खोप उपलब्ध हुँदा पनि रेबिजका कारण मृत्युदर बढ्यो
काठमाडौं । काठमाडौंकी १८ वर्षीय विनिता शर्मा (नाम परिवर्तन)लाई केही महिना अघि घर पालुवा कुकुरले टोक्यो । घरपालुवा कुकुर भएकै कारण उनले खासै वास्ता गरिनन् । यद्यपि उनलाई कुकुरले टोक्नासाथ रेबिजविरुद्धको खोप लगाउन तथा उपचार गर्न अस्पताल जानुपर्छ भन्ने थाहा थियो ।
केही समयपछि उनको शरीरमा रेबिजको भाइरस फैलिएर जटिल लक्षणसहितको स्वास्थ्य समस्या देखियो । त्यस अघि उनकै भाइलाई बाटोमा हिँड्दा कुकुरले ठूलो डाम हुनेगरी टोकेको थियो । त्यतिबेला उनले भाइलाई तत्काल उपचार र खोपका लागि अस्पताल लगेकी थिइन् । आफूलाई टोक्दा भने खोप लगाउन नगएकी उनले रेबिजकै कारण ज्यान गुमाइन् ।
यसरी कुकुरको टोकाइलाई सामान्य ठान्दा र टोक्ने बित्तिकै खोप लगाउन नजाँदा पछिल्लो समय ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको चिकित्सकहरू सुनाउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा मात्रै विगत ११ महिनाको अवधिमा कुकुरले टोकेर अस्पताल पुगेका बिरामीमध्ये १८ जनाको ज्यान गएको अस्पतालले जनाएको छ । जसमध्ये ११ जना महिला र ७ पुरुष छन् ।
सरकारले रेबिज विरुद्धको खोप उपलब्ध गराए पनि रोगबारे जानकारी कम र भ्रमका कारण मानिसको मृत्यु भइरहेको डा. शेरबहादुर पुन बताउँछन् । ‘पहिला रेबिजको खोपमा सहज पहुँच थिएन । भएको खोप नाइटो वरिपरि लगाउँदा साइड इफेक्ट पनि देखिन्थ्यो । विगतमा बाध्यतात्मक अवस्थामा ज्यान जाने स्थिति थियो,’ उनले भने, ‘हाल सरकारले रेबिजविरुद्धको खोप सहज रुपमा उपलब्ध गराउँदा पनि मृत्युदर बढ्नु सोचनीय विषय बन्यो ।’
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा मासिक ४५ हजारभन्दा धेरैले रेबिजविरुद्धको खोप लगाउने गर्छन् । अस्पतालका ओपीडी इन्चार्ज शंकर पाण्डेका अनुसार दैनिक कुकुरले टोकर उपचार गराउन तथा खोप लगाउन डेढ सयभन्दा धेरै आउने गरेका छन् ।
माघ महिनामा मात्रै अस्पतालमा विभिन्न जनावरको टोकाइका कारण उपचारका लागि आउनेको सङ्ख्या ११ हजारभन्दा बढी रहेको उनले जनाए ।
यद्यपि सरकारसँग रेबिजका कारण मृृत्यु हुने दरको यकिन आँकडा छैन ।
खोपले मात्रै मृत्युलाई रोक्दैन
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट रेबिजविरुद्धको इम्युनोग्लोबुलिन खोप निःशुल्क लगाइन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सातै प्रदेशमा रेबिजविरुद्धको खोप पाइन्छ । रेबिजविरुद्धको इम्युनोग्लोबुलिन कोशी प्रदेशको कोशी अस्पताल, मधेश प्रदेशको जनकपुर प्रादेशिक अस्पताल र नारायणी अस्पताल, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको लुम्बिनी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत अस्पताल, सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा पाइन्छ ।
रेबिजविरुद्ध खोप सहज रुपमा उपलब्ध नहुँदा मृत्यु भयो भनिए पनि हाल सरकारले सहजरुपमा खोप उपलब्ध गराउँदा समेत मृत्युदर बढ्दै जानुलाई सम्बन्धित निकायले गहन रुपमा लिन आवश्यक रहेको डा. पुन बताउँछन् ।
डा. पुनका अनुसार स्वास्थ्य संस्थाहरूमा खोप उपलब्ध हुुँदा पनि रेबिज सङ्क्रमणका कारण मृत्यु भइरहेको हुँदा सरकार तथा सम्बन्धित निकायले कहाँनिर चुकियो भनेर विश्लेषण गर्न जरुरी छ । उनी भन्छन्, ‘टेकु अस्पतालमा रेबिज सङ्क्रमण भई उपचार गराउन आउनेमध्ये धेरैजसो ग्रामीण भेगका हुनुहुन्छ । शहरी क्षेत्रसँगै गाउँगाउँमा रेबिज सङ्क्रमित रहेको हुन सक्ने देखिन्छ ।’
कुकुरले टोक्दा सानो घाउ देखियो भनेर बेवास्ता गर्न नहुने उनी बताउँछन् । कुकुरले टोकेपछि जडीबुटी तथा झारफुकमा विश्वास मान्दा पनि रेबिजको सङ्क्रमितले ज्यान गुमाउनु परेको उनले बताए । ग्रामीण भेगमा कुकुरले टोक्दा नजिकैको मेडिकलमा गई टिटानसको खोप लगाउने प्रवृत्तिले गर्दा पछि सङ्क्रमण फैलिएर गम्भीर अवस्थामा बिरामीहरु अस्पताल पुग्ने गरेको उनको भनाइ छ ।
यद्यपि रेबिज भाइरस प्राणघातक रोग भए पनि समयमै खोप लगाएको खण्डमा निको हुन्छ । सकेसम्म रेबिज भाइरस भएका कुकुर तथा अन्य जनावरले टोकेको ४८ देखि ७२ घण्टाभित्र खोप लगाउनुपर्छ । डा. पुनका अनुसार छालामुनि दुई र पाखुरामा तीन दिनसम्म तीन पटक रेबिजविरुद्धको खोप लगानुपर्छ । यस्तै, मासुमुनि खोप लगाउँदा चार दिनसम्म चार पटक खोप लगाउनुपर्छ ।
एक पटक खोप लगाइसकेकाले दुई पटक बुस्टर डोज लगाउनुपर्छ । सामान्यता रेबिजको लक्षण दुई÷तीन महिनामा देखिन्छ । यद्यपि ६÷७ महिनापछि पनि लक्षण देखिएको उनको अनुभव छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बर्सेनि सय जनाभन्दा धेरैको रेबिजका कारण ज्यान जाने गर्छ ।