मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय
सुरक्षा

राजनीतिक हस्तक्षेप खोज्दै प्रहरी !

‘ढोक्सा’ थाप्न प्रहरी नेतृत्व बाध्य : विज्ञ
बुधबार, ०८ चैत २०७९, २२ : ५३
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । यतिबेला भावी प्रहरी नेतृत्व (महानिरीक्षक) का लागि अकांक्षीहरुको तीव्र दौडधुप चलिरहेको छ । अर्कोतिर नियमावली नै संशोधन गरेर वर्तमान प्रहरी नेतृत्व राजनीतिक दललाई खुसी पार्दै पदमै निरन्तरता कायम गर्ने दाउमा छन् ।

प्रहरीलाई आफूखुसी उपयोग गर्ने राजनीतिक नेतृत्वको मनसाय र राजनीतिक दैलोमा ‘आत्मसमर्पण’ गर्ने प्रहरी नेतृत्वको कार्यशैली हाबी हुँदा निष्पक्ष निर्णय नहुने प्रस्ट देखिन्छ ।

प्रहरी ऐन, २०१२ मै टेकेर प्रहरी नेतृत्व चयन गर्ने परिस्थिति निर्माण हुनु र दलीय नेतृत्वले पनि भावी प्रहरी नेतृत्वलाई आफूखुसी प्रयोग गर्न पाउने बाटो खोज्नु समग्र प्रहरी संगठनका लागि दुर्भाग्यपूर्ण अवस्था सिर्जना भएको विज्ञहरू बताउँछन् ।

प्रहरी नेतृत्वमा ‘राम्राभन्दा पनि हाम्रा’ ल्याउने राजनीतिक प्रवृत्ति हाबी हुनुमा नेतृत्वका सम्भावित उम्मेदवार नै बढी दोषी देखिन्छन् । त्यसका पछाडि प्रहरी कर्मचारीको मूल्याङ्कन पद्धतिमा चरम राजनीतिक हस्तक्षेप र स्वयं प्रहरी कर्मचारीका ‘चाकडीवाद’ नै हो ।

प्रहरी नेतृत्वमा टिकिराख्न वा पद लम्ब्याउन राजनीतिक नेतृत्व अगाडि ‘लम्पसारवाद’ हुने नेतृत्व संगठनभन्दा पनि राजनीतिक दलप्रति उत्तरदायी हुने प्रवृत्तिका कारण प्रहरी संगठन ओरालो यात्रामा लम्किरहेको यथार्थ हो ।

अहिले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह जसरी पनि प्रहरी नियमावली संशोधन गरेर आफ्नो पद लम्ब्याउने तरखरमा छन् । भावी नेतृत्वमा पाँच जना सम्भावित उम्मेदवारहरू क्रमशः वसन्त बहादुर कुँवर, दीपक थापा, श्यामलाल ज्ञवाली, टेक राई र किरण बज्राचार्य कसरी नेतृत्व हत्याउन सकिन्छ भनेर तीव्र राजनीतिक दौडधुपमा छन् ।

प्रहरी कर्मचारीको कार्य मूल्याङ्कन पद्धतिको थितिलाई कायम गर्न सकेमा सोही आधारमा सम्भावित नेतृत्व अकाट्य हुने स्थिति बन्छ । राजनीतिक नेतृत्वको स्वार्थ र उनीहरूकै ‘यसम्यान’ हुनका लागि भावी प्रहरी नेतृत्वको चाहना मिल्दा त्यसको दूरगामी असर प्रहरी संगठनमा पर्ने निश्चित छ ।

प्रहरी नेतृत्वमा पुग्न सम्भावित उम्मेदवारको ज्येष्ठता र कार्यकुशलता त हरायो नै, सरकारलाई उचित लागेको व्यक्ति नै प्रहरी महानिरीक्षक चयन गर्न सकिने व्यवस्था मात्रै हाबी भयो । जुन, राजनीतिक नेतृत्वले चाहेका थिए, र अब पनि त्यही चाहन्छन् ।

झन्डै ८० हजार प्रहरी संगठनको नेतृत्व को हुने भन्ने विषयमा संगठनभित्रैका उच्चअधिकृतहरु जानकार छैनन् । यसपछिका कारण भनेको प्रहरीको मूल्याङ्कन विधि र परम्परा राजनीतिक नेतृत्वको हत्केलामा पुग्नु हो ।

विगतको परम्परा पनि यसमै आधारित देखिन्छ । आफैले फुली लगाइदिएका व्यक्ति (एआइजी विश्वराज पोखरेलले डीआइजी धिरज प्रताप सिंहलाई एआइजीको फुली लगाइदिएको प्रसङ्ग) ले राजनीतिक नेतृत्वलाई खुसी पार्दा महानिरीक्षक बनेको उदाहरण पनि छ । पोखरेल र सिंहको सवालमा ज्येष्ठता र कार्यकुशलताले काम गरेन । सरकारले आवश्यक ठानेको व्यक्ति नै महानिरीक्षक बन्न पुगे, जहाँ चरम राजनीति हाबी भयो । तर, एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार निरन्तर रहेको अवस्था थियो भने सिंह प्रहरी नेतृत्वमा पुग्ने नै थिएनन् । नेपाली कांग्रेस नेतृत्वको सरकार नै सिंहका लागि वरदान साबित हुन पुग्यो ।

वर्तमान प्रहरी नेतृत्व (धिरज प्रताप सिंह)ले ३० वर्षे प्रहरी सेवा हटाउन निकै प्रयास गरे तर सफल भएनन् । उनी आजका दिनसम्म पनि प्रहरी नियमावली संशोधन गरेर आफ्ना ब्याचीलाई घर पठाई आफ्नो मात्रै पद लम्ब्याउन तीव्र राजनीतिक दौडधुपमा छन् । उनले यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेटेर तीव्र लबिङ गरिरहेका छन् ।

झन्डै ८० हजार प्रहरी संगठनको नेतृत्व को हुने भन्ने विषयमा संगठनभित्रैका उच्चअधिकृतहरु जानकार छैनन् । यसपछिका कारण भनेको प्रहरीको मूल्याङ्कन विधि र परम्परा राजनीतिक नेतृत्वको हत्केलामा पुग्नु हो ।

‘यसम्यान’ खोज्ने प्रवृत्ति गलत

गोविन्द कुसुम, पूर्व गृह सचिव

govinda-kusum

प्रहरी नेतृत्व चयनमा राजनीतिक नेतृत्वले आफ्नो ‘यसम्यान’ खोज्ने प्रवृत्ति नै गलत छ । प्रहरी कर्मचारीको मूल्याङ्कन प्रणालीलाई विकास नगर्दा वा प्रहरी ऐनमा परिवर्तन नगर्दाको परिणाम हो यो । समय सापेक्ष प्रहरी ऐन बनाएको भए अहिलेको अवस्था आउँदैनथ्यो ।

प्रहरीमा कुनै व्यक्ति विशेष वा शक्तिकेन्द्रमा धाउने भयो भनेमात्रै मेरो बढुवा हुन्छ भन्ने प्रवृत्ति हाबी हुँदै जाँदा संगठन कमजोर हुँदै जान्छ । प्रहरी नेतृत्वले नै संगठन चलाउने हो । प्रहरीमा सिनियरले नेतृत्व नपाउने अवस्था भएको छ । प्रहरी संगठनमा सिनियरलाई माइनस गर्दा चेन अफ कमाण्ड बिग्रिन्छ । कि त यो–यो कारणले वा कमजोरीले गर्दा तिम्रो बढुवा हुन सकेन भन्न पर्‍यो । काममा राम्रो छ पनि भन्ने, विगतमा राम्रो उदाहरणीय काम गर्‍यो भन्ने तर, बढुवा गर्दा राम्रालाई भन्दा हाम्रा खोज्ने प्रवृत्ति हाबी हुँदा संगठन कमजोर हुन पुग्छ ।

हाम्रो प्रणालीले काम नगरेपछि राजनीतिक केन्द्रहरूमा धाउने प्रवृत्ति हाबी भयो ।

संगठनभित्र राम्रो काम गरेर होइन, राजनीतिक दौडधुप गरेर नेतृत्व पाउने वा बढुवा हुनुपर्छ भन्ने प्रवृत्ति हाबी हुँदै जाँदा त्यसको फाइदा संगठनलाई होइन, दललाई पुग्छ । यसमा राजनीतिक नेतृत्वले विचार गर्नुपर्छ । राजनीतिक नेतृत्वले आफ्नोमा को आयो भनेर विचार गर्नुभन्दा पनि सम्भावित उम्मेदवार असल वा राम्रो मान्छे र विगतमा राम्रो काम गरेको व्यक्ति छ कि छैन भन्ने विचार गर्नुपर्छ ।

हाम्रो प्रणालीले काम नगरेपछि राजनीतिक केन्द्रहरूमा धाउने प्रवृत्ति हाबी भयो । नेतृत्वमा भएकाहरू ‘को मान्छे म कहाँ आउँछ, त्यो मेरो मान्छे’ भन्नु नै गलत हो । जो व्यक्ति चाकडी गर्छ, त्यसले राम्रो काम गर्दैन । संगठनलाई कमाण्ड गर्ने व्यक्तिलाई नेतृत्वमा लैजानुपर्छ, यसम्यानलाई होइन ।

‘नेतृत्वमा ढोक्सा थाप्ने प्रवृत्तिले गुणस्तरीय प्रहरी सेवाको अपेक्षा गर्न सकिँदैन’

राजेन्द्र सिंह भण्डारी, पूर्व एआईजी, नेपाल प्रहरी

ex aig rajendra shing bhandari

प्रहरी नेतृत्व संगठनको वृत्ति विकासको योजना अन्तर्गत काम गर्ने मुख्य पात्र हो । संगठनको वृत्ति विकासलाई लोकतन्त्रको पुनर्स्थापना पछि कानुन कार्यान्वयन गर्ने निकायलाई सबैभन्दा बलियो बनाउनुपर्थ्यो । तर, राजनीतिक दलहरुका निहित स्वार्थका कारणबाट सबैभन्दा चलखेल गर्ने ठाउँ नै यसैलाई बनाइयो । दुराशयपूर्ण ढंगले प्रहरी सेवा अवधिलाई हतारमा कहिले लम्ब्याउने र कहिले घटाउने गरियो ।

प्रहरी सेवा शर्त उल्लङ्घन गर्ने काम भयो । जसका कारण प्रहरीको मूल ढोकाबाट राजनीति छिर्‍यो । प्रहरी संगठनको मूल ढोकाबाट राजनीतिले प्रवेश पायो । जसका कारणले सम्पूर्ण सेवाको सुदृढीकरण, प्रविधिकरण, व्यवसायीकरण र आधुनिकीकरण गर्नुपर्ने कुरा ओझेलमा परे । तर, यसको राजनीतिकरण गरियो । राजनीतिकरणका माध्यमबाट प्रहरी संगठनभित्रको अपराधीकरण मौलायो ।

प्रहरीको सिंगो संगठनको नेतृत्वको जीवनलाई ढोक्सामा पारेपछि गुणस्तरीय प्रहरी सेवाको अपेक्षा गर्नु निरर्थक छ ।

राजनीतिक चरित्रमा दूरदर्शीभन्दा पनि हाटहुट गर्ने नेतृत्व (गृहमन्त्री) चयन हुन थाले । राजनीतिक नेतृत्वले प्रहरीलाई स्वार्थसिद्धिको भरपर्दो हतियारको रूपमा उपयोग गरे । त्यसको परिणाम स्वरूप नेतृत्वको विकास, मूल्याङ्कन प्रणाली र वृत्ति विकासका योजनाहरू ओझेलमा परे । २०१२ सालको प्रहरी ऐन राखिराखे । मुलुकमा लोकतन्त्र, गणतन्त्र हुँदै आमूल परिवर्तन भए तर, प्रहरी नियमावलीलाई टेकेर आफूखुसी मनलाग्दी ढंगले पटकपटक पदावधि घटाउने, पदहरू थपघट गर्ने काम गरे ।

जब मूल्यमा आधारित मूल्याङ्कन भएन । मान्यतामा आधारित मूल्य नभएर द्रव्य (पैसा)मा आधारित मूल्य हुन थाल्यो । राजनीतिक अनुकूलताका आधारमा व्यावसायिक जीवन त्यसैमा आधारित हुने भयो । त्यसैले पछिल्लो घटनाक्रम हेर्ने हो भने जो मान्छे आईजीपी हुनुपर्ने हो, त्यो व्यक्ति हुन सकेका छैनन् । त्यहाँ द्रव्यमा आधारित मूल्य गाँसिन पुगेको हो । अनुमानयोग्य व्यक्ति कहिल्यै नेतृत्वमा पुग्न सकेनन् ।

हाम्रो मूल्याङ्कन प्रणाली नितान्त रूपमा राजनीतिक अनुकूलतामा निर्भर गर्‍यो । अब अघिल्लो पटक केपी ओलीको सरकारले निरन्तरता पाएको भए नेतृत्वमा अर्कै व्यक्ति पुग्थ्यो । राजनीतिक परिवर्तन भयो, नेतृत्वमा अर्कै व्यक्ति पुग्यो । राजनीतिक अनुकूलता नै निर्णायक हुन पुग्यो । सबैले ढोक्सा थाप्ने भए । कसको ढोक्सामा माछा पर्छ भन्ने नै अनिश्चित छ । त्यसमा राजनीतिक अनुकूलता निर्भर रहन्छ । सिष्टम काम गर्दैन । यसले लोकतन्त्र बलियो हुँदैन ।

प्रहरीको सिंगो संगठनको नेतृत्वको जीवनलाई ढोक्सामा पारेपछि गुणस्तरीय प्रहरी सेवाको अपेक्षा गर्नु निरर्थक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप