सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश : सरकारले दिने बिदा राजपत्रमा प्रकाशित गर्ने निर्णय

बुधबार, ०१ चैत २०७९, १८ : ११
बुधबार, ०१ चैत २०७९

विराटनगर । कोशी प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले प्रदेश सरकारले दिन पाउने ६ वटा अतिरिक्त बिदा राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । केन्द्र सरकारले दिने सार्वजनिक बिदा बाहेक प्रदेश सरकारले थप ६ वटा सार्वजनिक बिदा दिन पाउने व्यवस्था रहेको छ । सोही अनुसार कोशी प्रदेश सरकारले दिन बिदा राजपत्रमा प्रकाशित गर्ने बैठकले निर्णय गरेको हो । 

जसमा आउँदो साउन २४ गते विश्व आदिवासी जनजाति दिवस, भदौ २१ गते राधाकृष्ण रथयात्रामा प्रदेशभर बिदा दिने सरकारले निर्णय गरेको छ । यस्तै असोज २ गते ऋषिपञ्चमीको दिन प्रदेशभरका महिलालाई मात्रै बिदा दिइने भएको छ भने कार्तिक २५ गते फाल्गुनन्द जयन्तीको दिन प्रदेशभर सार्वजनिक बिदा दिइने निर्णय गरेको छ ।

यस्तै मंसिर ४ गते छठ पर्वको समापनको दिनमा पनि बिदा दिने सरकारले निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषिमन्त्री भक्ति प्रसाद सिटौलाले जानकारी दिए । केन्द्र सरकारले नदिएको कुनै एक दिन मुस्लिम धर्मावलम्बीलाई लक्षित गर्दै इद पर्वका अवसरमा प्रदेशभरका मुस्लिमहरुलाई पनि एक दिन बिदा दिने प्रदेश सरकारले निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले स्थानीय तहको कर्मचारीको सेवा शर्त व्यवस्थित गरी स्थानीय सरकारको काम काज प्रभावकारी बनाउने विधेयक प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय पनि गरेको छ ।

यस्तै प्रदेशसभाबाट कोशी प्रदेशको नामाकरण गरिएसँगै कानुनहरुमा यसअघि रहँदै आएको प्रदेश १ भन्ने शब्दलाई संशोधनका लागि संशोधन विधेयक प्रदेशसभामा लैजाने र विपन्न वर्गलाई कडा रोगको लागि उपचार सहायता उपलब्ध गराउने सम्बन्धमा आर्थिक सहायता सम्बन्धी कार्यविधि २०७९ लाई पनि स्वीकृत गरेको छ ।

जसमा बेखर्चीहरुको लागि पनि आर्थिक सहायता दिने उल्लेख रहेको सिटौलाले जानकारी दिए । यस्तै प्रदेश सरकारले विपद्को समयमा राहत, उद्धार र प्रतिकार्यलाई स्थानीय तहसम्म समन्वयका लागि मुख्यमन्त्री अत्यावश्यकीय एकीकृत सेवा केन्द्र स्थापना गर्ने पनि निर्णय गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप