सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
शिक्षा

पाठ्यपुस्तकमै त्रुटि, बालबालिकामा गलत सिकाइ

बिहीबार, ०२ चैत २०७९, १० : ०७
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । केही वर्ष अगाडि कक्षा ३ को सामान्य ज्ञानको किताबमा सहिदको सूचीमा पूर्व न्याय, कानुन तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाको तस्बिर थियो । काठमाडौंको विद्यार्थी प्रकाशन प्रालिले प्रकाशन र वितरण गरेको कक्षा ३ को ‘मास्टरमाइन्ड जनरल नलेज एन्ड आईक्यू टेस्ट’ (सामान्य ज्ञान) किताबमा त्यस्तो त्रुटि भेटिएको थियो । त्यसमा सहिदको सूचीमा क्याप्टेन यज्ञबहादुर थापाको तस्बिर हुनुपर्नेमा पूर्वमन्त्री थापाको तस्बिर राखिएको थियो ।

कक्षा १० को स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषयको पुस्तकमा २०७४ सालसम्म पनि २०५८ सालकै तथ्याङ्क राखिएको थियो । जबकि २०६८ सालको जनगणना भएको ६ वर्ष बितिसकेको थियो । त्यसपछि बल्ल उक्त तथ्याङ्क सच्याइएको थियो ।

पाठ्यपुस्तकहरूमा यस्ता त्रुटि प्रशस्त भेटिने गरेका छन् । पाठ्यपुस्तकमै त्रुटि हुँदा बालबालिकाले तिनै त्रुटिलाई सही मानेर सिक्नु तथा पढ्नुपर्ने बाध्यता छ । पाठ्यपुस्तकमा तथ्यगत त्रुटिले गर्दा बालबालिकामा गलत सन्देश प्रवाह भइरहेको पाइन्छ । यो सामान्य त्रुटि देखिने गरे पनि शिक्षण सिकाइमा गम्भीर गल्ती हो ।

पाठ्यपुस्तकमा यस्ता खालका त्रुटि रहँदा केही शिक्षकले बालबालिकालाई सही जानकारी गराउने गरेका छन् । तर, कतिपय शिक्षकले भने किताबमा जुन उल्लेख गरिएको हुन्छ, त्यही आधारमा पढाउने गरेका छन् । जसले गर्दा विद्यार्थीहरू विद्यालय शिक्षाबाटै गलत कुरा सिक्न बाध्य छन् ।

शिक्षासँग सरोकार राख्नेहरूले यो विषयमा पटक पटक आवाज उठाउँदै आएका छन् । उनीहरूले विद्यार्थीलाई त्रुटिका नाममा गलत पढाउन नहुने बताउँदै आएका छन् । तर, सरोकारवाला निकायका लापरबाहीका कारण त्रुटि भेटिने गरेको छ ।

विशेष गरी निजी विद्यालयका पाठ्यपुस्तकमा यस्ता खालका त्रुटि बढी भेटिन्छन् । विद्यालय शिक्षाको पाठ्यक्रम निर्माण गर्ने अधिकार पाठ्यक्रम विकास केन्द्रलाई छ । यसले पाठ्यक्रम विकास गर्ने र सोही आधारमा पाठ्यपुस्तक छापिन्छन् ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी डा. बाबुराम ढुंगानाले विभिन्न कारणले पाठ्यपुस्तकमा त्रुटि हुने गरेको बताए ।

केन्द्रले केही वर्ष अगाडि माध्यमिक तहका पाठ्यपुस्तकको प्राविधिक मूल्याङ्कन गरेको थियो । उक्त अध्ययन प्रतिवेदनमा पाठ्यपुस्तकमा भाषागत, तथ्याङ्कगत, छपाइलगायतका विभिन्न त्रुटि औँल्याइएको थियो । पाठ्यपुस्तकमा सैद्धान्तिक अर्थ र व्याख्यामै अन्तर पर्ने खालका शब्द चयन भएको ठहरसमेत गरिएको थियो ।

कतिपय तथ्याङ्क पुरानो, नमिल्ने तथा बाझिने, खासगरी गणित र विज्ञानका सूत्रहरूमा त्रुटि देखिएको थियो । त्यस्तै, पाठ्यपुस्तकमा समावेश कतिपय चित्रको प्रस्तुतीकरण नमिलेको, चित्र नै स्पष्ट नभएको, व्याख्या गर्न नसकिने तथा प्रसङ्ग मेल नखानेलगायतका त्रुटि औँल्याइएको थियो । त्यसपछि केन्द्रले सुधारका लागि थुप्रै गृहकार्य गर्दै आएको छ । तर पनि सुधार हुन सकेको छैन ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी डा. बाबुराम ढुंगानाले विभिन्न कारणले पाठ्यपुस्तकमा त्रुटि हुने गरेको बताए । ‘त्रुटि हुन्छ । त्यो विभिन्न तहमा काम हुँदै जान्छ । पछि डिजाइनमा हाल्दा पहिला सबै शुद्ध भयो भनेको कुरा पनि फन्टले गर्दा चेन्ज गरिदिन्छ,’ उनले भने ।

पाठ्यक्रम तयार पार्दा त्रुटि कमै हुने गरेको उनको भनाइ छ । त्यो सबै प्राविधिक समस्याका कारण हुने गरेको उनी बताउँछन् । आफूहरू पाठ्यक्रम निर्माण गर्ने निकाय भएको तर पुस्तक छपाई गर्ने अर्कै निकाय रहेकाले यस्तो खालको त्रुटि देखिने गरेको उनले प्रस्ट पारे ।

‘हामीकहाँ छाप्ने निकाय अर्कै छ । हामीले पाठ्यक्रममात्र बनाउने हो । छाप्ने काम जनक शिक्षा वा निजीले गर्ने हो,’ उनले भने, ‘त्यहाँ गइसकेपछि राम्रोसँग हेरेनौं भने मिस्टेक हुँदो रहेछ ।’

जनक शिक्षाले छाप्ने पाठ्यपुस्तकका त्यस्ता खालका त्रुटि कम भेटिन्छन् । तर, निजी प्रकाशन गृहले छाप्ने पाठ्यपुस्तकमा त्रुटि बढी देखिने गरेको छ । जनक शिक्षालाई कुनै प्रिन्ट मिस्टेक भयो भने पनि सच्याउन सजिलो हुने तर, निजीले झन्झट मान्ने गरेको केन्द्रको ठहर छ ।

त्यसरी मिस्टेक देखिएको पाठ्यपुस्तक अर्को वर्ष भने सच्याएर पठाउने गरिएको उनको भनाइ छ । ‘गर्दागर्दै पनि पहिलो वर्ष मिस्टेक भइनै हाल्छ । तर, दोस्रो वर्षदेखि करेक्सन पूरै मिल्छ,’ उनले भने ।

पाठ्यपुस्तकमा सकभर मिस्टेक नहोस् नै भन्ने चाहना रहेको तर, विभिन्न कारणले मिस्टेक हुने गरेको उनले बताए ।

सुरुमा लेखकले नै लेख्ने बेलामा त्रुटि गर्ने गर्छन् । त्यसपछि सम्पादक समूहले पनि सम्पादनका बखत ख्याल गर्दैनन् वा त्रुटि देख्दैनन् । त्यो बाहेक एक कम्प्यूटरबाट अर्कोमा सामग्री सार्दा प्रोग्रामको समस्याले समेत पाठ्यपुस्तकमा त्रुटि भेटिने गरेको छ ।

पाठ्यक्रमको गुणस्तरको विषयमा समेत बेलाबेला प्रश्न उठ्ने गरेको पाइन्छ । त्यस विषयमा भने केन्द्रले डिफेन्स गर्ने गरेको देखिन्छ । विद्वानहरूले एक वर्ष लगाएर पाठ्यक्रम तयार पार्ने भएकाले गुणस्तरको विषयमा प्रश्न उठ्नु अस्वाभाविक भएको केन्द्रको ठहर छ ।

निर्देशक ढुंगानाले भने, ‘विद्वानहरूले पुस्तक लेखेको हुन्छ । एक वर्ष लगाएर तयार पारेको हुन्छ । एउटाले लेखेर फ्याट्टै छाप्ने होइन यो । विषय विज्ञले नेतृत्व गरेको टोलीले हेर्ने हो । समितिहरूले धेरै चोटी हेरेर अगाडि बढेको हुन्छ ।’ पाठ्यक्रमको आधारमै पाठ्यपुस्तक बनाइने भन्दै त्योभन्दा बाहिर जान नसकिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप