कैलालीमा नेविसंघ नील, अनेरास्ववियु ५ र क्रान्तिकारी ४ क्याम्पसमा विजयी
धनगढी । कैलाली जिल्लामा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्वावियु) को निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ नील भएको छ ।
त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त ९ क्याम्पसको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार नेपाल विद्यार्थी संघ नील भएको हो ।
सार्वजनिक मतपरिणामअनुसार कैलालीका ५ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु र ४ क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु(क्रान्तिकारी) का उम्मेदवार विजयी भएका छन् ।
अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहका अनुसार धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पस, चौमाला बहुमुखी क्याम्पस, खप्तड बहुमुखी क्याम्पस, लम्की बहुमुखी क्याम्पस, र बुलबुले बहुमुखी क्याम्पसमा विजयी भएको जानकारी दिए ।
ऐश्वर्य बहुमुखी क्याम्पसमा अनेरास्ववियुका कुबेर खड्का दोब्बर मतान्तरले प्यानलसहित विजयी भएका छन् । खड्काले ८१४ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेविसंघका मशेहराज जोशीले ४२९ मत पाएका छन् । सचिवमा अनेरास्ववियुकै दिपेन्द्र भट्ट विजयी भएका छन् ।
मसुरियाको खप्तड बहुमुखी क्याम्पसमा अनेरास्ववियुका पुस्करराज अवस्थी ११७ मतसहित विजयी भएका छन् भने बुलबुले बहुमुखी क्याम्पसमा अनेरास्ववियुकै पुष्पा खाती विजयी भएकी छन् । नेविसंघका कुशल भुललाई पराजित गर्दै खाती विजयी भएकी हुन् । खातीले ५२ मत प्राप्त गर्दै जित हात पार्दा उनका प्रतिद्वन्द्वी नेविसंघका भुलले भने ४९ मत प्राप्त गरेका हुन् ।
चौमाला बहुमुखी क्याम्पसमा हरेन्द्र बुढा १६१ मतसहित विजयी भएका छन् । सत्तारुढ दल निकट संयुक्त प्यानलका नवराज साउदले १२७ मत पाए । लम्की बहुमुखी क्याम्पसमा कल्पना तिमिल्सना विजयी भएकी छन् । तिमिल्सिनाले १६२ मत ल्याएर विजयी हुँदा नेविसंघका भावेस उपाध्यायले १०८ मत पाएका छन् । अनेरास्ववियु क्रान्तिकारीले कैलालीको सुखडमा रहेको राष्ट्रिय कलेज, मोहन्याल बहुमुखी क्याम्पस, जोशीपुरको रघुनाथ बहुमुखी क्याम्पस र घोडाघोडी क्याम्पसमा जितेको प्रदेश कमिटी प्रमुख सचिव डम्बर भट्टराईले जानकारी दिए ।
उनकाअनुसार सुखडको राष्ट्रिय कलेजमा सुन्दर गौतम १५३ मतसहित विजयी भएका छन् । गौतमका प्रतिद्वन्द्वी नेविसंघका कर्णबिर कठायतले १११ मत प्राप्त गरेका छन् । मोहन्याल बहुमुखी क्याम्पसमा २५ मतसहित अर्जुन खत्री विजयी भए । उनका प्रतिद्वन्द्वी नेविसंघका वीरेन्द्र भण्डारीले २४ मत पाएका छन् ।
रघुनाथ बहुमुखी क्याम्पसमा विप्लव निकट क्रान्तिकारी र नाउपाको विद्यार्थी संगठनको संयुक्त प्यानललाई पराजित गर्दै क्रान्तिकारीकी विनीता चौधरी विजयी भएकी छन् ।
घोडाघोडी क्याम्पस सभापतिमा पनि क्रान्तिकारीकै प्रेमबहादुर बोगटी सहकारी विजयी भएका छन् । उनी ४९८ मतसहित विजयी भएका हुन् ।