रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष १० समाचार
आज २०७९ चैत १ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा उपराष्ट्रपतिको साझा उम्मेदवारबारे गठबन्धन अनिर्णित, चैत ६ गते विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी, बैंकविरुद्ध आन्दोलनपछि व्यवसायीमा दुई धार, विप्लवले दिए चेतावनी, १३ महिनादेखि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको भरमा, प्रहरीमा ३० वर्षे सेवा अवधि हटाइँदै, आलोचनापछि शीतल निवासले राख्यो राष्ट्रपतिको मौलिक तस्बिर लगायत छन् ।
१. उपराष्ट्रपतिको साझा उम्मेदवारबारे गठबन्धन अनिर्णित
सत्तारुढ १० दलले उपराष्ट्रपति पदका लागि साझा उम्मेदवार टुङ्गो लगाउन सकेको छैन । गठबन्धनभित्रकै दुई दलले उम्मेदवार खडा गरेपछिको अवस्थामा बुधबार बसेको बैठकले ठोस निर्णय गर्न नसकेको हो । बिहीबार) पुनः बैठक बस्ने जनाइएको छ । उक्त बैठकमा सहमति जुट्ने नेताहरुको भनाइ छ ।
२. चैत ६ गते विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी थालेका छन् । सरकारलाई समर्थन गरेका दलहरुले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिनुपर्ने भएको हो । विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी रहेको बताइएको छ ।
३. बैंकविरुद्ध आन्दोलनपछि व्यवसायीमा दुई धार
बैंकविरुद्ध निरन्तर आन्दोलनरत व्यवसायीहरु दुई समूहमा विभाजित भएका छन् । पछिल्लो समय बैंक ब्याजदरविरुद्ध देशभरका ९ महासंघ र ५९ वटा संघ मिलेर संयुक्तरुपमा सडक आन्दोलनमा थिए । तर, मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि व्यवसायीमा प्रस्ट दुई धार देखिएको हो ।
४. विप्लवले दिए चेतावनी
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न चेतावनी दिएका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले जनताले लडेको त्यो युद्धलाई अपराधीकरण गर्ने काम सम्भव नहुने पनि प्रस्ट पारे ।
५. १३ महिनादेखि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको भरमा
सर्वोच्च अदालत विगत १३ महिनादेखि कामु प्रधानन्यायाधीशको भरमा चल्दै आएको छ । यद्यपि, प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अझै सुरु हुन सकेको छैन ।
६. प्रहरीमा ३० वर्षे सेवा अवधि हटाइँदै
गृह मन्त्रालयले प्रहरी ऐन–२०१२ लाई प्रतिस्थापन गर्ने गरी नयाँ प्रहरी ऐन बनाउन प्रस्ताव अघि बढाएको छ । प्रहरी ऐन–०१२ लाई प्रतिस्थापन गर्न ‘नेपाल प्रहरी ऐन–२०७९’ को मस्यौदा संसदमा लैजान प्रस्ताव गरिएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव जीतेन्द्र बस्नेले रातोपाटीलाई बताए ।
७. आलोचनापछि शीतल निवासले राख्यो राष्ट्रपतिको मौलिक तस्बिर
राष्ट्रपति रामचन्द्र पौडेलको फोटोमा देखिएको त्रुटि शीतल निवासले सच्याएको छ । राष्ट्रपति कार्यालयले पौडेलको शपथलगत्तै हुलिया सम्पादन गरिएको तस्बिर अपलोड गरेको थियो ।
८. राष्ट्रिय वनको ३७० बिगाहा जग्गा हडप्ने कोसिस
बारामा कागजी रुपमा घरधुरी खडा गरेर राष्ट्रिय वन क्षेत्रको ३७० बिगाहा जग्गा व्यक्तिको नाममा कायम गर्न जग्गा माफिया सक्रिय देखिएका छन् । फिल्डबुकमा बुट्यान भनि उल्लेख भएको पूर्व–पश्चिम राजमार्गको पथलैया–निजगढ सडक खण्डको पिलुवा बडहर्वा हुलाकी सडकसँगै जोडिएको अर्बौं मूल्यको राष्ट्रिय वन क्षेत्रको जग्गा हडप्ने मनसायले जग्गा माफियाले नेपाल सरकारको ३८ वटा निकायबाट फाइल खडा गरेको भेटिएको छ ।
९. रासायनिक मलमा मूल्यबृद्धि विरुद्ध प्रदर्शन
सरकारले रासायनिक मलको मूल्य वृद्धि गरेको विरोधमा प्रदर्शन भएको छ । बुधबार राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले राजधानीको माइतीघर मण्डलामा मूल्य बृद्धि विरुद्ध प्रदर्शन गरेको हो ।
१०. दुधको मूल्य प्रतिलिटर ११ रुपैयाँ बढाउने निर्णय
दुग्ध विकास संस्थान (डीडीसी)ले बिहीबारदेखि लागु हुनेगरी दूधको मूल्य प्रतिलिटर ११ रुपैयाँ बढाउने निर्णय गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफलपछि सो निर्णय भएको दुग्ध विकास संस्थानका सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
अनुदानमा सञ्चार सामग्री खरिदका लागि आवेदन दिन काउन्सिलको आग्रह
-
सरकारले कसैलाई एक्लो र असहाय हुन दिँदैन : प्रधानमन्त्री ओली
-
रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने
-
माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित
-
‘कन्फ्लुयन्स’ : कलाका सिद्धान्त र तत्त्वमा आधारित प्रदर्शनी