काठमाडौं । साना बालबालिकालाई हुर्काउन राम्रो हेरचाहको जरुरी हुन्छ । व्यस्त दिनचर्याका कारण कतिपय अभिभावकले बालबालिकाका लागि पर्याप्त समय दिन सक्दैनन् । जसले गर्दा बालबालिका विभिन्न प्रकारका दुर्घटनाको सिकार भइरहेका हुन्छन् । यसमध्येकै एक हो जलन । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष ५० हजारभन्दा बढी बालबालिका जलनबाट प्रभावित हुन्छन् । साना बालबालिकालाई चिसो–तातोको ज्ञान हुँदैन । उनीहरु हातखुट्टा टेकेर र घिस्रिएर हिँड्ने क्रममा आफ्नो छेउछाउको वस्तु छुने गर्दछन् । उनीहरुले भेट्ने ठाउँमा उमालेको पानी राखिरहँदा, खोले पकाउँदा वा गाउँघरमा चुलोमा आगो ननिभाइ राख्दा बालबालिकाले तिनलाई छुने र उनीहरु जलनको सिकार हुने गरेको पाइन्छ ।
यसैगरी शौचालय सफा गर्ने विभिन्न खालका एसिडजन्य पदार्थ बच्चाले भेटेको खण्डमा त्यसलाई पिउँदा मुख तथा शरीरका भित्री भाग पोल्छ । एक तथ्याङ्कअनुसार सहरमा भन्दा ग्रामीण क्षेत्रमा यस्ता जलनका बिरामी बढी हुन्छन् । तर घरपरिवार तथा अभिभावकले सतर्कता अपनाएमा आगो, तातो पदार्थ र विद्युत्को जलनबाट ७० प्रतिशत बच्चालाई जोगाउन सकिने चिकित्सकहरुको भनाइ छ ।
बच्चालाई जल्नबाट कसरी जोगाउने ?
स–साना बालबच्चा घरमा छन् भने खाना पकाउँदा, बस्तुभाउलाई खोले पकाउँदा विशेष ध्यान दिनुपर्छ । भुइँमा रहेको चुलो वा भन्सा वरिपरि बच्चालाई जान दिनुहुँदैन । बच्चा खेलिरहेको छेउछाउ तातो पानी वा खोले राख्नु हुँदैन । अबोध बालबालिकाले विद्युतको प्लगमा औँला छिराउन सक्छन् । त्यस्ता प्लग बच्चाहरूले हात छिराउन नमिल्ने स्थानमा राख्नुपर्छ ।
अग्नि जलन समाजका उपाध्यक्ष डा. रामनन्दप्रसाद चौधरीका अनुसार बच्चालाई पोल्नेबित्तिकै पोलेको भाग चिसो पानीमा कम्तीमा २० मिनेट डुबाएर राख्नुपर्छ । तत्कालै अरू घरेलु उपचारतर्फ लाग्नु हुँदैन ।
सामान्य जलन हुँदा पनि राजधानी धाउनुपर्ने बाध्यता
ग्रामीण क्षेत्रमा यसरी आगो, तातो पानी या विद्युत् सर्टजस्ता कारणले हुने जलनका बिरामीलाई उपचारका लागि राजधानी नै आउनुपर्ने बाध्यता छ । यसरी पोलेको बिरामीको उपचार जिल्ला तथा स्थानीय तहमा सम्भव भए पनि धेरैजसो राजधानी आउने गर्छन् । दस प्रतिशतभन्दा कम जलन भएका बिरामीलाई तत्काल केन्द्रीय अस्पतालमा रिफर गर्न आवश्यक नभए पनि यस्ता सामान्य खालका समस्या लिएर अभिभावक राजधानीका अस्पताल पुग्ने गर्छन् ।
यसरी पोलेका सबै बिरामी काठमाडौं आउनुपर्छ भन्ने हुँदैन । १० प्रतिशतभन्दा कम जलेको बिरामीलाई माइनर जलन मानिन्छ । यस्ता बिरामीको उपचार स्थानीय तहमा गर्न सकिन्छ । तर टाउको, फोक्सो जस्ता महत्त्वपूर्ण अङ्गमा जलन भएमा तत्काल केन्द्र अस्पताल पु¥याउनुपर्छ ।
अधिकांश बिरामी सामान्य पोलाइ भए पनि सिधै काठमाडौँ आउने गर्छन् । तर स्थानीय तहमा यस्तो सामान्य पोलाइको उपचार गर्न सकिने अवस्था भएमा प्रदेश तथा स्थानीय तहका अस्पतालमा उपचार गर्दा सजिलो, राम्रो र कम खर्च हुन्छ ।
राज्यले पनि स्थानीय तह, जिल्ला र प्रदेश अस्पतालहरूमा जलनका सामान्य बिरामीको प्राथमिक उपचार हुने व्यवस्था मिलाउनुपर्छ ।
अग्नि जलन समाजका उपाध्यक्ष डा. रामनन्दप्रसाद चौधरी भन्छन्, ‘हरेक मेडिकल कलेजमा कम्तीमा पाँचवटा शय्या जलन उपचारका लागि सरकारले व्यवस्था गर्नुपर्छ ।’ स्थानीय तथा प्रदेश तहमा अन्य रोगहरूका लागि जस्तै जलन उपचारको लागि छुट्टै अस्पताल बनाउन आवश्यक छ । जलनलाई पनि अन्य विभागजस्तै सहज बनाउनुपर्छ । शरीरको धेरै भाग पोलेमा अप्रेसन नै गर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ । शरीरमा धेरै क्षति भएको छ भने उपचारपछि पनि बिरामी सामान्य अवस्थामा फर्किन सक्दैन । त्यसले बालबालिकालाई विकलाङ्गसमेत बनाउन सक्छ ।
मनोपरामर्श आवश्यक
आगो, तातो पानी, तातो खोले, विद्युत् आदिले पोल्यो भने शरीरिक रूपमा विकलाङ्ग हुने सम्भावना हुन्छ । गहिरो जलन भयो भने यसलाई रोगका रूपमा मात्र नलिएर मानिसले घृणाको रूपमा लिने गरेको पाइन्छ । उनीहरु पहिलेको जस्तै समुदायमा पुनः स्थापना हुन समस्या हुन्छ ।
पोलेर दाग बसेका बच्चाहरूलाई शारीरिक मात्र होइन, मानसिक असर पनि परेको हुन्छ । उनीहरु स्कुल जान मान्दैनन् । साथीभाइसँग खेल्न जान पनि मन लाग्दैन । साथीहरूले जिस्क्याउने, हेपेर बोल्ने गर्दा परिवारबाहेक बाहिरका मानिससँग घुलमिल हुन सक्दैनन् । त्यस्ता बालबालिकाहरुलाई मनोपरामर्शको आवश्यक पर्छ ।
डा. चौधरी भन्छन्, ‘जलेका बिरामीको केसमा फिजियोथेरापी पनि गर्न आवश्यक हुन्छ । फिजियोथेरापी गरेमा हातखुट्टा बाङ्गिने सम्भावना कम हुन्छ ।’
प्रतिक्रिया