मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

निजी कलेजहरूको ध्यान ‘क्वालिटी सर्कल’ गठनतिर

बुधबार, ०१ चैत २०७९, १० : ४९
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरू क्वालिटी सर्कल गठनतिर लागेका छन् । त्रिविले चैत ५ गते स्ववियु निर्वाचन गराउने मिति तोकेको छ । सोही आधारमा आङ्गिक क्याम्पसहरूले तयारी थालेका छन् । तर, सम्बन्धन प्राप्त कलेजहरूले स्ववियु निर्वाचनको सट्टा क्वालिटी सर्कल गठनतिर लागेका हुन् । 

त्रिविको कानुन अनुसार स्ववियु निर्वाचन अनिवार्य गरिएको छ । तर, स्ववियु निर्वाचन नगराउने कलेजहरूले क्वालिटी सर्कल, काउन्सिल जस्ता विद्यार्थीहरूको संस्था बनाउनुपर्ने हुन्छ । विभिन्न निजी कलेजहरूले आफ्नो कलेजमा राजनीति छिर्न नदिन विद्यार्थीहरूबाटै छानेर क्वालिटी सर्कल गठन गर्न लागेका हुन् । 

त्यसका लागि स्ववियु निर्वाचन प्रक्रिया अनुसार नै अगाडि बढ्नुपर्ने हुन्छ । कलेजहरूले विद्यार्थी सङ्गठनहरूबाट वा विद्यार्थीहरूबाट सर्कल गठनका लागि नाम माग्छन् । त्यही नाम मागेको आधारमा स्ववियु निर्वाचनको दिन उनीहरूबाटै कसलाई अध्यक्ष बनाउने, कसलाई अन्य पदाधिकारी बनाउने भन्ने विषय टुङ्गो लगाउँछन् । र क्याम्पसले सोही आधारमा विद्यार्थी क्वालिटी सर्कल घोषणा गरिदिन्छ । 

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य–सचिव प्राध्यापक पशुपति अधिकारीले सम्बन्धन प्राप्त क्याम्पसहरूले स्ववियुको विकल्पमा क्वालिटी सर्कल पनि गठन गर्न सकिने बताए । 

‘कलेजमा थिति बसोस् भन्ने चाहना हो । जे जसरी भए पनि विद्यार्थीको आवाज सहज रूपमा उठाउन सकुन् भन्ने हो । त्यही आधारमा स्ववियु नै हुनुपर्छ भन्ने छैन । स्टुडेण्ट सर्कल पनि गठन गर्नुपर्छ ।’ उनले भने । 

निजी कलेजहरूले आफ्नो कलेजमा राजनीति प्रवेश गर्न नपाओस भनेर स्ववियु निर्वाचन गराउन आनाकानी गर्दै आएका छन् । उनीहरूले विकल्पको रूपमा सर्कल गठन गर्न लागेका हुन् । 

देशभर त्रिविका १ हजार ४० सम्बन्धन प्राप्त कलेजहरू छन् । ती मध्ये १५० को हाराहारीमा कलेजहरूले स्ववियु निर्वाचन गराउने प्रक्रिया अगाडि बढाएका छन् । केही कलेजले पनि स्टुडेण्ट सर्कल गठन गर्न लागेका हुन् । 

ती बाहेक केही कलेजहरूले भने स्ववियुको नाममा कुनै पनि गतिविधि गराउन खोजेका छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप