मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

जब छोराहरूले गराए विधवा आमाको विवाह : भने, ‘उहाँलाई पनि साथी चाहिन्छ’

सोमबार, ०६ चैत २०७९, १३ : १७
सोमबार, ०६ चैत २०७९

‘विवाह योग्य उमेरको छोरोले मलाई फेरि बिहे गर्न आग्रह गर्दा स्तब्ध भएँ ।’

त्यसपछि सेल्भी भन्छिन्, ‘यो समाजमा मेरा छोराहरूको जस्तो मानसिकता अरू कसैको  छैन भन्ने सोच्दा मात्रै पनि मलाई गर्व लाग्थ्यो । यहाँ धेरै महिला छन् जसले श्रीमान् गुमाएका छन् र एक्लै छोराछोरी हुर्काउँदै आएका छन् । ’

सेल्भी तमिलनाडुको कल्लाकुरिचीको प्रांगमपट्टु पञ्चायतका बासिन्दा हुन् ।

उनका दुइ छोरा छन्, भास्कर र विवेक । दुवैले सानैमा आफ्नो बुबा गुमाए । सन् २००९ मा जब उनका बुबाको निधन भयो, भास्कर भेल्लोरमा इन्जिनियरिङको पहिलो वर्षमा थिए भने कान्छो भाइ विवेक ११ कक्षामा पढ्दै थिए ।

भास्करले भने, ‘त्यति बेला हामीले आमाको दोस्रो बिहेको बारेमा सोचेका थिएनौँ । मैले धेरै महिलाले पतिको मृत्युपछि एक्लै सन्तान हुर्काएको देखेको थिएँ । त्यसैले सोचाइ पनि त्यस्तै थियो ।’

‘तर जब म इन्जिनियरिङ कलेजको तेस्रो वर्षमा पढ्दै थिएँ त्यति बेला एक जना शिक्षकलाई भेट्न गएको थिएँ । त्यति बेला उहाँले भन्नुभएको थियो, ‘तिम्री आमा यति लामो समयदेखि  एक्लै बसिरहेकी छिन्, फेरि किन बिहे गर्न सक्नुभएन ? कुरा आयो, गयो । आमासँग कुरा गर्ने त प्रश्न नै उठ्दैनथ्यो ।’

selviकसरी सुरु भयो आमासँग बिहेको चर्चा ?

भास्करले लामो समयसम्म यसबारे सोच्न सकेनन् । कलेजको पढाइ सकियो, काम गर्न थाले । किताब पढ्ने शौकका कारण उनले संसारभरका कुरा पनि थाहा पाउन थाले । उनले पुनर्विवाहबारे पेरियारको लेख पढे । त्यसपछि साथीहरूसँग पनि यही विषयमा कुराकानी हुन थाल्यो ।

त्यसपछि भास्करले सोचे – आमा पनि एक्लै हुनुहुन्छ, उहाँले पुनः विवाह किन गर्न सक्नु हुन्नँ ? यो विचार आएपछि उनले आफ्ना भाइसँग कुरा गरे । भाइलाई यसमा कुनै आपत्ति थिएन ।

त्यसपछि दुई भाइ मिलेर आमालाई मनाउने काम थाले । भास्करले भने, ‘आमाको जीवन हाम्रै वरिपरि घुम्थ्यो, त्यसैले उनले यसबारे बोल्न हिचकिचाइन् ।’

‘त्यसपछि हामीले थप कुरा गर्न थाल्यौँ । एक दिन मेरी आमाले मलाई बिहे गर्ने उमेर पुगिसकेकोले अब मैले विवाह गर्नुपर्ने बताइन् । त्यति बेला मैले ‘तपाईँले विवाह गर्नुहुन्छ भने म पनि गर्नेछु’ भनेँ ।

भास्कर भन्छन्, ‘त्यसपछि मैले आमासँग यसबारे बारम्बार कुरा गर्न थालेँ । तपाईँले लामो समयदेखि एक्लै सङ्घर्ष गरिरहनुभएको छ भन्न थालेँ । तपाईँ विवाह गर्नुहोस् र त्यसपछि म पनि गर्छु भन्न थालेँ ।’

selvi1आफन्तले विरोध गरे

दुवै छोराको निरन्तरको प्रयासले सेल्भी केही वर्षमा फेरि विवाहको लागि तयार भइन् । तर, समाजमा यस्तो चलन सामान्य थिएन । श्रीमानको मृत्यु भएकी महिला जीवनभर विधवा भएर बाँच्न बाध्य छन् । यस्ता महिलाको दोस्रो विवाहका लागि आफन्त तयार हुँदैनन् ।

सेल्भी भन्छिन्, ‘मेरो जेठो छोराले यस्तो कुरा गरेको सुन्दा त म छक्क परेकी थिएँ ।  छोराको बिहे गर्ने उमेरमा मैले विवाह गर्दा मान्छेले के भन्लान् भनेर उसलाई गाली पनि गरेँ ।’ 

सेल्भीले भनिन्, ‘मेरा छोराहरूले कहिलेसम्म एक्लै सङ्घर्ष गर्छौ भने । दुवै दाजुभाइले कामका लागि बाहिर जानुपर्दा म झन् चिन्तित हुन्छु, तिम्रो पनि आफ्नै जीवन छ भने । उनीहरुले यस्तो कुरा गरेपछि मैले पनि यसबारे सोच्न सुरु गरेँ ।’

आफन्त, गाउँलेको चिन्ता पनि छोराहरूले यस्तो भनेपछि हट्यो – जब हामीलाई समस्या पर्दा साथ दिन कोही आएनन् भने यो कुरामा उनीहरूको चिन्ता किन गर्ने ?

धेरै नै सोच विचार गरेपछि सेल्भीले पुनः विवाह गर्ने निर्णय लिइन् किनभने उनलाई लागिरहेको थियो कि उनका दुवै छोरा उनको साथमा छन् ।

selvi3छोराहरूले नै  आमाको लागि दुलहा खोजे 

आमाको स्वीकृति पाएपछि दुवै छोराको अर्को चुनौती उपयुक्त दुलहा खोज्नु थियो ।

भास्करले भने, ‘हामी कोही यस्ता व्यक्तिसँग आमाको विवाह गराउन चाहन्थ्यौं, जसको श्रीमतीको निधन भएको होस् ।’

सेल्भी भन्छिन्, ‘मलाई धेरैले सोधे, छोराछोरीले भने पनि यत्तिका वर्षपछि कसरी यस्तो जीवनमा राजी हुन सक्छौ । सम्बन्ध विच्छेद गरेकाहरूका लागि पुनर्विवाह गर्ने कानुन छ भने म किन डराउने ? ’

उनले भने, ‘आफ्ना सन्तानका लागि बोझ नबनीकन अन्त्य समयमा आफ्ना लागि जीवनसाथी खोज्नुमा कुनै खराबी छैन । विवाह यौन सम्बन्ध बारे मात्रै होइन । साथी र पार्टनर हुँदा तपाईँलाई साहस मिल्छ ।’

selvi4‘आफ्ना भावना नलुकाउनुहोस्’

सेल्भी भन्छिन्, ‘जब मैले आफ्ना बच्चाहरूको बुबा गुमाएँ, धेरै मानिस गलत उद्देश्यले म भए ठाउँ आए किनभने म श्रीमान् बिना एक्लो थिएँ । तर, कोही पनि विवाहको सोच लिएर आएनन् ।

‘मेरो पहिलो श्रीमान्‌को मृत्यु हुँदा हाम्रो घरमा शौचालय थिएन । राती दिसा पिसाब गर्न जाँदा पनि मानिसहरूले सोध्ने गर्थे, ‘यति बेला कहाँ जाँदै छौ ?’ धेरैले मलाई एक्लै देखेर मसँग यौन सम्पर्क गर्ने कुरा गरे, त्यसपछि मैले उनीहरूलाई सोध्थेँ ‘यसबारे आफ्ना श्रीमती र बच्चालाई कुरा गर्नुहुन्छ ?’ त्यसपछि उनीहरू भाग्ने गर्दथे ।’

‘मभन्दा उमेरदार महिलाहरुमा त फेरी बिहे गर्ने हिम्मत नहोला तर म श्रीमान् गुमाएर एक्लै बसिरहेका युवतीहरूलाई नयाँ आशा दिन्छु ।’

श्रीमान् बितिसकेका महिलाहरूलाई अपिल गर्दै सेल्भी भन्छिन्, ‘मजस्ता श्रीमान् गुमाउनेहरूले साहसी निर्णय लिनुपर्छ र पुनः घरबार बसाउनुपर्छ । मजस्ता धेरै महिला आफ्नो साँचो भावना लुकाउँछन् र डरमा बाँच्छन् ।’

‘एक्लै बाँच्न धेरै गाह्रो छ । यसरी जीवन बाँच्नै पर्छ भन्ने छैन । म चाहन्छु कि मानिसहरूले आफ्नो जीवनलाई महत्त्व दिउन् । मानिसहरूले के भन्छन् त्यसको वास्ता नगर्नुहोस् ।’

सेल्भीको दोस्रो विवाहमा उनको परिवारका कोही पनि सहभागी भएनन् । उनको दोस्रो श्रीमानका परिवारका सदस्यहरू मात्र उपस्थित थिए ।

भास्कर भन्छन्, ‘मेरी आमाको परिवारका सदस्यहरूले लामो समयसम्म हामीलाई बहिष्कार गरेका थिए, अब हामीले बुझेका छौँ कि यसमा हाम्रो कुनै हानि छैन ।’

selvi5कति छोराछोरीले आफ्नी आमाको लागि यस्तो सोच्छन् ?

सेल्भीले भनिन्, ‘श्रीमानको मृत्यु हुँदा मैले ससुरा, सासू र आमालाई फोन गरेँ, त्यति बेला दुई सन्तान एक्लै कसरी हुर्काउने भन्ने अन्योलमा थिएँ तर सहयोग गर्न कोही आएनन् । त्यसपछि मैले छोराछोरीलाई एक्लै हुर्काएँ । समयसँगै छोराहरूले धेरै पार्ट टाइम काम गरे र परिस्थिति अनुकूल हुँदै गए ।’

सेल्भी र उनका छोराछोरीहरूले यस समाजको मार्गहरू राम्ररी बुझेका थिए किनभने उनीहरूले थुप्रै कठिनाइहरू सामना गरेका थिए । सेल्भीले अहिले यतुमलाई नामका खेती किसानी गर्ने मजदुरसँग विवाह गरेकी छिन् । सेल्भी मुस्कुराउँदै भन्छिन्, ‘उहाँले सबै काम गर्नुहुन्छ र मेरो हेरचाह पनि गर्नुहुन्छ ।’

सेल्भी खुसी हुँदै भन्छिन्, ‘कति जना छोराछोरीले सोच्छन् कि आमाको पनि जीवन छ र उनलाई पनि एउटा साथीको जरुरत छ ? मलाई मेरो छोराहरूबारे सोच्दा मात्रै पनि गर्व लाग्छ ।’

बीबीसी हिन्दी


 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप