शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
प्रदेश नामकरण

कोशी प्रदेशको नामकरणकै विषयलाई लिएर कोशी प्रदेश अशान्त हुनसक्ने चिन्ता

मङ्गलबार, ३० फागुन २०७९, ०६ : २५
मङ्गलबार, ३० फागुन २०७९

विराटनगर । ‘इतिहासको कालो दिन प्रदेशको नाम कोशी घोषणाको सशक्त विरोध र प्रतिरोध गरौं’ भन्ने मूल नाराका साथ यतिबेला कोशी प्रदेशमा आन्दोलन भइरहेको छ । प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले सोही नाराका साथ आगामी चैत ५ गते विराटनगरमा वृहत प्रदर्शन गर्ने जनाएको छ ।

पहिचानको नामको विषयमा आएर अड्किएको प्रदेश १ को नाम गत फागुन १७ गते बसेको प्रदेशसभाले ‘कोशी’ नामकरण गरेको छ । जसको विरोधमा संघर्ष समितिले आम हड्ताल तथा वृहत जनप्रदर्शनका कार्यक्रमको घोषणा गरेको छ । यसबिचमा विभिन्न जिल्लामा राँके जुलुस तथा प्रदर्शन भएका छन् भने प्रहरीले केही नेतालाई धरपकड र हस्तक्षेप पनि गरेको छ ।

कोशी नामकरण हुनु भनेको हिन्दू सभ्यता अनुसार अगाडि जान खोजेको पहिचानवादीहरुको दाबी छ । कोशी प्रदेशका १४ जिल्ला हिन्दू सभ्यता नभएको उनीहरु बताउँछन् । ‘यहाँ लिम्बुवान र किरात तथा कोचहरुको सभ्यता नै ऐतिहासिक हो,’ अभियानका अभियन्ता राम मादेन भन्छन्, ‘कुनै पनि पार्टीको घोषणापत्रमा पनि कोशी प्रदेश नामकरण गर्ने विषय कसैले उल्लेख गरेका थिएनन् । तर, अहिले गोजीबाट कोशी नाम झिकेर प्रदेशको नामकरण गरिएको छ । यसलाई विरोध गर्नुपर्छ ।’

उनी आगामी चैत ५ गते विराटनगरमा हुने भनिएको जनप्रदर्शन सशक्त हुने र त्यसपछि पनि धेरै आन्दोलनका कार्यक्रम आउन सक्ने बताउँछन् । ‘प्रदेशको नाम कोशीविरुद्ध, हिन्दूवादी, संकीर्णतावादी थिचोमिचो, अतिक्रमण, अन्यायका ठेकेदार पार्टीहरु विरुद्ध पूर्वमा भित्रभित्रै भुसको आगोसरी सल्किने क्रम जारी छ । २४८ वर्षसम्म निरन्तर अतिक्रमण, अन्याय गर्नु चानचुने होइन,’ उनी आक्रोश व्यक्त गर्छन् ।

उनीमात्रै होइन, पहिचानको विषयलाई समेटेर नामकरण गर्नुपर्छ भन्नेहरुले सामाजिक सञ्जालमा विभिन्न आक्रोशयुक्त विचार र धारणा प्रकट गरिरहेका छन् । यस्ता धारणाले अशान्ति र बेमेलको बिउ रोप्ने अग्रज पत्रकार अनन्तराज न्यौपाने बताउँछन् ।

‘प्रदेश १ को नाम कोशी चाहिँ राखियो, यो परिवर्तन हुन अब सक्दैन, तर झगडाको बिउ चाहिँ रोपियो,’ न्यौपाने भन्छन्, ‘राई र लिम्बूहरु नमिलेसम्म यहाँ पहिचानवादीले भनेजस्तो नामकरण हुँदैन, उनीहरु मिलेको खण्डमा भने यहाँ जे पनि हुन सक्छ ।’

Pahichan (2)

फागुन १७ गते राति ९ बजेतिर प्रदेशको नाम कोशी पारित भएपछि नेपाली कांग्रेसका सांसद भुपेन्द्र राईले पनि जिल्लामा आफूहरु जान सक्ने परिस्थिति नरहने आशङ्का व्यक्त गरेका थिए । आदिवासी जनजातिहरुको बाहुल्य रहेको पहाडी जिल्लाबाट निर्वाचित सबैजसो सांसदलाई त्यो त्रास थियो । ‘अब जिल्ला कसरी जाने हो’, खोटाङबाट निर्वाचित सांसद भुपेन्द्र राईले भने, ‘जिल्लामा पहिचान भन्नेहरुको ठूलो स्वर छ । यता कोशीमा मत हालियो ।’

पूर्व मुख्यमन्त्री राजेन्द्र राईले पनि संख्याको बलमा मिचेर खोलाको नाममा नामकरण गरियो भने त्यसले असन्तोष जन्माउने बताउँदै आएका छन् । असन्तोषले आन्दोलन र आन्दोलनले अलगाव जन्माउने उनको दाबी छ ।

यस प्रदेशमा लामो समयदेखि किराँत, लिम्बुवान र खम्बुवान आन्दोलनहरु निरन्तर चलिरहेको छ । तर, प्रदेशको नामकरणको समयमा पहिचानवादी भनिएका केही दलसमेत मिलेर कोशी प्रदेश पारित भएको थियो ।

‘यहाँ नाममात्रै त मागिएको छ’, राईले आफू मुख्यमन्त्री हुँदा पनि कतिपय सार्वजनिक मञ्चहरुमा भन्ने गरेका थिए, ‘यदि मानिसहरुले भनेको कुरालाई सम्बोधन नगरिए यहाँ आन्दोलन हुनसक्छ । असन्तोष हुन्छ । अलगावको अवस्था हुनसक्छ । अलगाव भयो भने मान्छे पलायन हुन्छन् । राज्यलाई जनताले सहयोग गर्दैनन् र विद्रोहको अवस्था आउँछ ।’

विगतमा किरात वर्कस पार्टी गठन गरेर किरात राज्य निर्माण हुनुपर्ने माग गर्ने गोपाल किराती संविधानको पुनःलेखन नै गर्नुपर्ने बताउँछन् । ‘आन्दोलनलाई क्रमशः अगाडि लिएर जाँदा संविधान पुनःलेखन गर्नुपर्छ । १२ वटासम्म राज्यमा पुग्नुपर्छ । कोशी प्रदेशको विरुद्धमा हाम्रो पनि ऐक्यवद्धता छ,’ किराँतीले भने, ‘राज्यको वैज्ञानिक पुनःसंचरना भएकै छैन । राज्यको वैज्ञानिक पुनःसंचरना गर्न संविधान पुनर्लेखन गर्नुपर्छ ।’

पहिलो संविधानसभा, दोस्रो संविधानसभा, पहिलो प्रदेशसभा र दोस्रो प्रदेशसभामा पनि छलफल भएकै हो । तर, साझा पहिचानको नाम नभेटिँदा र पहिचानवादीले पनि साझा नाम राख्न नसक्दा नै प्रदेशको नाम ‘कोशी’ भएको हो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी उपाध्यक्ष विष्णुमाया तुम्बाहाम्फेले सहमतिमा नआए जस्तोसुकै परिणाम आउनसक्ने बताइन् ।

यस प्रदेशमा लामो समयदेखि किराँत, लिम्बुवान र खम्बुवान आन्दोलनहरु निरन्तर चलिरहेको छ । तर, प्रदेशको नामकरणको समयमा पहिचानवादी भनिएका केही दलसमेत मिलेर कोशी प्रदेश पारित भएको थियो ।

पहिचानको आन्दोलन अब के हुन्छ ?

कोशी प्रदेशको पहिचानको आन्दोलन अब के हुन्छ ? नामकरणको विषय टुंगिएपछि सेलाउला या कोशी नाम खारेजको दिशामा अगाडि जान्छ भन्ने विषयमा पनि विभिन्न टिकाटिप्पणी जारी छ । लामो समयदेखि पहिचानको पक्षमा कलम चलाउँदै आएका राजनीतिक विश्लेषक भवानी बरालको भाषामा भन्ने हो भने पहिचानको आन्दोलन यो प्रदेशको आन्तरिक राष्ट्रियतासँग सम्बन्धित छ । यसर्थ कहिलेकाहीँ आन्तरिक राष्ट्रियता कमजोर देखिनु अस्वाभाविक हैन ।

Pahichan (1)

‘यसर्थ यो आन्दोलन धरासायी भएको हैन । राजनैतिक आन्दोलन अर्थात् न्यायपूर्ण आन्दोलन धरासायी हुने कुरै छैन,’ बराल दाबी गर्छन्, ‘विगत अढाइ सय वर्षदेखि कुनै न कुनै रूपमा यो आन्दोलन जीवित छ । कोशी नाम त १८ सालमै राखेको हो । आन्दोलन नउठ्ने भएको भए हिजै सुतिसकेको हुन्थ्यो । न्यायपूर्ण आन्दोलनले आज नपाए भोलि सार्थकता पाउँछ ।’

बरालले यही कारणले कोशी प्रदेश अशान्त हुने दाबी पनि गरे । ‘नेपालको आन्तरिक राष्ट्रियतामाथि यो मुद्दाले अशान्त बनाउने त छँदैछ । यसै पनि यो प्रदेश दुई ठूला छिमेकी भारत र चीनको सामरिक महत्वको ठाउँमा छ । पारी छिमेकमा गोर्खालेण्ड र भर्खरै सिक्किम सब्जेक्टको कारण कुनै पनि बेला यो आन्दोलनहरु जोडियो भने अशान्त हुनु कुनै नौलो कुरा हुने छैन,’ बरालले भने, ‘शासकहरुले यो प्रदेशको भूराजनीतिलाई अनदेखा गर्नु महाभूल हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप