सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

जनताले कस्तो चाहन्छन् राष्ट्रपति पौडेलको ५ वर्षे कार्यकाल ?

बिहीबार, ०२ चैत २०७९, ११ : ११
बिहीबार, ०२ चैत २०७९

नेपाली राजनीतिमा खारिएका र शालीन व्यक्तित्वको पहिचान बनाएका रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदको पदभार ग्रहण गरिसक्नु भएको छ । नेपालको गणतान्त्रिक इतिहासमा कार्यकालका हिसाबले उहाँ चौथो राष्ट्रपति हुनुहुन्छ भने व्यक्तिका रूपमा तेस्रो । 
करिब ६२ वर्षको अनवरत राजनीतिक यात्रामा विभिन्न उतार चढाव बेहोरेका पौडेल नेपालका शीर्ष २, ४ जना नेताहरूमा पर्नुहुन्छ । सभामुख, उपप्रधानमन्त्री, मन्त्री, पार्टीका कार्यवाहक सभापतिसम्मका विभिन्न उच्च पदहरू सफलतापूर्वक सम्हालेका र ती पदहरूमा रहँदा खासै विवादमा नपरेका नेता हुनुहुन्छ । 
त्यसैले राष्ट्रपतिका रूपमा उहाँ पनि कुनै विवादमा नपरी ५ वर्षे कार्यकाल सुखद् रूपमा सम्पन्न गरी बिदा हुनुहुनेछ भन्ने विश्वास सर्वसाधारण जनताको रहेको छ । नेपालको संविधानको मर्मअनुसार एक आलङ्कारिक राष्ट्रपतिले अवलम्बन गर्नुपर्नेे मूल्य, मान्यता र अनुशासन उहाँको कार्यकालमा कसैले औँला ठड्याउन नपाउने गरी पालना हुनेछन् भन्नेमा नेपाली नागरिकको अपेक्षा छ । 

ती अपेक्षाहरूलाई बुँदागत रूपमा तल उल्लेख गर्ने प्रयास गरेको छु । यी बुँदाहरू निर्देशनात्मक नभएर एक नेपाली नागरिकको सविनय अनुरोध मात्र हो । 

फागुन २५ लाई तपाईंको दलीय राजनीतिको अन्तिम दिन मान्नुहोस्– 
नेपाली जनताले महामहिम राष्ट्रपतिलाई समग्र जनताको अभिभावकको रूपमा देख्न चाहेको छ । तपाईंलगायत हालसम्म निर्वाचित राष्ट्रपति कुनै न कुनै दलको नेता भइसकेका व्यक्ति नै हुनुहुन्छ । अझ रामचन्द्र पौडेल त नेपाली काँग्रेसको शीर्ष नेतामा नै पर्नुहुन्छ । 
तर राष्ट्रपति निर्वाचित भइसकेपछि अब सदाका लागि दलिय राजनीति गर्दिनँ र म नेपाली जनता र देशकोे अभिभावकका रूपमा काम गर्छु भन्ने सङ्कल्प राष्ट्रपति हुने व्यक्तिले गर्नुपर्दछ ।

तपाईंबाट हामीले के अपेक्षा गरेका छौँ भने तपाईंको कुनै दल छैन, तपाईंका कुनै कार्यकर्ता छैनन् र तपार्इंले अब कहिल्यै निर्वाचन लड्नु पनि छैन । छ त तपाईंको नेपाल राष्ट्र छ, संविधान छ र समग्र नेपाली जनता तपार्इंका कार्यकर्ता छन् । यसैलाई मूल मन्त्र मानेर तपाईंको ५ वर्षे कार्यकाल बितेको हेर्न चाहान्छौँ हामी जनता । 

संविधानको पालक र रक्षक बन्नुहोस्– 
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान तपाईंलगायत राजनीतिक नेताहरूको अथक प्रयासबाट घोषणा भई लागू भएको संविधान हो । संविधानका हरेक प्रावधानहरूको अर्थ र त्यसमा अन्तरनिहित मर्म तपाईं भलीभाँती जान्नुहुन्छ । 
राजनीतिक दल र दलका नेताहरूको निहित स्वार्थमा ती प्रावधानहरूको गलत व्याख्या गरिने परम्परा नेपालमा बसिसकेको छ । संविधानका धाराहरूलाई आफू अनुकूल व्याख्या गर्ने र लागू गर्न गराउन चाहने राजनीतिक दल र नेताहरू तपाईंले प्रस्ट रूपमा चिन्नुभएको छ । त्यसैले राष्ट्रपतिको रूपमा तपाईंको प्रमुख कर्तव्य संविधानको पालना गर्नु र गराउनु हो । 

तर संविधानको अक्षरस पालना सरकार, दल, व्यक्ति, समाज वा समग्र जनताबाट गराउनका लागि सबभन्दा पहिला तपाईं आफैँले संविधानको पूर्णतः पालना गर्नुपर्दछ । आफू संविधानअनुसार चल्दा मात्र अरूलाई संविधानअनुसार चल भनेर भन्ने नैतिक बल तपाईंमा प्राप्त हुन्छ । आजसम्मको तपाईंको राजनीतिक निष्ठा, राष्ट्र, राष्ट्रियता र लोकतन्त्र प्रतिको तपाईंको अडान र संविधानको रक्षाप्रति तपाईंको प्रतिबद्धताबाट यो वा त्यो नाममा संविधानको उलङ्घन हुने छैन र अरूले उल्लङ्घन गरेको कुरालाई पनि औँठाछाप लगाउनु हुने छैन भन्ने विश्वास हामीमा छ ।

तपाईंको सवारी जनमैत्री बनाउन सरकारलाई भन्नुहोस्– 
राष्ट्रपतिका औपचारिक वा अनौपचारिक सवारीहरूमा सडक पूरा खाली गराउँदा सर्वसाधारणले दुःख पाएको तपाईंले देखेको मात्र होइन कि महसुस नै गर्नु भएको छ । जनताले पाएको उक्त दुःख र कष्ट तपाईंको सवारी समयमा दोहोरिने छैन भन्नेमा आम जनता आसावादी छन् । जुनसुकै राष्ट्रको राष्ट्र प्रमुखको औपचारिक सवारीमा सडक यातायातमा केही व्यवधान त हुन्छ नै । तर हामी नेपाली अलि बढी नै भावनात्मक छौँ र तुरुन्त के प्रतिक्रिया व्यक्त गर्छौं भने राष्ट्रपतिलाई के सुरक्षा चुनौती छ र अघि पछि प्रहरी राखेर वा सडक खाली गरेर हिँड्नुपर्छ । 

देशका प्रमुख व्यक्तिहरूलाई सुरक्षा चुनौती छ वा छैन भन्ने कुरा हामी सर्वसाधरण र स्वयमलाई समेत जानकारी हुने विषय होइन । त्यो विषय सुरक्षा निकायलाई जिम्मा दिनुपर्दछ । म केमा पनि विश्वास गर्छु भने राष्ट्रपति र आम नागरिक फरक हुन् । त्यसैले राष्ट्रपतिको यात्रा पनि मेरो जस्तो नै हुनुपर्छ म भन्दिनँ । 
मेरो अनुरोध मात्र के हो भने राष्ट्रपतिको सवारी हुँदा उहाँ चढ्ने गाडीको अगाडि–पछाडि सुरक्षाकर्मीको गाडी गुडाउने तर सडक पूरा खाली नगरी पनि त सवारी चलाउन सकिन्छ भन्ने हो । सर्वसाधारण बोक्ने गाडीको गतिमा शीतलनिवासबाट बानेश्वर वा भक्तपुर वा जाउलाखेल वा विमानस्थल पुग्न सकिन्छ । 

हालका उच्च पदस्थ व्यक्तिहरूमध्ये सबभन्दा बढी सुरक्षा चुनौती कसैलाई छ भने प्रधानमन्त्री पुष्पकमल दहाललाई हुनसक्छ । तर प्रधानमन्त्रीको सवारीमा सडक खाली त गरिँदैन । तपाईं जस्तो शालीन, सादगी र सरल व्यक्तिलाई सडकै खाली गराएर सवारी चलाउनुपर्ने सुरक्षा सतरा पक्कै पनि छैन र हुँदैन पनि । त्यसैले तपाईंको सवारीमा राष्ट्रपतिको सुरक्षाको पूरा ख्याल गरिने छ तर सडक खाली गरिने छैन भन्नेमा म विश्वस्त छु ।

सबै दल र सरकारको साझा व्यक्ति र अभिभावक बन्नुहोस्–
राष्ट्रपति कुनै एक दल, विचार, जात, लिङ्ग, धर्म, संस्कृति, क्षेत्र वा भूगोलको मात्र प्रतिनिधि होइन । राष्ट्रपति त राष्ट्र प्रमुख हो र सबैको साझा अभिभावक हो । 
यसभन्दा अगाडि राष्ट्रपतिबाट भए गरेका काम कार्यवाहीबाट तपाईंजस्तो चतुर राजनीतिज्ञले भलिभाँती जान्नु भएको छ र बुझ्नुभएको छ । मात्र अनुरोध के हो भने शीतलनिवास कसैका लागि बाहिरी मूल ढोका पनि नखुल्ने र कसैका लागि भान्साकोठा समेत बेरोकतोक खुल्ला रहने वातावरण नबनाउनुहोस् । 
देशमा जुनसुकै दलको सरकार भए पनि र जोसुकै प्रधानमन्त्री भए पनि तपाईंका लागि बराबर हुन् । राष्ट्रपति सबै सरकारको अभिभावक हो । कुनै सरकारले गरेको सिफारिस तीन महिनासम्म कार्यान्वयन नहुने कुनै सरकारले गरेका सिफारिस मध्यरातमा नै लाहाछाप लगाएर कार्यान्वयन गरिदिने कार्य नगर्नुहोस् । 
तपाईंलाई थाहा छ, सार्वभौम संसद्को बहुमतले पारित गरेको विधेयकमा लाहाछाप लागेन तर हुबहु त्यही व्यहोराको अध्यादेश क्षणभरमा स्वीकृत भयो । जनप्रतिनिधिले निवेदन दर्ता गराउन खोज्दा शीतलनिवासमा कर्मचारी नभेटिने अवस्था बन्यो । यी र यस्तै व्यवहारले सम्मानित यो संस्था विवादमा समेत आयो । यी सबै कुराको साक्षी तपाईं यस्ता किसिमका पक्षपातपूर्ण व्यवहार गर्नबाट टाढा रहनुहुनेछ भन्नेमा सङ्का छैन । 

दलको नेता हुँदा कार्यकर्ता थिए भन्ने कुरा सदाका लागि बिर्सिनुहोस्– 
हामीले यसभन्दा अगाडि सुन्यौँ, जुन दलबाट राष्ट्रपति निर्वाचित भएका थिए ती दलमा राष्ट्रपतिको शक्तिको आडमा राजनीति गर्नेहरू प्रशस्तै छन् । अमुक व्यक्ति राट्रिय सभामा ल्याउन राष्ट्रपतिको जोड वा संवैधानिक निकायमा ल्याउन जोड वा पार्टीको शक्तिशाली पदमा पुर्याउन पैरवी वा राष्ट्रपतिका कोटामा फलाना राजदूत वा मन्त्री नियुक्त भन्ने समाचार हामीले प्रशस्तै पढ्यौँ र सुन्यौँ । 

अब तपाईंले मेरो भरमा पर्ने नेताहरू र कार्यकर्ताहरू छन् र मैले तिनीहरूको संरक्षण गर्नुपर्दछ भन्ने कुरा पूर्णतः बिर्सनुपर्छ । हुन त रामचन्द्र पौडेलले नेपाली काँग्रेसको गएको अधिवेशनबाट नै आफ्ना समर्थक र कार्यर्ताहरूलाई छोडिसक्नु भएको छ । 
तर शक्तिमा पुगेपछि अन्यत्र छरिएका ती सर्मथक फेरि तपार्इंका वरिपरि आउन सक्छन् । त्यसैले तपाईं राष्ट्र र राष्ट्रियताको जगेर्ना, सार्वभौम सम्पन्न नेपाली जनताको समृद्धि र संविधानको संरक्षण र प्रवद्र्धनका बारेमा सोच्नुबाहेक अरू कुनै प्रकारको काम कारवाही र पैरवीमा लाग्नु हुँदैन र लाग्नु हुने छैन ।

संविधानले प्रदान गरेको भन्दा बढी भूमिका नखोज्नुहोस्– 
तपाईंले लेखेको पुस्तक ‘अभिशप्त इतिहास : माघ १९ काण्डको नजरबन्दबाट’मा तपाईं सभामुख हुँदा तत्कालीन राजा श्री ५ वीरेन्द्रसँगको भेट र कुराकानीको सन्दर्भमा राजा वीरेन्द्रले तपाईंलाई सोधेका प्रश्न र तपाईंको उत्तर के थियो भन्ने लेख्नु भएको छ । राजाको प्रश्न थियो, ‘नेपाल जस्तो देशको प्रसङ्गमा संवैधानिक राजतन्त्रलाई कसरी बुझ्ने ? तपाईंले प्रतिप्रश्न गर्नुभयो, सरकार ! देश चाहे नेपालजस्तो होस्, चाहे बेलायत वा जापान जस्तो, २१औँ शताब्दीमा प्रजातन्त्रको परिभाषा र प्रयोग एकै हुनु पर्ने हैन र ?” 
हो तपाईंको यो उत्तर जायज र उपयुक्त छ । यही उत्तरलाई आधार मान्ने हो भने तपाईंले देख्नुभएको छ कि संवैधानिक राष्ट्रपति भएका देश र त्यहाँका राष्ट्रपतिले निर्वाह गरेको भूमिका । टाढा जानै पर्दैन, हाम्रै छिमेकी देश भारतमा राष्ट्रपति कहिल्यै पनि विवादमा आएको हामीले सुनेका छैनौँ । 
राष्ट्रपतिले प्रधानमन्त्रीको जानकारीबिना विभिन्न दलका नेताहरू छुट्टाछुट्टै भेट्ने वा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्ने वा सर्वदलीय बैठक गर्ने परम्परा कतै छैन । नेपालमा यसभन्दा अगाडि यी कार्यहरू गरिए । जसका कारण सिंहदरबार र शीतलनिवास दुवैतिरबाट सत्ता सञ्चालन भएको छ कि भन्ने आभास सर्वसाधारणलाई हुन गयोे । 

राष्ट्रपतिले देशको आर्थिक, समाजिक र सुरक्षा अवस्था, विदेशसँगको सम्बन्ध र कूटनीतिका साथै सरकारी नीति, कार्यक्रम र जनताका सरोकारका विषयमा जान्न बुझ्न र छलफल गर्न पाइन्छ । तर त्यो छलफल, बैठक वा भेटघाट प्रधानमन्त्री वा प्रधानमन्त्रीमार्फत मन्त्रीहरूसँग गर्नु उपयुक्त हो । अन्य दल र नेताहरूसँग छलफल, भेटघाट र बैठक गर्ने इच्छा भएमा सरकार या भनौँ प्रधानमन्त्रीमार्फत गरिनु पर्दछ । 

नेपाली नागरिकबाट पूर्णाङ्क पाउने गरी काम गर्नुहोस्– 
नेपालमा राजनीतिक दलका नेताहरूले जनताबाट विश्वास गुमाइ सकेका छन् । यिनीहरूको बोलीमा पटक्कै सामाञ्जस्यता छैन । उनीहरू कसैको मूल्याङ्कन गर्दा आफ्नो दल र आफूलाई कति फाइदा भयो भनेर हेर्ने गर्छन् । जुन कुरा निवर्तमान राष्ट्रपतिको दुई कार्यकालको समीक्षा गर्दा नेताहरूले व्यक्त गरेका विचारबाट पनि प्रस्ट हुन्छ । कोही अत्यन्त सफल भन्छन् त कोही औसत भन्छन्, कोही विवादित भन्छन् त कोही निर्विवाद आदि इत्यादि । कसका कुरा पत्याउने ।  
त्यसैले तपाईंले गरेका काम कुनै दल र दलमा पनि कुनै गुट विशेष नेताले मात्र पूर्णाङ्क दिने गरी गर्ने होइन कि सम्पूर्ण नेपाली जनताले पूर्णाङ्क दिने गरी काम गर्नुपर्दछ ।
 
राष्ट्रपति पद राजसंस्था वा राजाको निरन्तरता होइन भन्ने मान्नुहोस्– 
कतिपय व्यक्तिहरू नेपालको राष्ट्रपतिलाई राजा वा राजसंस्थाको निरन्तरताका रूपमा हेर्छन् र त्यहीअनुसारको काम कारबाही र व्यवहारको अपेक्षा गर्छन् । 
संविधानको भाग ६ धारा ६१ उपधारा २ अनुसार राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हो तर राजा जस्तो वंशाणुगत परम्पराबाट पाइने पद यो होइन । यो पद त जननिर्वाचित सार्वभौम संसद्बाट नेपाली नागरिकहरूको प्रतिनिधिका रूपमा निर्वाचित राष्ट्राध्यक्ष हो । 
रामचन्द्र पौडेल तनहुँको मध्यम वर्गीय किसान परिवारमा जन्मी हुर्केको र आजसम्म विभिन्न हण्डर, ठक्कर र सङ्घर्षबाट यहाँ आइपुगेको व्यक्ति हुनुहुन्छ । त्यसैले त्यो विगत उहाँले विर्सन पाउनुहुने छैन । यदि तपाईंको विगत तपाईंका प्रत्येक कार्य, बोली, वचन, सवारी आदिमा प्रतिविम्बित गराउनुभयो भने तपाईं निःसन्देह एक नागरिक राष्ट्रपति कस्तो हुन्छ भन्ने मानक बनाउन सक्षम हुनुहुनेछ । 
२०४६ सालको जनआन्दोलनको क्रममा जेल परेको बेला तपाईंलाई जेलमा दूध लगिदिने तपाईंको साथी डिलप्रसादले ‘राष्ट्रपति राजा होइन, जनताको मनमा बस्नुहोस्’ भन्दै दिएको शुभकामनालाई बिर्सनु हुनेछैन भन्ने विश्वास छ । 

शीतलनिवासमा अनावश्यक सल्लाहाकारको भीड जम्मा नगर्नुहोस्– 
कुनै पनि व्यक्ति सर्वज्ञ र सर्वदृष्टिवाला हुन सक्दैनन् । त्यस्तै तपाईं पनि हुनुहुन्न । तपाईंलाई केही खास क्षेत्रका विज्ञहरू भएको सानो सल्लाहाकार समूह अवश्य पनि चाहिन्छ । मेरो विचारमा परराष्ट्र, कानुन, राजनीति, प्रेसलगायत ५, ६ जनाको सल्लाहकार भनौँ या विज्ञ समूह भए तपाईंलाई प्रशस्तै पुग्छ । यसका अतिरिक्त राष्ट्रपतिको सचिवालयमा काम गर्ने केही व्यक्तिहरूको आवश्यकता पर्छ । 
सत्य कति हो थाहा छैन तर अनलाइन खबरका अनुसार यसभन्दा अगाडि विज्ञ र सहयोगी गरी जम्मा ९७ जना नियुक्त भएका थिए रे । राष्ट्रपति कार्यालयको नियमित प्रशासनिक कार्य गर्न त नेपाल सरकारका कर्मचारी छँदैछन् । यत्रो जम्बो टोलीले के काम गथ्र्यो थाहा छैन । त्यसैले कसैलाई जागिर दिनकै लागि सचिवालयमा नियुक्ति नदिनुहोस् । 

सल्लाहकार वा विज्ञ र प्रमुख स्वकीय सचिवदेखि कार्यालय सहयोगीसम्म जम्मा २६ जना नियुक्ति गर्न पाउने नियममा व्यवस्था भएअनुसार भन्दा बढी सचिवालयमा राख्नु उपयुक्त हुँदैन । तपाईंले राजनीतिक सल्लाहकार नियुक्ति गर्दा नेपाली काँग्रेसको सक्रिय राजनीतिमा नरहेको व्यक्तिलाई छान्नुहोस् । सञ्चारविज्ञमा कुनै दलको कार्यकर्ताभन्दा देशले साँच्चै पत्रकार भनेर चिनेको वरिष्ट पत्रकारमध्येबाट छान्नुहोस् । 

परराष्ट्र सल्लाहकारमा साँच्चै कूटनीति, भूराजनीति तथा परराष्ट्र मामिला बुझेको विज्ञ पूर्वराजदूत डा. सुरेशराज चालिसेको नियुक्तिबाट तपाईं कसैलाई जागिर दिनुभन्दा पनि उपयुक्त र विज्ञको छनोट गर्नुहुन्छ भन्ने देखाएको छ । 
मेरो त अनुरोध छ, तपाईंको सल्लाहकार समूहमा वा सचिवालयमा सकेसम्म देशको मुहार देख्न सकियोस् । लैङ्गिक, भौगोलिक, जातीय र धार्मिक विविधता झल्कियोस् तपाईंको सचिवालयमा ।

शपथग्रहणको दिन देखाएको विनयशिलता पाँचै वर्ष कायम राख्नुहोस्– 
फागुन २८ गते राष्ट्रपतिको शपथग्रहण समारोहपछि निवर्तमान राष्ट्रपतिको बिदाइ गरियो । निवर्तमान राष्ट्रपतिको बिदाइ नवनिर्वाचित राष्ट्रपतिले मञ्चबाट मात्र गरेको भए पनि हुन्थ्यो । तर रामचन्द्र पौडेल निवर्तमान राष्ट्रपतिलाई बिदाइ गर्न उहाँको कारसम्म नै पुग्नुभयो । यो उहाँको विनयशीलता र अरूलाई सम्मान गर्ने उच्चकोटिको व्यवहार हो ।
यसभन्दा अघि सार्वजनिक समारोहमा प्रधानमन्त्रीको बोलीलाई खिसिटिउरी गरेको वा गिज्याएको हामीले देखे सुनेको कुरा हो । आजको तपाईंको व्यवहारबाट हामी विश्वश्त भएका छौँ, वास्तवमा मानिस जति जति माथिल्लो पदमा पुग्छ त्यति नै शालीन, सौम्य र भद्र हुनुपर्दछ भन्ने लोकोक्ति तपाईंले प्रमाणित गर्नुभएको छ ।  

देशको प्रमुख व्यक्ति राष्ट्रपतिको व्यवहार, बोली, वचन नागरिकले अनुकरण गर्नलायक हुनुपर्दछ न कि आलोचनायुक्त । त्यसैले तपाईंले आज देखाउनु भएको विनयशीलताले निरन्तरता पाउनुपर्छ ।
–निवर्तमान राष्ट्रपतिका उदाहरणीय कामहरूलाई निरन्तरता दिनुहोस्

लैङ्गिक समावेशिता, वातावरण संरक्षण, नेपाली भाषा र संस्कृतिको संवद्र्धन र जगेर्ना गर्नमा निवर्तमान राष्ट्रपतिको महत्त्वपूर्ण भूमिका रहेको छ । त्यस्तै महिलाको आर्थिक, सामाजिक, शैक्षिक तथा स्वास्थ क्षेत्रमा समान सहभागिता र पहुँच पुर्याउन उहाँको योगदान सह्रानीय छ ।
त्यति मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाली भाषामा बोलेर राष्ट्रपतिले नेपाली भाषीहरूको शिर उच्च बनाउनुभएको छ । युनेस्को प्रमुख इरिना बोकोभा नेपाल भ्रमणमा आउँदा राष्ट्रपतिसँग शिष्टाचार भेट भएको थियो । सो अवसरमा उहाँले नेपाली भाषामा संवाद गर्नुहुँदा म आफैँ साक्षी थिएँ । 
विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग यसरी भेट गर्दा टुटेफुटेको अङ्ग्रेजीमा बोल्नुभन्दा दोभाषे राखेर नेपाली भाषामा संवाद गर्नु अत्यन्तै उत्तम हो ।  

त्यसैले निवर्तमान राष्ट्रपतिले सुरु गरेका नेपाली समाजमा सकारात्मक सन्देश दिने यी र यस्तै थुप्रै कामहरूलाई बिनापूर्वाग्रह निरन्तरता दिन सविनय अनुरोध गर्दछु ।   

अन्त्यमा–
फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनेबित्तिकै तपाईंले भन्नुभएको थियो, ‘नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन् ।’ तपाईंको पाँच वर्षको समय यिनै सिद्धान्तको पालना गरेर पूरा हुनेछ भन्ने पूर्ण विश्वास गर्दै सफल कार्यकालको शुभकामनाका साथ देशको सबभन्दा उच्च पदमा पुग्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बलराम तिमल्सिना
डा. बलराम तिमल्सिना
लेखकबाट थप