सिंहदरबार घेर्न विद्यार्थीसँग लुगा सापटी लिएर काठमाडौं आएका थिए रामसहाय यादव
जनता समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य एवं संसदीय दलका नेता रामसहायप्रसाद यादव क्रान्तिकारी छविका नेता हुन् । क्रान्तिकै पृष्ठभूमिबाट अघि बढेर उनी उपराष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित भएका छन् । उपराष्ट्रपति बनेसँगै उनको सक्रिय राजनीतिक जीवनमा पूर्णविराम लागेको छ तर आफ्नो क्रान्तकारी सोचमा कमी नआउने उनी बताउँछन् । उनी कुनै महत्त्वपूर्ण पदबिना नै क्रान्तिकारी छवि र कार्यशैलीका कारण यो ठाउँसम्म आइपुगेका हुन् ।
बाराको कलैयामा १४ वर्षसम्म शिक्षण गरेका रामसहाय यादवले उक्त पेसालाई जति इमानदारीपूर्वक अगाडि बढाए, त्यति नै इमानदारिता राजनीतिमा पनि देखाए । त्यही इमानदारिता, लगनशीलताका कारण उनी आज उपराष्ट्रपति बन्न सफल भएको जसपाका नेताहरु बताउँछन् । रामसहाय यादवलाई २०४६ सालको आन्दोलनपछि जिल्लाका कांग्रेसी नेताहरुले आफ्नो पार्टीमा प्रवेश गराउन चाहेका थिए तर नेपाल सद्भावना पार्टीले मधेसको अधिकारका लागि गरेको संघर्षबारे विद्यार्थीकालदेखि नै जानकार रहेका उनले सद्भावना पार्टीलाई रोजे । उनले सो पार्टीको शिक्षक मञ्चमा आवद्ध भएर काम गरे तर पार्टीभित्रको गुटबन्दी र नेताहरुमा आएको विचलनले गर्दा उनी मधेस आन्दोलनअघि तत्कालीन मधेशी जनअधिकार फोरममा आवद्ध भएका थिए ।
मधेश आन्दोलनपछि शिक्षण पेसाबाट राजीनामा दिएर फोरममा सक्रिय भएका उनले रातो पासपोर्ट बेचेको आरोप पनि खेपे । तर आफू निर्दोष रहेको भन्दै त्यसको विरुद्धमा लडाइँ लडेर निर्दोष प्रमाणित पनि गरे ।
बारा जिल्लाको कचोर्वा–८, बसबरियाका ५२ वर्षीय रामसहाय यादवको सादाजीवन देखेर पार्टीका नेताहरु पनि छक्क पर्छन् । कुनै पनि जालझेलमा या गुटबन्दीमा नलाग्ने रामसहायलाई विवादरहित नेता मानिन्छ । बुबा स्व.प्रसादराय यादव र आमा सिहवा अहीरिनका दुई छोरा र तीन छोरीमध्ये रामसहाय यादव कान्छो छोरा हुन् ।
शिक्षा
सन् १९९३ मा भारत, विहारको सीतामढी कलेजबाट बीएससी गरेर वीरगञ्जबाट एकवर्षे बीएड गरेका रामसहाय यादवको प्राथमिक शिक्षा आफ्नै गाउँको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बसुरीयाबाट सुरु भएको थियो । तीन कक्षासम्म त्यो स्कूलमा पढेपछि ४ देखि ७ कक्षासम्म उनी कचोर्वास्थित जनतमा निमाविमा पढे ।
कक्षा ८ देखि सिम्रौनगढस्थित कंकालनी माविमा पढ्न थालेका उनी २०४३ सालमा सोही स्कूलबाट दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरे । भारतको सीतामढी कलजेमा आइएससीमा नाम लेखाएका उनले त्यही कलेजबाट बीएससीसम्म पढे । बीएससीमा अध्ययन गरिरहँदा उनका दाजु रामधारी यादव बिरामी परेका थिए । अल्सरको अप्रेशन गर्नुपरेका कारण घर व्यवहार हेर्न उनी सीतामढी छाडेर घरमै बस्न थाले ।
हुन त उनका दाजु रामधारीले उनलाई पढ्न बारम्बार नभनेको होइन तर दाजु बिरामी भएको अवस्थामा आफूले घर सम्हाल्नुपर्ने दायित्व महसुस गर्दै उनी घरमै बसे । पढाई बिग्रिने डरले उनले वीरगञ्जको ठाकुरराम कलेजमा बीएडमा नाम पनि लेखाए । जब परीक्षाको फर्म खुल्यो, फर्म भर्नका लागि माइग्रेसन सर्टिफिकेट चाहिने भएपछि रामसहाय यादव भारतको सीतामढी पुगेका थिए । तर त्यो कलेजले पूरै पढाई सकेपछि मात्र सर्टिफिकेट पाउन सक्ने जवाफ दिएर फर्काएको थियो । यता न उताको भइयो भनेर उनी पुनः त्यहीँ पढ्न थाले । घरमै बसेर परीक्षाको तयारी गरे ।
जागिर
दाजु रामधारीको हेरचाहका लागि पढाई छाडेर घर बसेका रामसहायलाई उनका गुरु रामेश्वर राय यादवले यसरी घरमा बसिराख्नुभन्दा कुनै स्कूलमा गएर पढाउन सुझाव दिए । घर खर्च पनि निस्किन्छ र समयको सदुपयोग पनि हुने भएकाले उनले २०४८ सालमा कलैयाको पन्नादेवी कन्या माविमा सम्पर्क गरे ।
संयोग, त्यहाँ विज्ञान विषयको एक जना शिक्षक चाहिएको रहेछ । र, त्यहाँका प्रधानाध्यापकले उनलाई एक ‘चान्स’ दिए । एक साताको क्लास टेस्टपछि उनले त्यहाँ अस्थायी नियुक्ति पाएका थिए । त्यो स्कूलमा उनले साइन्स र म्याथ पढाउँथे ।
१२ वर्षसम्म अस्थायी रुपमा काम गरेका उनी २०६० मा स्थायी भएका थिए । स्थायीका लागि पटकपटक परीक्षा दिन्थे । तर लिखितमा पास भए पनि सोर्स नपुगेका कारण मौखिकमा छाटिन्थे । कलैयामा घरभाडा लिएर बसेका उनी बिहानबेलुका ट्यूशन पनि पढाउँथे । घरको बोझ, शिक्षकको पेसामा रहेर पनि उनले सीतामढीबाट बीएससी एकैचोटीमा पास गरेका थिए ।
इमानदार शिक्षकको रुपमा चिनिएका उनलाई एकपटक तत्कालीन जिल्ला शिक्षा अधिकारी हसरत अलीले सरुवा गरेर त्यही जिल्लाको बैलहिया निमाविमा पठाएका थिए । तर उनले काम गर्ने स्कूलले रमाना पत्र नै दिएन । जिल्ला शिक्षा कार्यालयबाट बारम्बार ताकेता आउँदा पनि स्कूलका हेडमास्टरले रमाना दिँदैनथे । कारण थियो– रामसहायको इमानदारिता र विश्वास ।
रामसहाय यादव भन्छन्, ‘तत्कालीन शिक्षा अधिकारीज्यूले स्वयं स्कूलमा गएर रामसहायलाई स्कूलबाट पठाउनु भनेर प्रधानाध्यापकलाई निर्देशन दिनुभएको थियो । त्यहाँ त प्रधानाध्यापकले आजै पठाइदिन्छु भन्नुभएको थियो तर पठाउनुभएन ।’
त्यसपछि तत्कालीन शिक्षा अधिकारीले रामसहाय यादवको तलब नै रोक्का गरेका थिए । त्यसपछि त्यो स्कूलले आफ्नै स्रोतबाट उनलाई तलब खुवाउन थाल्यो । पछि त हेडमास्टर र त्यसपछि पूरै स्कूलकै तलब रोक्का भयो शिक्षा कार्यालयबाट । स्कूल समस्यामा प¥यो । त्यसपछि पनि स्कूलले रामसहाय यादवलाई रमाना दिएन । शिक्षा अधिकारी र स्कूलबीच विवाद नसुल्झिँदै मध्यावधि चुनावको घोषणा भयो । चुनावको आचारसहिंता लागु भएपछि रामसहायको सरुवा रोकियो र समस्या आफै समाधान भयो ।
त्यसपछि २०६४ सालसम्म उनले निरन्तर मास्टरी गरे । फोरम नेपालबाट समानुपातिकमा उम्मेदवार बनेपछि शिक्षक पदबाट उनले राजीनामा दिएका थिए ।
राजनीतिक यात्रा
२०४६ सालको आन्दोलनमा रामसहाय यादव विहारको सीतामढीमा अध्ययनरत थिए । नेपालमा आन्दोलन हुँदैछ भने कुराको जानकारी उनलाई थियो । तर साइन्सको विद्यार्थी भएका हुनाले राजनीतिबाट टाढै बसेका थिए उनी । आन्दोलनपछि उनी घर फर्के । घर फर्केपछि स्थानीय कांग्रेसी नेताहरुले कांग्रेसमा आउन उनलाई आग्रह गरेका थिए । तर, मधेसको मुद्दामा नेपाल सद्भावना पार्टीले काम गरिरहेको महसुस गरेका उनी सोही पार्टीमा प्रवेश गरे ।
उनी जिल्ला शिक्षक मञ्चको जिल्ला सदस्य भएर काम गर्न थाले । दुई वर्षपछि मात्र मञ्चको केन्द्रीय सदस्य भएका उनले पार्टीको सदस्यता लिन नचाहेको होइन तर जिल्लाका नेताहरुले शिक्षक मञ्चमै बस्न सुझाव दिँदै आएका थिए ।
जिल्लाको मञ्चमा रहेर पनि उनले कुनै केन्द्रीय सदस्य तथा पदाधिकारीभन्दा कम काम गरेका थिएनन् । नागरिकतालगायत अन्य मुद्दा उठाएर स्व.गजेन्द्रनरायण सिंह भद्रकालीमा अनसन बसेका थिए । त्यो अनसनमा प्रत्येक जिल्लाबाट प्रतिनिधि सहभागी हुनुपर्ने निर्देशन थियो । तर बारा जिल्लाबाट कोही पनि अनसनमा सहभागी हुन मानेका थिएनन् । रामसहायले जिल्ला समितिमा बारम्बार त्यो कुरा उठाए । सद्भावना पार्टीका तत्कालीन जिल्ला अध्यक्ष विश्वनाथ साहले रामसहाय यादवलाई ‘तपाई जाने हो भने जानुस्, हामी जाँदैनौँ’ भनेका थिए ।
जोसिलो युवा रामसहाय यादवले आफू जाने भन्दै काठमाडौँ जाने तयारी गरे ।
विद्यार्थीको लुगा पैँचो
जोसमा काठमाडौं जान्छु भनेर उनले भने तर उनीसँग बस भाडासमेत थिएन । शिक्षक मञ्चका कोषाध्यक्ष बाबुलाल साहसँग २५० रुपैयाँ सापटी लिए उनले । तर उनीसँग बाक्लो लुगा पनि थिएन । त्यसपछि उनले आफ्नै स्कूलका एकजना विद्यार्थी प्रदीप सिहसँग स्विटर र जुत्ता सापटी लिएर रात्रि बस चढेर काठमाडौं पुगेका थिए ।
दुई बजे संविधान जलाउने कार्यक्रम थियो । सबैजना अनसनस्थल भद्रकालीमा भेला भएका थिए । २ बजे संविधान जलाउँछन् भनेर सुरक्षाकर्मीहरु पनि बिहानैदेखि तैनाथ थिए । संविधान जलाउनेलाई गोली हान्ने आदेश भन्नेखालको समाचार पनि त्यही दिनको पत्रिकामा प्रकाशित भएको थियो ।
त्यो समाचारले आन्दोलनकारीलाई केही हिम्मत नै प्रदान ग¥यो । कमसे कम हाम्रो आन्दोलनप्रति सरकारको ध्यानाकर्षण भएको छ भन्ने महसुस गरे आन्दोलनकारीले । संविधान जलाउनका लागि सबैले जिम्मेवारी बाँडफाँट गरे । रामेश्वर राय यादव, हृदयेश त्रिपाठी, जितेन्द्र सोनललगायतका नेताहरु पनि त्यहाँ थिए । रामसहाय यादव भन्छन्, ‘म र जितेन्द्र सोनल दुई बजेको प्रतिक्षामा भद्रकालीको मन्दिरमा लुकेर बसेका थियौं ।’
गजेन्द्रनारायणसँग पहिलो भेट
ठिक २ बजे गजेन्द्रनारायण सिंह भद्रकालीको अनसन स्थलमा आए । त्यहाँ आउने बित्तिकै उनले नारा लगाएका थिए– ‘इनकलाव जिन्दावाद’ ।
यो नारालाई तीनचार पटक दोहो¥याएका थिए । जो जो नेता जहाँ जहाँ लुकेर बसेका थिए, सबै जना कुदेर आए र संविधानको प्रतिलिपि जलाए । प्रहरीले हस्तक्षेप पनि ग¥यो । लाठी चार्ज पनि भयो । त्यहाँबाट १८ जनालाई समातेर पुलिस क्लवमा राखियो । तर उनीहरुलाई दुई घण्टामै प्रहरीले छाड्यो । त्यो दिन रामसहाय यादवले गजेन्द्रनारायण सिंहसँग पहिलो पटक भेट गरेका थिए ।
रामसहाय यादवमा देखिएको जुझारुपन र क्रान्तिकारिताबाट गजेन्द्रनारायण सिंह तत्कालै प्रभावित भएका थिए । प्रहरीसँग झडप भएपछि रामसहाय यादवले नै गजेन्द्रबाबुलाई सुरक्षा दिएका थिए । त्यसबाट गजेन्द्रनारायण सिंह झन् प्रभावित भएका थिए । गजेन्द्रबाबुले रामसहाय यादवको पिठ्यू थपथपाएर, ‘लडके, तुम कहाँ से आए हो, क्या नाम है तुम्हारा’ भनि सोधेका थिए ।
घर फर्केको भोलिपल्ट नै काठमाडौं केन्द्रीय कार्यालयबाट रामसहाय यादवलाई फोन गयो । र रामसहाय यादवलाई बधाई दिइयो । कारण थियो, प्रहरीसँग झडप भएको बेला गजेन्द्रबाबुलाई घेरा हाल्दै गरेको अवस्थामा उनको फोटो भारतको स्टेटम्यान पत्रिकामा छापिएको थियो । पछि अरु पत्रिकामा पनि फोटो छापियो ।
पार्टीको कुनै उच्च पदमा नभए पनि रामसहाय यादवको चर्चा निकै भयो । त्यो आन्दोलनपछि नेपाल सद्भावना पार्टीले मधेशी एकता रथ यात्रा निकालेको थियो । जसमा रामसहाय यादवको पनि उपस्थिति थियो । उनी गजेन्द्रबाबुको साथमा कञ्चनपुरसम्म गएका थिए । त्यही बेला कञ्चनपुरमा राजेन्द्र महतोसँग भेट हुँदा महतोले रामसहाय यादवलाई भनेका थिए– ‘मास्टर साहब ! आप तो सक्रिय हो गए ।’
उपेन्द्र यादवसँगको पहिलो भेट
२०५९ सालमा राजविराजमा नेपाल सद्भावना पार्टीको महाधिवेशन भयो । त्यसमा बाँकेबाट महाधिवेशन प्रतिनिधि बनेर गएका थिए रामसहाय यादव । उनी भन्छन्, ‘त्यसबेला पनि म शिक्षक मञ्चमै थिएँ, तर मलाई पनि महाधिवेशन प्रतिनिधि बनाइयो । त्यो सही थियो कि गलत, मलाई थाहा थिएन तर पार्टीको काममा जाँदैछु भन्नेमात्र थियो ।’
बद्री मण्डल राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनकालमा मन्त्री थिए । त्यस हिसाबले पार्टी आफ्नो कब्जामा लिने रणनीतिमा थिए मण्डल । त्यही अनुसार तयारी पनि थियो । राजविराजमा बद्री मण्डलको विरोधमा राजेन्द्र महतो, हृदयेश त्रिपाठी, रामेश्वर राय यादव, भरतविमल यादवलगायतका नेता थिए ।
पार्टी फुट्ने अवस्थामा पुगेको थियो । रामसहाय यादव पार्टी नफुटोस् भन्ने पक्षमा थिए । तर, बद्री मण्डलको पक्षमा थिएनन् उनी । पार्टी फुट्नु हुँदैन भनेर रामसहाय यादव एक्लै गजेन्द्रबाबुको आश्रममा अनसन बसे । त्यो देखेर श्यामसुन्दर झा, गजेन्द्र यादवलगायतका युवा नेताहरु पनि रामसहाय यादवलाई साथ दिन पुगेका थिए । पछि रामसहाय यादवलाई १४ जना अनसनकारीले साथ दिने भए । रामसहाय यादवको चाहना थियो कि गजेन्द्रनारायणको निधनपछि आनन्दी देवी यस पार्टीको अध्यक्ष बनुन् । तर, मन्त्री भएको कारण बद्री मण्डलको दबदबा थियो महाधिवेशन स्थलमा ।
अनसनस्थलमा रामसहाय यादवले सुवासचन्द्र बोसको जीवनी पढ्दै थिए । त्यतिकैमा सुरेन्द्र साहले आर.डी आजादलाई लिएर अनसनस्थलमा आएका थिए । आजादले रामसहाय यादवको परिचय मागेका थिए । आजादसँग भेट्न पाएकोमा रामसहाय यादव निकै खुसी थिए ।
‘तराई जल रहा है’ भन्ने किताबको लेखक रहेका आजादको नाम निकै सुनेका थिए उनले । मधेश क्रान्तिमा आजादको भूमिकाको बारेमा पनि सुनेका थिए । तिनैलाई प्रत्यक्ष भेट्न पाएकोमा खुसीको सीमा थिएन उनको । रामसहायको अनसनले महाधिवेशनमा निकै प्रेसर प¥यो तर बद्री मण्डलले आफ्नो हठ त्यागेका थिएनन् । पछि आनन्दी देवी (गजेन्द्रनारायण सिंहका श्रीमती)ले रामसहाय यादवलाई जुस खुवाएर अनसन तोडाएकी थिइन् । र त्यहीँबाट उनको राजनीतिक यात्रा सुरु भएको थियो ।
अनसन तोड्ने बित्तिकै रामसहाय यादव आर.डी. आजादलाई भेट्न गएका थिए । आजादले भनेका थिए, ‘आज तपाईलाई एकजना मान्छेसँग भेट गराउँदैछु । तपाईमा आन्दोलनको जुनुन छ, तपाईले क्रान्ति बुझ्नु भएको छ । तपाईसँग भेटपछि उहाँ धेरै खुसी हुनुहुन्छ ।’
त्यहाँबाट आजादले उनलाई एउटा अपरिचितको घरमा लगेका थिए । सरासर घरमा पसे, जहाँ उपेन्द्र यादव बसेका थिए ।
त्यहाँ रामसहाय यादव र उपेन्द्र यादवबिचमा चिनजान भयो । एकअर्काबाट दुवैजना प्रभावित भए । त्यसबेला उपेन्द्र यादवले भनेका थिए, ‘गजेन्द्रबाबु बितेपछि सद्भावना पार्टी छिन्नभिन्न भयो । यसले मधेशको कल्याण गर्न सक्दैन, मधेशको मुक्ति हुँदैन । यिनीहरुको लडाइँ मधेश मुक्तिका लागि नभएर सत्ता र कुर्सीका लागि भइरहेको छ । तपाईले कोसिस गर्नुभयो, सह्राहनीय कुरा हो तर उनीहरुलाई मधेश मुक्तिसँग मतलब छैन तपाई हामीसँग जुट्नुस् ।’
उपेन्द्रले उनलाई पार्टी छोड्नु पर्दैन, पार्टीमै रहेर पनि मधेसी जनअधिकार फोरममा काम गर्न सकिने प्रस्ताव गरेका थिए ।
रामसहाय यादव पनि उपेन्द्रबाट कन्भिन्स भएका थिए । २०६० असारमा आयोजित महाधिवेशन मै सहभागी हुन उपेन्द्र यादवले उनलाई आग्रह गरेका थिए । महाधिवेशनमा जिल्लाबाट केही युवा लिएर आउन समेत भनेका थिए ।
फोरमको महाधिवेशनको दिनसम्म रामसहायलाई कसैले सोधखोज गरेनन् । कहाँ हो महाधिवेशन, कति जना लिएर कहिले आउनुपर्छ भन्नेबारे उनलाई केही थाहा थिएन । फोरमको त्यो महाधिवेशनमा सहभागी हुन पाएनन् उनी । एक दिन स्कूलमा पढाइराखेको बेला तत्कालीन फोरमका नेता भाग्यनाथ गुप्ता र महानन्द ठाकुरले उनलाई भेट्न कक्षाकोठामै पुगेका थिए । उपेन्द्र यादवले तपाईसँग भेट्न खोज्नु भएको छ, रक्सौल जानुपर्छ भनि उनीहरुले रामसहाय यादवलाई सुनाएका थिए ।
रामबाबु यादव, पप्पु सिंह, सुरेन्द्र रायलगायत केही युवाका साथमा रामसहाय रक्सौल पुगेका थिए । त्यहाँ उपेन्द्र यादवसँग उनको भेट भयो ।
त्यहाँ सदस्यता रसिद र केही पुस्तक, पर्चा, पम्पलेट लिएर उनी बारा फर्केका थिए । सद्भावना पार्टीमा हुँदाहुँदै उनी फोरमको लागि संगठन बनाउन थाले । २०६० फागुन ७ गते रामसहाय यादवको भूमिगत नाम ‘चन्द्रगुप्त’बाट बारामा ९ सदस्यीय जिल्ला समिति गठन भयो । जसमा रामबाबु यादव (क्रान्ति), पप्पु सिंह (भगत सिंह), रामविद्या कुर्मी (साहसिक सिंह) लगायतका युवा थिए । त्यसपछि त्यहाँ चन्द्रगुप्तको नामबाट पर्चा पम्पलेट तथा विज्ञप्तिहरु आउन थाले ।
फार्विसगञ्जको बैठक
तत्कालीन फोरम नेपालको बैठक फार्विसगञ्जमा बस्यो । त्यसमा रामसहाय यादवलाई पनि बोलाइएको थियो । २०६२ असार ११ गते बारा जिल्ला फोरम नेपालको अधिवेशन भयो । उद्घाटन मदरसामा भएको थियो, जसमा उपेन्द्र यादव, अमरेश नारायण सिंह, विजयकान्त कर्णलगायत सहभागी थिए । यसअघि नै रामसहाय यादव फोरमको केन्द्रीय सदस्य बनिसकेका थिए । त्यो अधिवेशनबाट रामबाबु यादवलाई जिल्ला अध्यक्ष बनाइएको थियो । रामसहाय यादव तीन वटा भूमिकामा थिए । एक शिक्षक, दोस्रो सद्भावना पार्टी र तेस्रो फोरम । तीन वटै भूमिकालाई उनले कुशलतापूर्वक निर्वाह गरिरहेका थिए ।
जनआन्दोलन–२
२०६२–०६३ को जनआन्दोलनमा पनि रामसहाय यादवको सक्रिय उपस्थिति थियो । नेपाल सद्भावना पार्टी र फोरम नेपालको ब्यानर एकसाथ लिएर हिँड्थे उनी । फोरम नेपाल स्वतन्त्र संस्था भएकाले त्यसबेला सद्भावना पार्टीमा काम गर्न उनलाई असजिलो थिएन । जनआन्दोलनमा विभिन्न मोर्चामा काम गरे उनले । आन्दोलनमा उनी कहिले सद्भावना पार्टीको तर्फबाट सहभागी हुन्थे भने कहिले फोरम त कहिले शिक्षकको रुपमा । आन्दोलन सफल भएपछि फोरम नेपालले पनि विजय जुलुस निकालेको थियो ।
मधेश आन्दोलन
जनआन्दोलन सकेलगतै तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल मधेश आन्दोलनको तयारीमा लागेको थियो । आन्दोलन तयारीको पहिलो बैठक वीरगञ्जमै बसेको थियो । जसमा रामसहायको पनि उपस्थिति थियो । रासहाय यादव भन्छन्, ‘मधेश आन्दोलन स्वतःस्फूर्त भएको भन्नु गलत कुरा हो, बिनातयारी भएको होइन । अन्तरिम सरकार गठन भए लगत्तै मधेश आन्दोलनको विकल्प छैन भनि फोरमले प्रशिक्षणहरु गर्दै आइरहेको थियो ।’
सरकारले जारी गरेको अन्तरिम संविधानमा संघीयताको कुरा कहीँकतै उल्लेख थिएन र फोरमले भोलिपल्टै संविधान जलाउने घोषणा ग¥यो । अन्तरिम संविधान जलाउने बेला रामसहाय यादव बारामै थिए । उनले बारामै संविधान जलाएका थिए ।
मधेश आन्दोलनले उचाई लिएको बेला रामसहाय यादव आन्दोलनका लागि बारा, पर्सा, रौतहटका इन्चार्ज थिए । गौर घटनापछि फोरमका कोही पनि त्यहाँको इन्चार्ज बन्न तयार थिएनन् तर आँटिला रामसहाय यादवले रौतहटको जिम्मा लिएका थिए । आन्दोलन सफल भयो ।
संविधानसभा
बाँके क्षेत्र नम्बर २ बाट संविधानसभाको चुनावमा लड्ने भनेर २०६४ फागुन १७ गते शिक्षक पदबाट उनले राजीनामा दिए । रामसहाय यादवको नाम समानुपातिकमा राखियो तर उनलाई प्रत्यक्षतर्फ नै चुनाव लड्ने इच्छा थियो । उनी पहिलो संविधान सभामा समानुपातिकतर्फबाट संविधानसभा सदस्य भएका थिए । २०६५ साल जेठ ९ गते पार्टी केन्द्रीय समितिको बैठकले रामसहाय यादवलाई महासचिव बनायो भने २०६५ माघ ४–७ गतेसम्म वीरगंजमा भएको महाधिवेशनबाट पनि महासचिवमै चयन ग¥यो । त्यो बेलादेखि पार्टीमा लगातार महासचिव पदमै उनी रहे ।
तत्कालीन मधेशी जनअधिकार फोरम पटकपटक विभाजन भयो । थुप्रै नेता यताबाट उता भए तर उनी कहिल्यै विचलित भएनन् । उनी सधैँ उपेन्द्र यादवको साथमा रहे । हरेक संकटमा उपेन्द्र यादवको साथमा उभिएका रामसहाय यादव अहिले पनि उपराष्ट्रपतिका लागि तयार हुनु भनेको उपेन्द्र यादवका लागि त्याग नै हो ।
२०७४ मा बारा–२ बाट चुनाव जितेका रामसहाय यादव कांग्रेसका सभापति शेबरहादुर देउवा नेतृत्वको तत्कालीन सरकारमा वन मन्त्री भएका थिए । उनीभन्दा पछि पार्टीमा आएका नेताहरु पटकपटक मन्त्री भएका थिए । तर उनी पछाडि पर्दै थिए, तैपनि उनले पार्टीमा कहिल्यै गुनासो गरेका थिएनन् । उनी वन मन्त्री भएपछि धेरैले पार्टीको निर्णयलाई प्रशंसा गरेका थिए ।
२०७९ मा बारा–२ बाटै चुनाव जितेका उनलाई पार्टीले संसदीय दलको नेता बनाएको छ । उनी मन्त्री बन्ने चर्चा चलिरहेकोे समयमा जसपाको भागमा उपराष्ट्रपति परेपछि उपेन्द्र यादवको प्रस्तावमा रामसहाय यादव सो पदमा जान तयार भए । रामसहाय यादव उपराष्ट्रपति बनेसँगै बारा–२ मा प्रतिनिधिसभा सदस्य पद रिक्त भएको छ । सो पदका लागि हुने उपनिर्वाचनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव नै उम्मेदवार बन्ने चर्चा चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार महिनामा १४२ देशसँग पौने ६ खर्बको व्यापार
-
बीआरआई लक्षित प्रधानमन्त्रीको टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा
-
दुर्गा प्रसाईंको ढाँटवादलाई लोकप्रियतावाद भन्न मिल्दैन : ओली
-
रवि, दुर्गा र कुलमानप्रति ओलीको कटाक्ष : भ्रष्टाचार र ठगी सह्य छैन
-
बीवाईडीको १०० विद्युतीय गाडी डेलिभरी