रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार
आज २०७९ चैत ६ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा प्रधानमन्त्री प्रचण्डलाई १७२ सांसदले दिए विश्वासको मत, विश्वासको मतसम्बन्धी प्रस्तावबारे संसदमा कसले के भने ?, नवनिर्वाचित उपराष्ट्रपति यादवले लिए शपथ, प्रचण्डमाथि ओलीको आरोप, तनहुँ–१ र बारा–२ मा पनि वैशाख १० मै उपनिर्वाचन, नयाँ आईजीपीका लागि तीव्र प्रतिस्पर्धा, उपनिर्वाचन अघि रवि लामिछानेलाई राहत, कोशी प्रदेशका मुख्यमन्त्री सवार गाडीमा आक्रमण लगायत छन् ।
१. प्रधानमन्त्री प्रचण्डलाई १७२ सांसदले दिए विश्वासको मत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १७२ सांसदले मत दिएका हुन् ।
२. विश्वासको मतसम्बन्धी प्रस्तावबारे संसदमा कसले के भने ?
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरे । यस क्रममा उनले देशमा स्थिरता र विकासका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको सम्बन्धमा दलगत रुपमा सांसदहरु छलफलमा भाग लिएका थिए ।
३. नवनिर्वाचित उपराष्ट्रपति यादवले लिए शपथ
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार शीतल निवासमा आयोजित कार्यक्रममा उनले शपथ लिए । सोही अवसरमा निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनलाई बिदाइ गरिएको थियो ।
४. प्रचण्डमाथि ओलीको आरोप
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि प्रधानमन्त्री भएको भोलिपल्टबाट इमान छोडेको आरोप लगाएका छन् । सोमबार संसद भवन ल्होत्से हलमा आयोजित एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन् । एमाले संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।
५. तनहुँ–१ र बारा–२ मा पनि वैशाख १० मै उपनिर्वाचन
निर्वाचन आयोगले तनहुँ–१ र बारा–२ मा प्रतिनिधिसभा सदस्य पदका लागि वैशाख १० मै उपनिर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । तनहुँ–१ बाट मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ मा निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि ती दुवै क्षेत्रमा प्रतिनिधिसभा सदस्य पद रिक्त भएका हुन् । यसअघि नागरिकता सम्बन्धी मुद्दामा रवि लामिछानेको सांसद पद गुमेको थियो । आयोगले चितवन–२ मा वैशाख १० मा उपनिर्वाचन गर्ने घोषणा यसअघि नै गरिसकेको थियो ।
६. नयाँ आईजीपीका लागि तीव्र प्रतिस्पर्धा
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको कार्यकाल यसै साता सकिँदैछ । ३० वर्षे सेवाअवधिको मापदण्ड कायम रहे आईजीपी सिंहसँगै उनका ब्याचमेट तीन एआईजी, ३ डीआईजी र दुई जना एसएसपी पनि अनिवार्य अवकाशमा जानेछन् । सोमबार पाँच डीआईजीलाई सरकारले एआईजीमा बढुवा गरेको छ । तीमध्येबाटै एकले अब प्रहरीको नेतृत्व सम्हाल्ने अवसर पाउने भएका छन् ।
७. उपनिर्वाचन अघि रवि लामिछानेलाई राहत
पासपोर्ट विवादमा पूर्व गृहमन्त्री रवि लामिछानेलाई मुद्दा नचलाउने निर्णय गरिएको छ । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले सोमबार उनलाई मुद्दा नचलाउने निर्णय गरेका हुन् । उपनिर्वाचनकै मुखमा भएको यस्तो निर्णयले रविलाई राहत प्रदान गरेको छ ।
८. कोशी प्रदेशका मुख्यमन्त्री सवार गाडीमा आक्रमण
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि ओखलढुंगामा आक्रमणको प्रयास भएको छ । प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग राख्दै आएको संघर्ष समितिका कार्यकर्ताले मुख्यमन्त्री सवार गाडीमा आक्रमण गरे पनि मुख्यमन्त्री कार्की भने सुरक्षित छन् ।
९. सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम परिमार्जन हुने
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसँगै बदलिएको राजनीतिक समीकरण अनुसार नेपाली कांग्रेससहितको सरकार विस्तार हुने भएको छ । सरकार विस्तारसँगै यसअघिको सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम पनि परिमार्जन हुने भएको छ ।
१०. बाँकी क्याम्पसमा चैत १२ भित्रै स्ववियु निर्वाचन
त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन गराउन बाँकी रहेका कलेजहरूलाई चैत १२ गतेको अन्तिम म्याण्डेट दिएको छ । चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुने भएकाले त्यो अगावै स्ववियु निर्वाचन गराउन त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले निर्देशन दिएका हुन् ।