स्वर्णजयन्तीका अवसरमा सापसद्वारा कपी एडिटर सम्मानित

काठमाडौँ । साहित्यिक पत्रकार सङ्घले स्वर्णजयन्तीका अवसरमा चार जना पुस्तक सम्पादक (कपी एडिटर)लाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । सङ्घबाट सम्मानित हुने पुस्तक सम्पादकहरूमा प्राडा लक्ष्मणप्रसाद गौतम र विमल भौकाजी छन् भने पुरस्कृत हुने पुस्तक सम्पादकमा पारसप्रकाश नेपाल र रोयल आचार्य छन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, सङ्घका अध्यक्ष राधेश्याम लेकालीलगायतले उनीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरे थिए । तीन दर्जनभन्दा बढी साहित्यिक कृति सम्पादन र डेढ दर्जन कृति सिर्जना गरेर नेपाली साहित्यमा योगदान पुर्याएबापत त्रिभुवन विश्व विद्यालय कीर्तिपुरका प्राडा लक्ष्मणप्रसाद गौतमलाई ‘सापस स्वर्ण महोत्सव सम्पादन विशिष्ट सम्मान–२०७९’ बाट सम्मानित गरिएको हो ।
यस्तै सयभन्दा बढी पुस्तक, आधा दर्जन साहित्यिक पत्रिका सम्पादन गरेर तीन दशकभन्दा लामो समयदेखि कपी एडिटरका रूपमा सम्पादन क्षेत्रमा योगदान पुर्याएबापत सम्पादक विमल भौकाजीलाई पनि ‘सापस स्वर्ण महोत्सव सम्पादन विशिष्ट सम्मान–२०७९’ बाट सम्मानित गरिएको सङ्घका अध्यक्ष राधेश्याम लेकाली जानकारी दिए ।
कान्तिपुर दैनिकमा दुई दशकदेखि कपी एडिटरको रूपमा रहेका र एक सयभन्दा बढी कृतिको सम्पादन गरेका पारसप्रकाश नेपाललाई ११ हजार १०० रुपैयाँसहितको ‘सापस स्वर्ण महोत्सव सम्पादन पुरस्कार–२०७९’ बाट पुरस्कृत गरिएको हो ।
यसैगरी एक दशकभन्दा लामो समयदेखि कपी एडिटरको रूपमा सक्रिय रोयल आचार्यले एक दर्जनभन्दा बढी कृतिको सम्पादन गरी विशेष योगदान पुर्याएकाले ५ हजार ५०० रुपैयाँसहित ‘सापस स्वर्ण महोत्सव सम्पादन युवा पुरस्कार–२०७९’ बाट पुरस्कृत गरिएको हो ।
नेपालमा साहित्य कृतिका कपी एडिटरलाई पुरस्कृत तथा सम्मानित गर्ने कार्य सङ्घले यस पटकबाट सुरु गरे हो ।
नेपाली कृतिहरूलाई राम्रो बनाउन कृति सम्पादकको महत्त्वपूर्ण भूमिका रहने गरेको उपकुलपति शम्भु राईले कार्यक्रममा बताए । कृति सम्पादकहरू जहिले पनि छायामा पर्ने हुँदा उनीहरूको योगदानलाई खोजेर सम्मानित तथा पुरस्कृत गर्नु सङ्घको प्रशंसानीय कार्य भएको राईको कथन थियो ।
कार्यक्रममा सहित्यिक पत्रकार सङ्घकी कोषाध्यक्ष पद्मावती सिंह, पूर्वअध्यक्षहरू विश्वविमोहन श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनलगायतले सम्मानित र पुरस्कृत स्रष्टाहरूको योगदानको चर्चा गर्दै सङ्घले साहित्यिक पत्रकारहरूका लागि राम्रा काम गर्दै आएको बताए ।
सञ्चारकर्मी डब्बु छेत्रीद्वारा सञ्चालित कार्यक्रममा गुञ्जनकी निवर्तमान अध्यक्ष हीरण्यकुमारी पाठक, प्राज्ञ मातृका पोखरेल, वरिष्ठ साहित्यकार किशोर पहाडी, समालोचक प्राडा गोविन्दमानसिंह कार्की, नेपाल उपन्यास समाजका अध्यक्ष शङ्कर भारती, सखी प्रतिष्ठानकी अध्यक्ष मञ्जिला अनिल, घुम्ती मुक्तक मञ्च नेपालका अध्यक्ष निर्मलरमण पराजुली, कवि एक चर्चित सञ्चारकर्मी ठाकुर बेलबासे, निबन्धकार श्रीबाबु कार्की, अनेसास पुरस्कार समिति सदस्य दीपा राई पुन, कवि मधु पाठक, सापसकी सचिव नीता श्रेष्ठ, सानुराजा अञ्जान, सञ्चारकर्मी सरिता भारतीलगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष ढकाल
-
‘एक्सेलेरेट एक्सन’ : महिला कलाकारको उद्घोष
-
‘द ग्रेट ग्याट्सबाइ’ को सय वर्ष
-
कलैयाका एक दर्जन निजी अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
-
नवराज सुवेदीलाई भेट्न निवास पुगे लिङ्देन
-
माओवादी विराटनगर कमिटीको निर्वाचन : देव राजवंशीको प्यानल विजयी