पोखराको स्ववियु निर्वाचन : उत्साहभन्दा विवाद बढी
पोखरा । त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका नजिकिँदै जाँदा पोखराका क्याम्पसहरूमा विवाद बढी उत्साह कम देखिएको छ । पोखरामा स्ववियु निर्वाचन हुने ६ वटा क्याम्पस छन् । तर, अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता नै हुन सकेन ।
उम्मेदवारी दर्ता भएका क्याम्पसमा पनि अस्वस्थ र अराजनीतिक वातावरण देखिएको छ । देशकै सबैभन्दा धेरै मतदाता रहेको पृथ्वीनारायण (पिएन) क्याम्पसमा स्ववियु निर्वाचनका लागि फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यसूची थियो । तर, निर्वाचन कार्यालयमा लागेको ताला नखुल्दा उम्मेदवारी दर्ता हुन सकेन । त्यसपछि उच्च अदालत पोखराले फागुन २८ गते तत्कलाका लागि निर्वाचन गतिविधि अगाडि नबढाउन आदेश दिएपछि पिएनमा निर्वाचन गतिविधि शून्यजस्तै भएको छ ।
फागुन २६ गते एक समूहले आफूहरूले राखेको नाम नपाएको भन्दै उच्च अदालत पोखरामा रिट दायर गरेको थियो । अदालतबाट जारी आदेशमा भनिएको छ, ‘निवेदनमा उठाइएको विषयवस्तुको संवेदनशीलतातर्फ दृष्टिगत गर्दा दुवै पक्षको कुरा सुनी निष्कर्षमा पुग्न उपयुक्त हुने देखिँदा अन्तरिम आदेशको छलफलका लागि चैत २ गते पेशी तारिख तोकी सो दिन अन्तरिम आदेशको छलफलमा उपस्थित हुन विपक्षीहरूलाई सकेसम्म छिटो माध्यमद्वारा जानकारी गराउन र सोसम्मका लागि निर्वाचनसम्बन्धी काम, कारबाही अगाडि नबढाउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिदिइएको छ ।’
पिएनमा निर्वाचन समितिकै राजीनामा पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनका लागि बनेको समितिले राजीनामा दिएको छ । निर्वाचन अधिकृत विकास केसी नेतृत्वको टोलीले नै राजीनामा दिएको हो ।
पोखरा वन विज्ञान क्याम्पस, संस्कृत क्याम्पसमा पनि मनोनयन दर्ता हुन सकेको छैन । पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस र पोखरा नसिङ क्याम्समा भने उम्मेदवारी मनोनयन गरी अगाडि बढे पनि विद्यार्थी संगठनको आन्तरिक झगडा छताछुल्ल देखिन्छ । ‘नसिङ क्याम्पसमा अझै झगडा सतहमा आएको छैन, केही विद्यार्थी फेरि पनि अदालत गुहार्ने तयारीमा छन्,’ विद्यार्थी योगराज क्षेत्रीले भने ।
नसिङ क्याम्पसकी निर्वाचन समिति प्रमुख शारदा शर्माले इन्जिनियरिङ कलेजमा सोमबार अन्तिम नामावली प्रकाशन गरिएको बताइन् । ‘निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । चैत ५ गते निर्वाचन हुन्छ,’ उनले भनिन् ।
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पनि उम्मेदवारीको अन्तिम नामावली प्रकाशन भएको छ । तर, केही विद्यार्थीले असन्तुष्टि जनाएका छन् । नेविसंघ क्याम्पस कमिटीका केही पदाधिकारीले जिल्ला कमिटीले हस्तक्षेप गरेको भन्दै राजीनामा दिएका छन् । केहीले नाम फिर्ता लिएका छन् ।
स्ववियु निर्वाचन कार्यतालिका प्रकाशन गरी काम गरिरहेका बेला क्याम्पसको शैक्षिक प्रशासनबाट मतदाता विद्यार्थीको विवरण बाहिर गएको भन्दै विद्यार्थी आन्दोलित छन् ।
जनप्रिय बहुमुखी क्याम्पस (जिएमसी)मा प्रक्रिया अगाडि बढेको छैन । विद्यार्थी संगठनबीच भर्नाका विषयमा भएको विवादले निर्वाचन प्रक्रिया रोकिएको हो ।
पिएनमा निर्वाचन समितिकै राजीनामा पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनका लागि बनेको समितिले राजीनामा दिएको छ । निर्वाचन अधिकृत विकास केसी नेतृत्वको टोलीले नै राजीनामा दिएको हो ।
समितिले स्ववियु निर्वाचन कार्यतालिका प्रकाशन गरी काम गरिरहेका बेला क्याम्पसको शैक्षिक प्रशासनबाट मतदाता विद्यार्थीको विवरण बाहिर गएको भन्दै विद्यार्थी आन्दोलित छन् । विद्यार्थीले निर्वाचन समितिलाई तथ्यांक लिक गरेको आरोप लगाएपछि समितिका सदस्यहरूले राजीनामा बुझाएको सदस्य शिव गुरुङले बताए ।
‘केही विद्यार्थी सङ्घ, सङ्गठन, समूहबाट निर्वाचन समितिलाई कपोकल्पित रूपमा विवरण चुहावट गराएको आरोप लगाई समितिका सम्पूर्ण सदस्यको निष्ठामाथि प्रश्न उठाउने र निर्वाचन समितिलाई निशाना गरी भौतिक आक्रमण, तोडफोडसमेत भई निर्वाचनको वातावरण असहज बन्न पुगेकाले राजीनामा बुझाएका छौँ,’ उनले भने ।
राजीनामा पत्रमा समितिले कहीँ, कतैबाट सहयोग एवं संरक्षणसमेत पाउन नसकेको जिकिर गरिएको छ । निष्ठापूर्वक नियमानुसार काम गर्दागर्दै निर्वाचन कार्यालयमा तालाबन्दी भई निर्वाचन समितिले कार्यालयमा गएर काम गर्ने अवस्था नबनेको राजीनामामा उल्लेख छ । असहज परिस्थितिमा तोकिएको मिति र समयमा निर्वाचन गर्ने अवस्था नदेखिएकाले जिम्मेवारीबाट मुक्त भई मार्ग प्रशस्त गरिएको राजीनामा पत्रमा उल्लेख छ ।
नेविसंघका ३ उपसभापतिसहित १४ जनाको राजीनामा
नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लुआरसी) इकाई समितिका ३ उपसभापतिसहित १४ जनाले राजीनामा दिएका छन् । स्ववियु निर्वाचनका लागि मनोनयन दर्ताको समयमा क्याम्पसको इकाई बैठकबिना बाहिरी व्यक्तिको अनधिकृत रूपमा प्रवेश भएको भन्दै क्याम्पस इकाई कमिटी उपसभापति सन्देश पोखरेल, सुमन भट्टराई र सचिन अर्यालसहित १४ जनाले राजीनामा गरेका हुन् ।
सचिव दिवाकर कर्ण, सहसचिव केशवप्रसाद सापकोटा, कोषाध्यक्ष कुसुम गुरुङ, सदस्यहरू शिव पोखरेल, सुनिल भट्टराई, अभिषेक अर्याल, तरुण घिमिरे, रुपेश घिमिरे, विवेक कँडेल, संस्कार थापा र नेशिल कोइरालाले पनि राजीनामा दिएका छन् । ‘क्याम्पसका आधिकारिक इकाई पदाधिकारी र विद्यार्थीमाथि हस्तक्षेप गर्ने यस किसिमका तुच्छ गतिविधिको घोर विरोध गर्दै इकाई पदाधिकारीहरू सामूहिक राजीनामा घोषणा गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल
-
कीर्तिपुरमा माओवादीका उम्मेदवार महर्जनलाई विजयी गराउन तीन दलको संयुक्त अपिल
-
समीर भट्टको फिल्म ‘बलिदान’को रिलिज कहिले ?
-
स्वास्थ्य सेवा ऐन ल्याउने तयारी, ५८ हजारभन्दा बढी कर्मचारी लाभान्वित हुने
-
कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समर्थकको प्रदर्शन (तस्बिरहरु)
-
दरबारमार्गमा सुरु भयो एमालेको जागरणसभा (LIVE)