आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

सशस्त्रमा तीन बर्षदेखि ‘न बुट न बढुवा’, अब बादलले के गर्लान् ?

बिहीबार, १७ फागुन २०७४, १३ : ५७
बिहीबार, १७ फागुन २०७४

काठमाडौं– दश बर्षसम्म चलेको माओवादी जनयुद्धको कमाण्डर मध्येका एक थिए, राम बहादुर थापा ‘बादल’ । माओवादी जनयुद्धको बेग ‘दिन दुगुना रात चौगुना’को दरले बढ्न थालेपछि त्यहि युद्धलाई निस्तेज पार्नका लागि सरकारले २०५८ कार्तिकमा सशस्त्र प्रहरी बल गठन गरेको थियो । समय फेरिएको छ, हिजो झोलाभरी गोली बोकेर आफ्नै बिरुद्ध लड्न निस्केको सशस्त्र प्रहरी समेतलाई कमाण्ड गर्नेगरी माओवादी नेता रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएका छन् । गृहमन्त्री बादलको सामु सशस्त्र प्रहरीलाई फगत कमाण्ड गर्ने जिम्मा मात्रै छैन, तीन बर्षदेखी बुट नपाएका सिपाहीदेखि १४ बर्षदेखि इन्सपेक्टरको फुली काँधमा लगाएर बस्न बाध्य फ्रेश अफिसरको पीडामा मलमपट्टी लगाउने चुनौती छ । 

गृहमन्त्री भएको तेस्रो दिन नेपाल प्रहरीको मुख्यालय पुगेका बादल शुक्रबार (फागुन १८ गते) सशस्त्र प्रहरी बलको मुख्यालय हलचोक जाने कार्यक्रम तय भैसकेको छ । बादलभन्दा पहिले गृहमन्त्री भएका जनार्दन शर्मा ‘प्रभाकर’ हलचोक निरीक्षणमा जाँदा आईजीपी सिंहबहादुर श्रेष्ठले एसपी दुर्गा भट्टराई, अभी खत्री, कमल बस्नेत, गणेश ठाडामगर लगायत पाँचजना एसपीहरु पदावधिका कारण घर जान लागेको भन्दै समस्या सुल्झाउन आग्रह गरेका थिए । सिंहको आग्रह बमोजिम शर्माले पाँच एसपीलाई एसएसपीमा बढुवा गरे । सशस्त्र प्रहरीमा बिगत तीन बर्षदेखि माथिल्लो निकायका अफिसरको बढुवा फटाफट हुने गरेको भएपनि तल्लो तहका अफिसरको बढुवा हुन सकेको छैन् । 

सशस्त्रको बर्दीमा भविष्य खोज्दै १४ बर्षअघि इन्सपेक्टरको तालिम सकेको अफिसरलाई डिएसपीको फुली दिनेमात्र हैन, दुर–दराज बाट आएर सिपाहीको फारम भरेको एउटा युवालाई तीन बर्षपछि सरकारले नयाँ बुट दिने चुनौती बादलको सामु रहेको छ । सिपाहीका लागि बुट किन्न भन्दै यसअघि पटक–पटक भएको टेण्डर तत्कालीन सचिव लोकदर्शन रेग्मी, पूर्व आईजीपी दुर्जकुमार राई र वर्तमान आईजीपी सिंहबहादुर श्रेष्ठको कमिसन स्वार्थका कारण अझै टुंगोमा पुग्न नसकेको सशस्त्र प्रहरीका एक उच्च अधिकारीले बताए ।

माथिकालाई मस्ती, तल्लो तहमा सास्ती 
यसअघिका गृहमन्त्री जनार्दन शर्माले तीन एआईजी, ५ डिआईजी र ५ एसएसपीको प्रमोसन गरेपनि डिएसपीबाट एसपी प्रमोसन निकाल्न सकेनन् । सशस्त्र प्रहरीको  डिएसपीबाट एसपीमा बढुवा नभएको ३ बर्ष पूरा भैसकेको छ । ‘सिसम दुईको टोली अर्थात २०६३ सालमा डिएसपी भएकाहरु अहिलेसम्म बढुवा भएका छैनन्’ सशस्त्रका एक अधिकृतले भने, ‘माथिल्लो निकायमा पद खाली हुँदापनि ११ बर्षदेखि डिएसपीमै बस्नुपर्दा उसले कसरी काम गर्न सक्छ, करिअर प्लान नहुँदा संगठनभित्र चरम निराशा छाउँदै गएको छ ।’ माथिल्लो दर्जामा फटाफट बढुवा हुने गरेको सशस्त्र प्रहरी बलको ब्याच नम्बर चारका फ्रेस इन्सपेक्टर अहिले पनि इन्सपेक्टरनै छन् । सिसम चारका अफिसरले काँधमा इन्सपेक्टरको फुली लगाएको १४ बर्ष बितिसकेको छ ।

 ‘नेपाल प्रहरीबाट आएका प्रहरी नायव निरीक्षक (सई) हरु एसपी–एसएसपी भैसके’ सशस्त्रका एक इन्स्पेक्टर भन्छन्, ‘आर्मीको सिपाहीबाट आएका मानबहादुर कुँवर डिएसपी भएर घर गए, तर यहाँका फ्रेस अफिसर पिडामा पिल्सिएर बसेका छन्, हाम्रो पीडा कसले देख्छ ?’  नेपाल प्रहरीको असईमा भर्ना भएर सशस्त्र प्रहरी बलमा छिरेका धेरै जुनियर अफिसरहरु एसएसपी भएर घर गैसकेका छन् । नेपाल प्रहरीको इन्सपेक्टरमा भर्ना भएर सशस्त्रमा प्रवेश गरेका गणेश ठाडामगर अहिले एसएसपी भएका छन् ।

नेपाल प्रहरीको इन्सपेक्टरमा भर्ना भएको ९ बर्षमा ठाडामगर एक तह प्रमोसनसहित एसपी भएर सशस्त्र प्रहरीमा प्रवेश गरे । सशस्त्रमा जानासाथ गणको प्रमुख भएर काम गरेका ठाडामगर आफ्नो जागिर १९ बर्ष पूरा हुँदा अहिले एसएसपी भएका छन् । ‘यसरी १९ बर्षमा एउटा अफिसर एसएसपी हुन्छ भने १४ बर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएको फ्रेश इन्स्पेक्टर किन डिएसपी बन्न सक्दैन फौजमा ?’ एपिएफका एक इन्सपेक्टर भन्छन्, ‘माथिकाहरु फुली काँधमा हालेर मस्ति गरेका छन्, सिसम चार (०६१) का केही इन्स्पेक्टर २०७० सालमा बढुवा भए, बाँकी ३९ जना इन्सपेक्टरलाई अहिले पनि डिएसपी बढुवा गरिएको छैन् ।’ 
सशस्त्र प्रहरी बल सिसम–३ अन्तर्गत २०६० सालमा सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) भएका आधा मात्रै इन्स्पेक्टर भए आधा सशस्त्र प्रहरी नायब निरीक्षक (सई)को  फुली लगाएर बसेका छन् । ‘हामी ब्याजिलाई सलाम गरेर बसेका छौं’ नाम उल्लेख नगर्ने शर्तमा एक सशस्त्र प्रनानीले भने, ‘अझ हामिभन्दा तल हेर्नुस् न, ०६२ सालमा प्रहरी जवान भएकाहरु आजसम्म सहायक  हवल्दार हुन पाएका छैनन् ।’ 
पछिल्ला दुई आईजिपीहरु दुर्जकुमार राई र सिंहबहादुर श्रेष्ठले करिअर प्लानमा ध्यान नदिँदा राजीनामा दिएर घर जानेको संख्या पनि बढ्दै गएको छ । ३५ हजारको फौज अहिले २९ हजारमा खुम्चिसकेको छ । सशस्त्र प्रहरी मुख्यालय स्रोतका अनुसार यसबर्ष मात्रै १६ बर्ष पुगेका चार हजार सशस्त्र प्रहरी कर्मचारीले राजीनामा दिएर गए । ‘कसैलाई फौजको मतलबै छैन्’ सशस्त्रका एक इन्सपेक्टर भन्छन्, ‘आसपासेको हालिमुहाली, जी हजुर गर्नेहरुले मात्रै मस्ती गरेका छन् ।’ 

दुई एआईजीको डरलाग्दो गुटबन्दी !
सशस्त्र प्रहरीमा करिअर प्लान मात्र चौपट छैन, आगामी चैत २८ गतेबाट परिवर्तन हुन लागेको नेतृत्व होडका कारण पूरै संगठन दुई चिरामा विभाजित भएको छ । हतियारले सु–सज्जित हुने संगठनका एआईजीहरु शैलेन्द्र खनाल र पुष्पराम केसीको आ–आफ्नै गुट मौलाएको छ, जसले गर्दा सगठनभित्र विभेद र मेरो मान्छे भन्ने पद्धति बढ्दै गएको छ । 

गुटको प्रभाव यतिसम्म देखिएको छकि, एउटा गुटको जवानले अर्को गुटको एआईजी सामुन्ने देख्दा नदेखेजस्तो गरेर हिँड्ने संस्कारको विकास भएको छ । ‘गुटबन्दीका कारण सिपाहीले आफ्नो गुटको बाहेक अर्को गुटको एआईजीलाई सलाम समेत गर्दैनन्’ सशस्त्रका एक जुनियर अफिसरले भने, ‘एउटा गुटका मान्छे अर्को समुहसँग हात मिलाउँदैनन्, सँगै बसेर चिया खाँदैनन् ।’ 

गुटबन्दीको प्रभाव कतिसम्म परेको छ भने केन्द्रीय लेखा स्टोरमा आगलागी भएपछि पुष्पराम केसीको कमाण्डमा रहेको कार्य विभागले हेड्क्वाटरको पछिल्तिर रहेको दुई नम्बर गेट बन्द गर्न आदेश दिएको थियो । पुष्परामको आदेश गएको केही दिनमै प्रशासनका एआईजी प्रेम शाहीले उक्त गेट खोल्न लिखित आदेश दिए । 

आगामी चैत २८ गते सेवाअवधिका कारण अवकास पाउन लागेका शाही पुष्परामभन्दा सिनियर समेत रहेका खनालाई समर्थन गर्दै आएको सशस्त्र मुख्यालय स्रोतको दावी छ ।  प्रशासन प्रमुख शाहीले गेट खोल्न दिएको आदेशको मसी सुक्न नपाउँदै अर्का एआईजी पुष्पराम केसीले फेरि उक्त गेट बन्द गर्न आदेश गरेका छन् । अहिले बिहान बेलुका दुुई–दुई घण्टामात्र दुई नम्बर गेट खुल्ला रहन्छ ।

 यसरी अत्याधुनिक हतियार बोक्ने संगठनभित्रको गुटबन्दी अन्त्य गर्नु, करिअर प्लान चुस्त बनाउँदै बर्षौदेखि तल्लो तहमा रोकिएको बढुवाको बाटो खुलाउनु र तीन बर्षदेखि संगठनले दिएको ‘न्यु ब्राण्ड’ बुट लगाउन नपाएका सिपाहीलाई परिवर्तनको आभाष दिलाउनु गृहमन्त्री बादलको लागि चूनौती रहेको छ । रामबहादुर थापा ‘बादल’  सशस्त्र प्रहरीभित्रको यस्ता चूनौतिको सामना गर्न सफल होलान् ? उनको परीक्षा शुरु भैसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप