शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
पर्यटन

माझी गाउँको ‘चेहरा’ बदलेको काली गण्डकी जलविद्युत आयोजना

शनिबार, ०४ चैत २०७९, १० : ०२
शनिबार, ०४ चैत २०७९

पोखरा । कुनै समय काली गण्डकीको किनारमा माछाको खोजीमा त कहिले मजदुरीमा भौतारिने कृष्ण क्षेत्रीलाई हिजोआज यात्रु ओसारपसार गर्न भ्याइ नभ्याइ छ । काली गण्डकी ‘ए’ जलविद्युत आयोजना बनेपछि निर्मित जलाशयमा स्टिमर चढ्न आउने यात्रुलाई ओसारपसार गर्दै कृष्णको दैनिकी बित्छ ।

गत बिहीबार गुल्मी, स्याङ्जा र पर्वतको त्रिवेणीमा रहेको सेतीवेणीसम्म यात्रु पुर्याएर पुनः आँधीमुहान ल्याउँदै गरेका कृष्ण उत्साहित र हतार देखिन्थे । आँधीमुहानमा स्टिमर चढ्न अर्को टोली कुरेर बसेकाले उनलाई अर्को खेप पनि ओसार्नु थियो । २५ जनाको टोलीलाई सेतीवेणी पु¥याएपछि कृष्ण भन्दै थिए, ‘ल छिटो गर्नुस् है, छिट्टै फर्कनुपर्छ । पारी अर्को टोली कुरेर बसेको छ ।’ 

जलयात्रापछि सेतीवेणीमा पुगेर सबैभन्दा ठूलो शालिग्राम हेर्न पाइन्छ । स्टिमरमा जाँदा‍-आउँदा करिब एक घण्टाको जलयात्रामा अनौठा अनुभव बटुल्न सकिन्छ । हावाको वेग, घनाजंगल, जंगली जनावर र चराचुरुङ्गी, अझ गिद्धले पानी खाइरहेको दृश्य देख्न सकिन्छ । तीब्र गतिमा स्टिमर चल्दा चिसो स्याँठ त छँदैछ । 

१४ वर्षदेखि स्टिमर हाँकेका कृष्णलाई भने चिसोको अनुभव छैन । टिसर्टमाथि सर्ट प्रायः कृष्णको पहिरन यस्तै हुन्छ । बिहीबार पनि उनी यस्तै पहिरनमा थिए । यहाँ पुग्ने यात्रुले भने न्यानो कपडा लगाउनुपर्ने उनी सुझाउँछन् । ‘बिचमा पुगेपछि चिसो स्याँठ चल्छ । यो पनि एउटा अनौठो अनुभव हो । न्यानो कपडा त लगाउनुपर्छ । नत्र चिसोले हान्छ,’ बिहीबार स्टिमर चढिरहेका जीवन बरालले भने । 

काली गण्डकी जलविद्युत आयोजना बनेपछि कृष्णको दैनिकीमा मात्र हैन, काली गण्डकीबासीहरूको जीवनस्तरमै बदलाव आएको छ । मिर्मी नजिकै रहेको जलविद्युत नेपालकै महत्वपूर्ण ऊर्जा केन्द्र हो । एक सय ४४ मेगावाट क्षमताको राष्ट्रिय गौरवको जलविद्युत आयोजनाले लोडसेडिङ अन्त्य गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । 

आयोजना आएपछि हिजो माछा मारेर गुजारा गरिरहेकाहरू आज पर्यटकको पर्खाइमा बस्छन् । केहीले होटेल व्यवसाय सञ्चालन गरेका छन् भने, केहीले हाइड्रोपावरमा स्थायी जागिर खाएका छन् । ‘विगतमा धेरै दुःख थियो । दाइहरू, बाबासँग माछा मार्ने यसरी नै बित्थ्यो । अहिले धेरैले स्थायी जागिर पाएका छन् । पर्यटक, स्थानीय र सरोकारवाला निकायहरूलाई स्टिमरमा राखेर डुलाउन पाइन्छ । गाउँमा पर्यटक आउँदा रमाइलो लाग्छ,’ कृष्णले भने । 

स्टिमर चलाउन थालेपछि कृष्णले अनेक हन्डरठक्कर पनि भोगेका छन् । भूकम्प र कोरोना महामारीले गर्दा पर्यटक नआउँदा आफू बेरोजगारको अवस्थामा पुगेको कृष्णको अनुभव छ । ‘पर्यटकको त अहिले पनि चाप छैन । तर, पहिलाभन्दा निकै बढेका छन् । फाट्टफुट्ट आइरहनुहुन्छ,’ कृष्णले भने ।  

उनी सबैभन्दा बढी व्यस्त वैशाख संक्रान्ति, माघे संक्रान्तिमा हुन्छन् । यतिबेला सेतीवेणी महोत्सव हुने भएपछि उनलाई भ्याइ नभ्याइ हुन्छ ।  भन्छन्, ‘शुक्रबार–शनिबार त चाप नै हुन्छ । दैनिक ५औ६ सय जना आएको रेकर्ड पनि छ । चाड पर्दा त भिड लाग्छ ।’ 

काली गण्डकी जलविद्युतले बनाएको जलाशयमा स्टिमर चलाउने ३ जना छन् । एउटा स्टिमर थप्न लागिएको कृष्णले सुनाए । ‘अहिले ३ वटामात्र स्टिमर छन् । थप एउटा थप्न प्रक्रिया अगाडि बढेको छ,’ उनले भने । 

जलाशयको यात्रा सुरक्षित पार्न र यात्रुको सेवा सुविधाका लागि शालिग्राम काली गण्डकी जल यातायात प्रालि खोलेर सेवा दिइएको छ । कोषाध्यक्ष प्रेमबहादुर माझीका अनुसार वर्षातको समयमा स्टिमर बन्द हुन्छ । ‘बर्खा लागेपछि स्टिमर चलाउन सकिँदैन । जेठदेखि भदौसम्म बन्द गरेर बस्नुपर्छ,’ उनले भने, ‘अरु समय त धेरै राम्रो हुन्छ ।’

334477824_1407996896612769_4535709010829214632_n

स्टिमरमा आँधीमुहानबाट सेतीवाणी पुगेर फर्केको ४ सय रुपैयाँ भाडा तोकिएको छ । यसका लागि समय र मौसमले साथ दिनुपर्छ । कुनै दिन पानीको सतह बढे स्टिमर बन्द हुन्छ । 

कोषाध्यक्ष प्रेमको पनि पुरानो पेसा माछा मार्ने भएको सुनाउँछन् । ‘दैनिक १०-२० केजी माछा मारिन्थ्यो । त्यसबाटै गुजारा चल्थ्यो । अहिले स्टिमर आएपछि यहाँबाट पनि आम्दानी हुन थालेको छ,’ उनले भने, ‘माछासँगै माछा मार्ने संख्या पनि घट्दै गएको छ । तर, आयोजनाले माछा मार्न ह्याचरी खोलिदिएको छ । अरु पेसा व्यवसायतर्फ आकर्षण बढेको छ ।’  

प्रेम काली गण्डकी गाउँपालिकाको कार्यपालिका सदस्य हुन् । २०५९ मा आयोजना बनेपछि माझी बस्तीको दिनचर्या नै फेरिएको उनी सुनाउँछन् । ३८ घर संख्या रहेको माझी बस्तीमा १२० जना छन् । कुनै बेला पसल, होटेल शून्य रहेको यहाँ अहिले भरिभराउ छन् । यहाँका स्थानीय होटेल, रेष्टुरेन्ट र अन्य व्यवसायतर्फ आकर्षित छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप