आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

दुई लघुकथा

शनिबार, ०४ चैत २०७९, ११ : ३५
शनिबार, ०४ चैत २०७९

खिल

राता र हरिया झन्डा बोकेर एक हुल मानिस सिस्ने खोल्सा हुँदै डाँडागाउँतर्फ लागे । नीला र सेता झन्डा बोकेका अर्को समूह अर्को भेकतिर लागे । 

गैह्रागाउँको भुवानीप्रसादको चिया पसलमा निलबहादुरले भने, “हेर कान्छा हामी कति बदमास है । कति बाझाबाझ गरियो है तँ र म । नेताहरू कसरी मिलेर हिँड्छन् । कहिले कता मिलेका छन्, कहिले कता । तँ र मजस्तालाई मूर्ख बनाउने मात्र हुन् ।” हरिहरले भने, “हो त पन्ध्र वर्षको परेली नै छुटाएर एक वर्ष बोलेनौँ नि दाइ तिमीले त, आखिर चाहिने तिमीलाई म, मलाई तिमी त होरहेछ ।” 

“सम्झेर के हुन्छ र भो बिर्सिदिनु पहिलाको कुरा । यस्तै रहेछ,” भन्दै भुवानीप्रसाद दुवैलाई चिया ल्याइदिए । अघिदेखि कुरा सुनेर अर्को टेवलतिर बसेका बलारामले भने “के गर्नु भुवानीप्रसाद जति भुल्न खोजे पनि पाँच वर्ष पछि छुट्टीमा घर आएको मेरो छोरो रत्नेलाई आमाले भातमाथि राखेको घिउको डल्लो टिप्न नपाउँदै तिम्रो छोरो र साथीहरूले लगेर मारेर बगरमा फालेको र तिम्रो छोरोलाई तल खोल्सामा सेनाले मारेर मिल्काएको सम्झिँदा मुटुमा खिल पर्छ ।” भुवानीप्रसादको मन भक्कानियो । दुई थोपा आँसु झारेर भित्र पसे ।

लालीगुराँस

“यस पटक पानी पर्न ढिलो गर्यो, त्यसकारण लालीगुराँस फुल्न ढिलो भयो । माथि त फुल्न थालेछ, तल अझै दस पन्ध्र दिन लाग्छ । क्या राम्रो देखिन्छ,” गुरुङ बुवाले हामीलाई भन्नुभयो । कुरा गर्दै हामी माथि थाप्लोमा नै पुगेछौँ । 

“आहा कति रमाइलो !” सरिताको मुहारमा अर्को गुराँस फुल्यो । 

बुवाआमाले रोजेर जनैसुपारी गरिदिएपछि हाम्रो विवाह गर्नुपूर्वको घुमफिर थियो यो । मलाई के भयो थाहा भएन दौडँदै गएर गुराँसको फूल टिपेर सरिताको शिरमा सिउरिदिँए । उनको खुसीको सीमा रहेन । 

“कति राम्रो देखिँदो रहेछ हगि बुवा ?” गुरुङ बुवासँग आफ्नो कामको समर्थन खोजेँ । 

“राम्रो त भयो तर यो राम्रो अब तिमीले मात्र हेर्‍यो । रुखमा फूलेको गुराँसको सुन्दरता सबैले हेर्न पाउँथ्यो,” भन्दै गुरुङ बुवा अगाडि बढ्नुभयो । 

हामी रमाएर फोटो खिच्न थाल्यौँ । फोटोमा त्यहाँ रहेको सूचनाबोर्ड पनि आएछ, “कृपया गुराँसको फूल नटिपौँ ।”

पोखरा–७, मासबार, कास्की

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप