सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

बालकथा : बासी खाना

शुक्रबार, ०३ चैत २०७९, ११ : २७
शुक्रबार, ०३ चैत २०७९

कतिपय मानिसमा अरूको कमाइमा फुर्ती लाउने बानी हुन्छ । यसैको आडमा कोही म यस्तो र उस्तो भन्ने गर्छन् । कोही यस्तो गर्न सक्छु, त्यस्तो गर्न सक्छु भन्न पुगिरहेका हुन्छन् तर यस्तो बानी राम्रो भने होइन । पहिलो कुरा त यसले घमन्डी र अहङ्कारी बनाउँछ । दोस्रो कुरा प्रगति र उन्नतिको ढोकामा आग्लो लाग्न पनि बेर लाग्दैन । हुन त जसरी प्राप्त भए पनि आफ्नो धन आफ्नै हो तर जसमा आफ्नो श्रम परेको छैन त्यसले सुखी आनन्दित गराउन सक्दैन ।   

धेरै पहिलेको कुरा हो । एक पटक कुनै सज्जन आफ्ना बाल दोस्तीको घर गएका थिए । यद्यपि त्यतिबेला उनका दोस्ती थिएनन् । तीन चार वर्ष अघि नै बितिसेका थिए । तैपनि उनका छोरा श्यामलाई भेट्न भनेर गएका थिए । बाबुको बालदोस्ती आएको देखेर श्याम निकै खुसी भयो र सक्दो स्वागत सत्कार ग¥यो । स्वागत सत्कारको काम सकिएपछि आगन्तुक सज्जनले भने–

‘बाबु श्याम ! तिम्रा बाबुले चाँडै नै छाडेर गए । दैवको लीला यस्तै हो, कसलाई कतिबेला के पर्छ पत्तै हुँदैन । मन सानो नगराऊ । हामी छौँ । आफू घरमा नभएकाले दुःखको बेला भेटन् आउन सकिन माफ गर । सानै छौ । व्यवहारमा नपरेको मानिस कति बेला के गर्ने थाहा नहुन सक्छ । बाबुको कमाई छ भनेर विना काममा नउडाउनु । परेको बेला हीरा पनि फोर्नु पर्छ ।  अघिपछि नुनको ढिका पनि होस पुर्‍याएर चलाउनुपर्छ भन्ने उखानै छ । आवश्यकता पर्दा सम्झना गर्नु । सकै आउँला नभए पनि सन्देश पाउनेछौ ।’

श्यामको ऐश आराममा सम्पत्ति खर्च गर्ने बानी थियो । यसैका कारण बाबु बितेको छोटो समयमै आधाभन्दा बढी सम्पत्ति उडाइसकेका थिए । त्यसैले उनले यस्तो कुरा गरेका थिए तर श्यामले भने त्यसको आशय बुझ्न सकेन र हाल्कारूपमा लिँदै भन्यो–

‘के गर्ने काका ! दैवको लीला यस्तै रहेछ भन्ने ठानेर चित्त बुझाएको छु । अब मेरा लागि बाबा भने पनि काका भने पनि तपाईं नै हो । अल्लारे छु गल्ती हुन सक्छ । यस्तोमा मार्गदर्शन दिन नभुल्नुहोला ।’

सज्जन एकाध दिन त्यतै बसे । श्यामको व्यवहार उनलाई कत्ति मन परेको थिएन । तैपनि प्रसङ्ग नमिली त्यत्तिकै केही भन्न सकिने अवस्था थिएन । जब उनी केही दिन बसी फर्कने विचार गर्न लागे तब श्यामले आएर भन्यो–

‘काका ! केही दिनमै दीपावली आउँदै छ । घरमा भोजको प्रबन्ध गरेछु । मिल्छ भने त्यति बेलासम्म बसिदिनु भए आभारी हुने थिएँ ।’

आगन्तुक सज्जन यस्तै मौकाको पर्खाइमा थिए । तैपनि केही सम्झाउन सकिन्छ कि भन्ने आशा लिएर भने–

‘त्यसै भन्छौ त्यही सही । दुई चार दिन बस्दैमा तिमी खुसी हुन्छौ भने मेरो भन्नु केही छैन ।’

यति भनेर सज्जन रोकिए । एक दिन, दुई दिन गर्दै दीपावलीको दिन आइपुग्यो । श्यामले भव्य भोजको प्रबन्ध ग¥यो । उसका मित्रमण्डलीका साथीहरू आएर भोजमा सहभागी भए । जब आगन्तुक सज्जनलाई भोजन दिइयो तब उनले एक गाँस खाना हातमा लिँदै भने–

‘बाबु श्याम ! मेरो बानी तिमीलाई थाहा छैन जस्तो लाग्यो । मैले बासी खाना खाने गरेको छैन । भलै भोजन मीठो नहोस् तर ताजा भने हुनैपर्छ । तिमीले बासी खाना दिएर राम्रो गरेनौ । माफ गर यसलाई खान सक्दिन ।’

उनको कुरा सुनेर श्यामको आश्चर्यको सीमा रहेन । भोजन ताजा थियो, भरखरै पकाएको । तैपनि बुढा बासी भनिरहेका छन् । उसले कुरा बुझ्न नसकेको भावमा भन्यो–

‘काका ! के भन्नुभएको यस्तो ? यो भोजन त भरखरै बनाएको हो । ताजा पनि छ शुद्ध पनि छ । तैपनि बासी भन्दै हुनुहुन्छ यसमा पक्कै कुनै रहश्य हुनुपर्छ ।’

त्यसपछि सज्जनले यसै मौकामा सम्झाउन उपयुक्त ठानी मुस्कुराउँदै भने–

‘बत्स ! तिमी भ्रममा छौ । यो भोजन बासी मात्र होइन पच्चीसौँ वर्ष पुरानो गन्ध आइरहेको छ । यस्तो भोजनलाई कसरी ताजा ताजा भनौँ । मेरा मित्र पौरखी थिए । निकै कष्टले सम्पत्ति जोडेका थिए तर तिमीले उनी गएको तीन चार वर्षमै आधाभन्दा बढी खर्च गरिसकेका छौ । यसरी कति दिन चल्छ ? पैसाको महत्व आफैँले नकमाई थाहा हुन्न बुझ्यौ ? 

यदि तिमीले कमाइको भोजन भएको भए तीन दिनको बासी भए पनि ताजा मानेर खाने थिएँ चाहे भुटेको मकै नै किन नहोस् तर यो त तिम्रो कमाइको होइन । जब तिम्रो कमाइकै होइन भने कसरी ताजा भनौँ । लाग्छ त्यस्तो त  मेरो निधारमै लेखेको छैन ।’

उनको कुरा सुनेर श्यामको आँखा खुल्यो । उसले सज्जनको गोडा समाउँदै भन्यो–

‘काका ! तपाईँले मेरो आँखा खोलिदिनुभयो । अब त्यस्तै गर्नेछु । अर्को पटक आउँदा आफ्नै कमाइले भोजन गराउनेछु ।’

उनको कुरा सुनेर सज्जन निकै खुसी भए । सफलताका शुभकामना दिँदै हिँडे । त्यसपछि श्याम कडा मिहिनेत गरी कमाउन लाग्यो । उसलाई देवता, पितृ आदि सबैको यति बढी आशीष प्राप्त भयो कि चाडै नै धनाढ्य बनेर सुखले रहन लाग्यो । 

यस कथामा केकति सत्यता छ त्यो त थाहा छैन तर सही धन त्यही हो, जसमा आफ्नै श्रम परेको हुन्छ । अन्य धन त देख्न र देखाउनमै सीमित हुन्छन् ।  

  

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप