मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
सांसद सिफारिस

चौथो पटकमा अन्सारीले बल्ल पाइन् सांसद हुने अवसर

बिहीबार, ०२ चैत २०७९, १७ : ०७
बिहीबार, ०२ चैत २०७९

काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी नेतृ मञ्जु शर्मा अन्सारी समानुपातिक सूचीमा सामेल भएको चौथो पटकमा बल्ल  सांसद बन्न सफल भएकी छन् । मधेसी जनअधिकार फोरम सामाजिक संस्थाकै रुपमा रहेको बेलादेखि उपेन्द्र यादवको नेतृत्वमा रहेर काम गरेकी अन्सारीको नाम विभिन्न निर्वाचनमा पार्टीको समानुपातिक सूचीमा समावेश हुँदै आएको थियो । पहिलो र दोस्रो संविधानसभा निर्वाचनका साथै २०७४ को निर्वाचनमा पनि उनको नाम समानुपातिक सूचीमा राखियो । तर कहिल्यै उनले सांसद बन्ने मौका पाइनन् ।

२०७९ मा पनि जसपाले उनको नाम समानुपातिक सूचीमा राख्यो तर मुस्लिम क्लस्टरको पहिले नम्बरमा शहनाज रहमानको नाम रहेका कारण अन्सारी चुनिन पाइनन् । हृदयघातका कारण फागुन १३ गते रहमानको निधन भएपछि रिक्त सिटमा अन्सारीलाई राखिएको हो । मञ्जु शर्मा अन्सारी सप्तरीका पुराना नेता अनिस अन्सारीकी श्रीमती हुन् । अनिस अन्सारीसँग तत्कालीन नेपाल सद्भावना पार्टीमा सक्रिय रहेकी मञ्जु शर्मा अन्सारी २०५८ को आम चुनावमा रौतहटबाट उम्मेदवार बनेकी थिइन् । तर उनी एमालेका वंशीधर मिश्रसँग पराजित भएकी थिइन् ।

नेपाल सद्भावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंहको निधन भएपछि पार्टी विभाजन भएको थियो । त्यसपछि उनी त्यो पार्टी छाडेर तत्कालीन अवस्थामा सामाजिक संस्थाको रुपमा रहेको मधेशी जनअधिकार फोरममा आवद्ध भएकी थिइन् ।

पटक पटक त्यो पार्टी विभाजन हुँदा पनि उनले उपेन्द्र यादवको साथ कहिल्यै छाडिनन् । हाल उनी जसपा नेपालको राजनीतिक समितिको सदस्यको साथै महिला विभाग र संगठन विभागको सदस्य पनि छिन् । उनको माइती बर्दिया जिल्ला हो । काठमाडौंमा १२ वर्षसम्म होस्टल चलाएर बसेकी अन्सारी राजनीतिक व्यस्तताकै कारण पाँच वर्षअघि सो व्यवसाय छाडेकी थिइन् । होस्टल छाडेदेखि उनी पूर्ण रुपमा राजनीतिमा सक्रिय छिन् । उनी भन्छिन्, ‘बल्ल पार्टीबाट न्याय पाएँ ।’

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फ एक स्थान रिक्त छ । मञ्जु मुस्लिम क्लस्टरको दोस्रो स्थानमा थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप