शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय

गोदावरी राष्ट्रिय वनस्पति उद्यानको आम्दानी बढ्यो

शुक्रबार, ०३ चैत २०७९, १५ : १६
शुक्रबार, ०३ चैत २०७९

ललितपुर । गोदावरी राष्ट्रिय वनस्पति उद्यानको आम्दानी बढेको छ । कोरोना महामारीका कारण लगातार दुई वर्ष आम्दानी घटे पनि यो वर्ष भने आम्दानी बढेको हो । 

उद्यानका सूचना अधिकारी गौरव परमारले यो वर्ष यहाँ घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढेसँगै आम्दानी पनि बढेको बताए । उनका अनुसार यो वर्ष वैशाखदेखि फागुनसम्म टिकट बिक्रीबाट मात्रै रु एक करोड ७९ लाख ९१ हजार पाँच सय ४० आम्दानी भएको छ । 

“कोरोना महामारीको समयमा २०७७ र २०७८ सालमा जम्मा रु ७८ लाख ३६ हजार ७५८ आम्दानी भएको थियो”, उनले भने, “यस वर्षभने राम्रो आम्दानी भएको छ ।”

उद्याम घुम्नका लागि ११ महिनामा तीन लाख २८ हजार नौ सय ६० जना आन्तरिक पर्यटक र एक हजार आठ सय २१ जना विदेशी पर्यटक यहाँ आएको उनले जानकारी दिए । उद्यानमा प्रत्येक वर्ष औसतमा चार लाखभन्दा बढी विद्यार्थी उद्यान भ्रमणका लागि आउने गरेको उनको भनाइ छ । 

विसंं २०१९ कात्तिक १२ मा राजा महेन्द्रले उद्घाटन गरेको शाही वनस्पति उद्यानको नाम परिवर्तन गरी विसं २०६३ असार १९ मा राष्ट्रिय वनस्पति उद्यान बनाइएको थियो ।

उद्यान भ्रमणमा आउनेहरुको सुविधाका लागि खाजा घर, विद्युतीय सवारीबाट अवलोकनको व्यवस्था गरिएको छ । साथै आगन्तुकले यहाँ विभिन्न प्रजातिका बिरुवा खरिद गर्न पनि सक्छन् । उद्यानमा सामान्यतया विद्यार्थीहरु शैक्षिक भ्रमणमा आउने गरेका छन् भने वनस्पति अनुसन्धानकर्ताका लागि पनि यो गन्तव्य बन्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप