शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
कविता

अन्तरी दिदी

शनिबार, ०४ चैत २०७९, ११ : ५४
शनिबार, ०४ चैत २०७९

म परको परदेशमा झरेको छु ।
आफू खुशीले मात्रै होइन !
अलिकति बाध्यता 
अलिकति लालच
अलिकति महत्त्वाकाङ्क्षा बोकेर आएको
तन मात्रै  बोकेर बाँचेको छु 
सास भएको मेसिन जस्तै बनेर
मन त उतै छ नि... 
अन्तरी दिदी तिमीसँगै 
म उम्रेको, तिमी उम्रेको
मेरो देश भन्न सक्ने हक बोकेको 
ठाउँको प्रिय गाउँमा

अन्तरी दिदी...
प्रारब्धले घिसारेर ल्याइपुर्याएको 
यो  अरूको पराई ठाउँमा  
मुस्कुराउँदै गरेको हिमाल छैन ।
हिमालको काखमा  बाँचिरहेको
भेडी र चौँरी चर्ने फराकिलो हरियाली खर्क छैन ।
हरियाली पहाडहरू 
टेलिभिजनको स्क्रिनमा देखिन्छ ।
आकाश छुने महलहरू टन्नै छन् 
तर चेनको निन्द्र छँदै छैन ।
आधुनिकताको होडबाजीमा 
अनेक–अनेक आश्चर्य छन् 
पानीमुनि सुन्दर बस्ती छन् 
आकाश छुने आँट बोकेको
खलिफाहरू अग्लिँदै छन् ।
तर मनमा शान्ति छैनन ।
हाम्रोतिर जस्तो 
भुइँ छुने थाकलले छाएको भुइँघर
गुन्द्रीमा सुत्दा 
काँचो माटो र गोबरको तिक्खर वास्ना
खोइ कता हो ! कता...
अन्तरी दिदी 
मनमा बिरहको तुवाँलो छाएको छ ।
भावनामा खडेरी परेको छ ।
बीभत्स खण्डहर जस्तो हुँदै गएको
अधबैँसे सपनाहरू 
मरुभूमिको रातो बालुवासँगै उडेर 
टाढा–टाढा पुग्दैछ ।
हाम्रैतिर उदाउने घाम–जून
यता पनि उदाउँछ ।
र पनि हाम्रैतिरको जस्तो खुसी भेट्दिनँ
बिहानको अरुणोदयमा
साँझको सन्ध्यामा ।
अन्तरी दिदी....
तिमी चोयाको डोकोमा
औधी राम्रो घाँसको भारी बोक्दै
उजेली गाईको मन खुसी पार्दै छौँ

गैँत्ती र बेल्चा चलाउँदै
मेरो हो भन्ने हक नभएको बालुवा घारी
सिँगारेर
मनमोहक स्मारक बनाउँदैछु !

काभ्रे, पाँचखाल
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशील लामा
सुशील लामा
लेखकबाट थप