आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

कोशी नामकरण गरेपछि रिसाएका आदिवासी नेताको आक्रोशपूर्ण भाषण

मुख्यमन्त्री कार्यालय तथा प्रदेशसभा एक महिनासम्म घेर्ने चेतावनी
आइतबार, ०५ चैत २०७९, १९ : ५८
आइतबार, ०५ चैत २०७९

विराटनगर । तत्कालीन प्रदेश नम्बर १ को नाम कोशी प्रदेश राखेसँगै असन्तुष्ट बनेका आदिवासी जनजाति संघसंगठनहरुले आज विराटनगरमा विरोध प्रदर्शन गरे । विरोध प्रदर्शनमा २० हजार मानिस सहभागी भएको उनीहरुको दाबी छ ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीले स्थानीय प्रशासनले घोषणा गरेको रोडशेषस्थित मुख्यमन्त्री कार्यालय अगाडिको निषेधित क्षेत्रसमेत तोडेका थिए । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच झडपसमेत भएको छ । झडपमा दुई जना प्रहरी घाइते भए भने प्रहरीले चार जना आन्दोलनकारीलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई प्रहरीले अबेर छोडिदिएको छ ।

प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले चार राउण्ड हवाई फायर तथा दर्जनौं सेल अश्रुग्याँस प्रहार गरेको थियो ।

प्रशासनले जारी गरेको निषेधित क्षेत्र तोडेर आन्दोलनकारी अगाडि बढेपछि भिड नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलले जानकारी दिए । झडपपछि प्रदर्शन विराटनगरस्थित महेन्द्र चोकमा कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्ने पहिचानवादी नेताहरूले कोशी प्रदेश सरकारका विरुद्धमा चर्को आक्रोश व्यक्त गरेका छन् । उनीहरुले कांग्रेस, एमाले र माओवादी नेताहरुको चर्को आलोचना गरे । पहिचानवादी नेता गोपाल किराँतीले ‘श्री ५’ लेखेको बोर्डहरु फालिए जस्तै कोशी लेखिएको बोर्ड फाल्ने चेतावनी दिए ।

‘हामीलाई कुल्चँदै छन् । अब कोशी प्रदेश सरकार लेख्ने तयारी पक्कै पनि होला । हामीलाई के थाहा छ भने हामी त्यो पुस्ताका क्रान्तिकारी कार्यकर्ता हौं । नेपालको हरेक टोलटोलमा श्री ५ को सरकारको साइन बोर्ड हुन्थ्यो । आज खोइ ? सबै उप्काएर मिल्काइयो,’ उनले भने, ‘श्री ५ को सरकारलाई जसरी जनताको बलमा आन्दोलनमार्फत मटियामेट गरियो, त्यसरी नै कोशी प्रदेश सरकारको साइनबोर्ड पनि मिल्काउँछौं ।’ त्यसको सुरुवात भइरहेको उनले बताए ।

किरातीले भने, ‘हामीले दीर्घकालीन तयारी गर्नुपर्छ । सामाजिक आन्दोलनले मात्रै राज्यसत्ता प्राप्त हुँदैन । त्यसकारण नयाँ राजनीतिक आन्दोलनको तयारी गर्नुपर्छ ।’

उनले पहिचानको आन्दोलनलाई दबाउने कोशिस गरिए बन्दुक उठ्ने चेतावनी पनि दिए ।

यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले पहिलो चरणको आन्दोलन ‘कास्टिङ’ मात्रै भएको बताउँदै दोस्रो चरणमा मुख्यमन्त्री कार्यालय र प्रदेशसभालाई एक महिनासम्म घेराउ गर्ने चेतावनी दिए ।

‘कोशी नाम गुण्डागर्दी शैलीमा राखियो । संविधानमा ७२ घण्टा अगाडि सबै राजनीतिक दल र सरोकारवालालाई सार्वजनिक गर्नुपर्ने विषय गोप्य ढंगले किन गरियो ? हामी आपत्ति जनाउँछौं,’ उनले भने, ‘प्रदेश नम्बर २ मा किन गोप्य मतदान गरियो । प्रदेश १ मा हिक्मत कार्कीले खुला मतदान गर्न लगाए । सांसदलाई कारबाहीको धम्की दिइयो । यो गुण्डागर्दीप्रति हाम्री खेद व्यक्त गर्दछौं । यो निर्णय उल्ट्याउनु पर्छ ।’

आजको प्रदर्शनमा २० हजार मानिस आएको दाबी गर्दै उनले दोस्रो चरणको आन्दोलनका लागि गाउँ–गाउँमा कोणसभा गरेर एक महिनासम्म मुख्यमन्त्री कार्यालय र संसद घेर्ने योजना रहेको पनि बताए । ‘हामी खुट्टा कमाउँदैनौं, कमाएका पनि छैनौं, एक हप्तापछि वारपार हुने गरी लड्ने विचार छ,’ उनले भने ।

कोणसभामा विद्रोह गर्ने चेनावनी दिँदै आङ्काजी शेर्पाले पहिचानसहितको प्रदेश माग्दा नदिए देशका लागि विद्रोह गर्ने बताए । ‘हामीले मागेको पहिचान हो । यो दिनलाई गाह्रो पर्नेछ भने प्रदेश होइन, हामी देश माग्छौं । शान्तिपूर्ण आन्दोलन पर्याप्त नभए हामी विद्रोह गर्नेछौं,’ उनले भने ।

प्रदर्शनका क्रममा पहिचान पक्षधरहरू कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेनलगायतले सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप