आज मिति २०७९ साल चैत महिनाको २ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. नेपाल क्रिकेट विश्वकपको छनोटमा
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईलाई हराएसँगै नेपाल विश्वकप छनोटमा पुगेको छ । डकवर्थ लुइस (डिएलएस) पद्धतिमा नेपालले युएईविरुद्ध ९ रनको जित हात पारेको हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनाएको थियो । नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको स्थितिमा खेल डीएलएसमा पुगेको थियो ।
२. यसरी जित्न सफल भयो नेपाल
त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा २६९ रन बनाउँदा नेपालले ९ रनले जित्न सफल भयो ।
बलिङको क्रममा डीएलएसमा अघि रहेको अवस्थामा यूएईले ४० ओभर पछि बलिङको रफ्तार सुस्त बनायो । उक्त स्लोओभरले गर्दा नेपाललाई जित निकाल्न सहयोगी बन्यो ।
नेपालका लागि यूएईले गरेको स्लोओभरमा नेपालका लागि ४२ औं ओभरमा गुलशन झाले २० रन बनाए । त्यसपछि नेपाल डीएलएस पद्धतिमा अघि रह्यो ।
त्रिवि क्रिकेट मैदानमा उज्यालो कम हुँदा एम्पाएरले खेल रद्द भएको र नेपालले जित निकालेको बताए । यूएईले गरेको स्लोओभरमा नेपालले बनाएका रनहरुमा ४१ औं ओभरमा ६, ४२ औं ओभरमा २०, ४३ औं ओभरमा ६, ४४ औं ओभरमा ८ रन बनायो । समग्रमा नेपालले चार ओभरमा ४० रन बनायो । जीतसँगै टीयू क्रिकेट मैदानमा खेलाडी र समर्थकले खुसियाली मनाएका थिए ।
३. उपनिर्वाचनबारे अन्योल
निर्वाचन आयोगले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर राष्ट्रपति निर्वाचनपछि खाली रहेको तनहुँ क्षेत्र नम्बर २ र उपराष्ट्रपति निर्वाचनबाट खाली हुनसक्ने निर्वाचन क्षेत्रमा वैशाख १० गते नै उपनिर्वाचन गर्न समय अभाव हुने भएको छ ।
यसअघि आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट रिक्त हुने क्षेत्रमा पनि चितवन क्षेत्र नम्बर २ का लागि तोकिएको समयमा निर्वाचन गर्न सकिने बताएको थियो ।
१० दलीय गठबन्धनभित्र उपराष्ट्रपतिको साझा उम्मेदवार खडा गर्न सकस भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको गठबन्धनको बैठकमा उपराष्ट्रपतिको साझा उम्मेदवारबारे सहमति हुन सकेन । जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गराएर जनमत पार्टीकी ममता झाको उम्मेदवारी निष्क्रिय बनाउने गठबन्धनको प्रयास सफल हुन सकेको छैन ।
यादवलाई कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, जनमोर्चा, नेसपा र आजपा गरी ७ दलको समर्थन छ । गठबन्धनभित्रको जनमत, लोसपा र नाउपाको मिनी गठबन्धनले झालाई समर्थन गरेको छ । प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई झाको उम्मेदवारी निष्क्रिय बनाउन आग्रह गरेका थिए ।
४. जसपाको निर्णय
जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्य (सांसद) बनाउने भएको छ । पार्टीले उनलाई सांसद बनाउने निर्णय गर्दै निर्वाचन आयोगमा सिफारिस गर्न लागिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसपाले केन्द्रीय समिति सदस्यको संख्या घटाउने भएको छ । पार्टीले तयार पारेको विधानको संशोधित मस्यौदामा १५१ सदस्यीय कार्य समितिको प्रस्ताव गरिएको छ । जबकि जसपाको हाल विधानमा ७०१ सदस्यीय कार्य समिति रहेको छ । विधान मस्यौदामा सो संख्या घटाएर घटाएर १५१ कायम गर्ने प्रस्ताव गरिएको हो ।
५. उपनिर्वाचनको तयारी पूरा
उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको छ । शुक्रबार नयाँ बानेश्वरको संसद् भवनमा हुने उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयका प्रमुख महेश शर्मा पौड्यालले चुनावका लागि मतदान केन्द्र निर्माण, मतपत्रको तयारी लगायत सम्पूर्ण तयारी पूरा भएको रातोपाटीलाई जानकारी दिए ।
उपराष्ट्रपतिको निर्वाचनपछि हुने मन्त्रिमण्डल पुनर्गठन नेकपा एकीकृत समाजवादीले तीनवटा मन्त्रालय नछोड्ने गरी दाबी गर्ने भएको छ । एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका नेता राजेन्द्र पाण्डेले अब हुने मन्त्रिमण्डल पुनर्गठनमा आफ्नो पार्टीले तीनवटा मन्त्रालय पाउने गरी गठबन्धनको बैठकमा दाबी गर्ने बताए ।
६. ह्याकरबाट खतरा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ट्वीटर अकाउन्ट ह्याकरको पन्जाबाट मुक्त भएको छ । बुधबारदेखि ह्याक भएको प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्यान्डल पीएम नेपाल पुनः सञ्चालनमा आएको हो ।
‘हिजो १५ मार्च बेलुकीदेखि ट्विटर ह्याण्डलमा अनाधिकृतरुपमा प्रवेश गरी असम्बन्धित ट्विटहरु गरिएको घटनाबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं’, प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।
७. वित्तीय समानीकरण अनुदान
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहहरुले पाउने वित्तीय समानीकरण अनुदानको विवरण सिफारिस गरेको छ ।
आयोगले प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको फरकबाट सिर्जना हुने वित्तीय अन्तर घटाई सन्तुलन कायम गर्ने उद्देश्यका साथ वित्तीय समानीकरण सिफारिस गर्ने गरेको हो ।
जसअनुसार यस वर्ष ७५३ स्थानीय तहले कम्तीमा पनि ६ करोड ५० लाख वित्तीय समानीकरण अनुदान पाएका छन् । यो रकम स्थानीय तहले आफूले बजेट बनाएर प्राथमिकताका आधारमा खर्च गर्न सक्ने आयोगको भनाइ छ ।
नेपाल आयल निगमले भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएको जनाएको छ । जसअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटाएर पठाएको छ ।
८. सेयर बजार
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकमा ५ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से सूचक ५.३२ अंकले घट्दै १९ सय ३३.३१ अंकको विन्दुमा अडिएको हो । यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.५१ अंकले घट्दै ३६४.७८ अंकमा झरेको नेप्सेले जनाएको छ ।
थप समाचार
९. मुख्यमन्त्रीले विश्वासको मत लिने
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन् । उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रदेशका थप समाचार
१०. यो पनि....
प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत डिएसपी गणेशबहादुर बमलाई ‘सचेत’ गराउने निर्णय गरिएको छ । बालाजुको माछा पोखरीमा प्रहरी र यातायात मजदुरहरू बीचमा भएको झडपमा डिएसपी बमले कमजोरी गरेको छानबिन समितिको ठहर छ । डिआइजी मसाउद आलम खाँ नेतृत्वको छानबिन समितिको सिफारिस अनुसार उपत्यका प्रहरी कार्यालयले उनलाई कारबाही गरेको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो प्रधानन्यायाधीश जुद्ध शमशेर राणाका माहिला छोरा भएको बताएका छन् । बिहीबार कानुनका विद्यार्थीसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले कतिपयले हरिप्रसाद प्रधान पहिलो प्रधानन्यायाधीश भन्ने गरे पनि त्यो गलत रहेको बताए ।
नेपालमा गाँजा खुला गर्न परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल फार्म व्यवसायी संघको तर्फबाट बिहीबार अधिवक्ता सरोज अधिकारी र ऋगेन्द्र गिरीले सरकारलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले स्ववियु चुनाव लक्षित घोषणापत्र सार्वजनिक गरेको छ । चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले घोषणापत्र सार्वजनिक गरेकी हुन् । यस्तै नेविसंघले पनि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
प्रतिक्रिया