बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
स्मृतिमा भीमनिधि तिवारी

‘काम्यो लुगलुग त्यो गरिब बिचरा त्यसमा दया गर्छ को ?’

तिवारीका धेरै पाण्डुलिपि प्रकाशित गर्न अझै बाँकी
मङ्गलबार, ३० फागुन २०७९, १६ : ११
मङ्गलबार, ३० फागुन २०७९

काठमाडौँ । आज (३० फागुन) भीमनिधि तिवारीको ११२औँ स्मृतिदिवस । भीमनिधि तिवारी साहित्य सङ्गीत संस्थाले प्रज्ञा भवनमा उनको सम्झनामा कार्यक्रमको आयोजना गर्दै छ । तिवारी नेपाली साहित्य क्षेत्रमा चर्चित र स्थापित साहित्यिक व्यक्तित्व हुन् । आधुनिक नेपाली साहित्यलाई उचाइमा पुर्‍याउने उनको महत्त्वपूर्ण योगदान छ । 

नाट्यसम्राट् बालकृष्ण समभन्दा करिब १० वर्ष कान्छा तिवारी समपछिका सबैभन्दा बढी नाटक लेख्ने नाटककारका रूपमा देखापरेका छन् । उनका पचासभन्दा बढी साहित्यिक कृतिहरूमध्ये अधिकांश नाटक विधाका छन् । उनको कतिपय नाटक मञ्चन पनि भएका छन् भने केही कथाहरूबाट चलचित्रसमेत निर्माण भएका छन् । 

वरिष्ठ साहित्यकार डा. बेञ्जु शर्मा भन्छिन्, “उहाँले ५० भन्दा बढी कृति सिर्जना गर्नुभएको छ, नेपाली साहित्यका सबै विधाका कृतिहरू सिर्जना गर्नुभएको हुँदा उहाँ बहुमुखी प्रतिभा पनि हो । जनमानसमा उहाँको सारै ठुलो प्रभाव छ ।” पछिल्लो समय निर्देशक ज्ञानेन्द्र देउजाले पनि उनको कथामा आधारित झिँगे दाउ नामको चलचित्र निर्माण गरेका छन् । सो चलचित्रले राम्रै बजार पाएको शर्माले बताइन् । 

तिवारीका अप्रकाशित कृतिहरू प्रकाशित गर्ने, पुनः प्रकाशित गर्ने, पाण्डुलिपिहरूलाई सुरक्षित गर्ने भन्ने उद्देश्य राखेर विसं २०३० मा भीमनिधि तिवारी साहित्य सङ्गीत संस्था स्थापना भयो । सो संस्थाले हरेक वर्ष वार्षिक रूपमा विभिन्न कार्यक्रम गर्दै आएको छ । तर नेपालमा कोभिडको महामारी सुरु भएपछि साहित्यिक जमघट पूरै बन्द भएर करिब दुई वर्ष कार्यक्रम हुन नसकेको संस्थाकी सचिव डा. बेञ्जु शर्मा बताउँछिन् ।  

भीमनिधि तिवारी साहित्य तथा सङ्गीत संस्थाले साहित्यिक क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई हरेक वर्ष दुई वटा पुरस्कार प्रदान गर्दै आएको छ । ‘तिवारी साहित्य पुरस्कार र तिवारी नाट्य साहित्य पुरस्कार हरेक वर्ष प्रदान गर्दै आएका छौँ । त्यसका लागि कवि निर्मल कुमार रिमालले बजेटको व्यवस्था गरिदिनुभएको थियो । उहाँको देहान्तपछि त्यो पनि बन्द भएको छ,” उक्त संस्थाकी सचिव शर्मा भन्छिन्, “अहिले चाहिँ भीमनिधि साहित्य पुरस्कार दिँदै आएका छौँ । आज साहित्यकार कलावती रूपाखेतीलाई सो पुरस्कार प्रदान गर्दैछौँ ।” 

रूपाखेती प्राध्यापन पेसामा आबद्ध छिन् । उनले भीमनिधि तिवारीका ऐतिहासिक नाटकमा विद्यावारिधि गरेकी छन् । तिवारीको अध्ययन अनुसन्धानमा समर्पित भएको हुनाले उहाँलाई सो पुरस्कार प्रदान गरिएको सचिव शर्माको भनाइ छ । 

यसैगरी चलचित्र निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजालाई पनि आज सम्मान गर्ने कार्यक्रम रहेको उनले बताइन् । देउजाले दुई महिनाअगाडि तिवारी लिखित कथामा आधारित भएर झिँगे दाउ फिल्म बनाएका छन् । सो फिल्म हलहरूमा पनि लागेको र धेरैले मनपराएका थिए । 

संस्था चलाउनै समस्या

विसं २०३० सालमा सो संस्था स्थापना भए पनि त्यसलाई निरन्तर सञ्चालन गर्न भने कठिन भएको डा. शर्मा बताउँछिन् । पहिले पहिले संस्कृति मन्त्रालयले यो कार्यक्रमका लागि अलिअलि रकम दिने गरेको तर निकै वर्ष हिलेदेखि त्यो पनि बन्द भएको उनी बताउँछिन् ।

भीमनिधि तिवारीका कैयौँ कृति बिक्री भइसकेका छन् । नेपाली साहित्यमा रुचि राख्नेहरूले उनका कृतिको खोजी गर्छन् तर पाइरहेका छैनन् । यस्तै उनका कतिपय पाण्डुलिपि प्रकाशित गर्न पनि बाँकी नै छन् । “बजारमा सकिएका उनका धेरै कृति पुनः प्रकाशित गर्न सकिरहेका छैनौँ,” शर्मा भन्छिन्, “अहिले आर्थिक कठिनाइ धेरै छ ।” पहिले सहयोग गर्दै आएका संस्थाहरूले पनि सहयोग गर्न छाडेको उनको भनाइ छ । 

नेपाली भाषा, साहित्य संरक्षण र प्रवर्द्धनका लागि संस्कृति मन्त्रालयले अझै पनि बजेट छुट्याउँदै आएको छ । तर त्यो बजेट राजनीतिक पार्टीनजिकका संस्थाहरूले मात्र पाउने गरेको डा बेञ्जूको गुनासो छ । “संस्कृति मन्त्रालयले अहिले पनि यस्ता संस्थाहरूलाई केही सहयोग गर्ने गर्छ रे,” शर्मा भन्छिन्, “तर त्यो राजनीतिक पार्टी निकट संस्थाहरूलाई मात्र दिन्छ, राजनीतिक नेताहरूका नाममा खोलेका संस्थालाई मात्र दिन्छ ।” अहिले आफैँ आफैँ पैसा उठाएर कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ । 

तिवारीको जीवन

भीमनिधि तिवारीको जन्म विसं १९६८ फागुन ३० गते काठमाडौँको डिल्लीबजारमा भएको थियो । पिता लालनिधि र माता नन्दकुमारी तिवारीका सुपुत्र भीमनिधिले सात वर्षको हुँदा मातृवात्सल्य गुमाएका थिए । 

स्नातक तहसम्मको अध्ययन गरेका तिवारीले घरेलु इलम प्रचारक अड्डा, नेपाल भाषानुवाद परिषद्, नेपाली भाषा प्रकाशिनी समिति र शिक्षा विभागमा अविच्छिन्न ३३ वर्ष सेवा गरे । विभिन्न सङ्घसंस्थाहरूमा पनि आबद्ध रहेका तिवारी प्रतिलिपि अधिकारणी समितिमा रजिस्ट्रारसमेत भएको इतिहास पाइन्छ । 

राणाकालीन समयमा आफ्नै रुचिमा पाठशाला खोलेर चलाउने शिक्षा प्रेमी तिवारीले विसं १९९५ मा नेपाली साहित्य प्रेस खोलेका थिए । 

तिवारीले विसं २००६ तिर नेपाल नाटक सङ्घ खोले । आईएसम्म गरेका तिवारी ३२ वर्ष सरकारी सेवामा समर्पित रही उपसचिवबाट निवृत्त भए ।

साहित्य सिर्जना

उनको पहिलो रचना विसं १९९१ मा गोरखापत्रमा ‘कविता हरायो’ शीर्षकको कविता प्रकाशित भएको थियो । यसपछि निरन्तर साहित्य सेवामा समर्पित उनले नाटक, काव्य र कथा विधामा प्रशस्त कलम चलाएका थिए ।

उनका काव्यात्मक सिर्जनाहरूमा तर्पण (शोककाव्य), कवितानन्द, वरशिक्षा, यशस्वी शव, विस्फोट, कविता कुञ्ज, सिंहदरबार, बत्तीसपुतली, चाडवाड आदि छन् । 

यस्तै नाटकहरूमा सहनशीला सुशीला, आदर्श जीवन, पुतली, काशीबास, किसान, नैनिकाराम, विवाह, पाँच ऐतिहासिक एकाङ्की, इन्द्रधनुष, आत्महत्या, महाराज भूपतिन्द्र, चौतारा लक्ष्मीनारायण, शिलान्यास, नोकर, सिद्धार्ध गौतम, सत्यहरिश्चन्द्र, माटोको माया, एकाङ्की पल्लव, एकाङ्की कली आदि छन् । 

बयासी र बीस गजल मेरो (गजल सङ्ग्रह), नेपाली सामाजिक कहानी (कथा सङ्ग्रग्रह), पन्ध्र प्रबन्ध, इन्साफ (उपन्यास), तितौरा मस्यौरा र तिवारी सूक्ति सङ्ग्रह लगायत छन् ।

उनले विसं २०१७ मा ‘विस्फोट’ नामक पद्यविधा ग्रन्थका लागि साहित्यतर्फको मदन पुरस्कार प्राप्त गरेका थिए । २००९ मा गोरखा दक्षिणबाहु, २०२२ मा त्रिशक्ति पट्ट, २०१३ मा शुभराज्याभिषेक पदक, जानपद सेवा पदक, जानपद दीर्घसेवा पट्ट र विसं २०२४ मा नेदरल्यान्ड्सकी महारानीबाट अफिसर अफ द अर्डर अफ अरेन्ज नासौको उपाधि पाएका थिए ।

जीवनको अन्तिम समयसम्म साहित्यमा समर्पित तिवारीको ५४ वर्षको उमेरमा २०३० जेठ १९ गते काठमाडौँमा भएको थियो । 

अन्तिममा भीमनिधि तिवारीको एउटा कविता 

काम्यो लुगलुग त्यो...

 

 

महिना माघ थियो बिहानीपखमा हावा चलेको थियो 

छानामा पथमा तथा चउरमा चिनी छरेझैँ थियो 

जाडो खुब थियो समस्त जलमा ऐना जमेको थियो 

काम्यो लुगलुग त्यो गरिब बिचरा त्यसमा दया गर्छ को ?

 

टोपी सिर्फ छ नाम मात्रै शिरमा जम्मै टुपी निस्कने

खोटो जीर्ण धुजा धुजा छ उसको छाती पिठ्युँ देखिने

धोती केवल चार अङ्गुल धरो नङ्गा छ सर्वाङ्गमा

काम्यो लुगलुग त्यो गरिब बिचरा त्यसमा दया गर्छ को ?

 

आँखीभौँ छ तुसारका पतनले सेता भएका दुवै

खुट्टाका औँलाहरू नङहरू नीला भएका सबै 

पैताला छ छिया छिया हरघडी हा रक्त टप्काउँदै 

काम्यो लुगलुग त्यो गरिब बिचरा त्यसमा दया गर्छ को ?

 

कैले बस्तछ छेउमा सडकको खुम्च्याई छाती अनि 

कैले हेर्छ पूर्वतर्फ नभमा लाली चढ्यो कि भनी

काखीभित्र घुसाई हा कर दुवै छोपेर स्युँ स्युँ गरी

काम्यो त्यो गरिब बिचरा त्यसमा दया गर्छ को ?

 

ठण्डा उग्र हिमालको बरफझैँ बाहिरी ती अङ्ग छन् 

आगो बल्दछ पेटभित्र तर जो निभ्दैन सल्कन्छ झन्

निस्कन्छन् मुखबाट धुम्म कुहिरो झैँ दाँत कट्काउँदै 

काम्यो लुगलुग त्यो गरिब बिचरा त्यसमा दया गर्छ को ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप