मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

सोमबार, २९ फागुन २०७९, २० : ५६
सोमबार, २९ फागुन २०७९

आज २०७९ फागुन २९ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा राष्ट्रपति रामचन्द्रले सम्हाले जिम्मेवारी, उपराष्ट्रपति निर्वाचनप्रति चासो, विद्या भण्डारी फेरि सक्रिय राजनीतिमा आउने सम्भावना कति ?, प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद पुनर्गठन हुने, बैंकको चर्को व्याजदर विरुद्ध व्यवसायीको प्रदर्शन, पीएनजीविरुद्ध नेपालको शानदार जित, माओवादी धारको अन्तरक्रिया चैत ८ मा, सेयर बजार ओरालो यात्रामा लगायत छन् ।

१. राष्ट्रपति रामचन्द्रले सम्हाले जिम्मेवारी
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार विधिवत रुपमा जिम्मेवारी सम्हालेका छन् । उनले पद तथा गोपनीयताको शपथ लिएसँगै राष्ट्रपतिको जिम्मेवारी सम्हालेका हुन् । 

२. उपराष्ट्रपति निर्वाचनप्रति चासो
मुलुकले नयाँ राष्ट्रपति पाएसँगै अब उपराष्ट्रपति निर्वाचनतर्फ चासो बढेको छ । सत्तारुढ गठबन्धनले उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्ने भएको छ । उनका मुख्य प्रतिस्पर्धीका रुपमा एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ ।

३. विद्या भण्डारी फेरि सक्रिय राजनीतिमा आउने सम्भावना कति ?
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी फेरि सक्रिय राजनीतिमा आउलिन् त भन्नेबारे चर्चा हुन थालेको छ । उनी नेकपा एमालेमै रहेर सक्रिय राजनीति गर्न सक्ने आकलन छ । यद्यपि यसबारे परिदृश्य प्रस्ट भइसकेको छैन ।

४. प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद पुनर्गठन हुने
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका हुन् ।  

५. बैंकको चर्को व्याजदर विरुद्ध व्यवसायीको प्रदर्शन
बैंकको चर्को ब्याजदरका विरुद्धमा सोमबार पनि उद्योगी व्यवसायीले प्रदर्शन गरेका छन् । राजधानीको नक्सालमा उद्योगी व्यवसायीहरुले बैंकको चर्को ब्याजदरका विरुद्ध प्रदर्शन गरेका हुन् ।

६. पीएनजीविरुद्ध नेपालको शानदार जित
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) माथि नेपालले सहज जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले पीएनजीलाई ९ विकेटले हराएको हो ।

७. माओवादी धारको अन्तरक्रिया चैत ८ मा
माओवादी धारको संयुक्त अन्तरक्रिया काठमाडौंको प्रज्ञा भवनमा चैत ८ गते हुने भएको छ । फागुन ३० गते गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम ८ दिनपछि मात्रै हुने भएको हो ।

८. प्रेम प्रसादको आत्मदाह सम्बन्धी छानबिन समितिले बुझायो प्रतिवेदन
प्रेम प्रसाद आचार्यले माघ १० मा आफैंलाई पेट्रोल छर्केर आगो लगाए । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि उनले आत्मदाह गरेको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । सहसचिव नारायणप्रसाद रिसाल नेतृत्वको समितिले गृह सचिव विनोद प्रकाश सिंहलाई प्रतिवेदन बुझाएको हो ।

९. सेयर बजार ओरालो यात्रामा
सोमबार पनि सेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन २८ अंकले घट्दै नेप्से सूचक १९ सय ७४ अंकको विन्दुमा ओर्लिएकोमा आज थप २४.६८ अंकको गिरावट आएको हो ।  

१०. बुटवल धागो कारखाना जीर्ण
नेपालको सबैभन्दा ठूलो बुटवल धागो कारखाना बन्द भएको १६ वर्ष बितिसक्दा पनि सरकारले पुनः संचालनको पहल गर्न सकेको छैन । हरेक आर्थिक वर्षको बजेट बक्तब्यमा बुटवल धागो कारखाना पुनः संचालन गरिने उद्घोेष गरिए पनि ठोस पहल हुन नसक्दा कारखानाका संरचना पनि जीर्ण बन्दै गएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप