्पन्न गराउन सहयोग गर्नुहुने प्राविधिक टोली र सहयोग दातालाई सम्मान गरेको छ ।
स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा सञ्चालन गरिएको शिविरमा दुई हजार दुई सयको नेत्र परीक्षण गरिएको अध्यक्ष बानियाँले जानकारी दिए । “गाउँमा पहिचान भएका मोतियाविन्दुका बिरामीलाई पोखराबाट चिकित्सक ल्याएर बेनीमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाएका हौँ,” उनले भने ।
रघुगङ्गा गाउँपालिकाको पाखापानी, मङ्गलाको कुहुँ, बेनी नगरपालिकाको डाँडाखेत, अन्नपूर्णको राम्चे, हिस्तान र शिखमा आँखा उपचार शिविर आयोजना गरेर मोतियाविन्दुका बिरामी पहिचान गरिएको थियो । हिमालयन आँखा अस्पताल पोखराका डा अञ्जु गुरुङको नेतृत्वमा शिविरका संयोजक सुवास नेपाल, अस्पतालका मीना राई, साधना मजाकोटी, गरिमा लौडारीलगायत स्वास्थ्यकर्मीले उपचार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङमा भेटिएका दुई वटा सिलिण्डर बम निष्क्रिय गराइयो, दुईवटा खाली सिलिण्डर
-
अदालतको आदेशपछि रविका समर्थकहरूमा खुसीयाली, अदालत अगाडि नाराबाजी
-
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कोसँग कति धरौटी मागियो ?
-
बीमा प्राधिकरणका अध्यक्षको चासो, ‘जीवन बीमामा सरेन्डर बढ्नुको जिम्मेवार को ?’
-
छविलाल जोशीलाई धरौटीमा छोड्न अदालतको आदेश
-
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश