कैदीबन्दीकाे कोचाकोचले सरुवा रोग फैलिने डर

नवलपरासी । नवलपरासी जिल्लास्थित कारागारमा क्षमताभन्दा झन्डै तीन गुना बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कुल एक सय ७७ कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा हाल चार सय ९८ कैदीबन्दी छन् ।
धेरै कैदीबन्दी हुँदा सुत्न, खाना खान र शौचालय प्रयोग गर्न समस्या भएको कारागार प्रशासनले जनाएको छ । पन्ध्र–सोह्र जनाले एउटै बाथरुम प्रयोग गर्नुपर्ने बाध्यता रहेको कैदीबन्दीले गुनासो गरेका उनीहरूका आफन्तजन बताउँछन् । कारागारमा अहिले महिला ७४, चार सय २१ पुरुष र तीन नाबालक छन् । साविकको पश्चिमाञ्चल क्षेत्रमै नमूना करागारका रूपमा रहेको भए पनि अहिले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या बढ्दै गएको जेलर पुनराम पौडेलले बताए ।
“मनोरञ्जनलगायत प्रयोजनका लागि बनाइएका कोठा कैदीबन्दी सुत्नका लागि प्रयोग गरेका छौँ”, उनले भने । सदरमुकाम परासीको मुख्य बजार क्षेत्रमा रहेको कारागार साँघुरो भएपछि केही वर्ष पहिले फराकिलो स्थानमा सारिएको थियो । कैदीबन्दी बढ्दै जाँदा समस्या भएको हो । सेवा–सुविधाका हिसाबले अन्य जिल्लाका कारगारभन्दा राम्रो भए पनि क्षमताभन्दा बढी कैदीबन्दी राख्दा अप्ठ्यारो भएको पौडेल बताउछन् ।
“धेरै जना एकै ठाउँमा राख्दा सरुवा रोगको सङ्क्रमण छिटो फैलिने जोखिम बढेको छ”, उनले भने । बेला–बेलामा देशका कतिपय कारागारमा हैजा, झाडापखलालगायत सरुवा रोगका कारण एकैपटक सबै कैदीबन्दी बिरामी पर्ने समस्या देखिने गरेको छ ।
जिल्ला कारागारमा लागुऔषध कारोबारमा दोषी ठहरिएका कैदीबन्दी बढी छन् । खुला सिमानाका कारण भारतबाट लागुऔषध ओसारपसार गर्नेको सङ्ख्या बढी छ । बन्दी बढ्दै गए थेग्न गाह्रो हुने र अन्यत्र कारागारमा सार्नुपर्ने अवस्था आउन सक्ने कारागारका कर्मचारी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका लागि नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई
-
जिम्मेवारी र माया बिचको सङ्घर्ष झल्काउने ‘परिबन्ध’ गीत
-
राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र निर्माण गर्न सक्षम छु : संयोजक सुवेदी
-
नेसपा (नयाँ शक्ति) ले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
सिमरा सेजमा सञ्चालन भएको उद्योग ३ सातामै बन्द
-
इक्वेडरको तट नजिकै ६.३ म्याग्निच्युडको भूकम्प