शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुने, उपेन्द्रलाई अवसर !

शुक्रबार, ०३ चैत २०७९, २२ : ३५
शुक्रबार, ०३ चैत २०७९

काठमाडौँ । आज मिति २०७९ साल चैत महिनाको ३ गते शुक्रबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ ।

१. उपराष्ट्रपति निर्वाचन सम्पन्न

उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।

२. आयोगले आइतबार प्रतिवेशन बुझाउने

निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरुलाई प्रोत्साहन मिल्ने बताएका छन् ।

शुक्रवार उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादव निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले नवनिर्वाचित उपराष्ट्रपति यादव इमानदारिता र स्वच्छ छविको प्रतीकको रुपमा रहएको बताए । उनले यादवको विजयले स्वच्छ राजनीति र स्वच्छ छवि भएकाहरुका लागि भविष्यमा राजनीति गर्न प्रोत्साहन मिल्ने बताए । 

यसैगरी नवनिर्वाचित उपराष्ट्रपति यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवद्र्धन गर्न आफू लाग्ने बताएका छन् । शुक्रवार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।  

३. तीन क्षेत्रमा उपनिर्वाचन हुने

राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भइसकेपछि उनीहरु निर्वाचित भएको तनहुँ र बाराको १–१ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुने भएको छ । यस्तै रवि लामिछानेले सांसद पद गुमाएको चितवन २ मा पनि उपनिर्वाचन हुँदैछ । चितवन २ मा वैशाख १० मा निर्वाचन गर्ने घोषणा भएपनि बाँकी २ क्षेत्रमा कहिले निर्वाचन हुने भन्नेमा टुंगो लाग्न बाँकी छ ।

यसैबीच बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई संसद् प्रवेशको  बाटो खुलेको छ ।

जसपा अध्यक्ष यादव गत मंसिर ४ मा भएको निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग पराजित भएका थिए ।

राउतले ३५ हजार ४२ मत ल्याएर विजयी हुँदा यादवले १६ हजार ९७९ मतमात्रै पाएका थिए । अब उनी बारा २  सत्ता गठबन्धनको उम्मेदवार बन्ने सम्भावना प्रबल छ ।

४. मन्त्रिपरिषद् विस्तारको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन् । शुक्रवार लगानी बोर्डको बैठकपछि प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन÷चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए ।  प्रधानमन्त्री प्रचण्डले शुक्रबार उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सत्ता बिस्तारको बारेमा पनि छलफल गर्ने बताए ।

५. राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

उपराष्ट्रपति निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएपछि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न पुगेका छन् । प्रचण्ड शुक्रबार साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन् ।

भेटमा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि प्रधानमन्त्री र राष्ट्रपतिबीच यो पहिलो भेटवार्ता हो ।

६. प्रमुख प्रतिपक्षी दलको विवाद

प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल को भन्नेमा नेपाली कांग्रेस र एमालेको दाबी अझै हल भएको छैन । एमालेले आफूलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिन माग गर्दै गत फागुन ३० गते संघीय संसद् सचिवालयमा निवेदन दर्ता गराएको थियो ।

सो निवेदन सम्बन्धमा संघीय संसद् सचिवालयले हालसम्म कुनै निर्णय गरेको छैन । यता कांग्रेसले पनि वर्तमान सरकारलाई समर्थन गरेको सन्दर्भमा अझै आफूलाई प्रमुख प्रतिपक्षी दल बताइरहेको छ ।

७. सहकारीको समस्या

वीरेन्द्रनगरको सिटी बसपार्कको दक्षिणतर्फ रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बुधबार दिउँसो कालिकोट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–८ बस्दै आएका भरत बम भेटिए । चैत १ गतेदेखि सहकारी खुल्ने भन्ने कुरा थाहा पाएपछि उनी त्यहाँ पुगेका रहेछन् । तर सहकारीको गेटमा ताला ठोकिएको थियो ।

आफूले बचत गरेको रकम निकाल्न गएका उनी सहकारी खुल्ने आशमा बसिरहेका थिए । ‘पाँच लाखभन्दा बढी रकम सहकारीमा बचत गरेको थिएँ,’ उनले रातोपाटीसँग भने, ‘मेरो दाइको पनि लाखौँ रकम बचत छ, आज सहकारी खुल्छ कि भनेर आएको, बन्द रहेछ ।’

८. एम्बुलेन्सको दुरुपयोग

बिरामी ओसारपसार गर्न एम्बुलेन्स प्रयोग गरिन्छ । बिरामी बोकेर अस्पतालसम्म लैजाने भएकै कारण एम्बुलेन्सलाई सडक प्रयोगमा प्राथमिकता दिइन्छ भने सुरक्षा चेकजाँचसमेत हुँदैन । तर, यही अवस्थाको फाइदा उठाएर एम्बुलेन्स दुरुपयोग हुन थालेको छ । विगत एक वर्षमा एम्बुलेन्समा गाँजा लगायत लागु पदार्थ ओसारपसारमा संलग्न १० जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं डीआइजी पोषराज पोखरेलले बताए । जसमध्ये चार जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

९. साताको सेयर

सेयर बजारका लागि यो साता निकै सकसपूर्ण बन्यो । सातामा पाँच दिन नै खुलेको बजारमा एक दिन झिनो अंकले नेप्से बढ्दै गर्दा बाँकी चार दिन ऋणात्मक बन्न पुगेको छ ।  फागुन २८ गते आइतबारदेखि चैत २ गतेसम्मको कारोबारमा नेप्से सूचक ६९.३९ अंकले गुम्दै १९ सय ३३.३१ अंकको विन्दुमा झर्न पुगेको छ । यता कारोबार भने ६ अर्ब १८ करोड ८२ लाख ६७ हजार ६५१ रुपैयाँ बराबरको भएको छ ।

१०. यो पनि

आगामी तीन दिनसम्म देशैभर हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुसँगै पश्चिमी वायु मिसिएपछि मौसम सक्रिय भएको हो । आगामी तीन दिनसम्म हल्का वर्षा हुने भएकाले निरन्तर झरी भने नहुने जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान शाखाका मौसमविद् रोजन लामिछानेले बताए ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई अगाडि राखेर स्थानीय जग्गा धनीहरुबीच विवाद भएको छ । शुक्रवार मन्त्री श्रेष्ठ मुलपानी सडक अनुगमनका क्रममा स्थानीय जग्गा धनीहरु बीच सडक मिचेर घर बनाइ सरकारसँग मुआब्जा लिएको भन्दै चर्काचर्की भएको हो ।

 उनीहरुले सडकमा परेको घर मुआब्जा नदिई भत्काउन अदालतले आदेश नदिएकाले आफ्नो सम्पत्ति नछोड्ने भन्दै मन्त्रीलाई गुनासो गरेका थिए । तर अर्का स्थानीयले सडक छेउको जग्गा बाटो छोडेर बेचेको सुनाए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वभौमसत्ता मुलुकविरुद्ध कोही बोल्दै र चम्कँदै हिँड्छ भने जनताले त्यसै नछोड्ने चेतावनी दिएका छन् ।

शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११ औं महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सत्ता गठबन्धनका नेताहरुतर्फ लक्षित गर्दै सार्वभौम सत्ता सम्पन्न राष्ट्रविरुद्ध बोल्ने कसैलाई छुट नभएको बताए । 


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग लगानी बोर्डसँग जोडिएका आयोजना निर्माण,आगामी कार्यदिशा र समस्याको विषयमा छलफल गरेको छन् ।

नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु स्ववियु निर्वाचनको मौन अवधिमा सरकार र प्रतिस्पर्धी विद्यार्थी संगठनमाथि खनिएको छ । अनेरास्ववियुले शुक्रबार विज्ञप्ति जारी गर्दै मौन अवधिमा सरकार र प्रतिस्पर्धी विद्यार्थी संगठनमाथि खनिएको हो ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप