सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सन्दर्भ : छुवाछूत उन्मूलन दिवस

आर्थिक सशक्तीकरण जातीय विभेद न्यूनीकरणको मूल आधार

मङ्गलबार, ०७ चैत २०७९, १० : ०९
मङ्गलबार, ०७ चैत २०७९

आज २१ मार्च अर्थात् अन्तर्राष्ट्रिय भेदभाव उन्मूलन दिवस । आजको दिन विश्वका प्रायः सबै देशमा छुवाछूतविरुद्ध सचेतनामूलक विविध कार्यक्रम हुने गर्छन् । केही वर्ष पहिलेदेखि नेपालमा पनि यो दिवस मनाउँदै आएको पाइन्छ । 
नेपालमा मात्र होइन, हरेक देशमा कुनै न कुनै किसिमले जातीय विभेद अझै पनि कायम छ । खास गरी हाम्रो जस्तो आर्थिक विकासमा पछाडि परेको मुलुकमा यस्तो विभेद अझ बढी देखिन्छ । यसको प्रमुख कारण भनेको जनचेतनाको अभाव र आर्थिक सशक्तीकरण कमी नै हो । छुवाछूत अन्त्यका लागि हामी सबै जातजातिको विशेष भूमिका हुन्छ ।

म जनै लगाउनेमा पर्छु । जन्म संयोग म तागाधारी वर्गमा परेँ । म मन्दिर जान्छु, टीका लगाउँछु, टुपी पनि पाल्छु । धार्मिक अनुष्ठानहरू गर्छु । यो मेरो धार्मिक स्वतन्त्रता र जीवन शैली हो । मेरो मन मस्तिष्कमा हिन्दू धर्म छ । मैले धर्म जन्मदै धारण गरेको हुँ । धर्मको मनोविज्ञानबाट म हत्तपत्त बाहिर निस्कन सक्दिनँ । मेरो शरीरको प्रत्येक रौँ चिरामा सामाजिक धर्म र संस्कृति छ । नेपालमा रहने सबै धर्म संस्कृति र सम्प्रदायमा जन्मने मान्छेको यस्तै आफ्नै छुट्टै विशेषता र जीवन शैली छ । 

बुद्ध धर्मको आफ्नो शैली र शील छ । किराँत, मुस्लिम, जैन क्रिस्चियनलगायत यावत् धर्म र संस्कृति हामी अवलम्बन गर्छौं । ती सबैको आआफ्नो विशेषता, आचरण, व्यवहार र मान्यता छन् । तर मैले जनै लगाएकै कारण, टुपी पालेकै कारण, मन्दिर ढोगेकै कारण म अरूभन्दा उपल्लो र माथिल्लो जातको मान्छे सम्झन चाहन्नँ । यसलाई विभेदको परिचायक बनाउन चाहन्नँ । जसले लगाए पनि हुन्छ । मानव सभ्यताभित्र रहेको र हिन्दु धर्ममा आस्था तथा विश्वास राख्नेलाई पनि तल्लो जाति भन्ने एउटा गलत परम्परा हो । 

हरेक वस्तुमा असल र खराब पक्ष हुन्छन् । खराब पक्ष झिकेर असल पक्षलाई आत्मसात गर्नुपर्छ । सनातन धर्मको सवालमा पनि यही हो । समाजमा जातको नाममा तहगत संरचना छ । यो नितान्त अवैज्ञानिक र असमान छ । एकै हावाले सास फेरेर एकै धर्तीमा बसेर एकै पानीले प्राण रक्षा गर्ने, एकै संविधान र नीति नियममा बस्नुपर्ने, हामी कसरी तलमाथि हुन सम्भव छ ? जैविक, शारीरिक र आनुवांशिक सबै प्रक्रिया एकै हो । छूत, अछूत कृत्रिम र मानव निर्मित अल्प चेतनाको तत्कालीन प्रबन्ध हो । २१औँ शताब्दी सुहाउँदो छैन । यो कृत्रिम असमानता मानव अधिकार र समान अस्तित्व बोक्ने मान्छेको हकमा न्यायोचित हुँदैन । हामीभित्रको अविवेकी चेतना हटाउन अत्यावश्यक छ । 

मेरो जन्म संयोग र वर्गकै आधारमा तपाईंं मलाई घृणा नगर्नुस् । यो फगत संयोग हो । संयोगले को कसको कोखमा बस्न आइपुग्यौँ त्यो हाम्रो जैविक ल्याकतको कुरा हो, हाम्रो चेतनाको पक्ष होइन । हामी किन र कसरी विभिन्न धर्म संस्कृतिमा विभाजित भयौँ र आफ्ना पूर्वजले धारण गरेको धर्म बोकेर हिँड्यौँ आज त्यो हाम्रो विवादको विषय होइन । हामीले धारण गरेको धर्म र कर्मले मानवीय मूल्य ग्रहण गर्नुपर्छ । निन्दनीय कुरा त्याग्नुपर्छ । 

गलत संस्कार सधैँ त्याज्य हुन्छ र हुनु पर्छ । हामीले अन्धकार युगको चेतना बोकेर हिँड्ने कि नयाँ युगको सामयिक चेतनामा आफूलाई परिमार्जित गरेर लैजाने ? मैले लगाएको जनैले च्यातिएको हाम्रो सामाजिक सद्भावको सिउने धागो बन्छ कि विभाजनको रेखा कोर्छ ? मेरो जनैको धागोले दमाई मित्रको सियोमा छिरेर भड्केको सामाजिक सद्भाव सिलाओस्, समाज सिउने धागो बनोस् । विगतमा यो धागोले समाज च्यात्ने र समाज विभाजन गर्ने दुष्कर्म गरेको भए, समाज सिलाउने सूत्र बनाउन चाहन्छु । प्रिय कामी मित्र, तपाईं वैज्ञानिक आविष्कारक र सिल्पी हो । प्राविधिक ज्ञान भएको इन्जिनियर हो । तपाईं समाज र देशको नयाँ डिजाइनर हो । आउनुहोस् मिलेर देशको नयाँ डिजाइन गरौँ । 

अछूत त्यसलाई भनौँ जसले नियम मिचेको छ, भ्रष्टाचार, व्याभिचार, अनाचार र दुराचार गर्छ । अब परम्परागत छूत र अछूतको परिभाषा र क्षेत्र बदलेर समाज र देश हितको प्रतिकूल काम गर्ने, गैरकानुनी काम गर्ने चाहिँ अछूत हुन् ।

विकृति र विसङ्गतिविरुद्ध निरन्तर शब्दका घनले हिर्काउँछु । तसर्थ म पनि कामी हुँ । हर सिर्जनात्मक क्षमता र सिर्जनशील हात हुनेहरू कामी हुन् । मेरो घरको चुलोको ओदानदेखि भण्डारको देवतासम्ममा कामीको सीप र पसिना छ । मन्दिरको गजुर पनि कामीकै सिर्जनशील हातको करामत हो । मेरो हातको औँठीदेखि मेरी आमाको फुली बुलाकी सबै सबैको निर्माता कामी हो । मेरो सालनाल गाड्नेदेखि मेरो चिहान खन्ने, दाउरा चिर्ने हतियार कामीकै उत्पादन हो । रेल बनाउने कामी, तेल पेल्ने कोल बनाउने कामी, अन्नबाली उत्पादन गर्ने साधन बनाउने कामी । कामी वैज्ञानिक हो,  आविष्कारक हो । कामीको श्रम, सीप र पसिनाले नभिजेको कुनै अस्त्र र ठाउँ छैन तर कामी अछूत कसरी ? त्या अछूत हाम्रो मानसिकता मात्र हो । 

छूत र अछूत बनाउने परम्पराको खारेजी जरूरी छ । दिमागको फोहोर सफा गर्नुपर्ने छ । कर्म अभिशाप हैन बरदान र गर्व हुनुपर्छ । कथित छूत विदेशमा सफाइकर्मी हुँदा अछूत नहुने तर नेपालमा सफाइ कर्म गर्ने अछूत कसरी हुन्छ ? सफाई कर्म वातावरणीय दृष्टिले पनि बहुमूल्य छ । 
जुत्ता सिलाउने सार्की कसरी अछूत हुन्छ ? जसको सीप, श्रमले यात्रा सहज हुन्छ । पाउलाई कष्ट नदिने पाउपोसको निर्मातालाई किन अपमान ? सार्कीले सिलाइदिएको जुत्ता लगाएर, टल्काएर इज्जत बढ्छ भन्ने मानसिकता राख्नेले आफ्नो इज्जत राखिदिने हात र श्रम अनि सीपको अवमूल्यन गर्न मिल्दैन । 
यस्तै गीत सङ्गीतका साधक बादी समुदाय कसरी अछूत हुन्छन् ? जसको मङ्गल धुनले हाम्रो मङ्गल हुन्छ । जसको गानाबजनामा संसार झुल्छ, आल्हादित हुन्छ । यस्तो अछूत मनस्थिति भत्काउँन म सदैव यत्नशील छु । शिल्पी, श्रम र साधक अनि श्रमिक जबसम्म आत्मसम्मानपूर्वक पेसा व्यवसाय जम्न सक्तैन, उसको रोजोरोटो खोसिन्छ नै ? दलितले पालेको पशुको दूध जबसम्म समाजमा निर्वाध चल्दैन । सार्कीको होटेल भनेर गर्व साथ खाना खाने स्थल बन्दैन, तबसम्म यो जात व्यवस्थाविरुद्ध निरन्तर घन बजार्नुपर्छ । 

जुत्ता बनाउने गैरदलित आज ठूलो उद्यमी भयो । जुत्ता कारखानाको मालिक भयो । लुगा सिलाउने गैरदलित देशको नामुद टेलेरिङ हाउसको मालिक बन्यो । स्टिल, आइरन फलाम र सुनको काम गर्ने ब्राह्मण नछोइने जात बनेन । सफाइ अफिस खोलेर बस्ने क्षत्री समाजको सफल व्यवसायी र ठूलो रोजगारदाता बन्यो । तर परम्परागत सीप र साधना भएकाहरूलाई आफ्नो पुख्र्याैली पेसा गर्न हेय र सानो काम भन्ने बुझियो, बुझाइयो । परम्परागत पेसाको आधुनिकीकरण, बजारीकरण र व्यापारीकरण गर्न सोचिएन फलतः पुख्र्याैली पेसासमेत विमुख बनाइए । दलितलाई बेरोजगार बनाउन भूमिका खेलियो । उद्यमी बनाउनेतर्फ सोचिएन । गलत यहीँ भयो । 

परम्परागत पेसा छोड्नुअघि वैकल्पिक पेसाको ग्यारेन्टी गरिएन । यो अत्यन्त दुखद र अदुरदर्शी कार्य हुन पुग्यो । अधिकार भनेर अन्य कुरामा बहकिन लगाइयो । तर उसको आफ्नो पेसा र व्यवसायको आधुनिकीकरण, उत्थान र औद्योगिकीकरण गरिएन । बरू यो पेसाका कारण नै दलित भएको भनियो । परम्परागत पेसा त्याग्ने, घृणा गर्ने र हामीले गर्ने काम यो होइन, यस्तो कामले दलित बनिन्छ भन्ने गलत धारणा र प्रवृत्ति भित्र्याइयो ।

प्रिय दलित मित्रहरू, पेसाबाट पलायन हुने वातावरणभन्दा पेसालाई उत्थान गर्ने, संरक्षण गर्ने र व्यावसायिक बनाउने आधुनिक तालिमको व्यवस्था गरिनुपथ्र्याे । दलितलाई पेसा छोडेपछि विभेद कम हुन्छ भन्ने जुन मानसिकता विकास गरियो, त्यो अत्यन्त घातक छ । आर्थिक सशक्तीकरणले जात विभेदमा कतै न कतै केही न केही कमी ल्याउँछ । आर्थिक असमानता पनि जात र विभेदबारे अध्ययन गर्दा अर्काे छुटाउन नहुने पाटो हो । तसर्थ आर्थिक सबलीकरण सीप र क्षमताको अभिवृद्धि, सम्मान र मर्यादा जात व्यवस्था अन्त्यको प्रस्थानविन्दु हो । 

अवस्था फेरिएको छ, परम्परागत पेसालाई आधुनिकीकरण गर्न सकियो भने मनग्य आय आर्जन गर्न उद्योग धन्दामा रूपान्तरण गर्न सकिन्छ । विगतमा झैँ बिस्ट बराजुको बालीघरे भएर बस्नु पर्दैन । सीप र पेसालाई व्यवसाय बनाउन सकिन्छ । सीप र श्रमको मूल्य प्राप्त हुन्छ । श्रम, सीप उपयोग गरेर पेसा गर्नेहरू छूत र घुस कमिसन, ब्ल्याक मेलिङ गरेर, विचौलिया बनेर बिनाश्रम शक्ति र सत्ताको आडमा पैसा कमाउनेहरू अछूत हुन् । देशको नियम, कानुन, विधि र पद्धति मिच्ने र शोषण दमन गर्नेहरू चै अछूत र अमानव हुन् । 

अछूत त्यसलाई भनौँ जसले नियम मिचेको छ, भ्रष्टाचार, व्याभिचार, अनाचार र दुराचार गर्छ । अब परम्परागत छूत र अछूतको परिभाषा र क्षेत्र बदलेर समाज र देश हितको प्रतिकूल काम गर्ने, गैरकानुनी काम गर्ने चाहिँ अछूत हुन् ।
प्रिय दमाई मित्र, सियो लिएर आउनुस्, कैँची बोकेर आउनुस्, च्यात्ने च्यातौँ, जोड्ने जोडौँ, फाल्ने फालौँ । नमिलेको मिलाऔँ, च्यातिएको सिलाऔँ । तपाईंको सियोमा मेरो जनैको धागो दिन तयार छु । मिलेर समाज सिउनुपर्छ । सँगै जिउनुपर्छ । नमिलेका समाजका विसङ्गति उधार्नु पर्छ । विगतमा मेरा अग्रजले गरेको कमजोरी मेटाउन चाहन्छु । सबै अट्ने सद्भावनाको चौतारी भेट्न चाहन्छु । मैले प्रायश्चित गर्ने ठाउँमा म सहजतापूर्वक क्षमा याचना गर्न सक्छु । हाम्रो सामाजिक सद्भाव खल्बलिएको छ । त्यसलाई मिलेर समाधान गरौँ । 

तपाईंंले सिएको मोजा र टोपी अनि कमिजले शिर, शरीर र पाउ ढाक्ने म छूत अनि तपाईंं अछूत कसरी ? म मान्दिनँ यो कुरा । अलय भत्काऊ । लय निर्मितिका लागि लागौँ । मानवीय सद्भावको डोरी बेराँै । प्रकृतिले हामीलाई विभेद गर्दैन भने मान्छे हामी किन विभेदी हुने ? 
रूकुम नरसंहारजस्ता अमानवीय घाउलाई अब दोहोरिन नदिन राज्यलाई खबरदारी गरौँ । मसँगै बसेर कसम खान्छु, त्यस्तो घटना दोहोरिन दिन्नँ । तपाईं सबैले घर घरबाट प्रण गर्नुस् । मेची, कोसी, कर्णाली र गण्डकीमा अब मानिसको आलो रगत बग्नु हुन्न, जसरी भेरीमा बग्यो । नदीहरू मानवीय सभ्यता बोकेर बगून् न कि अछूत भनिएका मानिसको रगतले धमिलो बनेर ।

आदरणीय दलित मित्रहरू, छुवाछूत हटाउन गरिएका केही प्रयास र प्रयत्न हेरौँ । अमानवीय कानुन र प्रबन्ध फेर्न, त्यो चेत पलाउन त्यसलाई कानुनमा नै निषेध गर्न ११० वर्ष प्रतीक्षा गर्नुपर्याे । २००७ को जनक्रान्ति वरपर जातीय विभेद र छुवाछूत हटाउने समाज जागृतिका लागि १९९७ मा भगत सर्वजित विश्वकर्माले ‘विश्व सर्वजन सङ्घ’ स्थापना गरेका थिए । तत्कालीन क्रान्तिकारी कांग्रेसका केही नेताहरू र कम्युनिस्ट पार्टीले समाज जागरण गर्न सहभोज जस्ता कार्य गरेका थिए । 

छुवाछूत अन्त्य गर्न विभिन्न कालखण्डमा ऐन कानुन निर्माण भएका छन् । २०२० सालमा जारी भएको मुलुकी ऐनमा जातीय भेदभाव र छुवाछूत गर्नेविरुद्ध कानुन बन्यो । २०४६ सालको परिवर्तनपछि निर्माण भएको नेपालको संविधान २०४७ ले पुनः जातीय भेदभाव तथा छुवाछूतलाई दण्डनीय बनाउने व्यवस्था गर्याे । २०५८ साउन ३२ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले छुवाछूतलाई व्यवहारमा नै अन्त्य गर्ने घोषणा गरे । २०६० मा प्रधानमन्त्री सूर्यबहादुर थापाले पनि जातीय भेदभाव र छुवाछूतसम्बन्धी मुद्दालाई सरकारवादी बनाउने निर्णय गराए । 

प्रधानमन्त्री प्रचण्डले २०६५ माघ १२ गते गाविस स्तरसम्म नै छुवाछूत हेर्ने निगरानी केन्द्रको स्थापना गर्ने र छुवाछूत अपराध हेर्ने छुट्टै इजलास स्थापनाको घोषणा गरे । त्यसैगरी छुवाछूतलाई दण्डनीय अपराध मानेर ऐन जारी भएपछि प्रधानमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय छुवाछूत उन्मूलन समिति गठन हुने व्यवस्था गरे । २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले अन्तरजातीय विवाहलाई प्रोत्साहन स्वरूप रु. एक लाख रुपियाँ दिने निर्णय गरे । २०६२–६३ पश्चात् स्थापना भएको गणतन्त्र नेपालको व्यवस्थापिका संसद्ले २०६३ जेठ २१ गते नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गर्याे । २०६८ मा जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय ऐन २०६८ को निर्माण गर्याे । बाबुराम भट्टराईले पनि आफ्नो पालामा उच्चस्तरीय छुवाछूत उन्मूलन समिति गठन गरे । २०७२ संविधानको प्रस्तावनामै विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गर्ने लेखिएको छ । मौलिक हकमै भेदभाव र छुवाछूत बारे उल्लेख छ । धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको हक, धारा ४० मा दलितको हक, धारा ४२ मा सामाजिक न्यायको हक, धारा २५५ मा राष्ट्रिय दलित आयोगलाई संवैधानिक मान्यता छ । केपी शर्मा ओलीले पनि पहिलो पटक प्रधानमन्त्री हुँदा उच्च स्तरीय जातीय भेदभाव तथा छुवाछूत उन्मूलन समिति गठन गर्ने २०७३–०७४ को बजेटमै व्यवस्था गरी भेदभाव र छुवाछूतको उन्मूलन गर्ने प्रतिबद्धता जाहेर गरे । 

समय क्रममा प्रधानमन्त्रीको तहबाट थुप्रै घोषणा र कार्यक्रम बने तर नेपालमा जातीय छुवाछूत र विभेद कम भएको छैन । हालै प्रचण्ड सरकारले सबै जिल्लाका प्रहरी कार्यालयमा दलित सेल स्थापना गर्याे । १९६७ देखि संसारभर २१ मार्चलाई अन्तर्राष्ट्रिय भेदभाव उन्मुलन दिवसको रूपमा मनाउन थालिएको ५६ वर्ष भयो । नेपालको कानुनमा भेदभाव दण्डनीय मानिएको ५९ वर्ष भैसक्यो । नयाँ संविधान बनेको १० वर्ष नपुग्दै जातीय हिंसा र विभेदका कारण तीन दर्जनभन्दा बढी दलितको ज्यान गइसकेको छ भने कति अप्रत्यक्ष कारण र असरले मारिएका छन् । आत्महत्या गर्न बाध्य छन् । अपमान, ताडना र कष्टका बादलमुनि रहन अभिशप्त बन्छन् । भेदभावबिनाको समाज निर्माण गर्न राष्ट्रसङ्घको मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ लाई आत्मसात हामीले पनि गर्याैं । सबै प्रकारका जातीय विभेद उन्मूलनको महासन्धि १९६९ का पक्ष राष्ट्र पनि बन्यौँ तर मनुस्मृतिकालीन विभेद र छुवाछूत कायमै छ ।
नियम कानुन लेख्दैमा अधिकार प्राप्त हुदैन । त्यसका लागि राज्य तयार रहनुपर्छ । समस्या राज्यले आत्मसात गर्नुपर्छ । राज्य सञ्चालकहरूले सबैभन्दा ठूलो मानवीय समस्या र आफ्नो सभ्यता र संस्कृतिको कालो धब्बा भनेर स्वीकार गर्दै यो मेरो समस्या हो भन्नुपर्छ । कारखाना नै खराब भएपछि उत्पादन असल निस्किँदैन । 
आदरणीय बौद्धिक तथा प्राज्ञिकज्यूहरू, मानवताभन्दा ठूलो जात, सिद्धान्त, धर्म, व्यवहार, कानुन, विज्ञान र ज्ञान छैन । तसर्थ सबैको सम्मान, मर्यादा, स्वतन्त्रता र समताको हक नै आजको महान दर्शन हो । हामी सबै मिलेर यही दर्शन र विचारको पक्षमा लेखौँ, बोलौँ । गलत मानसिकताको शल्यक्रिया गरौँ, अनुसन्धान गरौँ । समाजमा विभेदको मूल छेदन गरौँ । 

लेखक कार्की त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा एमफिल (पिएचडी) अनुसन्धानरत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जीव कार्की
सञ्जीव कार्की
लेखकबाट थप