कस्तो बनाउनुपर्छ हाम्रो जीवनशैली ?
जीवनशैली भनेको व्यक्तिले जीवन जिउने वा बाँच्ने बाटो हो । जीवनका विभिन्न आयाम, क्रियाकलाप, गतिविधि र ढाँचालाई स्वस्थकर तरिकाले आ–आफ्नै अनुकूलतामा चलाउने पद्धति नै सन्तुलित जीवन हो । र, सन्तुलित जीवनको अर्को नाम नै जीवनशैली हो ।
मानिसले जीवन व्यतीत गर्ने तरिका छिमेकीको व्यवहार, ग्रामीण वा सहरी बसाइँ, प्राकृतिक र सांस्कृतिक वातावरण, शिक्षा, आर्थिक अवस्था, सोंच आदिले निर्धारण गरेका हुन्छन् ।
आधुनिक चिकित्सकका मतअनुसार जे जति नयाँ किसिमका रोगहरू देखा पर्दैछन्, ती जीवनशैलीकै विकृतिबाट जन्मिरहेका छन् । जीवन जिउने तरिका अस्तव्यस्त हुनु, खाने, उठ्ने, सुत्ने, काम गर्ने, आराम गर्ने, व्यायाम गर्ने र दैनिकीमा उलटपुलट भएर भद्रगोल अवस्था आउनुलाई विकृत जीवनशैली भनिन्छ ।
जीवनशैलीको मूल्याङ्कन केवल खानपानका आधारमा मात्रै गरिनु हुँदैन । खानपान पनि जीवनशैलीको एक महत्वपूर्ण घटक हो तर जीवनशैलीको मुख्य आधार भनेको व्यक्तिको सोंच र जीवनप्रति उसको दृष्टिकोण हो ।
जीवनशैली परिवर्तनका तीन आधारहरू हुन्छन् । ती हुन्– चिन्तन, चरित्र र व्यवहार । यसको अभावमा जीवनमा विविध खालका दुष्परिणामहरू देखा पर्न थाल्छन्, जसलाई विकृत जीवनशैली अथवा लाइफ स्टाइल डिसअर्डर भनिन्छ ।
विकृत जीवनशैलीका कारण अहिले संसारमा विभिन्न रोगहरू देखा पर्ने गरेका छन् । जुन एक पटक उत्पन्न भएपछि कहिल्यै निको नहुने गरी मानिसलाई आक्रान्त पार्ने गर्दछन् । जस्तैः उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, अनावश्यक मोटोपन, मुटुका रोगहरू, जोर्नी सम्बन्धि रोगहरू, क्यान्सर, अम्लपित्त, मधुमेह आदि जीवनशैली विकृत भएमा देखापर्ने मुख्य रोग हुन् ।
त्यसकारण जीवनशैलीलाई स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडेर अध्ययन गर्न सकिन्छ । प्रकृतिविद्हरू भन्छन्– रोग तबसम्म जन्मिदैन, जबसम्म व्यक्ति प्राकृतिक परिवेशसँग आफ्नो जीवनशैली समायोजित गरेर बाँच्दछ ।
यसका विपरीत यदि प्रकृतिका नियमहरूको अवहेलना र उल्लङ्घन गरेमा रोग उत्पन्न हुन्छ । तर जीवनशैली नियमित र सुव्यवस्थित नभएसम्म कुनैपनि औषधी उपचारले रोग विकार निको हुँदैन । रोग निको बनाउने हो र जीवनशैलीमा परिवर्तन गर्ने नै हो भने हाम्रो भोजन अनुशासनबाट सुरुवात गर्नुपर्दछ ।
भन्ने गरिन्छ– दिनमा तीनपटक भन्दा बढी खाने असाध्यै रोगी, तीनपटक खाने रोगी, दुईपटक खाने भोगी, एकपटक खाने योगी र भोक लागेपछि मात्र खाने निरोगी हुन्छन् । यसलाई ख्याल गरी आफ्नो भोजनशैली अपनाउनु राम्रो हुन्छ ।
स्वस्थकर वा असल जीवनशैलीका तत्त्वहरू
हामी स्वस्थ भई बाँच्ने हो र असल जीवनशैली अपनाउने हो भने तल उल्लिखित जीवनशैलीका तत्त्वहरू बुझी पालना गर्नु जरुरी छः
– उपयुक्त खाना खानु ।
– शारीरिक अभ्यास र ध्यान गर्नु ।
– उपयुक्त र पर्याप्त सुताई गर्नु ।
– व्यक्तिगत सरसफाई गर्नु ।
– खराब आदत र कुलत त्याग्नु ।
– स्वास्थ्य शिक्षा लिनु र दिनु ।
– सुरक्षित वातावरणमा बस्नु ।
– शारीरिक तन्दुरुस्ती र सक्रियता कायम राख्नु ।
– सामाजिक सहयोग र स्वस्थकर सम्बन्ध राख्नु ।
– संवेगहरूको नियन्त्रण गर्नु ।
जीवनशैली स्वस्थकर र असल बनाउन गर्नुपर्ने व्यवहारहरू
व्यक्तिले स्वस्थकर जीवनशैली अपनाउने हो भने बिहान उठेदेखि राती सुत्ने बेलासम्म स्वस्थकर व्यवहार गर्ने, स्वस्थकर खानपान गर्ने, सकारात्मक दृष्टिकोण राख्ने र उच्च स्तरको सोंचाइ राख्नुपर्छ ।
आदर्श दिनचर्याका लागि व्यस्ततालाई बाध्यता नबनाई दैनिक जीवनका गतिविधि, क्रियाकलाप र आहार विहारमा संगठित स्वरुपमा परिणत गर्नुपर्दछ । यहाँ स्वस्थकर जीवनशैली अपनाउने र गर्नुपर्ने व्यवहारका केही तरिकाहरूको बारेमा प्रष्ट पार्ने जमर्को गरिएको छः
– हामीले जीवन दुःखका लागि नभई सुखका लागि, तनावका लागि नभई सुख र प्रसन्नताका लागि हो भन्ने मूल मन्त्रको आत्मसात गर्नुपर्छ ।
– समयको अनुशासनमा बाँधिनुपर्छ तर समयलाई आफ्नो मालिक बन्न दिनुहुँदैन ।
– हडबड, गडबड र बडबड जस्तो अस्तव्यस्त जीवनशैलीलाई त्याग गर्नुपर्छ ।
– जीवनप्रति सजग, काम कर्तव्यप्रति सचेत र स्वास्थ्यप्रति जागरुक हुनुपर्छ ।
– बिहान सूर्योदय अघि नै उठी उषापान (मनतातो पानी सेवन) गर्ने र उषापान गर्दा गिलासमा पानी राखी मुख कुल्ला नगरी बसेर बिस्तारै पानी पिउने र शौच जानुपर्छ ।
– मल त्याग गर्नुअघि कब्जियत जस्ता समस्या भए पेट प्रक्षालन अभ्यासका आसनहरू गरेर मल त्याग गर्नुपर्दछ । मल त्याग गर्दा लामो समय नलगाइ छोटो समयमै गर्नुपर्दछ ।
– त्यसपछि दन्तधावन (उचित तरिकाले दाँत माझ्ने विधि) गरी राम्ररी दाँत माझ्नुपर्दछ । तर आधुनिक मान्यताअनुसार खाना खाएपछि मात्र दाँत माझ्न सल्लाह दिने गरिन्छ ।
– यससँगै जिब्रो, मुख र आँखाको सफाई गर्ने, योग व्यायाम गर्ने, केही समय हिँड्डुल गर्ने र शरीरमा तेलले मालिस गरेपछि मात्र नुहाउनुपर्दछ ।
– योग व्यायाम गर्दा दिनहुँ कम्तीमा पनि ३० मिनेटसम्म गर्ने र समय पुगेमा ६० देखि ९० मिनेट व्यायाम गर्दा राम्रो हुन्छ ।
– धर्म र संस्कृतिअनुसार नियमित पूजाआजा वा उपासना गर्नुपर्छ ।
– बिहानको समयमा केही समय अध्ययन तथा लेखन गर्नुपर्छ । दिउँसोको समय कामकाजको समय भएकोले सुख र सन्तोषका साथ पेसा वा व्यवसायमा लाग्नुपर्छ ।
– पूर्वीय मान्यतामा बिहानको खाना ९ बजेदेखि १० बजेसम्म खानुपर्ने नियम भएकोले उक्त खानाले ब्रेकफास्टकै काम गर्ने हुँदा समयमै खाना खानु राम्रो हुन्छ ।
– स्वस्थ रहन पहिला खाएको खाना पचेपछि मात्र उचित मात्रामा अर्को भोजन गर्नुपर्छ अथवा प्रत्येक मुख्य दुई खानाको अन्तर कम्तीमा ६ घण्टा राख्ने वा ठोस खाना खाएको तीन घण्टासम्म अर्को कुनैपनि खाना खानु हुँदैन ।
– आचार्य वाग्भटका अनुसार शरीरमा उत्पन्न मल, मूत्र, अपानवायु, हाछ्यूँ, तीर्खा, भोक, निद्रा, डकार, परिश्रमपछिको सास फुलाई, हाई, आँसु, वमन र वीर्य गरी जम्मा १३ प्रकारका अधारणीय वेगलाई रोक्नु हुँदैन ।
– अरुलाई पीडा दिने किसिमको शारीरिक चेष्टा, परस्त्री भोग गर्ने इच्छा, चोरी, हिंसा, कुटपिट जस्ता ईच्छालाई समेत आउनै दिनु हुँदैन ।
– ग्रीष्म ऋतुबाहेक अन्य कुनैपनि ऋतुमा दिउँसो सुत्नु हानिकारक छ ।
– कामकाजसँगै केही समय खेल तथा मनोरञ्जनसमेत गर्नु राम्रो हुन्छ ।
– रात्रीचर्यालाई अस्तव्यस्त नबनाई स्वाभाविक निद्राअनुसार निदाउनु पर्दछ । रात आरम्भ भएको तीन घण्टा अध्ययन गरी त्यसपछिको ६ घण्टा समय निद्राका लागि दिएमा पर्याप्त हुन्छ ।
– सुत्ने बेलामा प्रसन्न चित्त भई खुकुलो र शुद्ध कपडा लगाई सफा ओछ्यान, हल्लाखल्लारहित वातावरणमा, घुँडा समान अग्लो पलङ्गमा पूर्व वा दक्षिणतर्फ सिरानी राखी उत्तम चिन्तन गर्दै निदाउनुपर्छ ।
– दाम्पत्य जीवनमा सम्भोग अनुशासन कायम राख्ने र यौनाङ्गहरूको नियमित सरसफाई गर्नुपर्छ ।
– ऋतुअनुसारको खानपिन गर्नुपर्छ ।
– बिहानको खाना वा ब्रेकफास्ट पेटभरी रुचुञ्जेल खाने, दिउँसोको खाना बिहानको भन्दा कम खाने र बेलुकाको खाना कमभन्दा कम खाने वा भोक लागेमा मात्र खानुपर्छ ।
– शरीरबाट एक दिनमा जति पानी निस्कन्छ, त्यति नै पानी पिउनुपर्छ ।
– सेतो चिनी, सेतो नुन, सेतो अजिनोमोटो, सेतो वनस्पति घिउ र सेतो मैदा स्वास्थ्यका लागि हानिकारक तत्त्व भएकाले यसको विकल्पयुक्त खाद्य पदार्थको सेवन गर्नुपर्छ ।
– खाना धेरै छिटो वा धेरै ढिलो गरी नखाने, कम्तीमा पनि २० मिनेट लगाउने र राम्ररी चपाएर मात्र खाने । बेलुकाको खाना खाएपछि कम्तीमा एक–दुई सय कदम पैदल हिँड्नु राम्रो हुन्छ ।
– बेलाबखत नियमित रुपमा स्वास्थ्य परीक्षण गर्ने, विशेषज्ञ डाक्टरहरूको सल्लाह लिने, स्वास्थ्य तथा परामर्श शिविरमा भाग लिने र स्वास्थ्यसम्बन्धि तालिम तथा गोष्ठीहरूमा सहभागी हुनुपर्छ ।
– ध्यानलाई अतिरिक्त कार्यभार नमानी जीवनशैलीको दैनिक अङ्ग नै मानेर हार्दिकतापूर्वक अवलम्बन गर्नुपर्दछ ।
– व्यस्तता र कामकाजको तनाव हलुका गर्न कहिलेकाहीँ ट्रेकिङ्ग जाने, वनभोज जाने, घुमफिर, तीर्थयात्रामा जाने वा पारिवारिक भ्रमणसमेत गर्नुपर्छ ।
– आफूलाई चाहिने भन्दा बढी मालसामान घरमा संग्रह नगर्ने, अनावश्यक लत्ता कपडा नराख्ने, नचाहिंदा गरगहना नथुपार्ने, भोकभन्दा बढी नखाने, खानेकुरा नफाल्ने, बजारमा गई मालसामान किन्दा स्थानीय उत्पादन र तल्ला वा मध्यम वर्गका व्यापारीलाई प्राथमिकता दिनुपर्छ ।
– प्लास्टिकजन्य पदार्थको प्रयोग नगर्ने, विषादीयुक्त खाद्यपदार्थ नखाने, विद्युतीय उपकरण अनावश्यक नचलाउने, अनावश्यक पानी खर्च नगर्ने, छोटो दूरीमा मोटरगाडी प्रयोग नगरी पैदल हिँड्ने, विभिन्न उत्सव मनाउँदा वृक्षारोपण गर्ने, घरआँगन सफा तथा फूलबारीयुक्त हरियाली बनाउने, कम्प्युटर, मोबाइल तथा अन्य उपकरणहरू लगातार प्रयोग नगर्ने बानी बसाल्नुपर्छ ।
– दर्शन, योग, धर्म, अध्यात्म, महापुरुषको जीवनगाथा, कृतिहरू, अमृतवचनयुक्त आदि ग्रन्थहरू पढ्ने बानी बसाल्नुपर्छ । यस्ता पुस्तकहरू संग्रह गरी लघु पुस्तकालय बनाउने, समूह बनाई अध्ययन गर्ने, उपहार दिंदा पुस्तक दिने लगायत बानी व्यवहार अपनाउनु पर्दछ ।
– कामकै बीचमा समेत १०–१५ मिनेटको मनोरञ्जन लिने, अरु समयमा पनि मनोरञ्जनमा लिप्त हुने, आफूलाई के गर्दा मनोरञ्जन र सन्तुष्टि मिल्छ, सोहीअनुसार मनोरञ्जन लिनुपर्दछ ।
– घर परिवार हाम्रो सर्वश्रेष्ठ मन्दिर भएकोले सुसंस्कृत घर परिवार बनाउने र पर्याप्त समय घर, परिवार, अग्रज, बृद्ध तथा बच्चालाई दिनुपर्छ ।
– आन्तरिक घाउ र आघातको गतिलो मलमपट्टी नै मुस्कान भएकोले मुस्कुराउने वा हाँस्ने गर्नुपर्छ ।
– कहिलेकाहीँ भावनात्मक हलचल आयो भने रुनु पनि पर्छ । यस्तो रुवाइले भविष्यको चोटमा मलम लगाउने मात्र होइन कि उसको रक्तचापसमेत सन्तुलनमा आउँछ ।
– लचिलो, सरल, मिजासिलो हुनु, महत्वाकांक्षी नहुनु, क्रोध, बेइमानी र खराब नियत नराख्नु र परिश्रमी हुनु असल जीवनशैलीका लागि सूचक हुन् ।
– धूम्रपान, मद्यपान र कुनैपनि नशापानको दुष्प्रभावप्रति सचेत रही त्यस्ता कुलतबाट टाढै रहनुपर्छ ।
– अरुलाई अभिवादन गर्नु, धन्यवाद ज्ञापन गर्नु, शिष्टाचार गर्नु, हरेक वस्तुलाई प्रेम गर्नु र कृतज्ञता जाहेर गर्नु राम्रो हुन्छ ।
– आफूले जानेको वा बुझेको कुरा अरुलाई पूर्वाग्रह नराखी, भ्रमित नगरी र सत्यतथ्यमा आधारित भई सुनाउने वा सिकाउने गर्नुपर्छ ।
– मृत्युको भय कत्ति पनि नलिने । मृत्युलाई पनि जन्म जस्तै एक स्वाभाविक प्रक्रिया मानी सहर्ष स्वीकार गर्नुपर्ने र भविष्यमा हुने मृत्युदेखि अहिल्यै डराएर आफ्नो दैनिकी बिगार्नु हुँदैन ।
निष्कर्ष
चित्तशुद्धि, नियमित र संयमित जीवन, उचित भोजन, परिश्रम र व्यायाम, ब्रह्मचर्य र विश्राम स्वस्थ जीवनशैलीका तत्त्वहरू हुन् ।
यदि स्वास्थ्य खराब छ भने ४०–५० वर्षकै उमेरमा व्यक्ति दुरावस्थामा पुग्न सक्छ । जबकि स्वास्थ्य राम्रो छ भने ८० वर्षको उमेरमा पनि जिन्दगीको आनन्द उठाउन सकिन्छ ।
मान्छे तबसम्म बूढो हुँदैन, जबसम्म उसको जीवनमा मधुरता र उत्साह रहिरहन्छ, जबसम्म उसको हृदयमा केही महत्वाकांक्षा रहिरहन्छ र जबसम्म उसको रगतमा कार्य गर्ने शक्ति प्रवाहित हुने गर्छ ।
स्वस्थकर जीवनशैली अपनाउनाले लामो वा छोटो अवधि गरी दुवै किसिमका फाइदाहरू हुन्छन् । लामो अवधिसम्म सन्तुलित आहार खानाले, नियमित शारीरिक अभ्यास गर्नाले, स्वस्थकर तौल कायम राख्नाले आफ्नो आयुमा केही वर्ष थपिन सक्छ ।
यसका अलावा क्यान्सर, मधुमेह, हाड खिइने रोग, मुटु र रक्तनलीसँग सम्बन्धित रोगहरू तथा मोटोपन जस्ता आधुनिक युगका अत्यन्तै विकराल समस्याहरू पनि देखा पर्दैनन् । अतः स्वस्थकर आनीबानी अपनाई अथवा गुणस्तरीय जीवनशैलीका साथ जीवन जिउने प्रयास गरौं, स्वस्थ र सुखी रहौं ।
सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक पाण्डे जीवनशैली परिवर्तन शीर्षकमा विद्यावारिधि शोधरत छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छविलालको बयान : जीबी र रविले टिभी खोल्ने प्रस्ताव ल्याएका हुन्
-
सूर्यदर्शन सहकारी ठगी प्रकरण : दीपेश पुनविरुद्ध किन चल्यो मुद्दा ?
-
स्थानीय उत्पादनबाटै आर्थिक उपार्जन र रोजगारी दिन सकिन्छ : मुख्यमन्त्री आचार्य
-
रुखको हाँगा लागेर एक जनाको मृत्यु
-
रविलगायतविरुद्ध दायर गरिएको अभियोगपत्र ४२७ पृष्ठ लामो
-
राष्ट्रपतिद्वारा तुलाधर डेनमार्कको राजदूत नियुक्त