बजार–व्यवसायको समस्या के हो ?
काठमाडौं । काभ्रेका सुदन गौतमले असनमा फेन्सी व्यवसाय चलाउँदै आएको झण्डै दुई दशक पुग्न लाग्यो । बच्चादेखि युवा, प्रौढसम्मको तयारी पोसाक लत्ता, कपडा, जुत्ताको व्यापार गरिरहेका गौतमको व्यवसाय राम्रै चलिरहेकै थियो । तर, तीन–चार महिना यता उनको व्यवसायमा सुक्खा लागेको छ । पसलमा ग्राहक आउँदैनन्, आए पनि पहिलेजस्तो व्यापार छैन ।
गौतम भन्छन्, ‘मान्छेहरु आजभोलि खर्च गर्नै चाहदैनन् । बजारमा चहलपहल छैन । तीन–चार महिना अघिसम्म दैनिक सरदर ढेड लाख रुपैयाँको व्यापार हुने गरेकोमा अहिले मुस्किलले ३०–४० हजारको व्यापारमा खुम्चिन परेको छ । यही पारा हो भने अब सटर भाडा पनि तिर्न सकिँदैन,’ उनले भने ।
यस्तै पीडा हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका रत्नमान रञ्जितकारको पनि छ । इन्द्रोचोकमा आफ्नै घरमा घरायसी भाँडाकुँडा, धातुका सामान बेच्दै आएका रञ्जितकारलाई सटर भाडाको चिन्ता नभए पनि व्यापार नहुँदा आर्थिक चाप धान्न मुस्किल परेको छ । व्यापार विस्तारकै लागि भनेर उनले गत वर्ष बैंकबाट लिएको कर्जाको साँवा–ब्याज चलाउनै मुस्किल परेको छ ।
उसो त सधैँजसो भिडभाड हुने काठमाडौंको व्यावसायिक केन्द्र यतिखेर प्रायः सुनसानकै स्थितिमा छ । सुनधारा, न्यूरोड, असन, इन्द्रचोकको व्यावसायिक भिडभाड ह्वात्तै घटेको छ ।
‘बैंकको ब्याज बढेको बढ्यै छ, ऋण भुक्तानी गर्न बैंकले बारम्बार ताकेता गरिरहेको छ । यता व्यापार छैन । ऋण तिर्न नसकेर बदनाम हुने हो कि भन्ने डर लाग्न थालेको छ,’ उनले गुनासो गरे । बजारको सुस्तता अझै कति समय चल्ने हो भन्ने ठेगान नरहेको र व्यापार व्यवसाय चौपट हुने स्थितिमा पुगिसकेको उनले गुनासो पोखे ।
उसो त सधैँजसो भिडभाड हुने काठमाडौंको व्यावसायिक केन्द्र यतिखेर प्रायः सुनसानकै स्थितिमा छ । सुनधारा, न्यूरोड, असन, इन्द्रचोकको व्यावसायिक भिडभाड ह्वात्तै घटेको छ । लत्ताकपडा, फेन्सी, भाँडावर्तनको व्यवसाय मात्र होइन, पछिल्लो समय होम अप्लायन्स, ग्याजेट्स् (मोबाइल, ल्यापटप, घडी, टिभी) लगायतका विद्युतीय उपकरणहरुको व्यापार समेत घट्न पुगेको छ ।
‘चार–पाँच महिना यता मोबाइल, ल्यापटपको कारोबार ६० देखि ६५ प्रतिशतले नै घटेको अवस्था छ । मान्छेहरु खर्च गर्नै चाहदैनन् । उपभोग्य बजारको पर्चिङ्ग पावर (क्रय शक्ति) नै घटेको छ । यसले धेरै व्यवसायीलाई पलायनको स्थितिमा पु¥याइसकेको छ,’ ताम्राकार कम्प्लेक्समा मोबाइल, ल्यापटपको व्यवसाय गर्दै आएका अनुप कार्कीले भने, ‘सम्भवतः पहिलो पटक असन, न्यूरोडका घरहरुमा टु लेट झुण्ड्याइएको देख्दै छु ।’
शिथिल बजारको प्रभाव उत्पादन, उद्योग, बैंक हुँदै मुलुकको अर्थतन्त्रमाथि नै परेको छ ।
बजारको उकुसमुकुस बैंकमाथि प्रहार
खासगरी पछिल्लो पटक उद्योग व्यवसायीहरु बैंकहरु विरुद्ध सडक संघर्षमा उत्रिनुको मुख्य कारण उपभोग्य बजारको शिथिलताको उपज हो । बजार खपत स्वाट्टै घटेसँगै व्यापारीहरुले उद्योगबाट सामान उठाउन छाडेका छन् । बजारको माग नै नभएपछि उद्योगहरुले पनि धमाधम आफ्नो उत्पादनमा कटौती गरिरहेका छन् । भौतिक पूर्वाधार, निर्माण सामग्री, रड, सिमेन्ट, जस्तापातादेखि अत्यावश्यक दैनिक उपभोग्य वस्तु, खाद्यहरुको समेत ३० देखि ४० प्रतिशतसम्म उत्पादन घटेको अवस्था छ ।
चालु आर्थिक वर्षको ७ महिनामा उपभोग्य बजारको स्थिति २० देखि ३० प्रतिशतले घटेको केन्द्रीय बैंककै अनुमान छ । यसले प्रत्यक्ष रुपमा आर्थिक बजार प्रताडित हुन पुगेको छ । व्यापार व्यवसाय नै नभएपछि उद्योग व्यवसायीहरुले बैंकको किस्ता, ब्याज चलाउन सकेका छैनन् । तर, यत्तिनै बेला बैंकको ब्याजदर बढेर १६–१७ प्रतिशतसम्म पुगेको छ ।
अर्थविद् डा.अनलराज भट्टराई अहिलेको व्यवसायीहरुको बैंक विरुद्धको आन्दोलन बजारको उकुसमुकुस प्रस्फुटन भएको तर्क गर्छन् । ‘सरदर १३ प्रतिशतको ब्याजदर यसअघि पनि थियो । सन् २०१५ मै कर्जाको ब्याजदर १३–१४ प्रतिशत हारहारी थियो । सरकारी ट्रेजरीकै ब्याजदर १२ प्रतिशतभन्दा माथि थियो,’ उनले भने, ‘अहिले पनि यही स्थितिमा छ । त्यो बेलामा त व्यवसायीहरु बैंकहरु विरुद्ध उत्रिएका थिएनन् । तर, अहिले किन यस्तो स्थिति बन्यो ?’
उनका अनुसार बजारमा उत्पादन छैन, व्यापार छैन । बैंकको साँवा ब्याज, किस्ता चलाउने स्थिति नै नभएपछि व्यवसायीहरु सडकमा उत्रिन बाध्य भएको उनी बताउँछन् ।
खासगरी बैंकको ब्याजदर एकल अंकमा झार्नुपर्ने व्यवसायीहरुको माग छ । त्यसो त व्यवसायी आन्दोलनमा राजनीतिक गन्ध समेत मिसिन पुगेको स्वयम् व्यवसायीहरु नै बताउँछन् ।
भट्टराईले भने, ‘यदि वातावरण सहज हुन्थ्यो भने र बजारको आर्थिक चक्र राम्रै थियो भने ब्याजदरको विषयलाई लिएर व्यवसायीहरु बैंकविरुद्ध सडकमा उत्रिने नै थिएनन् ।’
यता आन्दोलनरत पक्ष मोरङ वाणिज्य संघका अध्यक्ष नवीन रिजाल खराब आर्थिक स्थितिका बाबजुद पनि बैंकहरुले एकलौटी ब्याज वृद्धि गरेको, कर्जाको प्रिमियम चार्ज बढी लिएको र व्यवसायीहरुमाथि धरपकड गरेकाले आन्दोलनमा उत्रिनु परेको बताउँछन् ।
‘समस्या एउटा क्षेत्रमा मात्र छैन, सबैजसो अहिलेको आर्थिक मन्दीको प्रभावमा परेका छन् । उपभोग्य बजार नै शिथिल भएर आर्थिक चक्र बिग्रिएको छ । यस्तो अवस्थामा बैंकहरुले जबरजस्ती कर्जाको ब्याज बढाउने, व्यवसायीहरुमाथि धरपकड गर्ने गर्न मिल्छ ?’ रिजालले भने, ‘यसमा राष्ट्र बैंकसमेत जिम्मेवार छ । त्यसैले बुधबार १२५ व्यावसायिक संघ संगठनहरु मिलेर राष्ट्र बैंकको ध्यानाकर्षण गराउन गयौं ।’
खासगरी बैंकको ब्याजदर एकल अंकमा झार्नुपर्ने व्यवसायीहरुको माग छ । त्यसो त व्यवसायी आन्दोलनमा राजनीतिक गन्ध समेत मिसिन पुगेको स्वयम् व्यवसायीहरु नै बताउँछन् ।
निजी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन नजिकिँदैगर्दा व्यवसायीहरुको सेन्टिमेन्ट क्यास गर्न व्यवसायी नेताहरु बैंकविरुद्धको आन्दोलनलाई थप उचाल्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाञ्चल विश्वविद्यालयले विराटनगरमा बालविकासबारे अन्तर्राष्ट्रिय सम्मेलन गर्दै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति छ ? (सूचीसहित)
-
वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले दियो यस्तो सुझाव
-
राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दरखास्त आह्वान
-
नुन्थर घाटमा १ लाख माछाको भुरा छोडियो
-
‘मिस इन्टरकन्टिनेन्टल’मा भाग लिन इजिप्ट उडिन् आयुष्नोभा