एडिबी तथा विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीबाट तनहुँ जलविद्युत आयोजनाको अनुगमन
तनहुँ । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत अनुगमन भ्रमण गरेको छ । एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले सोमबार र मंगलबार आयोजनाका बाँध,भूमिगत विद्युत् गृह, मुख्य सुरुङलगायतका संरचनाहरूको निर्माण कार्यको अनुगमन गरेको हो ।
टोलीले आयोजनाको प्याकेज–१ (बाँध तथा हेडवर्क्स ), दोस्रो प्याकेज–२ (विद्युत गृह, मुख्य सुरुङ तथा सम्बन्धित उपकरणहरू) र तेस्रो प्याकेज (दमौली–भरतपुर २२० केभी प्रसारण लाइन) निर्माणमा संलग्न आयोजना व्यवस्थापन, निर्माण व्यवसायी, परामर्शदाताहरूसँग छलफल गरी निर्माण प्रगति, निर्माणमा देखिएका समस्यालगायतका विषयमा विस्तृत रूपमा छलफल गरेको थियो ।
निर्माणमा देखिएका समस्या समाधान गर्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै टोलीले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएको छ । आयोजनाको समग्र निर्माण २०८३ जेठभित्र सक्ने लक्ष्य राखिएको छ ।
आयोजनाको सहुलियतपूर्ण ऋण प्रवाह गरेको एडिबीको नेपाल आवासीय नियोग निर्देशक कुश्वाले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्नु पर्ने बताए । ‘मुख्य रूपमा प्याकेज–१को निर्माण महत्त्वपूर्ण तथा चुनौतीपूर्ण देखिएकोले निर्माण विधिमा ध्यान दिई उपकरण तथा जनशक्ति थप गर्नु पर्ने आवश्यकता देखिन्छ’, उनले भने ।
प्राधिकरणका कार्यकारी निर्देशक एवम् आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लि.का अध्यक्ष घिसिङले आयोजनाको निर्माण सम्पन्न गर्न हाल तय गरिएको तालिका नै अन्तिम भएकोले सोही लक्ष्यलाई पूरा गर्ने गरी काम गर्न निर्देशन दिए । ‘बाँध निर्माणका लागि नदी फर्काउने तथा स्लोप कटान चुनौतीपूर्ण देखिन्छ, यसका लागि दक्ष जनशक्ति र उपकरणहरु थप गरी कामलाई तीव्रताका साथ अगाडि बढाउनु पर्छ, आयोजनातर्फबाट गर्नु पर्ने सहयोग र सहजीकरणमा हामी सधैँ तयार छौँ,’ उनले भने ।
तनहुँ हाइड्रोपावर लि.का प्रबन्ध–सञ्चालक किरण कुमार श्रेष्ठले निर्माण कार्यमा भइरहेको प्रगतिबारे जानकारी गराएका थिए । आयोजनाको प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्र.) लि. नेपाल जे. भी.ले गरिरहेको छ ।
जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक दुई वटा डाइभर्सन सुरुङ, बाँधको दायाँ तथा बायाँतर्फबाट स्लोप कटानलगायतका निर्माण कार्यहरू भइरहेका छन् । ५३८.५ मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ र ६२२.५ मिटर लम्बाइ भएको डाइभर्सन सुरुङ–२को वारपार गरी (ब्रेक थ्रू) कंक्रिट लाइनिङको काम भइरहेको छ ।
प्योकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन, चीनले भूमिगत विद्युतगृह, मुख्य सुरुङ, र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका कार्यहरू गरिरहेको छ । विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ कार्य गरिरहेको छ । टेलरेस सुरुङ निर्माण अन्तिम चरणमा छ । पेनस्टक पाइप जडान तथा सर्ज ट्याङ्क निर्माण कार्य जारी रहेको छ । १४५६ मिटर मुख्य सुरुङमध्ये ७९० मिटर खन्ने कार्य सम्पन्न भएको छ ।
प्याकेज–३ अन्तर्गत केइसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण कार्य गरिरहेको छ । प्रसारण लाइनका ९४ वटा टावरमध्ये ५१ वटा टावरको जग हालिएको छ । साथै, ३२ वटा टावर जडान कार्य, ०.९८८३ कि.मी. तार तान्ने र ८ वटा टावरको जग संरक्षण कार्य सम्पन्न भएको छ । एक स्थानमा टावर जडान, दुई स्थानमा संरक्षण कार्य र ६ स्थानमा जग हाल्ने कार्य भइरहेका छन् ।
आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६०० ग्राहकको विद्युत् लाइन काटिँदै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा