शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
यौनशिक्षा

साना केटाकेटीसँग सजिलै सोधिन्छ, तिम्रो गर्लफ्रेन्ड वा ब्वायफ्रेन्ड छैन ?

स्ट्रोजेन हर्मोनको वृद्धिले बढ्न थाल्छ यौन जिज्ञासा
बिहीबार, ०२ चैत २०७९, ११ : १९
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । हामी अधिकांशले साना केटाकेटीसँग सजिलै सोध्छौँ– ‘तिम्रो गर्लफ्रेन्ड वा ब्वायफ्रेन्ड छैन, को हो ?’ यस्ता प्रश्नले उनीहरूलाई कस्तो मानसिक असर गर्छ भन्ने हामीले सोच्दैनौँ । मनोविद् गंगा पाठक भन्छिन्, ‘यस्ता प्रश्न केटाकेटीका लागि अनावश्यक र गलत हुन् । यस्ता प्रश्नले बालबालिकामा गर्लफ्रेन्ड वा ब्वायफ्रेन्ड बनाउनैपर्छ भन्ने मानसिक दबाब पर्न सक्छ ।’

साना केटाकेटीलाई स्कुलमा माया–प्रीतिका गीतमा नचाइन्छ र तिनै केटाकेटी १०–१२ कक्षामा पुगेपछि शिक्षकको गुनासो रहन्छ– माया–प्रेमतिर ध्यान दिएर केटाकेटीले पढ्दै पढेनन् । शिक्षाविद् डा. विद्यानाथ कोइराला भन्छन्, ‘यहीँनेर गल्ती भएको छ ।’ 

शिक्षाविद् कोइरालाका अनुसार, समाज, संस्कृति, बाहिरी वातावरण र शारीरिक विकाससँग जोडेर हामीले बालबालिकालाई यौनशिक्षा दिन सकेका छैनौँ । ‘मन्दिरका टुँडालका चित्र, समाजका बालविवाह, जनावरका यौनजन्य गतिविधि आदिप्रति बालबालिकाका जिज्ञासा हुन सक्छन् । यी विषयमा हाम्रो पाठ्यक्रम जोडिएको म पाउँदिनँ,’ बुधबार उनले मोबाइल फोनमार्फत भने, ‘परिवार र समाजसँग स्कुलको शिक्षा मिल्दैन । हामी त साना कक्षामै माया–प्रीतिको गीतमा नचाउँछौँ र ९–१० कक्षाका विद्यार्थीले पढेनन्, माया–प्रीतिमा ध्यान दिए भनेर अपजस लगाउँछौँ ।

गाउँसमाजमा अधिकांश किशोरीले आमाहरू वा अन्य आमा उमेरका महिलाबाट सुन्नुपर्छ– तेरो उमेरमा हामीले दुईवटा छोराछोरी जन्माएर हुर्काएका थियौँ, पोइको घर खाने उमेरमा कुनै ढंग छैन । यस्ता कुराले छोरीलाई मानसिक दबाब पर्छ– मैले त कसैको घर गरेर खानुपर्छ । आफ्नो घर, करिअरतिरको उसको ध्यानै ‘ब्लक’ हुन सक्छ ।   

अधिकांश छोराले बा–काकाहरूबाट सुन्नुपर्छ– तेरो उमेरमा हामीले यो वा त्यो (बहादुरीका काम) गरेका थियौँ । यस्तै, समाजका कतिपय पुरुषबाट साना केटाहरूले सुन्नुपर्छ– मैले अहिलेसम्म यति महिलासँग शारीरिक सम्बन्ध राखेँ । 

यस्ता कुरा सुन्दासुन्दा छोराहरूमा नकारात्मक दबाब पर्न सक्छ । विषाक्त पुरुषत्व (टक्सिक मस्कुलिनिटी) अर्थात् जसरी पनि जित्ने, पाउने, पुरुषत्व प्रदर्शन गर्नेतिर ऊ अग्रसर हुन सक्छ । आज यहाँ हामी किशोरी यौनशिक्षाका बारेमा चर्चा गर्दै छौँ । 

‘१० लाख तिर्नुपर्छ’

अचेल हामीकहाँ सामाजिक सञ्जाल (फेसबुक टिकटक)मा एउटा झुन्ड उद्वेलित छ, किशोरीको उमेरलाई लिएर । खासगरी कलाकार पल शाह र खेलाडी सञ्जीव लामिछाने प्रकरणपछि किशोरीले पुरुषलाई फसाउँछन् भन्ने खालको त्रास त्यस झुन्डमा परेको देखिन्छ । त्यसैले उनीहरू यस सम्बन्धमा सामाजिक सञ्जालमार्फत नकारात्मक भावना प्रेषण गरिरहेका पनि छन् । 

गाउँसमाजमा अधिकांश किशोरीले आमाहरू वा अन्य आमा उमेरका महिलाबाट सुन्नुपर्छ– तेरो उमेरमा हामीले दुईवटा छोराछोरी जन्माएर हुर्काएका थियौँ, पोइको घर खाने उमेरमा कुनै ढंग छैन । यस्ता कुराले छोरीलाई मानसिक दबाब पर्छ– मैले त कसैको घर गरेर खानुपर्छ । आफ्नो घर, करिअरतिरको उसको ध्यानै ‘ब्लक’ हुन सक्छ ।   

केही दिनअघि फेसबुकमा मैले एउटा भिडियो क्लिप देखेको थिएँ– युवतीहरूले बोलाउँदा एक युवा भाग्छ र पर गएर अन्य युवालाई भन्छ– १८ वर्ष नपुगेकाले बोलाउँछन् यार । फसाउँछन्, १० लाख तिर्नुपर्छ । 

यस्तै, अर्को भिडियो थियो– एउटी युवतीले पुरुषसँग मोटरसाइकलमा लिफ्ट माग्छिन् । पुरुषले उमेर सोध्छ, कम उमेर भनेपछि उसले लिफ्ट दिँदैन । यौनजन्यबाहेक अन्य मानवीय साथ र सहयोगमा उमेरको कुरा आउनुहुँदैन । यौनजन्य कुरामा हामी सबै उमेरप्रति सजग हुनैपर्छ । 

गलत वा नकारात्मक रूपमै होस्, एकातिर यतिखेर समाज युवतीको उमेरलाई लिएर तरंगित छ । अर्कोतिर, हामी अधिकांशले किशोरावस्थामा देखिने शारीरिक र मानसिक परिवर्तनलाई दुत्कारिरहेका छौँ । यस्तो किन भइरहेको छ ? यसको जवाफमा तीनवटा विषय आउँछन्– यौनशिक्षा, समाज र कानुन ।

कानुनमा विवाह र सहमतिको यौन–सम्बन्धमा उमेर यत्तिकै तोकिएको छैन, त्यसका खास कारण छन्, त्यसमा विज्ञान, सिद्धान्त र समाज जोडिएर आएका छन् । गायिका समीक्षा अधिकारीको प्रायः फेसबुक पोस्टमा कमेन्ट आउँछन्– १० लाख... । मानिसले जति सोच्न सक्छ, त्यति नै प्रतिक्रिया जनाउने हुन् । त्यसैले यस्ता कमेन्ट गर्नेहरूलाई पक्रेर दुई–चार दिन यौनशिक्षा, विभेद, हिंसा र कानुनहरूको कक्षा दिन जरुरी देखिन्छ ।  

सही यौनशिक्षा नहुँदा समाजमा बालविवाह, हिंसा, अनेक दुर्घटना हुन सक्नेतिर हामी त्यति सजग छैनौँ । विद्यार्थीलाई मात्रै होइन, घर–घरमै तालिमप्राप्त प्रशिक्षक पुगेर अभिभावकलाई नै यौनशिक्षा, विभेद वा हिंसा र कानुनका सम्बन्धमा बुझाउन आवश्यक देखिन्छ ।  

उमेरको विज्ञान  

स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीका अनुसार, किशोरीमा चार प्रकारको विकासक्रम सँगसँगै हुन्छन्– उचाइ बढ्ने, गुप्ताङ्गको विकासक्रम, स्तनको विकासक्रम, गुप्ताङ्ग र काखीमा रौँ आउनू । यसपछि महिनावारी चक्र सुरु हुन्छ । महिनावारी कुन उमेरमा हुन्छ भन्ने यकिनका साथ भन्न सकिँँदैन, यसमा फेरबदल हुँदै आएका छन् । ‘पहिले १६ वर्षको उमेरमा महिनावारी हुन्थ्यो, अचेल १०–११ वर्षको उमेरमा पनि महिनावारी भइरहेका छन्,’ डा. सुवेदी भन्छन्, ‘अचेल छिटो हुनुको कारण पनि खोजको विषय छ, यसमा खासगरी जंकफुडजस्ता खानपानको असर हुन सक्छ । तर, यही कारण भएको भन्ने देखिएको छैन ।’  

उनका अनुसार, महिनावारी हुनु भनेको पूर्णतः हर्मोनको प्रभाव हो । किशोरीमा महिनावारी हुन थाल्ने बेलादेखि स्ट्रोजेन, प्रोजेस्टेरोन, फलिकल–स्टिमुलेटिङ हर्मोन (एफएसएच), ल्युटेनाइजिङ हर्मोन (एलएच) आदि हर्मोनमा वृद्धि हुन थाल्छ । यी हर्मोनका कारण प्राकृतिक रुपमै किशोरीमा विपरीत लिंगप्रति जिज्ञासा बढ्दै जाने उनी बताउँछन् ।

मनोविद् गंगा पाठकका अनुसार, किशोरीमा खासगरी स्ट्रोजेन हर्मोनको वृद्धिले यौन जिज्ञासा बढ्न थाल्छ । ‘जस कारण उनीहरुलाई पुरुषसँग जिस्कन र समय बिताउन मन हुन्छ । तर, यौनको अभ्यास गरिहाल्ने चाहना उनीहरूमा हुँदैन,’ मनोविद् पाठक भन्छिन्, ‘कसैले साथ दियो, माया देखायो, केही कुरा सिकायो र सकारात्मक भावना देखायो भने त्यस्तो पुरुष किशोरीहरूलाई मन पर्न थाल्छ । किशोरावस्थामा यौनजन्य क्रियाकलापतिर उत्सुकता जाग्नु बायोलजिकल इन्स्टिङ्क्ट (जैविक प्रवृत्ति) नै हो । तर, किशोरावस्थामा यौनजन्य दुव्यर्वहारका घटना भोगेका किशोरीमा पछिसम्म मानसिक भय वा समस्या देखिन सक्छन् ।’ 

उनका अनुसार, हर्मोनको प्रभावसँगै साइकोसोसल (मनोसामाजिक) विषयले पनि किशोरीको मानसिकतालाई असर गर्छ । ‘किशोरीलाई के–कस्ता सोच र संस्कार सिकाइएको छ, कस्तो किसिमले उनीहरूले यौनशिक्षा पाएका छन्, त्यसले पनि उनीहरूको यौनजन्य जिज्ञासा र जीवनमा प्रभाव पार्छ,’ मनोविद् पाठक भन्छिन्, ‘सही ढंगले यौनशिक्षा दिइयो भने उनीहरूलाई बहकिनदेखि रोक्न सकिन्छ ।’ 

किशोरीमा खासगरी स्ट्रोजेन हर्मोनको वृद्धिले यौन जिज्ञासा बढ्न थाल्छ । ‘जस कारण उनीहरुलाई पुरुषसँग जिस्कन र समय बिताउन मन हुन्छ । तर, यौनको अभ्यास गरिहाल्ने चाहना उनीहरूमा हुँदैन,’ मनोविद् पाठक भन्छिन्, ‘कसैले साथ दियो, माया देखायो, केही कुरा सिकायो र सकारात्मक भावना देखायो भने त्यस्तो पुरुष किशोरीहरूलाई मन पर्न थाल्छ । किशोरावस्थामा यौनजन्य क्रियाकलापतिर उत्सुकता जाग्नु बायोलजिकल इन्स्टिङ्क्ट (जैविक प्रवृत्ति) नै हो । तर, किशोरावस्थामा यौनजन्य दुव्यर्वहारका घटना भोगेका किशोरीमा पछिसम्म मानसिक भय वा समस्या देखिन सक्छन् ।’ 

मनोविद् पाठकका अनुसार, यौनशिक्षाभित्र शारीरिक अवयवको विकास, महिनावारी प्रक्रिया, ब्याड टच (खराब छुवाइ) र गुड टच (असल छुवाइ), हर्मोनको वृद्धि र यसको मानसिक प्रभाव वा कार्यप्रणाली आदि पर्छन् । यसबारे राम्रोसँग बुझाइएको छ भने किशोरीको यौनप्रतिको उत्सुकता र उत्कण्ठा मेटिएर जान्छन् । अर्थात् उनीहरूको पुरुषप्रति स्वाभाविक आकर्षण कम भएर जान्छ । 

‘किशोरकिशोरीलाई आठ–नौ वर्षको उमेरदेखि नै यौनशिक्षा दिइनुपर्छ । तर, सबै कुरा एकैचोटि बताउनु वा सिकाउनु हुँदैन । उमेर र शारीरिक विकाससँगै सिकाउँदै जानुपर्छ,’ मनोविद् पाठक भन्छिन्, ‘शारीरिक विकास र मानसिक प्रभाव साधारण र स्वाभाविक प्रक्रिया वा अवस्था हो भन्ने ढंगले बुझाइनुपर्छ ।’

उनका अनुसार, शरीरका सबै अंगहरूको अवस्था, वृद्धिको प्रक्रिया, तिनीहरूको काम र महत्त्वका बारेमा साधारण रूपमा किशोरकिशोरीलाई बुझाइनुपर्छ । अन्य अंगसँगै यौनांगको बारेमा बुझाइँदा उनीहरूलाई बुझ्न सहज हुन्छ, यसलाई उनीहरूले स्वाभाविक रूपमा लिन्छन् । हर्मोनका कारण हुने मानसिक अवस्थाको बारेमा पनि साधारण किसिमले उनीहरूलाई बुझाइनुपर्छ । यस प्रकारले यौनशिक्षा नपाउँदा किशोरीमा यौनका बारेमा अधिकतम उत्सुकता रहने उनी बताउँछिन् । जसकारण उनीहरू केटाहरूसँग एक्लै हिँड्न, बोल्न उत्प्रेरित हुन सक्छन् । 

‘आजको प्रमुख समस्या भनेकै साइकोसोसल पार्ट हो,’ मनोविद् पाठक भन्छिन्, ‘हामीकहाँ यौनशिक्षा कमजोर छ । हामीले उमेर समूह अनुसार किशोर–किशोरी दुवैलाई यौनशिक्षा दिनै सकेका छैनौँ, जो अत्यन्तै आवश्यक छ । यसो नहुँदा समाजमा हिंसाका घटना बढ्ने गर्छन् । गुड टच र ब्याड टचको बारेमा राम्रोसँग बुझाइयो भने हिंसा धेरै हदसम्म कम हुन सक्छ । किनभने बालिका वा किशोरीले प्रस्ट रूपमा असहमति जनाउन सुरु गर्छन् ।’ 

किशोरावस्थामा उनीहरूले विभिन्न यौनजन्य भिडियो सामग्री हेरेर हस्तमैथुन जस्ता कुलतमा पनि पर्न सक्छन् । मनोविद् पाठक यौनशिक्षाका माध्यमबाट किशोरकिशोरीलाई यस्ता यौनजन्य कुलतबाट रोक्न सकिने बताउँछिन् ।

हाम्रो पाठ्यक्रम कस्तो छ ?

पाठ्यक्रम विकास केन्द्रका सूचनाअधिकृत डा. बाबुराम ढुंगानाका अनुसार, सुरुवाती कक्षादेखि नै क्रमिक रूपले यौनशिक्षालाई पाठ्यक्रम समेटिएको छ । यौनशिक्षा पाठ्यक्रमको एउटा अंगकै रूपमा आइसकेको उनी बताउँछन् । यद्यपि, यौनशिक्षाको बारेमा छुट्टै शीर्षक दिएर अलग्गै पाठ माथिल्ला कक्षाका स्वास्थ्य विषयमा समेटिएको छ । 

‘तर अप्रत्यक्ष रूपमा यौनशिक्षासम्बन्धी जानकारी सुरुवाती कक्षादेखि नै राखेका छौँ । कक्षा ३ सम्मको पाठ्यक्रम एकीकृत किसिमको छ,’ उनी भन्छन्, ‘जस्तो ः एउटा पाठमा घर, परिवार,  नाता, संस्कार, संस्कृतिलाई अप्रत्यक्ष रूपमा समेटिन्छ ।’ उनका अनुसार, पाठ्यक्रम बनाउनका लागि विशेषज्ञसहितका २५ वटा विशेष समिति छन् । ‘विज्ञले यौनशिक्षालाई समेटेर पाठ्यक्रम बनाउँदै आएका छन्,’ उनी भन्छन्, ‘बाहिर अन्य मानिसले हाम्रो पाठ्यक्रम नहेरी विश्लेषण गरेका छन् र यौनशिक्षा उपयुक्त भएन भन्छन् । हाम्रा पुस्तक हेरेकाले यसको खण्डन गर्दैनन्, किनभने हामीसँग विज्ञले बनाएको पाठ्यक्रम छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप