आज २०७९ चैत ८ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
गठबन्धन बैठक
सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डामा गर्न बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको कुनै ठोस सहमति हुन नसकेको कांग्रेस नेता रमेश लेखकले बताए । उनका अनुसार आजको बैठकमा दलहरुबीच मन्त्रिपरिषद् विस्तारबारे प्रारम्भिक छलफल मात्रै भएको छ ।
आयात–निर्यात
चालू आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा नेपालले १० खर्ब ५८ अर्ब ८५ करोड रुपैयाँको आयात गरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि फागुनसम्मको अवधिमा उक्त मूल्य बराबरको वस्तु आयात गरेको हो ।
एमालेको भूमिका
संसद्को चालु अधिवेशन सुरु भएपछि सरकारले दर्ता गरेको दुईवटा विधेयकको पक्ष र विपक्षमा सार्वजनिक बहस भइरहेको छ । सरकारले गत फागुन २५ मा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दा टुङ्ग्याउने उद्देश्यले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ लाई संशोधन गर्न बनेको विधेयक दर्ता गरेको थियो । त्यसअघि सरकारले फागुन १२ गते नै संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता गरेको थियो । राजनीतिक वृत्तमा यी दुवै विधेयकबारे चासोका साथ पक्ष र विपक्षमा बहस भइरहेका छन् ।
सांसदहरू बेरोजगार
निर्वाचनपछि प्रतिनिधिसभा सञ्चालन भएको ४ महिना बितिसकेको छ । तर ‘मिनी पार्लियामेन्ट’को रूपमा रहेको संसदीय समिति बन्न नसक्दा सांसदहरू बेरोजगार भएका छन् । एकातिर प्रतिनिधि सभामा आएको विधेयकमाथि छलफलको काम अघि बढ्न सकेको छैन भने अर्कोतिर सरकारका काम कारबाहीको निगरानी गर्ने, जनताका उजुरी लिने र त्यसमाथि छलफल गर्ने, सरकारलाई उपयुक्त निर्देशन दिने लगायतका काम कारबाहीसमेत प्रभावित भएको छ ।
‘मास्टर म्यानेजर’ काठमाडौँबाट पक्राउ
अनलाइन बेटिङ साइट वान एक्स बेटका ६ जना मास्टर म्यानेजरलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गैरकानुनी बेटिङ खेलाउने गिरोहका सदस्यलाई पक्राउ गरेको हो ।
सामाजिक सुरक्षा
वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरिएको छ । सामाजिक सुरक्षा कोषले आजदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको हो ।
समर्थन फिर्ता लिने तयारी
लुम्बिनी प्रदेशमा माओवादी केन्द्र, लोसपा, नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारप्रतिको समर्थन फिर्ता लिने तयारी थालेका छन् । एमालेका संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउन यी तीनै दलले समर्थन जनाएका थिए ।
जम्कट्टेलको विश्वासको मत
नेपाली कांग्रेसका सांसदहरु उपस्थित नहुँदा बुधबार बागमती प्रदेशसभा बैठक प्रभावित भएको छ । कांग्रेसका सांसद उपस्थित नहुँदा बुधबार दिउँसो ३ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक बस्दै नबसी स्थगित गरिएको हो ।
एआईजीले लगाए फुली
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका ५ जनाले दर्ज्यानी चिन्ह लगाएका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी धिरज प्रताप सिंहले उनीहरूलाई फुली लगाइदिएका हुन् ।
नेपालको जित
थ्री नेसन्स प्रधानमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले लावसमाथि जित निकालेको छ ।
प्रतिक्रिया